.संक्षेपमा.
- फिनल्यान्डमा करिब चार दर्जन नेपाली गम्भीर ठगी र श्रम शोषणको सिकार।
- एक गिरोहले पीडितलाई फिनल्यान्ड ल्याएर काम र तलब नदिई अलपत्र पार्यो।
- पीडितहरू अहिले फिनल्यान्डको सरकारी संरक्षणमा, भविष्य अनिश्चित।
फिनल्यान्डमा करिब चार दर्जन नेपाली गम्भीर ठगी र श्रम शोषणको सिकार भएपछि सहयोग र उद्धारका लागि अपिल गर्दै फिनिस सरकारको संरक्षणमा पुगेका छन्।
पीडितहरूका अनुसार उनीहरूलाई एक गिरोहले फिनल्यान्डमा ल्याएर काम र तलब नदिएर अलपत्र पारेको हो।
यसरी ठगी र श्रम शोषणको सिकार हुने ४३ जना नेपालीहरूको नाम र अन्य विवरण नेपालीलाइनेनले प्राप्त गरेको छ। गत दुई सातामा पीडितसँग विभिन्न माध्यमबाट सम्पर्क गरी उनीहरूको पछिल्लो अवस्थाबारे पनि नेपालीलाइनेनले जानकारी प्राप्त गरेको छ।
पीडित ४३ जनामध्ये ३९ जना मौसमी भिसामा वन सम्बन्धी काम गर्न भनेर फिनल्यान्ड ल्याइएका हुन्। बाँकी ४ जना भने ‘A’ परमिटमा फिनल्यान्डमै बसिरहेका नेपाली हुन्। पीडितहरू सबै २३ देखि ४५ वर्षे उमेर समूह भित्र पर्ने पुरुष हुन्। धेरै पीडितहरू ३०-३५ वर्षका छन्।
घटनाबारे जानकार स्रोतका अनुसार यो पीडितहरूको एउटा समूह मात्रै हो, र कुल पीडितको सङ्ख्या यो भन्दा निकै धेरै छ।
फिनल्यान्डको राजधानी हेलसिन्कीबाट करिब ६०० किलोमिटर उत्तरमा रहेको कायानी, काइनु र सोत्कामो क्षेत्रमा वन-जङ्गल सम्बन्धी काम गर्ने भनेर उनीहरूमध्ये धेरैलाई करिब ६ महिना अगाडी फिनल्यान्ड ल्याइएको हो।
पिडितहरूले सरकारी सहयोगका लागि आग्रह गर्दै पठाएको इमेल र उनीहरूले फिनल्यान्डको कायानीमा दर्ता भएको एक कम्पनीसँग हस्ताक्षर गरेको ‘काम सम्झौता’ अर्थात् ‘वर्क एग्रीमेन्ट’ पनि नेपालीलाइनेनले हेरेको छ।
फिनल्यान्डमा पहिले पनि पटक-पटक नेपालीहरू ठगी र श्रम शोषणको सिकार हुने गरेको पाइए पनि यो स्तरमा यति धेरै नेपालीहरू पीडित भएको सम्भवतः यो पहिलो घटना हो।
यो घटनाका बारेमा फिनिस प्रेसमा भने अहिलेसम्म कुनै समाचार आएको छैन। नेपालीलाइनेनले नै यो समाचार ‘ब्रेक’ गरेको हो।
नेपालीहरूलाई फिनल्यान्ड ल्याएर अलपत्र पार्ने गिरोहमा नेपाली, फिनिस, युक्रेनियन र भारतीय नागरिकहरूको संलग्नता देखिन्छ। यद्यपी नेपालीलाइनेनले यसबारे थप तथ्यहरू संकलन गरिरहेको छ।
नेपालीहरूलाई फिनल्यान्ड ल्याएर अलपत्र पार्ने गिरोहमा नेपाली, फिनिस, युक्रेनियन र भारतीय नागरिकहरूको संलग्नता देखिन्छ। यद्यपी नेपालीलाइनेनले यसबारे थप तथ्यहरू संकलन गरिरहेको छ।
न भने जति काम दिइयो, न काम गरेको पैसा
नेपालबाट लाखौँ रुपैयाँ असुल गरी फिनल्यान्ड ल्याइए पनि उनीहरूलाई दिने भने अनुसार काम नदिइएको नेपालीलाइनेनसँग सम्पर्कमा रहेका एक पीडितले बताए।
“हामीलाई भने अनुसार काम नै दिइएन।” उनले भने। “हप्तामा १-२ दिन काम गराए पनि त्यसको पेमेन्ट नै गरिएन।”
“न काम दिए, न गरेको कामको पैसा दिए,” उनले थपे। “अनेक सपना देखाएर चर्को पैसा लिए, अनि अलपत्र पारेर छाडे।”
उनका अनुसार फिनल्यान्ड आउन पीडितहरूले प्रतिव्यक्ति दसदेखि सोह्र लाख रुपैयाँसम्म बुझाएका थिए। उनीहरूलाई मौसमी भिसा सकिएपछि स्थायी काम खोजिदिने र ‘ए’ परमिट पनि बनाइदिने आश्वासन दिइएको थियो।
आफूलाई काम दिन्छु भनेर ल्याएको कम्पनीले अलपत्र पारेपछि पीडितहरूले अर्का एक जना स्थानीय व्यवसायीको सहयोगमा जङ्गलमा बेरी टिपेर केही नगद जम्मा गरेका थिए।
