यो प्रिमियम सामाग्री हाम्रा सहयोगी सदस्यका लागि मात्र।
नेपालीलाइनेनमा प्रकाशित यो सामाग्री 'प्रिमियम' हो। यदि हाम्रो 'सहयोगी सदस्य' बनिसक्नु भएको छ भने गुगल एकाउन्ट वा इमेल प्रयोग गरी लगिन गर्नुहोस्।
'सहयोगी सदस्य' बनिसक्नुभएको छैन भने प्रिमियम सामाग्रीहरु पढ्न 'सहयोगी सदस्य' बन्नुहोस्। सदस्यता दस्तुर मासिक ४.९१ युरो, वार्षिक ५९ युरो।
(यो स्टोरी नेपालीलाइनेनका सहयोगी सदस्यहरूले मात्र पढ्न मिल्ने ‘प्रिमियम स्टोरी’ हो। नेपालीलाइनेनको ‘सहयोगी सदस्य’ बनी फिनल्यान्डको पहिलो र एक मात्र नेपाली भाषाको पत्रिकालाई सघाउनु भएकोमा धेरै धेरै धन्यवाद।)
फिनल्याण्डको राजधानी हेलसिन्कीबाट करिब ६०० किलोमिटर उत्तरमा कायानीको चिसो र घना जङ्गलमा सुनौलो भविष्यको सपना बोकेर आएका दर्जनौं नेपालीहरू आज अनिश्चितताको अँध्यारोमा बाँचिरहेका छन्।
उनीहरू एउटा यस्तो ठगीको शिकार भएका छन्, जसको तानाबाना निकै योजनाबद्ध र आधुनिक तरिकाले बुनिएको प्रतित हुन्छ। एउटा चम्किलो वेबसाइट, नेपाली भाषामा लेखिएका आकर्षक विवरणहरू, र स्थायी बसोबासको मीठो आशा देखाएर उनीहरूलाई फिनल्यान्ड ल्याइएको नेपालीलाइनेनको अनुसन्धानले देखाएको छ।
करिब दुई साताको हाम्रो अनुसन्धानले भन्छः कायानीको घटना कुनै सामान्य मानव बेचबिखन वा श्रम शोषणको घटना मात्र होइन। यो फिनल्यान्डमा नेपालीहरू विरुद्ध भएको सम्भवतः सबैभन्दा ठूलो संगठित ठगी हो, जसले डिजिटल युगमा कसरी अन्तर्राष्ट्रिय श्रमिकहरूलाई फसाउन प्रविधिको दुरुपयोग गरिन्छ भन्ने डरलाग्दो चित्र प्रस्तुत गर्दछ।
यो रिपोर्ट लेखिरहदा बेल्जियमबाट समेत एउटा खबर प्राप्त भएको छ, जसमा नेपालमा पत्रकारको रूपमा काम गरेका एकजनाले लेखेका छन्ः “फरेस्ट्री वर्कको ठगीको जालो निकै ठूलो छ, यतासम्म फैलिएको छ। सवै विवरणका लागि मलाई सम्पर्क गर्नुहोला।”
यद्यपी नेपालीलाइनेनले उनलाई सम्पर्क गर्न भ्याएको छैन। अन्य शोषणका कथा र प्रमाणहरू सहित हाम्रा सामाजिक संजालमा मेसेज गर्नेहरूको संख्या पनि उत्तिकै छ।
तर अहिलेलाई यही कायानीको कम्पनीकै कुरा गरौँ।
चम्किलो वेबसाइट, अँध्यारो नियत
यो सम्पूर्ण घोटालाको केन्द्रमा कायानीमा दर्ता भएको एउटा कम्पनी छ, जसको स्थापना एकजना विवादास्पद युक्रेनी मुलका व्यक्तिले गरेको देखिन्छ। त्यसमा नेपाली, फिनिस, युक्रेनी, र बेलारूस सम्मका व्यक्तिहरूको प्रत्यक्ष वा अप्रत्यक्ष संलग्नता देखिन्छ।
कायानीमा दर्ता भएको यो कम्पनी गत वर्ष मात्र दर्ता भएको हो, अर्थात् यो केवल एक वर्ष पुरानो कम्पनी हो।
आश्चर्यजनक कुरा त के छ भने कम्पनीले दर्ता हुनासाथ नेपालबाट कामदारहरू भर्ना गर्न सुरु गरिहालेको देखिन्छ। नेपालीलाइनेनले हेरेको पीडितहरूमध्ये एकसँगको “कार्य सम्झौता” (work agreement) कम्पनी दर्ता भएको एक महिनामै गरेको देखिन्छ।
