.संक्षेपमा.
- फिनल्यान्डमा आप्रवासीहरूको बेरोजगारी दर २० प्रतिशत पुग्यो।
- विज्ञहरू भन्छन् आप्रवासीलाई समाजमा घुलमिल गराउने कार्यक्रमको बजेट कटौती ‘ठूलो गल्ती’।
- फिनल्यान्डको समग्र बेरोजगारी दर ईयुमा स्पेनपछि दोस्रो सबैभन्दा खराब।
फिनल्यान्डको श्रम बजारमा आप्रवासीहरूले गम्भीर चुनौती सामना गरिरहेको देखिएको छ। हालैका तथ्याङ्कहरूले आप्रवासी समुदायमा बेरोजगारी दर २० प्रतिशतसम्म पुगेको देखाएको छ, जबकि फिनिस मूलका नागरिकहरूमा यो दर करिब ९ प्रतिशत मात्र छ।
आर्थिक अनुसन्धान संस्थान (Etla) को विश्लेषण अनुसार आर्थिक मन्दी, रोजगारीका अवसरहरू गुम्नु, र आप्रवासीको संख्या बढ्नुले यो अवस्था सिर्जना भएको हो।
विगत दुई वर्षमा फिनल्यान्डले ४०,००० रोजगारी गुमाएको छ। यसले समग्र अर्थतन्त्रलाई नै कमजोर बनाएको छ।
“हामीकहाँ धेरै (विदेशी) मानिसहरू आएका छन् र काम गर्ने उमेरको जनसंख्या बढेको छ। यो खुशीको कुरा हो, तर यस्तो कमजोर आर्थिक अवस्थामा उनीहरूलाई रोजगारी पाउन गाह्रो भइरहेको छ।” एट्लाका प्रमुख कार्यकारी अधिकृत आकी काङ्गाशहार्यु भन्छन्।
काङ्गाशहार्युले श्रम बजारमा रोजगारदाताहरूले फिनिस मूलका नागरिकहरूलाई प्राथमिकता दिने गरेको बताए।
काङ्गाशहार्युले श्रम बजारमा रोजगारदाताहरूले फिनिस मूलका नागरिकहरूलाई प्राथमिकता दिने गरेको बताए।
साना तथा मझौला कम्पनीहरूले पहिलो पटक आप्रवासीलाई रोजगारी दिँदा सोचमा परिवर्तन आउन सक्ने र यसले भविष्यमा श्रमशक्तिको अभावलाई पूर्ति गर्न मद्दत पुग्ने उनको भनाइ छ।
यस्तो विषम परिस्थितिमा सरकारले आप्रवासीहरूका लागि रहेको एकीकरण कार्यक्रम (Kotouttaminen) को बजेट कटौती गर्नुलाई एट्लाले ‘ठूलो गल्ती’ भनेको छ। यस्तै विचार विपक्षी पार्टीहरूले पनि राखेका छन्।
“सरकारको सबैभन्दा ठूलो गल्तीमध्ये एक एकीकरण कार्यक्रमहरूबाट बजेट कटौती गर्नु हो। आप्रवासीलाई एक्लै छोड्नु हुँदैन, बरु फिनल्यान्डमा कसरी काम हुन्छ भनेर सिकाउनुपर्छ।” काङ्गाशहार्यु भन्छन्।
उनले राम्रो एकीकरण कार्यक्रमले भविष्यमा आर्थिक अवस्था सुध्रिँदा आप्रवासीहरूको बेरोजगारी घटाउन मद्दत गर्ने विश्वास व्यक्त गरे।
फिनल्यान्डको समग्र बेरोजगारी दर हाल १०.१ प्रतिशत छ, जुन युरोपेली संघ (EU) मा स्पेनपछि दोस्रो सबैभन्दा उच्च हो। स्वीडेनमा यो दर ८.८ प्रतिशत छ भने युरोपेली संघको औसत ५.९ प्रतिशत मात्र छ।
फिनल्यान्डको तथ्याङ्क केन्द्रका अनुसार अगस्टको अन्त्यसम्ममा फिनल्यान्डमा २,६७,००० मानिसहरू बेरोजगार थिए।





