संक्षेपमा
- लगातार तेस्रो वर्ष ‘मनोज अर्याल मेमोरियल कप’को आयोजना हुँदै।
- प्रतियोगिता अगस्ट १ का दिन एस्पोको Laaksolahden Urheilupuisto मा हुने।
- विजयी हुनेले प्राप्त गर्नेछन् नगद, कप, र मेडल।
फिनल्यान्डको एस्पोमा रहेको नेपाली युवाहरूको मिर्मिरे स्पोर्टिङ क्लबले मनोज अर्याल स्मृति कपको तेस्रो संस्करण आयोजना गर्ने भएको छ।
उक्त प्रतियोगिता आगामी अगस्ट १ शनिवारका दिन एस्पोको Laaksolahden Urheilupuisto मा आयोजना हुनेछ।
गत दुई वर्षको सफलतापछि यो वर्ष पनि उक्त प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकले जनाएको छ। आयोजकका अनुसार फिनल्यान्ड भरिका विभिन्न नेपाली फुटबल टिमहरूले प्रतियोगितामा सहभागिता जनाउनेछन्।
प्रतियोगितामा विजयी हुनेले नगद, कप, र मेडल प्राप्त गर्नेछन्। विजेताले एकहजार पाँच सय युरो नगद प्राप्त गर्नेछन् भने उपबिजेताले पाँच सय युरो प्राप्त गर्नेछन्। साथै उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उदीयमान खेलाडी, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट गोलकिपर र प्रतियोगिताकै उत्कृष्ट गोलका लागि पनि विशेष पुरस्कारको व्यवस्था गरिएको छ।
प्रतियोगितालाई फुत्त, फ्रिन्ट, राभिन्तोला नेपाल कर्नर, राभिन्तोला साइनो, राभिन्तोला श्री, राभिन्तोला सौराहा, राभिन्तोला दालिका, राभिन्तोला ठलेम, क्युरियस गोट, नमस्ते मार्केट, र चौतारी इभेन्ट्स आदीले प्रायोजन सहयोग गरेका छन्।
प्रतियोगिता मिर्मिरे स्पोर्टिङ क्लबका सुरूवात देखिकै खेलाडी मनोज अर्यालको सम्झनामा आयोजना गरिएको हो। अर्यालको सन् २०२४ मा निधन भएको हो।
को थिए अर्याल?
फिनल्यान्डको नेपाली समुदायमा यसरी कुनै व्यक्तिको निधनपछि उनको सम्झनामा खेलकुद प्रतियोगिता आयोजना गरिएको यो एक मात्र उदाहरण हो।
त्यसै कारण अर्याल को थिए, उनको सम्झनामा किन खेलकुद प्रतियोगिताको आयोजना गरियो, र उनी कसरी बितेका थिए भन्नेबारे नेपालीलाइनेनले उनलाई नजिकबाट चिन्ने र अर्याल दुर्घटनामा पर्दाका बखत उनीसँगै रहेका रोनक तिमिल्सिनासँग गतवर्ष लामो कुराकानी गरेको थियो।
तिमिल्सिनाका अनुसार करिब १६ वर्षअघि फिनल्यान्ड आएका अर्याल मेहनती व्यवसायी, सहयोगी मित्र र सबैका प्रिय पात्र थिए।
“उहाँ एकदमै सफा मनको मान्छे हुनुहुन्थ्यो। मैले आजसम्म उहाँलाई मन नपराउने एक जना पनि भेटेको छैन,” तिमिल्सिनाले भनेका थिए। “सबैलाई सहयोग गर्न तत्पर रहने, कसैलाई नराम्रो नचाहने। उहाँको व्यक्तित्व नै त्यस्तै थियो।”
