संक्षेपमा
- भान्ताको कोइभुकुलामा ‘जनप्रतिनिधिसँग नेपालीलाइनेन’ नागरिक अन्तरक्रिया आयोजना हुने।
- हुनेछ काउन्सिलर शेखर आचार्यसँग समुदायको खुला संवाद।
- स्थानीय समस्या, गुनासो र सुझाव राख्ने अवसर।
हेलसिन्कीमा सफलतापूर्वक सम्पन्न भएको जनप्रतिनिधिसँग नेपालीलाइनेनको अर्को शृङ्खला भान्तामा आयोजना हुने भएको छ।
आगामी अगस्ट ७ मा साँझ ५ बजेदेखी ७ बजेसम्म भान्ताको कोइभुकुलामा हुने उक्त कार्यक्रममा नेपाली मूलका नगर तथा क्षेत्रीय परिषद् सदस्य शेखर आचार्यसँग प्रत्यक्ष संवाद गरिनेछ।
कार्यक्रम भान्ताका स्थानीय नेपालीहरू र नेपालीलाइनेनको संयुक्त आयोजनामा हुन लागेको हो।
खासगरी भान्ता, केराभा, र आसपासमा बसोबास गर्ने नेपाली समुदायलाई लक्षित गर्दै यो कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा उपस्थित भएर जोकोहीले आफ्ना समस्या, सुझाव र प्रश्नहरू जनप्रतिनिधि सामु सिधै राख्न सक्नेछन्।
फिनल्यान्डमा स्थानीय निर्वाचनपछि जनप्रतिनिधिले काम थालेको एक वर्ष पुगेको अवसरमा नेपालीलाइनेनले यो अवधारणा ल्याएको हो। यसअघि हेलसिन्कीमा नगरि परिषद् सदस्य कृष्ण रेग्मीसँग यस्तै छलफल सम्पन्न भएको थियो।
यसपटकको भान्ता संस्करणमा काउन्सिलर शेखर आचार्य मुख्य अतिथि रहनेछन्। सहभागीहरूले गत वर्षको कार्यप्रगति र आगामी योजनाबारे उनीसँग विस्तृत जानकारी लिन सक्नेछन्।
सहभागीहरूलाई सिधै प्रश्न सोध्ने र नयाँ सुझाव दिने अवसर मिल्नेछ। अघिल्लो कार्यक्रम जस्तै यो अन्तरक्रियाको सहजीकरण पनि नेपालीलाइनेनका प्रधान सम्पादक मनोज भुसालले गर्नेछन्।
कार्यक्रमको संचालन नेपाली भाषामा गरिनेछ भने उपस्थित हुने सबैका लागि चियापानको पनि व्यवस्था छ।
सहभागी हुन इच्छुक व्यक्तिहरूले यो फेसबुक इभेन्ट्स लिङ्क मार्फत आफ्नो सहभागिता सुनिश्चित गर्न सक्नेछन्।

को हुन् शेखर आचार्य?
उनी फिनल्यान्डको भान्ता नगरपालिकाका निर्वाचित नगर परिषद् सदस्य (सिटी काउन्सिलर) हुन्। साथै, उनी भान्ता र केराभा कल्याणकारी क्षेत्रका निर्वाचित क्षेत्रीय परिषद् सदस्य (काउन्टी काउन्सिलर) पनि हुन्।
आचार्य फिनल्यान्डको सोसल डेमोक्रेटिक पार्टी (एसडीपी) सँग आबद्ध छन्। उनले अमेरिकाबाट एमबिए र फिनल्यान्डको भासा विश्वविद्यालयबाट रणनीतिक व्यवस्थापनमा स्नातकोत्तरसम्मको अध्ययन पूरा गरेका छन्।
नेपालीलाइनेनले सुरु गरेको यो अभियानले प्रवासी नेपाली र फिनल्यान्डका स्थानीय निकायबीचको दुरी कम गर्ने लक्ष्य राखेको छ। यस्ता अन्तरक्रियाले आप्रवासीहरूलाई स्थानीय राजनीति, नीति निर्माण र विकास प्रक्रियामा जोडिन मद्दत गर्छन् भन्ने हाम्रो विश्वास छ।
के? जनप्रतिनिधीसँग नेपालीलाइनेन भान्ता
कहिले? ७ अगस्ट, शुक्रबार, साँझ ५ देखि ७
कहाँ? Rasinkatu 4, Koivukylä, Vantaa