नेपाली नै थिए फसाउने दलाल
केही समयदेखि फिनल्यान्डमा बसोबास गरिरहेका एक नेपाली यो घटनामा प्रत्यक्ष जोडिएको पाइएको छ।
नेपालीलाइनेनले प्राप्त गरेको सुचना अनुसार उनी करिब दुई-अढाई वर्ष अगाडी पर्यटक भिसामा फिनल्यान्ड आएर यतै एक युवतीसँग घरजम गरेका हुन्। नेपालीहरू ठगिएको ‘वर्क एग्रीमेन्ट’मा उनै युवतीको हस्ताक्षर देखिन्छ।
पीडितहरूका अनुसार अभियुक्त पुरुषलाई फिनिस प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ।
फिनल्यान्डको सीमा रक्षक बलले अक्टोबर ५ मा फिनल्यान्डमा गैर कानुनी रूपमा मान्छे भित्राउन संलग्न रहेको अभियोगमा एक ४२ वर्षे नेपाली भाषी पक्राउ गरेको समाचार सार्वजनिक भएको थियो।
पीडितहरूलेनेपालीलाइनेनलाई बताए अनुसार ती नेपाली यही घटनामा संलग्न व्यक्ति हुन्। यद्यपि ती नेपाली यही घटनामै संलग्न भएका कारण पक्राउ परेका हुन् भनेर स्वतन्त्र रूपमा पुष्टि हुने सरकारी वा आधिकारिक सूचना भने नेपालीलाइनेनले प्राप्त गरेको छैन।
नेपालीहरू अलपत्र पार्ने उक्त कम्पनीलाई नेपालीलाइनेनले प्रतिक्रियाका लागि सम्पर्क गरेको थियो। यद्यपि उक्त कम्पनीबाट अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन। एक विश्वस्त स्रोतका अनुसार उक्त कम्पनीका सञ्चालकलाई पनि प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको छ।
पीडितहरूलाई एक वकिलले कानुनी सहयोग प्रदान गरेका छन्। काम गरेको तलब र क्षतिपूर्ति पाउनुपर्ने र आफूहरू ठगिएका कारण आवासीय अनुमति नवीकरण गर्दा पनि केही सहुलियत हुन्छकी भने पीडितहरूको आशा देखिन्छ।
यद्यपि आप्रवासीहरू प्रति दिनप्रतिदिन कठोर कदम चालिरहेको र आप्रवासनका नियमहरू कडा बनाइरहेको वर्तमान सरकारले आफूहरूलाई नेपाल फिर्ता गरिदिने हो कि भन्ने संशय पनि उनीहरूमा बढिरहेको छ।
एनआरएनए फिनल्यान्डका अध्यक्ष योगेन्द्र सङ्ग्रौलाले आफूहरूलाई पनि केही पीडितले सम्पर्क गरेपछि फिनल्यान्डमा सहयोग खोज्ने प्रक्रिया बताइदिएको नेपालीलाइनेनलाई बताए।
एक विश्वस्त स्रोतका अनुसार उक्त कम्पनीका सञ्चालकलाई पनि प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको छ।
पीडितहरूमध्ये धेरै अहिले फिनिस सरकारले उपलब्ध गराएको ‘सेल्टर’मा छन्। नेपालीलाइनेनले कुरा गरेका एक पीडितका अनुसार फिनिस अधिकारीहरूले उनीहरूलाई बोलाएर बयान लिने गरेका छन्।
“के हुने हो, कसो हुने हो, केही टुङ्गो छैन।” एक पीडितले नेपालीलाइनेनसँग भने। “त्यति धेरै पैसा डुब्यो। न कामको टुङ्गो भयो न भिसाको ज्ञारेन्टी। हामी सबै निकै तनावमा छौँ।”
अपडेट (2.11.2025 06:30): पीडितहरूको वास्तविक संख्या निकै धेरै हुनसक्ने, र प्रकरणका बारे एनआरएनए फिनल्यान्डको प्रतिक्रिया थपिएको।
(नेपालीलाइनेनले यो घटनाका बारे विभिन्न तथ्यहरू संकलन गरिरहेको छ र हाम्रो रिपोर्टिङ जारी रहेन छ। अबका रिपोर्टिङहरुमा यो घटनालाई ‘कायानी ठगी काण्ड’ भनेर उल्लेख गरिने छ। यदि तपाई पनि यही वा अन्य यस्तै घटनाको पीडित हुनहुन्छ भने नेपालीलाइनेनलाई सम्पर्क गरी थप जानकारी (WhatsApp: +358 41 715 7816, वा इमेलः info(at) nepalilainen.fi) दिन सक्नुहुन्छ। हामी स्रोतको पूर्ण गोपनीयता सुनिश्चित गर्छौँ।)





