.संक्षेपमा.
- यो वर्ष समर रोजगारीको संख्या गत वर्षको तुलनामा ८% र दुई वर्ष अघिको तुलनामा ३९% ले घट्यो।
- सामाजिक तथा स्वास्थ्य सेवा क्षेत्रमा ३१% र रेस्टुरेन्ट र पर्यटन क्षेत्रमा ७% ले गिरावट।
- अनुभवी पेशेवरहरू पनि समर कामका लागि युवाहरूसँग प्रतिस्पर्धामा।
फिनल्याण्डको अर्थव्यवस्थामा देखिएको अनिश्चितता र बढ्दो बेरोजगारीको असर समर रोजगारी बजारमा प्रत्यक्ष रूपमा देखिएको छ। फिनल्याण्डको सबैभन्दा ठूलो रोजगारी विज्ञापन पोर्टल Duunitori को तथ्याङ्क अनुसार नोभेम्बर २०२४ देखि अप्रिल २०२५ सम्ममा प्रकाशित समर रोजगारीका विज्ञापनहरू गत वर्षको तुलनामा ८% ले कम भएका छन्। अघिल्लो दुई वर्षको तुलनामा समर रोजगारीका विज्ञापनहरू झन्डै ३९% ले घटेका छन्।
“समर रोजगारीको मौसम राम्रोसँग शुरू भएको थियो र पहिलेको भन्दा बढी विज्ञापनहरू पनि प्रकाशित भएका थिए। तर शुरूवात राम्रो भएपनि परिस्थिती नराम्रो दिशातिर मोडियो। अनिश्चित आर्थिक अवस्था र निराशाजनक रोजगारीको परिदृश्य समर जबको संख्यामा पनि प्रतिबिम्बित भएको छ,” Duunitori का सञ्चार प्रबन्धक माइयु कार्हुनेनले बताइन्।
समरका कामदारहरू विशेष गरी वर्षको सुरुदेखि नै खोजिने भए पनि Duunitori को समर रोजगारी पेजमा अझै पनि १,४०० भन्दा बढी समर जबका विज्ञापनहरू छन्। धेरै रोजगारदाताहरूले एउटै विज्ञापनमार्फत धेरै कामदारहरू खोज्ने भएका कारण समर रोजगारीका अवसरहरू १,४०० भन्दा धेरै भएको Duunitori ले उल्लेख गरेको छ।
यी क्षेत्रहरूमा छन् सबैभन्दा धेरै समर रोजगारीका विज्ञापन
समर रोजगारीका विज्ञापन समग्रमा घटेपनि Duunitori को तथ्याङ्क अनुसार सबैभन्दा बढी समर रोजगारीका विज्ञापनहरू निम्न क्षेत्रहरूमा प्रकाशित भएका छन्:
- रेस्टुरेन्ट र पर्यटन क्षेत्र (७% ले घटेको)
- बिक्री र व्यापार क्षेत्र (१५% ले घटेको)
- सामाजिक तथा स्वास्थ्य सेवा क्षेत्र (३१% ले घटेको)
- निर्माण क्षेत्र (११% ले घटेको)
- उद्योग र प्रविधि क्षेत्र (६% ले घटेको)

गत वर्षहरूमा युवाहरूको प्रवेश बिन्दु मानिने समर रोजगारीमा अहिले अनुभवी पेशेवरहरू पनि प्रतिस्पर्धा गरिरहेका छन्।
“दुर्भाग्यवश मितव्ययिताका उपायहरू र सामाजिक तथा हेरचाह क्षेत्रमा भएका परिवर्तन सम्बन्धी वार्ताहरूले यस क्षेत्रमा समर रोजगारीका अवसरहरूमा उल्लेखनीय रूपमा कमी ल्याएको छ,” कार्हुनेन भन्छिन्।
“अन्य क्षेत्रहरूको तुलनामा उद्योग, प्रविधि, र रेस्टुरेन्ट तथा पर्यटन क्षेत्रमा यो गिरावट कम रहेको छ।”
अनुभवी पेशेवरहरू पनि समर कामको खोजीमा
चिन्ताजनक त के छ भने समर रोजगारीका विज्ञापनहरू नोभेम्बर देखि अप्रिलसम्म लगभग १४ मिलियन पटक पढिएका छन्, जुन अघिल्लो वर्षको तुलनामा ४१% बढी हो। यसले उपलब्ध कामको तुलनामा आवेदकहरूको संख्या निकै बढी रहेको देखाउँछ। Duunitori का अनुसार अनुभवी पेशेवरहरू पनि अहिले समर काममा आकर्षित भएका छन्।
Duunitori को सर्वेक्षणमा ३० वर्ष भन्दा माथिका उत्तरदाताहरूले रोजगारदाताहरूसँग उमेर र अनुभवको सम्बन्धमा खुलापन अपनाउन अनुरोध गरेका थिए।
फिनल्याण्डमा अहिले धेरै कम्पनीहरूले कर्मचारी कटौती गरिरहेका छन्। त्यसकारण छोटो समयको काम पनि मानिसहरूको रोजाइमा परेको छ। Duunitori का अनुसार युवाहरूका लागि गर्मी मौसमको काम पाउन पहिलेभन्दा गाह्रो भएको छ र यो समस्या गम्भीर छ किनकि काम गर्ने अनुभव उनीहरूको भविष्यका लागि धेरै महत्त्वपूर्ण हुन्छ।





