.संक्षेपमा.
- आइतबार बिहान ४ बजे घडीलाई एक घण्टा पछाडि ३ बजेमा सारिने।
- यो परिवर्तनले फिनल्यान्डमा बस्नेलाई एक घण्टा अतिरिक्त सुत्ने समय मिल्नेछ।
- घडी परिवर्तनको नियम हटाउने प्रयास जारी, प्रस्ताव युरोपेली संघमा रोकियो।
फिनल्यान्डमा बसोबास गर्ने नेपालीहरूका लागि महत्त्वपूर्ण जानकारी: भोली आइतबार अक्टोबर २६ तारिखदेखि युरोपमा शीतकालीन अर्थात् जाडो समय (talviaika) सुरु हुँदैछ। यसको मतलब आइतबार बिहान ४ बजे घडीहरूलाई एक घण्टा पछाडि सारेर ३ बजे बनाइनेछ।
यो परिवर्तन फिनल्यान्डमा मात्र नभई युरोपेली संघ (EU) का सबै सदस्य राष्ट्रहरूमा एकैसाथ लागू हुन्छ। अन्तर्राष्ट्रिय रेल तथा हवाई उडानहरूमा कुनै असर नपरोस् भनेर यो परिवर्तन एकै दिन र एकै समयमा गर्ने गरिन्छ।
मोबाइल फोन, कम्प्युटर लगायतका डिजिटल साधनमा भने घडी आफैँ परिवर्तन हुनेछ। घरमा रहेका भित्ते घडी वा सामान्य हाते घडीमा भने समय आफैँ परावर्तन गर्नु पर्नेछ।
एक घण्टा बढी सुत्ने अवसर
घडी पछाडि सार्दा आइतबारको रात एक घण्टा लामो हुनेछ, जसले गर्दा सबैले एक घण्टा बढी सुत्न पाउनेछन्। आइतबार बिहानको समयमा ट्राफिक सबैभन्दा कम हुने भएकाले घडी परिवर्तनका लागि यो समय रोजिएको हो।
फिनल्यान्डमा सन् १९८१ देखि नियमित रूपमा घडी परिवर्तन गर्ने चलन चल्दै आएको छ। हरेक वर्ष मार्च महिनाको अन्तिम आइतबार घडीलाई एक घण्टा अगाडि (ग्रीष्मकालीन समय) र अक्टोबरको अन्तिम आइतबार एक घण्टा पछाडि (शीतकालीन समय) सारिन्छ।
घडी पछाडि सार्दा आइतबारको रात एक घण्टा लामो हुनेछ, जसले गर्दा सबैले एक घण्टा बढी सुत्न पाउनेछन्।
घडी परिवर्तन अन्त्य गर्ने प्रस्ताव अझै अनिश्चित
युरोपेली आयोगले सन् २०१८ मा वर्षमा दुई पटक घडी परिवर्तन गर्ने नियमलाई हटाउन प्रस्ताव गरेको थियो। फिनल्यान्डले पनि उक्त प्रस्तावको समर्थन गरेको थियो।
युरोपेली संसदले सन् २०१९ मा घडी परिवर्तनको अन्त्य गर्ने पक्षमा मतदान गरे पनि यो प्रस्ताव युरोपेली संघको काउन्सिलमा अड्किएको छ।
सदस्य राष्ट्रहरूबीच स्थायी रूपमा कुन समय (ग्रीष्मकालीन वा शीतकालीन) अपनाउने भन्ने विषयमा सहमति जुट्न नसक्दा यो विषय हाललाई रोकिएको छ।





