विज्ञापन
संग्रह गर्नुहोस्।
संग्रहित

भान्तालाई हेलसिन्कीमा गाभ्ने प्रस्तावले ततायो बहस

भान्ता नगर परिषद्का अध्यक्षले सेवा र प्रतिस्पर्धात्मक क्षमता बढाउन दुई सहरलाई गाभ्नुपर्ने धारणा अघि सारेका हुन्। उक्त प्रस्तावको कसैले खुलेरै समर्थन गरेका छन् भने विरोध गर्नेपनि उत्तिकै देखिएका छन्।

संक्षेपमा


  • भान्तालाई हेलसिन्कीमा गाभ्न भान्ता नगर परिषद् अध्यक्षको जोड।
  • दुई सहर गाभिएमा सेवा र प्रतिस्पर्धात्मक क्षमता बढ्ने दाबी।
  • आधिकारिक प्रस्ताव आए छलफल गर्न हेलसिन्कीका मेयर तयार।

भान्ता नगर परिषद्का अध्यक्ष साकारी रोक्कानेनले भान्ता सहरलाई हेलसिन्कीमा गाभ्ने प्रस्ताव अघि सारेका छन्। दुई सहर गाभिएमा सेवा प्रवाह अझ प्रभावकारी हुने र प्रतिस्पर्धात्मक क्षमता बढ्ने उनको दाबी छ।

रोक्कानेनका अनुसार सहरहरू गाभिएमा नयाँ कम्पनीहरू कहाँ राख्ने भन्ने प्रतिस्पर्धा अन्त्य हुनेछ। प्रस्तावित नयाँ एकीकृत सहरको नाम भने ‘हेलसिन्की’ नै राखिने उनको योजना छ।

यो रोक्कानेनको व्यक्तिगत विचार हो र उनको पार्टी कोकोमुस वा भान्ता सहरको आधिकारिक धारणा भने होइन। उनले यो एकता सन् २०३० को दशकको सुरुमै हुनसक्ने बताएका छन्।

हेलसिन्कीका मेयर ड्यानियल साजोनोभले पनि यस विषयमा खुला रूपमा विचार गर्न सकिने बताएका छन्। भान्ताबाट आधिकारिक प्रस्ताव आएमा यसलाई वृहत् राजनीतिक छलफलमा ल्याउनुपर्ने उनको भनाइ छ।

विज्ञापन

हेलसिन्की नगर परिषद्की अध्यक्ष एभेलिना हेइनालुओमाले पहिले सहकार्यलाई जोड दिनुपर्ने बताएकी छन्। हेलसिन्कीको स्थानीय पत्रिका हेलसिन्गिन उतिसेतलाई प्रतिक्रिया दिदै हेइनालुओमाले यदि गाभ्ने नै हो भने त्यसमा एस्पो सहरलाई पनि अनिवार्य समावेश गर्नुपर्ने बताएकी छन्।

गत वर्ष फिनल्यान्डका चर्चित व्यवसायी तथा Liike Nyt पार्टीका अध्यक्ष ह्यारी हार्किमोले पनि हेलसिन्की, भान्ता र एस्पो गाभिनुपर्ने बताएका थिए। उनले उस्तै तीन सहरहरू छुट्टाछुट्टै हुनुको कुनै अर्थ नभएको तर्क गरेका थिए।

भान्ता र हेलसिन्की गाभ्ने विषय फिनल्यान्डमा बेलाबेलामा उठ्ने पुरानै मुद्दा हो। यसअघि सन् २०११ मा भान्ताले दुई ठूला सहरको संरचना मिलाउन गाह्रो हुने भन्दै यस्तै प्रस्ताव अस्वीकार गरेको थियो।

हाल भान्तामा करिब २ लाख ५० हजार र हेलसिन्कीमा झण्डै ७ लाख मानिस बसोबास गर्छन्। यी दुई सहर राजधानी क्षेत्रका प्रमुख हिस्सा हुन्, जहाँ धेरै नेपाली आप्रवासीहरूको पनि बसोबास र रोजगारी केन्द्रित छ।

भान्तामा हेलसिन्कीमा गाभ्ने प्रस्तावको पक्ष र विपक्षमा सामाजिक सञ्जाल पनि तातिएको छ। पक्षमा बोल्नेहरूले एकीकरणले ठुलो र सबल महानगर बन्ने तर्क गरेका छन्। कोही कोहीले एस्पो, केराभा, र काउनियाइनेनलाई पनि सँगै मिसाउनु पर्ने तर्क गरेका छन्।

