विज्ञापन
संग्रह गर्नुहोस्।
संग्रहित

फिनल्यान्डले गर्‍यो ९०% मौसमी कामदारको भिसा अस्वीकृत, प्रभावित हुनेमा नेपाली पनि

विगतमा मौसमी कामदारको भिसा स्वीकृति दर तुलनात्मक रूपमा उच्च हुने गरेको थियो।

संक्षेपमा


  • १४ सयभन्दा बढी बेरी टिप्ने मौसमी कामदारको भिसा आवेदन अस्वीकृत।
  • कामदारमाथि शोषण हुन सक्ने सरकारी चिन्ता मुख्य कारण।
  • नयाँ कानुनमार्फत कामदारको अधिकार र सुरक्षामा जोड।

फिनल्यान्डले यो वर्ष जङ्गली बेरी टिप्न आउने मौसमी कामदारका अधिकांश भिसा आवेदनहरू अस्वीकृत गरेको छ। रोजगारदाताले कानुनी दायित्व पूरा नगरेको र कामदारको शोषण हुन सक्ने उच्च जोखिम देखिएकाले यी भिसा आवेदनहरू अस्विकार गरिएको हो।

फिनल्यान्डको परराष्ट्र मन्त्रालयका अनुसार यो वर्ष जङ्गली बेरी टिप्न करिब २,२०० भिसा आवेदन परेका थिए। हालसम्म प्रशोधन गरिएका १,६०० आवेदनमध्ये करिब १,४०० आवेदन अस्वीकृत भएका हुन्।

विगतमा मौसमी कामदारको भिसा स्वीकृति दर तुलनात्मक रूपमा उच्च हुने गरेको थियो। यो वर्ष भने अस्विकृती दर करिब ९०% रहेको देखिन्छ।

यो वर्ष सबैभन्दा धेरै भिसा आवेदन थाइल्यान्डको बैंककमा रहेको फिनल्यान्डको दूतावासमा परेका थिए। यसबाहेक नेपाल, भारत, कजाकिस्तान, केन्या र भियतनामबाट पनि मौसमी कामका लागि भिसा आवेदनहरू आएका थिए।

विज्ञापन

भिसा एकाइकी निर्देशक कात्या लुओपायार्भीले मन्त्रालयको विज्ञप्तिमा जनाए अनुसार भिसा अस्वीकृत हुनुको मुख्य कारण रोजगारदाताको असक्षमता हो। रोजगारदाताले आफ्नो दायित्व पूर्ण रूपमा पूरा गर्छन् भन्नेमा दूतावासहरू विश्वस्त हुन नसकेको उनले बताइन्।

पछिल्लो समय बेरी क्षेत्रमा गम्भीर आपराधिक गतिविधि र कानुनी मुद्दाहरू बढेका छन्। यसैलाई मध्यनजर गर्दै भिसा आवेदनको मूल्याङ्कनमा अधिकारीहरूले थप कडाइ गरेका हुन्।

कानुनमा परिवर्तन

सन् २०२५ को फेब्रुअरीदेखि जङ्गली बेरी टिप्ने कामलाई मौसमी कामदार ऐनअन्तर्गत राखिएको छ। यसको मुख्य उद्देश्य कामदारको अवस्था सुधार्नु र श्रम शोषणलाई प्रभावकारी रूपमा रोक्नु हो।

यो संशोधनपछि फिनल्यान्ड आउने विदेशी बेरी टिप्ने कामदारहरू रोजगार सम्झौताअन्तर्गत आउनुपर्ने भएको छ। उनीहरूले मौसमी कामको भिसा वा निवास अनुमति पत्र लिनुपर्ने अनिवार्य व्यवस्था गरिएको छ। पहिले-पहिले पर्यटक भिसामा फिनल्यान्ड आएर बेरी टिप्ने चलन थियो।

पछिल्ला वर्षहरूमा फिनल्यान्डमा बेरी टिप्ने विदेशी कामदारहरूले कम तलब र खराब बासस्थानको सामना गर्नुपरेका धेरै घटनाहरू बाहिर आएका छन्। मानव बेचबिखन र श्रम शोषणको गम्भीर आरोप लागेपछि फिनल्यान्ड सरकारले कानुन संशोधन गर्दै बेरी टिप्ने कामदारलाई श्रम कानुन र स्वास्थ्य मापदण्डको दायरामा ल्याएको हो।

नेपालीलाइनेन
नेपालीलाइनेन
नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, YouTube, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न पनि सक्नुहुन्छ।

फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

━ नेपालीलाइनेनबाट थप