नेपालीलाइनेनले उक्त कम्पनीको वेभसाइट विस्तृतमा हेरेको छ।
अधिकांश फिनिस कम्पनीहरूको डोमेन “.fi” मा अन्त्य हुन्छ, तर यो कम्पनीले त्यो मापदण्ड पनि पूरा गरेको थिएन। यसको आधिकारिक इमेल ठेगाना पनि एक साधारण जीमेल ठेगाना थियो—जुन कुनै पनि व्यावसायिक कम्पनीका लागि अस्वाभाविक हो।
यसका बावजुद उक्त कम्पनीको वेबसाइट आफैंमा निकै परिष्कृत देखिन्छ। यो फिनिस, अंग्रेजी र रुसी भाषामा मात्र होइन, नेपाली भाषामा समेत उपलब्ध छ।
वेबसाइटको नेपाली संस्करण कुनै सामान्य गुगल ट्रान्सलेसन वा एआई अनुवाद जस्तो देखिदैन। उक्त वेभसाइटलाई कुनै नेपाली भाषी व्यक्तिले नै लेखेको वा गहिरो रूपमा सम्पादन गरेको हुनुपर्छ भन्ने हाम्रो आकलन छ।
वेबसाइटको नेपाली खण्ड निकै विस्तृत छ। यसमा जङ्गलमा गरिने कामहरू र त्यसमा समावेश विभिन्न प्रक्रियाहरूको विस्तृत वर्णन छ।
वेभसाइटलाई अझ आकर्षक बनाउन नेपाली कामदारहरू जङ्गलमा विभिन्न काम गरिरहेका तस्बिरहरू पनि राखिएको छ, जसले नेपालमा बसेर फिनल्याण्डको सपना देख्ने जो कोहीलाई पनि आकर्षित गर्न सक्थ्यो।
वेबसाइटमा कम्पनीले आफूलाई एक अन्तर्राष्ट्रिय र व्यावसायिक फिनिस कम्पनीको रूपमा प्रस्तुत गरेको देखिन्छ।
वेबसाइटमा कम्पनीले आफूलाई एक अन्तर्राष्ट्रिय र व्यावसायिक फिनिस कम्पनीको रूपमा प्रस्तुत गरेको देखिन्छ।
यो भाषिक र सांस्कृतिक लगानीले पनि स्पष्ट पार्छ सञ्चालकहरूले नेपाली कामदारहरूलाई लक्षित गर्न कति गहिरो तयारी गरेका थिए।
पर्दा पछाडिका खेलाडीहरू
कम्पनीको कागजी सञ्चालक युक्रेनी मूलका एक व्यक्ति हुन्। उनले आफ्नै कम्पनी सुरु गर्नुअघि अन्य वनसम्बन्धी फर्महरूमा काम गरेको अनुभव थियो। तर सामाजिक सञ्जालमा उनका बारेमा एकजना फिनिस वन व्यवसायीले गरेको एक पोस्टले उनलाई एक “अविश्वसनीय र धोखेबाज” व्यक्तिको रूपमा चित्रण गरेको छ।
कम्पनी नयाँ भएकाले यसका कुनै वित्तीय वा लेखा परीक्षण विवरणहरू पनि उपलब्ध छैनन्।
यो ठगीको सञ्जालमा युक्रेनी मात्र नभई नेपाली, फिनिस र भारतीय नागरिकहरू पनि संलग्न रहेको देखिन्छ। पीडितहरूका अनुसार फिनल्याण्डमा केही समयदेखि बस्दै आएका एक नेपाली नागरिक यस घटनामा प्रत्यक्ष रूपमा जोडिएका छन्। पीडितहरूले हस्ताक्षर गरेका रोजगार सम्झौताहरूमा एक महिलाको हस्ताक्षर छ, जो ती नेपाली व्यक्तिसँग बस्दै आएको पीडितहरू बताउँछन्।
फिनिस सुरक्षा बलले घटनाको अनुसन्धान गरिरहेको छ र कम्पनीका मुख्य सञ्चालक सहित कम्तीमा तीन जनालाई पक्राउ गरिएको विभिन्न घटनाक्रमले पुष्टि गर्छन् । उनीहरूमाथि गम्भीर गैरकानुनी आप्रवासनको व्यवस्था मिलाउन सहभागी भएको अभियोग लगाइएको छ।





