.संक्षेपमा.
- अर्थमन्त्री पुर्राको बजेट प्रस्तावलाई लिएर सत्ता गठबन्धनभित्रै खटपट।
- फिन्स पार्टीको एजेन्डा मात्रै झल्किएको भन्दै आलोचना।
- बजेट सम्झौता छलफल फेरी सुरु गर्नुपर्ने माग।
फिनल्यान्डकी अर्थमन्त्री तथा फिन्स पार्टीकी नेतृ रिक्का पुर्राले हिजो सार्वजनिक गरेको करिब ९०० मिलियन युरो बजेट कटौती प्रस्तावका कारण फिनिस राजनैतिक वृत्त तरङ्गित बनेको छ।
पुर्राले सार्वजनिक गरेको प्रस्तावमा फिनल्यान्डले लिने कोटा शरणार्थी शून्य बनाउने, गरिब देशहरूलाई दिने सहयोगमा व्यापक कटौती गर्ने, फिनल्यान्डको शिक्षा बोर्ड खारेज गर्ने र व्यवसायहरूलाई दिँदै आएको आर्थिक सहयोग घटाउने लगायतका विवादास्पद विषयहरु छन्।
पुर्राको प्रस्तावमा अनुसन्धान र विकास (R&D) को लगानी तथा फिनल्यान्डका विश्वविद्यालयहरूले पाउने सरकारी सहयोग पनि घटाउने उल्लेख छ। आप्रवासीले पाउने इन्टिग्रेसन सपोर्ट घटाउने पनि पुर्राको प्रस्ताव छ।
पुर्राको प्रस्तावको फिनल्यान्डको संसद्मा रहेका सबै विपक्षी दलहरूले खुलेर विरोध गरेका छन्। विरोधको स्वर सरकार भित्रै पनि देखिएको छ।
गठबन्धनका साझेदारहरूले प्रस्तावको कडा आलोचना गर्दै त्यो केबल ‘एउटा पार्टीको इच्छासूची’ भएको बताएका छन्। उनीहरूका अनुसार प्रस्तावमा पुर्राको फिन्स पार्टी अर्थात् Perussuomalaiset ले सरकार गठन गर्ने बेलाको वार्तामा अनुमोदन गराउन नसकेका विषयहरूलाई घुसाइएको छ।
स्वीडिस भाषीहरु बिच लोकप्रिय आरकेपी पार्टीका अध्यक्ष तथा फिनल्यान्डका शिक्षा मन्त्री एन्डर्स एडलरक्रेउट्जले पुर्राको प्रस्तावलाई अस्वीकार गर्दै त्यो ‘एउटा मात्र पार्टीको प्रस्ताव’ भएको बताएका छन्।
एडलरक्रेउट्जले उक्त प्रस्तावलाई वार्ता सुरु गर्ने बिन्दुको रूपमा समेत नलिएको र पुर्राले बेकारमा कर्मचारीहरूको समय बर्बाद गरेको बताएका छन्। यद्यपि उनले सार्वजनिक वित्तको कमजोर अवस्था र देशको क्रेडिट रेटिङ घट्ने सम्भावनामा अर्थ मन्त्रीसँग सहमत रहेको बताएका छन्।
एडलरक्रेउट्जले बजेट कटौतीको लामो सूचीबाट ‘राष्ट्रिय शिक्षा बोर्ड’ (Opetushallitus) खारेज गर्ने प्रस्तावलाई अस्वीकार गरेका छन्। “त्यो लागू हुनेछैन,” उनले हेलसिन्की सानोमातलाई भनेका छन्।
प्रधानमन्त्रीको कोकोमुस पार्टीका नेता तथा श्रम मन्त्री माटियास मार्टिनेनले पनि पुर्राको कदमलाई ‘परम्पराबाट अलग’ भएको बताएका छन्।
