.संक्षेपमा.
- उत्तरी साभो क्षेत्रमा विदेशी मूलका १० नर्स र २ डाक्टरको रोजगार सम्झौता रद्द।
- कमजोर फिनिस भाषा र व्यावसायिक सीपको पनि अभाव रहेको आरोप।
- प्रभावित कर्मचारीलाई अस्थायी रूपमा फरक जिम्मेवारीको प्रस्ताव।
फिनल्यान्डको उत्तरी साभो वेलफेयर क्षेत्रमा भर्ती गरिएका केही विदेशी स्वास्थ्यकर्मीहरूको भाषागत कमजोरी र अपेक्षित सीपको अभाव देखिएपछि रोजगार सम्झौता परीक्षण अवधिमै रद्द गरिएको छ।
रोजगार सम्झौता रद्द हुने १० नर्स र २ डाक्टरमध्ये अधिकांश जिम्बाब्वेका नागरिक हुन्। फिनिस सार्वजनिक प्रसारण संस्था YLE का अनुसार सम्झौता रद्द हुनेमा अन्य देशका नागरिकहरू पनि छन्।
जिम्बाब्वेका नर्सहरुले आफ्नो अध्ययन पोल्यान्डमा पूरा गरेर एक एजेन्सी मार्फत फिनल्यान्ड आएका थिए। उनीहरुले उत्तरी फिनल्यान्डका इसाल्मी (Iisalmi), भार्काउस (Varkaus), र कुओपियो (Kuopio) सहरहरूका विरामीलाई केयर गर्ने काम गर्ने गरेका थिए।
प्रभावित कर्मचारीहरूलाई नर्सबाट डाउनग्रेड गरेर अस्थायी रूपमा सहायक स्वास्थ्यकर्मीको जिम्मेवारी दिने प्रस्ताव गरिएको छ।
फिनल्यान्डको स्वास्थ्य क्षेत्रमा कर्मचारीहरूको अभाव लामो समयदेखि समस्या बनिरहेको छ। यो कमीलाई समाधान गर्न उत्तरी साभो वेलफेयर क्षेत्रजस्ता संस्थाहरूले सक्रिय रूपमा विदेशी स्वास्थ्यकर्मीहरूलाई भर्ती गर्दै आएका छन्।
यो घटनामा भर्तीको प्रक्रिया कमजोरीपूर्ण रहेको आरोपसमेत लागेको छ। उत्तरी साभो वेलफेयर क्षेत्रले भर्तीको जिम्मा लिएको सेवा प्रदायकले आफ्नो भूमिका प्रभावकारी रूपमा निर्वाह नगरेको जनाएको छ।





