.संक्षेपमा.
- म्युरमाकी (Myyrmäki) पहिलो पटक भान्ताका पाँच उच्च रोजाइका क्षेत्रबाट बाहिरियो।
- हेलसिन्कीमा तोलो क्षेत्रमा व्यापक आकर्षण, भान्तामा तिक्कुरिला पहिलो।
- औलु फिनल्यान्डकै सबैभन्दा सक्रिय आवास बजारको रूपमा उदाउँदै।
के तपाई फिनल्यान्डका सहरमा नयाँ घर किन्ने अथवा बस्ने कोठा खोज्ने सोचमा हुनुहुन्छ? तपाईंको विचारमा हेलसिन्की क्षेत्रमा सबैभन्दा धेरै घर र कोठा खोजिने क्षेत्र कुन होला?
घरजग्गा राख्ने वेभसाइट Oikotie को पछिल्लो तथ्याङ्क अनुसार हेलसिन्कीको तोलो (Töölö) क्षेत्र राजधानी क्षेत्रमा बस्न चाहानेको पहिलो रोजाईमा पर्ने गरेको छ। हेलसिन्कीका लाउत्तासारी र पुनाभुओरी क्रमशः दोस्रो र तेस्रो स्थानमा छन्। यी क्षेत्रहरू पहिलै देखि हेलसिन्कीमा निकै रुचाइएका क्षेत्र हुन्।
आगामी दुई वर्षमा शुरु हुने मेट्रो नवीकरण योजनाले केन्द्रीय र पूर्वी हेलसिन्कीबीचको सेवा कम्तीमा छ महिनाका लागि रोकिने भएकाले शहरी क्षेत्रहरूको आकर्षण बढ्न सक्ने विश्लेषकहरूको अनुमान छ।
भान्ता शहरको आवासीय बजारमा भने ठूलो परिवर्तन देखिएको छ। लामो समयदेखि शहरको प्रमुख आवासीय केन्द्रको रूपमा चिनिएको म्युरमाकी क्षेत्र पहिलो पटक शहरका पाँच सर्वाधिक लोकप्रिय क्षेत्रको सूचीबाट बाहिरिएको छ।
भान्तामा तिक्कुरिला क्षेत्र पहिलो स्थानमा छ। त्यसपछी युलास्टो, किभिस्तो र मार्तिनलाक्सो पछि म्युरमाकी पाँचौं स्थानमा छ। “यो भान्ताको आवास बजारमा ठूलो परिवर्तन हो। म्युरमाकी पहिले कहिल्यै शीर्ष तीनबाट बाहिर गएको थिएन,” Oikotie कि निर्देशक तिना आल्टो-फिशरले बताइन्।
म्युरमाकीमा भान्ताको करिब एक चौथाई जनसंख्या बस्छ। यस क्षेत्रप्रतिको मागमा आएको गिरावट क्षेत्रको छविमा आएको परिवर्तनसँग जोडिएको छ। पछिल्ला वर्षहरूमा साना एकाइका आवासहरूमा केन्द्रित विकासले यस क्षेत्रलाई परिवारहरूका लागि कम आकर्षक बनाउदै लगेको छ।
फिनल्यान्डका छ ठूला शहरहरू – हेलसिन्की, एस्पो, ताम्पेरे, भान्ता, औलु र तुर्कुमा Oikotie ले प्रयोगकर्ताको खोज डाटा मार्फत विशिष्ट क्षेत्रहरूप्रतिको रुचि मापन गर्दै आएको छ।
औलुमा आवास बजार फस्टाउँदै गएको छ, र नयाँ घरहरूको बिक्री गत वर्षको तुलनामा दोब्बर भएको छ। शहर केन्द्रको उत्तरमा रहेको हार्टानसेलन्रान्टामा आयोजना हुन लागेको राष्ट्रिय आवास मेलाले यस क्षेत्रको गतिविधिलाई थप बढावा दिने अपेक्षा गरिएको छ।
ताम्पेरेमा परिवारिक आवासको माग बढ्दो छ। ताम्मेला क्षेत्रले कालेभालाई पछि पार्दै ताम्पेरे शहरको दोस्रो सर्वाधिक खोजिने क्षेत्रको स्थान हासिल गरेको छ। गत वर्ष चौथो स्थानमा रहेको ताम्मेला अहिले केन्द्र पछिको सबैभन्दा लोकप्रिय क्षेत्र बनेको छ।
तुर्कु शहरमा भारिसुओ क्षेत्रले अप्रत्याशित प्रगति गरेको छ र शहरको छैटौं सर्वाधिक खोजिने जिल्ला बनेको छ। नयाँ सामाजिक र स्वास्थ्य केन्द्र, बाल उद्यान र सम्भावित पौडी पोखरी लगायतका सेवाहरूमा योजनाबद्ध सुधारलाई यस वृद्धिको कारक मानिएको छ। एक समय शहरको दोस्रो सर्वाधिक आकर्षक क्षेत्र रहेको कुपित्ता पाँचौं स्थानमा झरेको छ।
विशेषगरी परिवारमैत्री क्षेत्रहरू र राम्रो यातायात सुविधा भएका स्थानहरूप्रति मानिसहरूको आकर्षण बढ्दै गएको
आवास बजार विश्लेषक तिना आल्टो-फिशरका अनुसार यी परिवर्तनहरूले फिनल्यान्डका प्रमुख शहरहरूमा आवासीय प्राथमिकताको नयाँ प्रवृत्ति देखाउँछन्। विशेषगरी परिवारमैत्री क्षेत्रहरू र राम्रो यातायात सुविधा भएका स्थानहरूप्रति मानिसहरूको आकर्षण बढ्दै गएको उनको विश्लेषण छ।





