संग्रह गर्नुहोस्।
संग्रहित

फिनल्यान्डका सांसद ‘समर काम’का लागि अस्पताल गएपछि…

संसद् बिदाको सदुपयोग गर्दै कोकोमुस पार्टीका सांसद भिल्ले भाउरुनेनले अस्पतालमा काम गरिरहेका हुन्।

संक्षेपमा


  • सांसद भिल्ले भाउरुनेनले सुरु गरे अस्पतालमा समर काम।
  • स्वास्थ्य क्षेत्रको यथार्थ बुझ्नु र सीप अपडेट राख्ने उद्देश्य।
  • संसद्को स्वास्थ्य समितिमा काम गर्न अनुभवले मद्दत गर्ने विश्वास।

फिनल्यान्डका सांसद भिल्ले भाउरुनेनले संसद्को बिदामा मध्य-फिनल्यान्डको एक अस्पतालमा ‘समर जब’ गरिरहेको सार्वजनिक भएको छ।

आफ्ना अधिकांश सहकर्मीहरू समर विदाको मजा लिइरहेका बेला कोकोमुस पार्टीका सांसद तथा डाक्टर/सर्जन भाउरुनेन अहिले नोभा अस्पतालमा काम गरिरहेका छन्।

फेसबुकमा एक पोस्ट लेख्दै उनले अस्पतालमा काम गरेको तीन हप्ता पुग्न लागेको जानकारी दिएका हुन्। यस क्रममा उनले बिरामीको परीक्षण, इन्डोस्कोपी र शल्यक्रिया जस्ता कामहरू गरिरहेका छन्।

उनले आफ्नो सीपलाई ‘अपडेट’ राख्न मद्दत गरेकोमा प्रमुख चिकित्सकलाई धन्यवाद समेत दिएका छन्। पुराना सहकर्मीहरूबाट पाएको न्यानो स्वागतले आफूलाई निकै खुसी बनाएको उनले बताएका छन्।

नयाँ र अध्ययनरत डाक्टरहरूलाई सहयोग गर्नु निकै महत्त्वपूर्ण रहेको र युवा डाक्टरहरू आफूभन्दा पनि दक्ष बनून् भन्ने चाहेको उनले बताएका छन्।

उनले अस्पतालमा काम गर्नेहरूको लगनशीलताको प्रशंसा गर्दै त्यहाँको कार्यकुशलता बढेको पनि उल्लेख गरेका छन्। शल्यक्रिया कक्षको उपयोग दर बढेको कुराले आफूलाई उत्साहित बनाएको पनि उनले बताएका छन्।

उनी फिनिस संसद्को सामाजिक तथा स्वास्थ्य समितिमा सदस्य हुन्। यो ‘समर जब’ले भविष्यको स्वास्थ्य सेवा (सोते) प्रणाली बनाउन राम्रो आधार दिने उनको विश्वास छ।

बिदा छोटो भए पनि यसले आफ्नो सीपलाई तिखार्न मद्दत गरेको उनको कथन छ। अझै एक हप्ताभन्दा बढी समय उनी पूर्ण रूपमा अस्पतालकै काममा व्यस्त रहनेछन्।

फिनल्यान्डमा गर्मी याममा गरिने ‘समर जब’को संस्कृति निकै लोकप्रिय छ। यहाँ विद्यार्थीदेखि लिएर उच्च पदमा पुगेका व्यक्तिहरूले पनि बिदाको समय सदुपयोग गर्दै विभिन्न काम गर्ने गर्छन्। यसले नयाँ सीप सिक्न, पुरानो व्यावसायिक अनुभवलाई ताजा राख्न र समाजको व्यावहारिक यथार्थसँग जोडिन मद्दत गर्छ।

राजनीतिज्ञहरूले जनजीविका र तल्लो तहको कामको प्रत्यक्ष अनुभव लिन यस्ता अभ्यासहरू गर्नुलाई फिनिस समाजमा निकै सकारात्मक र उदाहरणीय कार्यको रूपमा हेरिन्छ।

नेपालीलाइनेन
नेपालीलाइनेन
नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, YouTube, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न पनि सक्नुहुन्छ।

फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

━ नेपालीलाइनेनबाट थप