मार्टिनेनले हेलसिन्की सानोमातसँगको कुराकानीमा “एउटा मन्त्रीले बजेट प्रस्तावमा यति धेरै आफ्नै राजनीतिक कुराहरू राख्नु असाधारण हो,” भनेका छन्। उनले बजेट वार्ता फेरी ‘शून्य’ बाट सुरु हुनुपर्ने र मन्त्रीको नभै अर्थ मन्त्रालयका अधिकारीहरूको प्रस्तावलाई आधार मान्नुपर्ने बताएका छन्।
अर्को सत्ता साझेदार दल क्रिश्चियन डेमोक्रेट्स पार्टीले पनि बजेट प्रस्तावलाई स्वीकार गरेको छैन। पार्टीको संसदीय समूहका अध्यक्ष पिटर ओस्टम्यानले पुर्राको प्रस्तावमा कठिन कुराहरू रहेको र धेरै वार्ता र छलफलको आवश्यकता पर्ने बताएका छन्।
विपक्षी ग्रिन पार्टीकी अध्यक्ष सोफिया भिर्ताले यही साता स्कुल खुलेर विद्यार्थीहरू जान थालेकै बेला सरकारले शिक्षामा कटौतीको उपहार दिएको भन्दै सरकारको कडा आलोचना गरेकी छिन्। पुर्राको प्रस्तावलाई उनले ‘मूर्खता’ भनेकी छिन्।

विपक्षी ग्रिन पार्टीकी अध्यक्ष सोफिया भिर्ताले पुर्राको प्रस्तावलाई ‘मूर्खता’ भनेकी छिन्।
पुर्राले किन त्यसो गरिन ?
फिनल्यान्डले लिने कोटा शरणार्थी सङ्ख्या शून्य बनाउने प्रस्ताव पारित हुने खाले प्रस्ताव हैन। वैदेशिक सहयोग पनि केही घटाउन सकिएला तर पुर्राले प्रस्ताव गरेको लेभलमा घटाउन फिनल्यान्डलाई गाह्रै पर्छ। फिनल्यान्डको आफ्नै अन्तर्राष्ट्रिय बाचा छ, जुन उसले पुरा गर्नुपर्छ। त्यसो भए पुर्राले यी पास नै नहुने प्रस्ताव किन गरिन् भन्ने प्रश्न स्वाभाविक उठ्छ।
पुर्राले आफ्नो राजनैतिक अभीष्ट पुरा गर्न यी प्रस्तावहरू गरेकी हुन्। फिन्स पार्टीको समर्थन फिनल्यान्डमा घट्दो छ। गत संसदीय निर्वाचन ताका २०-२२ प्रतिशतमा रहेको पार्टी अहिले १०-१२ प्रतिशतको हाराहारीमा छ। यही पारा हो भने आगामी संसदीय निर्वाचन आफ्नो पार्टीका लागि महँगो पर्ने पुर्रालाई थाहा छ, र आफ्नो पार्टीको समर्थन बढाउने दबाब उनलाई पार्टी भित्रैबाट पनि छ।
पुर्राले गरेका प्रस्तावहरू फिन्स पार्टीका समर्थकहरू माझ लोकप्रिय छन्। विदेशीहरू खासै मन नपराउने, इयुलाई सराप्ने, र विश्वविद्यालयहरूले गर्ने अनुसन्धानलाई पनि भाउ नदिने फिन्स पार्टीका ‘टिपिकल’ समर्थक हुन्। तिनै समर्थकलाई खुसी बनाउन र त्यस्तै बिचार राख्ने अरू समर्थक आफ्नो पार्टीमा तान्न उनले यी प्रस्ताव सार्वजनिक गरेकी हुन्।
यी प्रस्ताव पारित नभए सरकारबाट बाहिरिने र केही समय विपक्षीमा बसेर ‘काम गर्न खोज्दा पनि नपाएको’ भन्ने ‘न्यारेटिभ’ का साथ अर्को चुनावमा जाने दाउ पनि पुर्राको हुनसक्छ। जुन समयले देखाउने छ।
सरकारभित्रै समर्थन प्राप्त नहुने पुर्राको प्रस्ताव फिनल्यान्डको आर्थिक भविष्यको चिन्ताले भन्दा पनि फिन्स पार्टीको राजनैतिक भविष्यको चिन्ताले प्रेरित रहेको स्पष्टै छ।





