संक्षेपमा
- नेपाली नर्स लगायत धेरै विदेशी विद्यार्थीको पढाइ र करियर अन्योलमा परेको जिकिर।
- अंग्रेजीमा पढाइ तर काम पाउन फिनिस भाषा अनिवार्य हुनु ठूलो विरोधाभास भएको तर्क।
- आर्थिक अभाव टार्न कलेजहरूले विद्यार्थीलाई ‘दुहुनो गाई’ को रूपमा मात्र हेरेको आशङ्का।
फिनल्यान्डको उच्च शिक्षा र रोजगारीको बाटो विदेशीका लागि सोचेजस्तो सहज छैन भन्ने तथ्य दिन प्रतिदिन थप उजागर हुँदै गएको छ।
फिनल्यान्ड आर्थिक रूपमा लगभग मन्दीकै अवस्थामा छ, बेरोजगारी दर इयुकै उच्च बिन्दुमा पुगेको छ, तर पनि नयाँ भविष्यको आशा बोकेर फिनल्यान्ड आउने विद्यार्थीहरूको सङ्ख्यामा खासै कमी आएको छैन।
फिनल्यान्डको सार्वजनिक प्रसारण संस्था YLE का खोज पत्रकार एरो मान्त्युमाले गरेको एक पछिल्लो विश्लेषणका अनुसार फिनल्यान्डले आप्रवासी विद्यार्थीमाथि गरिरहेको व्यवहारले देशकै छवि बिग्रने खतरा बढेको छ।
बुढ्यौली लाग्दै गरेको समाजलाई धान्न र करदाता बढाउन फिनल्यान्डले विदेशी विद्यार्थी भित्र्याउने नीति लिएको हो। तर शैक्षिक एजेन्टहरूले देखाएको सपना र यहाँको यथार्थबिच ठुलो खाडल छ, र धेरै समस्या त्यसैले सिर्जना गरेको छ।
विद्यार्थीहरूले घरजग्गा धितो राखेर र ऋण लिएर फिनल्यान्ड आउँछन्। तर यहाँको रोजगारीको अवस्था र खास गरी फिनिस भाषा नजान्नेले श्रम बजारमा भोग्नुपर्ने पीडाले विदेशी विद्यार्थीहरूलाई निराश बनाइरहेको मान्त्युमाको तर्क छ।
विदेशीका अनेकथरी पिडा
आफ्नो विश्लेषणमा पत्रकार मान्त्युमाले नर्सिङ पढिरहेकी एक नेपाली विद्यार्थीको पीडा पनि समेटेका छन्।
फिनिस भाषाको ज्ञान नहुँदा उनले कुरा गरेकी एक नेपाली नर्सले ‘इन्टर्नसिप’ पाउन नसकेको र त्यसैका कारण उनको डिग्री नै धरापमा परेको मान्त्युमाले उल्लेख गरेका छन्।
त्यस्तै भियतनामका एक किशोरलाई फिनिस भाषामा सोधिएका परीक्षाका प्रश्न नबुझ्दा पास हुन मुस्किल परेको कुरा पनि उल्लेख छ। म्यानमारकी एक केयर असिस्टेन्टले सरसफाइको कामसमेत नपाउँदा ‘डिपोर्ट’ हुने अवस्था आएको उदाहरण पनि समेटिएको छ।
श्रीलङ्काकी एक शिक्षिकाले एक वर्षसम्म सयौँ ठाउँमा आवेदन दिँदा पनि काम नपाएको र ‘फिनल्यान्डमा यति गाह्रो हुन्छ भन्ने थाहा पाएको भए आफू आउँदै नआउने’ बताएको पनि उनले उल्लेख गरेका छन्।
पत्रकार मान्त्युमाले यदि विद्यार्थीले फिनल्यान्डमा आफ्नो लगानी डुबेको महसुस गरे भने विश्वकै खुसी देशको ब्रान्ड छिट्टै धराशायी हुन सक्ने पनि चेतावनी दिएका छन्।
पत्रकारले उठाएका ७ गम्भीर प्रश्नहरू
मान्त्युमाले फिनल्यान्डको वर्तमान शिक्षा र आप्रवासन प्रणालीमाथि मुलतः सातवटा तीखा प्रश्न उठाएका छन्। उनले बुँदागत रूपमै प्रस्तुत गरेका भने छैनन्। नेपालीलाइनेनले उनले विश्लेषणमा उल्लेख गरेका समस्या र प्रश्नहरूमा आधारित रहेर बुँदागत गरेको हो।
१. नामकै कारण हुनसक्छ विभेद: शैक्षिक एजेन्टहरूले विद्यार्थीलाई सही र पूर्ण सूचना दिँदैनन्। फिनल्यान्डमा काम पाउन कति गारो हुन्छ र विदेशी नाम मात्रै पनि काम नपाउनुको एउटा कारण बन्न सक्छ भन्ने कुरा विदेशी विद्यार्थीहरूलाई थाहा नै हुन्न।
२. विरोधाभासपूर्ण नीति: फिनल्यान्डमा आप्रवासीको बेरोजगारी दर उच्च छ। तैपनि अङ्ग्रेजी माध्यममा पढाइने डिग्री कार्यक्रममा हजारौँ सिट थपिँदै छ। किन?
३. भाषाको पासो: फिनिस भाषा नजान्दा पनि भर्ना हुन र पढ्न किन यति सजिलो बनाइयो, जबकि सामान्य इन्टर्नसिपका लागि पनि फिनिस भाषा लगभग अनिवार्य जस्तै छ।
४. भ्रामक छवि: के फिनल्यान्डले आफूलाई अन्तर्राष्ट्रिय ‘विन्टर वन्डरल्यान्ड’ देखाएर भाषा केवल संस्कृतिका लागि मात्र हो भन्ने भ्रम छरिरहेको हो?
५. कलेजको नयाँ कमाइ खाने बाटो: फिनिस सरकारले कलेजहरूलाई दिने बजेट कटौती गरेको छ। के विदेशी विद्यार्थीहरू पोलिटेक्निकहरूका लागि आफ्नो आर्थिक समस्या टार्ने नयाँ माध्यम मात्र हुन्?
६. सस्तो कामदारको रणनीति: के यो सबै उच्च शिक्षित आप्रवासीलाई फिनिसहरूले गर्न नचाहने कम तलबका काममा लगाउने एक ‘चलाख’ योजना हो?
७. फिनल्यान्डको भविष्यमा दाग: फिनल्यान्डमा अवसर नपाएपछि मानिसहरू आफ्नै देश फर्किन्छन् वा अन्तै जान्छन्। निराश भएर फर्कनेहरूले विश्वभर फिनल्यान्डबारे कस्तो सन्देश फैलाउलान् भन्ने हेक्का राखिएको छ?
पत्रकार मान्त्युमाले यदि विद्यार्थीले फिनल्यान्डमा आफ्नो लगानी डुबेको महसुस गरे भने विश्वकै खुसी देशको ब्रान्ड छिट्टै धराशायी हुन सक्ने पनि चेतावनी दिएका छन्।
(फिनिस भाषामा लेखिएको पत्रकार मान्त्युमाको विश्लेषण यहाँ पढ्न सक्नुहुन्छ।)





