फिनल्यान्डमा बसोबास गर्ने र नागरिकताका लागि आवेदन दिन चाहनेहरूका लागि महत्त्वपूर्ण मानिने राष्ट्रिय भाषा प्रवीणता परीक्षा (YKI) को दर्ता प्रणालीमा व्यापक सुधार गरिएको छ।
फिनिस राष्ट्रिय शिक्षा एजेन्सीका अनुसार बढ्दो आवेदकको चापलाई व्यवस्थापन गर्न र प्रक्रियालाई सहज बनाउन यही सेप्टेम्बर ८ देखि नयाँ प्रणाली लागू हुन लागेको हो।
यो परिवर्तनपछि आवेदकहरूले अनलाइनबाटै आफ्नो परीक्षा विवरण व्यवस्थापन गर्न सक्नेछन्।
विगत केही वर्षयता YKI परीक्षाका लागि आवेदकको संख्या बढेसँगै परीक्षाका लागि ठाउँ पाउन कठिन हुँदै गएको थियो।
गत वर्ष देखि नै परीक्षाका सिटहरू तीव्र गतिमा भरिएपछि एजेन्सीले नयाँ आयोजक थप्ने र दर्ता प्रणालीमा सुधार गर्ने बताएको थियो।
साधारण YKI (perustaso) का लागि १५३ युरो तिर्नुपर्छ भने मध्यम (keskitaso)का लागि १७६ युरो तिर्नुपर्छ।
विगत केही वर्षयता YKI परीक्षाका लागि आवेदकको संख्या बढेसँगै परीक्षाका लागि ठाउँ पाउन कठिन हुँदै गएको थियो।
परीक्षा मिति सार्न सजिलो
पहिले परीक्षा मिति सार्न वा क्यान्सिल गर्न परीक्षा केन्द्रमा सम्पर्क गर्नुपर्थ्यो। अब भने आवेदकहरूले ‘माई स्टडी इन्फो’ (My Studyinfo) सेवामार्फत यो काम आफैँ गर्न सक्नेछन्।
नयाँ प्रणालीमा ‘वेटिङ लिस्ट’ को पनि व्यवस्था गरिएको छ। यसले पहिलेको खाली सिटबारे जानकारी दिने इमेल प्रणालीलाई प्रतिस्थापन गर्नेछ।
YKI परीक्षाका लागि दर्ता गर्न आवेदकहरूले Suomi.fi ई-पहिचान वा इमेलमार्फत प्रणालीमा लग-इन गर्नुपर्नेछ।
Suomi.fi ई-पहिचान प्रयोग गरेर लग-इन गर्नेहरूले ‘माई स्टडीइन्फो’ मा आफ्नो दर्ता हेर्न, सम्पादन गर्न, मिति सार्न र रद्द गर्न सक्नेछन्। तर परीक्षा मिति एक पटक मात्र सार्न पाइनेछ र परीक्षाको दिन बिहान ८ बजेभित्र रद्द गर्नुपर्नेछ वा सार्नुपर्नेछ।
आवेदकले एउटै परीक्षा मितिका लागि एउटा मात्र YKI परीक्षा वा त्यसको ‘वेटिङ लिस्ट’ मा दर्ता गर्न पाउनेछन्। ‘वेटिङ लिस्ट’ मा दर्ता भएपछि आवेदकले एक पुष्टिकरण इमेल प्राप्त गर्नेछन्, जसमा रहेको लिङ्कबाट आफ्नो पालो हेर्न सकिनेछ।
यदि ‘वेटिङ लिस्ट’ बाट परीक्षामा ठाउँ पाएमा त्यसको जानकारी इमेलमार्फत पठाइनेछ। ठाउँ पाएपछि आवेदकले तोकिएको मितिभित्र परीक्षा शुल्क तिर्नुपर्नेछ, जसका लागि पठाइएको भुक्तानी लिङ्क एक दिनका लागि मात्र मान्य हुनेछ।
समयमै शुल्क नतिरेमा प्राप्त भएको ठाउँ स्वतः रद्द हुनेछ।
‘वेटिङ लिस्ट’ बाट परीक्षाका लागि ठाउँ परीक्षा मितिभन्दा कम्तिमा एक हप्ता अगाडिसम्म मात्र उपलब्ध गराइनेछ।
YKI परीक्षा सन् १९९४ देखि सञ्चालन हुँदै आएको छ र सन् २००३ देखि फिनिस नागरिकताका लागि आवश्यक भाषा प्रवीणता प्रमाणित गर्न यसको प्रमाणपत्र प्रयोग हुँदै आएको छ।