एकीकरणको विरोधमा बोल्नेहरूले भने भान्ता खाली आप्रवासीको सहर बनेको, हेलसिन्कीभन्दा गरिब सहर रहेको, र ऋणमा डुबेको तर्क गरेका छन्।

यस्तो छ नेपाली मूलका जनप्रतिनिधीको विचार

भान्ताको नगर परिषद्मा रहेका एक मात्र नेपाली मूलका नगर परिषद् सदस्य शेखर आचार्यले पनि उक्त प्रस्तावका बारे आफ्नो विचार सामाजिक सञ्जालमा सेयर गरेका छन्। अङ्ग्रेजी भाषामा लेखिएको आफ्नो विचारमा आचार्यले आफूले उक्त विषयमा थप बुझ्ने प्रयास गरेको, आएका टिप्पणीहरू उत्सुकतापूर्वक पढिरहेको, र स्थानीय बासिन्दाहरूको धारणा बुझ्ने प्रयास गरिरहेको बताएका छन्।

आचार्यले इतिहासलाई फर्केर हेर्दा भने कुनै समय भान्ता नै प्रमुख केन्द्रीय सहर रहेको र अहिले पनि यातायात तथा खानेपानी/सरसफाइ सम्बन्धी सेवाहरू प्रदान गर्न HSL र HSY जस्ता संयुक्त निकायहरू अस्तित्वमा रहेको औँल्याएका छन्।

भान्ता नगर परिषद् बैठकमा बोल्दै शेखर आचार्य।

“क्यानडा, जापान, न्युजिल्यान्ड जस्ता देशहरूका विश्वव्यापी उदाहरणहरूलाई हेर्ने हो भने सहरहरू गाभ्ने प्रक्रियाको परिणाम मिश्रित रहेको पाइन्छ। कतिपय अवस्थामा जनताले यस्ता कदमलाई समर्थन गरेका छन् भने केही अवस्थामा यस्ता निर्णयहरूलाई फिर्ता लिइएको वा तीव्र विरोध गरिएको छ। यस सन्दर्भमा उठेका मुख्य चिन्ताका विषयहरू भनेको स्थानीय लोकतन्त्र र ऐतिहासिक मूल्यमान्यताको संरक्षण नै हुन्।

भान्ता सहरको परिषद् अध्यक्षले भान्तालाई हेलसिन्कीसँग गाभ्ने विषयमा राखेको विचारले भान्ता र आंशिक रूपमा हेलसिन्कीको राजनीतिलाई समेत तताएको छ। रोचक कुरा त के छ भने यदि हामीले इतिहासलाई फर्केर हेर्‍यौं भने कुनै समय भान्ता नै प्रमुख केन्द्रिय सहर थियो। जे होस्, विगत बितिसकेको छ र आज हेलसिन्की सम्भवतः उत्कृष्ट अर्थतन्त्र र पूर्वाधार भएको सबैभन्दा ठूलो सहरको रूपमा स्थापित छ।

मलाई यो विषयमा विशेषज्ञता छैन र अहिलेसम्म मेरो कुनै स्पष्ट धारणा पनि बनिसकेको छैन। यद्यपि, मलाई यो भनाइ केवल कुनै राजनीतिक हत्कण्डा (political stunt) हो वा एउटा सुनियोजित कदम हो भन्ने कुरामा विचार मग्न बनाएको छ। भान्ता सहरको रणनीति निर्माणका क्रममा अन्य कुनै सहरहरूसँग गाभिने सम्भावनाको बारेमा कुनै छलफल भएको मलाई सम्झना छैन।

यातायात तथा खानेपानी र सरसफाइ सम्बन्धी सेवाहरू प्रदान गर्न HSL र HSY जस्ता संयुक्त निकायहरू पहिल्यैदेखि अस्तित्वमा रहेका छन्। खैर, म यस विषयमा थप बुझ्ने प्रयास गर्नेछु, तर हाललाई भने म केवल यो विषयमा आएका टिप्पणीहरू उत्सुकतापूर्वक पढिरहेको छु र स्थानीय बासिन्दाहरूको धारणा बुझ्ने प्रयास गरिरहेको छु।”

आचार्यले अंग्रेजीमा लेखेको विचारको नेपाली भावानुवाद। भावानुवाद नेपालीलाइनेनले गरेको हो।

नेपालीलाइनेन
नेपालीलाइनेन
नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, YouTube, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न पनि सक्नुहुन्छ।

फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

━ नेपालीलाइनेनबाट थप