.संक्षेपमा.
- भेट आगामी शुक्रबार १५ अगस्टमा अमेरिकाको अलास्कामा हुने।
- वार्ताको मुख्य विषय युक्रेन संकटको अन्त्य र दीर्घकालीन शान्ति सम्झौता।
- युक्रेनी राष्ट्रपति जेलेन्स्की बैठकमा सहभागी हुने सम्भावना कम।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी शुक्रबार अमेरिकाको अलास्कामा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटवार्ता गर्ने घोषणा गरेका छन्। यो बहुप्रतिक्षित बैठकले साढे तीन वर्षदेखि जारी युक्रेन युद्ध अन्त्य गर्ने सम्भावना र विवाद दुवैलाई सतहमा ल्याएको छ।
ट्रम्पले शान्ति सम्झौताका लागि युक्रेनले आफ्नो केही भूभाग रुसलाई छाड्न पर्नसक्ने संकेत दिएका छन्। जसका कारण युक्रेनको सहभागिता बिना नै उसको भविष्य निर्धारण हुन सक्ने चिन्ता बढेको छ।
अलास्कामा हुने बैठकमा युक्रेनी राष्ट्रपति भोलोदीमिर जेलेन्स्की सहभागी हुने वा नहुनेबारे ट्रम्पले केही बताएका छैनन्।
“मेरो र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीचको लामो समयदेखि प्रतिक्षा गरिएको बैठक अगस्ट १५, शुक्रबार हुनेछ।” आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मा लेख्दै राष्ट्रपति ट्रम्पले भनेका छन्।
रुसी सरकारले पनि उक्त भेटघाटको पुष्टि गरेको छ। राष्ट्रपति पुटिनका सहयोगी युरी उशाकोभले टेलिग्राममा जारी एक विज्ञप्तिमा “राष्ट्रपतिहरूले युक्रेन संकटमा दीर्घकालीन शान्ति सम्झौताका लागि विकल्पहरूबारे निस्सन्देह छलफल गर्नुहुनेछ।” भनेका छन्।
उशाकोभका अनुसार ट्रम्पलाई रुसमा अर्को बैठकका लागि निम्तो दिइसकिएको छ।
यसअघि इटालीको रोममा बैठक हुन सक्ने अनुमान गरिएको थियो। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की पनि उक्त बैठकमा सहभागी हुन सहमत भएको जनाइएको थियो। तर रुसी पक्षले युरोपलाई भेटघाटका लागि उपयुक्त स्थान नभएको भन्दै उक्त प्रस्ताव अस्वीकार गरेको थियो। रुसले बार्ता युएइमा गर्ने प्रस्ताव गरेको थियो।
शुक्रबार आयोजित एक पत्रकार सम्मेलनमा ट्रम्पले युक्रेनको समस्या समाधान “नजिक” रहेको बताएका थिए। उनले जेलेन्स्की छिट्टै “केहीमा हस्ताक्षर गर्न” तयार हुनुपर्ने पनि जानाकारी दिएका थिए। द वासिङ्टन पोस्टका अनुसार ट्रम्पले शान्ति सम्झौताका लागि युक्रेनले आफ्नो भूभाग रुसलाई सुम्पनु पर्नसक्ने बताएका छन्।
“यो एउटा यस्तो क्षेत्र हो जसका लागि साढे तीन वर्षदेखि लडाइँ भइरहेको छ – र तपाईंलाई थाहै छ, धेरै रुसीहरू मरेका छन्, धेरै युक्रेनीहरू मरेका छन्,” ट्रम्पले भने। “दुवै पक्षको हितका लागि क्षेत्रहरू साटासाट गरिनेछ।”
यो सम्भावित भूमि आदानप्रदानले कुन-कुन क्षेत्रहरू समावेश गर्छ भन्ने स्पष्ट छैन।
विगतमा राष्ट्रपति पुटिनले युद्धविरामको बदलामा पूर्वी युक्रेनको ठूलो भूभागमाथि आफ्नो दाबी प्रस्तुत गर्ने गरेका थिए, जुन युक्रेनको कुल क्षेत्रफलको लगभग पाँच भागको एक भाग हो।

शुक्रबार आयोजित एक पत्रकार सम्मेलनमा ट्रम्पले युक्रेनको समस्या समाधान “नजिक” रहेको बताएका थिए। उनले जेलेन्स्की छिट्टै “केहीमा हस्ताक्षर गर्न” तयार हुनुपर्ने पनि जानाकारी दिएका थिए।
रुसले शान्ति वार्ता मुख्यतया ट्रम्प र पुटिनबीच हुनुपर्ने र जेलेन्स्कीसँग पछि मात्र वार्ता गरिनुपर्ने प्रस्ताव गरेको जनाइएको छ। तसर्थ आगामी हप्ताको बैठकमा जेलेन्स्कीलाई निम्तो दिइने सम्भावना कम देखिन्छ। राष्ट्रपति जेलेन्स्कीले भने बारम्बार शान्ति वार्तामा युक्रेनको सहभागिता अनिवार्य हुनुपर्ने बताउँदै आएका छन्।
के छ अमेरिकाको तैयारी?
बुधबार ट्रम्पले युरोपेली नेताहरूसँग युक्रेनबारे छलफल गरेको पुष्टि गरे, जसमा फिनल्यान्डका राष्ट्रपति एलेक्जेन्डर स्टब, फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रों, बेलायतका प्रधानमन्त्री कियर स्टार्मर, जर्मनीका चान्सलर फ्रिड्रिख मर्ज, र नेटोका महासचिव माक रुट्टे सामेल थिए। स्टबका अनुसार छलफलको केन्द्रबिन्दु रुसको युक्रेनमाथिको युद्ध अन्त्य गर्ने र युद्धविराम गर्ने विषयमा केन्द्रित थियो।
पोल्याण्डको अनलाइन मिडिया ‘ओनेट’ले मस्कोलाई प्रस्ताव गरिएको अमेरिकी योजना सम्बन्धी विवरण प्राप्त गरेको दाबी गरेको छ। ओनेटका अनुसार ट्रम्पका दूत स्टिभ विट्कफले मस्कोमा भएका बैठकहरूका क्रममा रुसी सरकारलाई ६ बुँदे योजना प्रस्तुत गरेका थिए। योजनाका मुख्य अंशमा युक्रेनमा तत्काल युद्धविराम गर्ने र रुसमाथि लगाइएका अधिकांश अमेरिकी प्रतिबन्ध हटाउने प्रस्ताव समावेश छन्।
अमेरिकी प्रस्ताव अनुसार रुसले हाल कब्जामा राखेको युक्रेनी भूभागमाथिको नियन्त्रण यथावत् राख्न पाउनेछ, जसको स्थिति ४९ देखि ९९ वर्षभित्र पुनः मूल्याङ्कन गरिनेछ। पछि गएर अन्तर्राष्ट्रिय तेल तथा ग्याँस बजारमा रुसको पहुँच पुनःस्थापना गर्ने प्रस्ताव पनि गरिएको छ।
तर योजनाले नेटो विस्तार रोकिने कुनै ग्यारेन्टी नदिएको र अमेरिकाले युक्रेनलाई प्रदान गर्दै आएको सैनिक सहयोग पनि यथावत् रहने जनाइएको छ।
अपडेटः पोल्याण्डको अनलाइन मिडिया ‘ओनेट’ को अमेरिकी तैयारी सम्बन्धि विवरण थप गरिएको।