सामाजिक सञ्जालका तस्बिरहरूमा मनोज अर्याल प्रायः हातमा ट्रफी वा गलामा मेडल लगाएर मुस्कुराइरहेका देखिन्छन्। ती तस्बिरहरूले उनको फुटबलप्रतिको लगावकै कथा भन्छन्। तिमिल्सिनाका अनुसार फुटबल अर्यालका लागि निकै प्रिय खेल थियो।
“मनोज दाइमा फुटबलप्रति निकै लगाव थियो,” तिमिल्सिनाले सम्झिए। “दुई-दुई वटा कामको व्यस्तताका बिच पनि उहाँ फुटबलका लागि सधैँ समय निकाल्नुहुन्थ्यो।”
“उहाँमा व्यावसायिक फुटबल खेल्ने इच्छा पनि थियो,” उनले भने। “उमेर र परिस्थितिले सायद साथ दिएन, तर उहाँको जोस कुनै व्यावसायिक खेलाडीको भन्दा कम थिएन।”
२०२२ मा मिर्मिरे स्पोर्टिङ क्लबको स्थापनाकालदेखि नै अर्याल क्लबका एक अभिन्न अङ्ग थिए।
फुटबल बाहेक अर्यालले व्यावसायिक जीवनमा पनि सफलताको बाटो कोर्दै थिए। उनले आफ्नै कार्पेन्टिङ (काठको काम/फर्निचर, इन्टरिएर डिजाइन) व्यवसाय सुरु गरेका थिए र आफ्नो काममा निकै लगनशील थिए। उनको व्यवसायले राम्रो गति लिइरहेको थियो।
कसरी भयो निधन?
अर्यालको सन् २०२४ को समरमा पौडी खेल्ने क्रममा पानीमा डुबेर हेलसिन्कीमा निधन भएको हो।
तिमिल्सिनाका अनुसार अर्याल र उनका साथीहरू ताम्पेरेमा फुटबल खेलेर फर्केका थिए। दिनभरिको खेलले उनीहरू स्वाभाविक रूपमा थकित थिए।
“त्यसै दिन उहाँले एउटा ब्राजिलियन टिमसँग पनि खेल्नुभएको थियो। शरीर निकै गलेको थियो,” घटनाको साक्षी रहेका उनी त्यो क्षण सम्झँदै नेपालीलाइनेनलाई बताएका थिए।
उनीहरू ३ जना थिए। अर्याल र अर्का साथी पौडी खेल्न समुद्रमा छिरे। तिमिल्सिना भने किनारामै बसे।
तिमिल्सिनाका अनुसार अर्याल कुशल पौडीबाज थिए। कतिपयले घटनालाई मदिरासँग जोडेर पनि हल्ला फैलाए, तर तिमिल्सिनाले उनीहरूले कुनै मदिरा सेवन नगरेको प्रस्ट पारे।
“उहाँको हरेक पटक पौडिँदा अलि परै रहेको एउटा ढुङ्गा छोएर फर्किने बानी रहेछ। त्यस दिन पनि उहाँ त्यही प्रयासमा हुनुहुन्थ्यो,” उनले भने, “सायद अत्यधिक थकानले गर्दा उहाँको शरीरले साथ दिएन र उहाँ डुब्नुभयो। वहाँ पौडी नजानेको मान्छे पनि हैन। मदिरा खाएर पानीमा गएको पनि हैन।”
सँगै पौडी खेलेका साथीले अर्याल डुबेको आभास भएपछि उनलाई जसोतसो बाहिर निकालेका थिए। उनीहरूले त्यसपछि मद्दतका लागि हारगुहार गरेका थिए।
एकपछि अर्को गर्दै घटनास्थलमा चार वटा एम्बुलेन्स आइपुगेको तिमिल्सिनाले स्मरण गरे।
“उहाँ धेरै बेर पानीभित्र रहनुभएको थिएन। प्यारामेडिक्सले उहाँको शरीर स्वस्थ र फिट भएकाले छिट्टै निको हुने आशा देखाएका थिए,” उनले भने, “शरीरका अरू अङ्गले काम गरिरहेका थिए, तर मस्तिष्कमा धेरै पानी पसेकाले काम गरेको छैन भनेका थिए।”
उनलाई तत्काल अस्पताल लगियो, तर केही दिनको अथक प्रयासपछि पनि डाक्टरहरूले उनलाई बचाउन सकेनन्।








