पश्चिम दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–८, माथिल्लो खाडामा तीजको कार्यक्रम हेरेर घर फर्कँदै गरेकी एक १३ वर्षीया बालिकामाथि सामूहिक बलात्कार भएको छ।
बिहीबार राति साथीहरूसँग घर जाँदै गर्दा दुई युवकले लखेटेर, ढुङ्गाले प्रहार गरी घाइते बनाएपछि एकान्तमा लगेर बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ।
घटना तीजको रमाइलो माहौलबीच भएको थियो। गाउँलेहरू भेला भएर नाचगान गरिरहेका बेला राति करिब १२ बजे कार्यक्रम सकिएपछि ती बालिका आफ्ना चार जना साथीसँगै घरतर्फ लागेकी थिइन्।
बाटोमा सोही नगरपालिकाका २३ वर्षीय र २५ वर्षीय शाही र भण्डारी थरका दुई युवकले उनीहरूलाई लखेट्न थालेका थिए। अँध्यारोमा अरू साथीहरू भाग्न सफल भए पनि ती बालिकालाई पछाडिबाट ढुङ्गाले हानेर लडाइएको थियो।
जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक लालबहादुर सुनारले नेपालका सेतोपाटी र रातोपाटी लगायतका अनलाइन पत्रिकाहरूलाई बताए अनुसार दाहिने पाखुरामा ढुङ्गा लागेर ढलेकी बालिकालाई दुवै युवकले उठाएर एकान्तमा लगी पालैपालो बलात्कार गरेका थिए।
“उनलाई निकै चोट लागेछ, पीडाले ढलिन्,” प्रहरी निरीक्षक सुनारले नेपाली मिडियालाई भनेका छन्।
घटनाको खबर बालिकाका साथीहरूले डराउँदै घरमा पुगेर गरेपछि आफन्त र स्थानीयवासी खोजीमा निस्किएका थिए। उनीहरू घटनास्थल नजिक पुग्दा आरोपितहरू भागेका थिए। परिवारले बालिकालाई बेहोस अवस्थामा फेला पारेको थियो।
रोजगारीका लागि भारतमा रहेका आमाबुबाकी छोरी, पीडित बालिका घरको रेखदेख गर्दै स्कुल पढिरहेकी थिइन्।
स्थानीयका अनुसार बालिकाको हात मर्केको थियो र शरीरबाट रक्तश्राव भइरहेको थियो। उनलाई तत्कालै दैलेख अस्पताल पुर्याइएको थियो।
शुक्रबार पीडित पक्षले किटानी जाहेरी दिएपछि प्रहरीले दुवै आरोपितलाई पक्राउ गरेको छ।
“दुवैलाई हिरासतमा राखी अनुसन्धानका लागि अदालतबाट म्याद थप गरिएको छ,” प्रहरी निरीक्षक सुनारले बताएका छन्।
हाल बालिकाको दैलेख अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसीएमसी) मा उपचार भइरहेको र उनको दाहिने हात मर्केको र गुप्ताङ्गमा गहिरो चोट साथै रक्तश्राव भएको जनाइएको छ।





