विज्ञापन

📺 नेपालीलाइनेनका भिडियोहरू अब YouTube मा हेर्नुहोस्।

▶️ Subscribe Now
संग्रह गर्नुहोस्।
संग्रहित

फिनल्यान्डमा पढिरहेका विदेशी विद्यार्थीको नदीमा डुबेर मृत्यु, स्तब्ध छ समुदाय

फिनिस भाषा सिक्न आएका पौडी खेल्न नजान्ने १८ वर्षे किशोरको साउनापछि पानीमा जाँदा ज्यान गएको हो।

संक्षेपमा


  • फिनल्यान्डको हुइत्तिनेनमा १८ वर्षीय इरानी विद्यार्थीको डुबेर मृत्यु।
  • पौडी खेल्न नजान्ने मृतक थिए फिनिस भाषाका विद्यार्थी।
  • प्रहरीद्वारा अनुसन्धान सुरु, अपराधको आशंका नरहेको जानकारी।

फिनल्यान्डको हुइत्तिनेनमा शुक्रवार बेलुका पानीमा डुबेर एक १८ वर्षीय इरानी विद्यार्थीको मृत्यु भएको छ। उनी त्यहाँ फिनिस भाषाको कोर्स गरिरहेका थिए।

हुइत्तिनेन हेलसिन्कीबाट पोरीतर्फ जाने बाटोमा रहेको सानो सहर हो।

उनले अध्ययन गरिरहेको क्याम्पसका प्रिन्सिपल सामी मालिनेनले सार्वजनिक प्रसारक YLE लाई बताए अनुसार मृतक किशोरलाई पौडी खेल्न आउँदैन थियो।

शुक्रवार साँझ विद्यार्थीहरूको समूह नदी किनारमा साउना लिइरहेको थियो। त्यही क्रममा ती किशोर पौडी खेल्न पानीमा छिरेका थिए र एक्कासि डुबेका थिए।

उनलाई बचाउने प्रयास गर्दै तत्काल उद्धार टोलीलाई खबर गरिएको थियो। उनीसँगै अर्का एक किशोर पनि पानीमा डुबेका थिए, तर उनलाई भने सकुशल उद्धार गरिएको थियो।

नेपालीलाइनेनबाट थप
विज्ञापन सकियो

उद्धार गरिएका किशोर हाल अस्पतालबाट डिस्चार्ज भइसकेका छन्। दुर्घटना क्याम्पसले आयोजना गरेको गतिविधिका क्रममा नभै विद्यार्थीहरूको फुर्सदको समयमा भएको प्रिन्सिपल मालिनेनले बताए।

स्तब्ध छ समुदाय

घटनाले किशोरका सहपाठी विद्यार्थीहरू, अभिभावक, कर्मचारी, र फिनल्यान्डमा रहेको इरानी समुदाय सबैलाई स्तब्ध बनाएको छ। घटना लगत्तै शैक्षिक संस्थाले विद्यार्थीहरूका लागि मानसिक स्वास्थ्य परामर्श उपलब्ध गराएको थियो।

नदीको उक्त किनारमा पौडी खेल्नका लागि निगरानी वा सुरक्षा गार्डको व्यवस्था छैन। त्यहाँ पौडी खेल्ने स्टेसन र भर्‍याङ मात्र राखिएको बताइएको छ।

प्रिन्सिपलका अनुसार उक्त नदीमा समरका बेला पानीको बहाव भने सामान्य नै हुन्छ।

प्रहरीले घटनाको अनुसन्धान गरिरहेको जनाएको छ। अहिलेसम्म घटनामा कुनै अपराध भएको शङ्का गरिएको छैन।

फिनल्यान्डमा गर्मी मौसममा साउना लिने र लगत्तै नदी वा तालमा पौडी खेल्ने चलन निकै लोकप्रिय छ। यद्यपि, पौडी खेल्न नजान्ने वा पानीको गहिराइको अन्दाज नहुँदा आप्रवासीहरू दुर्घटनामा पर्ने जोखिम उच्च हुन्छ।

फिनल्यान्डका ताल र नदीहरू किनारमै पनि एक्कासि गहिरो हुन सक्छन्। त्यसैले पानीमा जाँदा र पौडी खेल्दा विशेष सावधानी अपनाउनु जरुरी हुन्छ।

नेपालीलाइनेन
नेपालीलाइनेन
नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, YouTube, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न पनि सक्नुहुन्छ।

फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

━ नेपालीलाइनेनबाट थप