0
सदस्य बन्नुहोस्

More
    संग्रह गर्नुहोस्।
    संग्रहित

    फिनल्यान्डमा नेपाली पितामाथि यौन दुर्व्यवहारको आरोप बारेको समाचारमा गम्भीर लापरबाही

    पत्रकारिताका सामान्य सिद्धान्तहरू पनि पालना नगरी एउटा गम्भीर विषयमा लेखिएको समाचार "फिनिस अधिकारीहरूले हटाउन लगाएको" भन्ने हचुवा कारण देखाई हटाइएको छ। समाचारका बारे भूल सुधार र पुग्न गएको क्षतिबारे क्षमायाचना समेत छैन।

    फिनल्यान्डमा बसोबास गरिरहेकी एक नेपाली किशोरीले आफ्नै बाबुबाट यौन दुर्व्यवहारमा परेको भनिएको समाचारमा गम्भीर लापरबाही र व्यावसायिक त्रुटि देखिएपछि समाचार लेखेको पोर्टलले उक्त समाचार अन्ततः हटाएको छ।

    किशोरीको उक्त सामाजिक सञ्जाल स्ट्याटसबारे पहिलो पटक सुओमी खबर भन्ने अनलाइनले समाचार लेखेको थियो। उक्त समाचार पचास हजार भन्दा धेरैसामु पुगेको दाबी उक्त अनलाइन आफैले गरेको छ।

    यद्यपि सम्प्रेषित समाचारमा उक्त अनलाइनले गम्भीर लापरबाही गरेको देखिन्थ्यो भने पत्रकारिताका सामान्य सिद्धान्तहरूको पनि पालना गरिएको थिएन।

    फिनिस प्रेस काउन्सिलले निर्देशित गरेका पत्रकारिताका कैयौँ “गाइडलाइन्स”हरू पनि उक्त समाचारमा मिचिएका थिए।

    फिनिस प्रेस काउन्सिलको निर्देशनात्मक सिद्धान्त (बुँदा ३५-३७) अनुसार समाचार हटाउनै पर्ने लेभलको भूललाई अत्यन्तै गम्भीर मानिन्छ, र त्यसमा मिडिया पूर्णतः जिम्मेवार र पारदर्शी हुनुपर्छ।

    नेपालीलाइनेनले उक्त समाचारका पहिलो र डिलिट हुनुभन्दा अगाडीका अपडेटहरू हेरेको छ। र उक्त समाचार सुओमी खबरले आफ्नो पोर्टलबाट हटाए पनि इन्टरनेट आर्काइभमा भने अहिले पनि सजिलै हेर्न सकिन्छ।

    किन हट्यो समाचार? कसले दियो दबाब? कसले गर्‍यो अनुरोध?

    उक्त समाचार प्रकाशित भएको करिब दुई दिन पछि समाचार हटाइएको जानकारी दिँदै उक्त पोर्टलले अर्को समाचार लेखेको छ। समाचारको शीर्षकमै ‘थ्रेट्स’ प्राप्त भएको भनेर लेखिएको छ, तर कसले कस्तो ‘थ्रेट’ दियो भन्नेबारे केही लेखिएको छैन। 

    गम्भीर लापरबाही र पत्रकारीताका कैयौँ निर्देशित सिद्धान्त मिचेर लेखिएको उक्त समाचारका बारे भूल-सुधार वा क्षमायाचना भने केहि पनि छैन।

    बरु व्यापक आलोचना र आफ्नो गम्भीर पत्रकारी भूलका कारण हैन “फिनिस अधिकारीहरूले समाचार हटाउन भनेका कारण समाचार हटाएको” दाबी गर्दै लेखिएको छ: Finnish authorities requested that we remove all materials that could identify the victim or the alleged abuser until an official verdict is reached.

    तर कुन फिनिस अधिकारीले कहिले र कसरी समाचार हटाउन अनुरोध गरे वा आदेश दिए भन्नेबारे केही लेखिएको छैन।

    फिनल्यान्ड प्रेस स्वतन्त्रतामा पटक-पटक विश्वमै एक नम्बरमा परिसकेको मुलुक हो। यो वर्ष पनि फिनल्यान्ड ‘रिपोर्टस विदवाउट बोर्डर’को विश्व प्रेस सूचकाङ्कमा पाँचौ नम्बरमा छ।

    लेखिसकेको समाचार राज्यले हटाउने प्रक्रिया फिनल्यान्डमा एकदमै जटिल छ।

    सम्पूर्ण कानुनी र अदालती प्रक्रिया पुरा नगरी कुनै सरकारी अधिकारीले फोन उठाएर वा इमेल पठाएर पत्रकारलाई समाचार हटाउन लगाउने प्रचलन फिनल्यान्डमा छैन।

    त्यसै कारण समाचार हटाउन कुनै फिनिस अधिकारीहरूले अनुरोध गरे भन्ने पोर्टलको उक्त दाबी पूर्णतः शङ्कास्पद देखिन्छ।

    समाचार हटाउन फिनिस अधिकारीहरूले अनुरोध गरे भन्ने पोर्टलको उक्त दाबी पूर्णतः शङ्कास्पद देखिन्छ।

    के-के थिए समाचारमा गम्भीर त्रुटि?

    उक्त समाचार गम्भीर लापरबाही सहित लेखिएको प्रस्टै थियो। समाचारमा नेपालीलाइनेनले देखेका मुख्य त्रुटिहरू निम्न थिएः

    पहिलो, उक्त समाचारमा पीडितको र आरोपितको नाम पूर्ण रूपमा खुलाइएको थियो। पीडित भनिएकी किशोरीको सामाजिक सञ्जाल स्ट्याटसको स्क्रिन सट नै राखिएको थियो जसमा किशोरीको नाम र आरोपित पिताको नाम स्पष्ट देखिन्थ्यो।

    यौन दुर्व्यवहारजस्तो गम्भीर अपराधको आरोपका बारे मिडियामा लेख्दा कतै पनि नाम खुलाएर लेख्ने चलन छैन। नाम मात्र हैन ठाउँ वा पेशाजस्ता विवरण खुलाउँदा पहिचान खुल्ने भए त्यसलाई पनि हटाउनु पर्छ।

    अदालतले दोषी करार गरेमा दोषीको नाम आवश्यकता अनुसार लेख्ने गरिन्छ, तर पीडितको नाम सधैँ गोप्य राखिन्छ।

    अदालती प्रक्रिया टुङ्गिएपछि पनि पीडितलाई कुनै प्रकारको समस्या नहोस् भन्नका लागि त्यसो गरिन्छ, तर उक्त समाचारमा त्यो मिडिया दायित्वको पुरै बेवास्ता गरिएको थियो।

    अदालतले दोषी करार गरिसकेपछि पनि दोषीको पहिचान खुलाउँदा उसको सुरक्षामा खलल पर्ने अवस्थामा दोषीको नाम समेत गोप्य राख्ने परम्परा छ।

    आरोप अदालतबाट प्रमाणित नभएसम्म कोही दोषी हुँदैन भन्ने सामान्य कुराको ख्यालसमेत नगरी उक्त समाचार लेखिएको थियो।

    समाचारका बारे चासो र आक्रोश बढ्दै गएपछि उक्त घटना अनुसन्धानमै रहेको भन्ने व्यहोराको सम्पादकीय नोट थपिएको थियो तर पुरै व्यक्तिगत विवरणहरू यथावत् थिए।

    आरोपित चर्चित सेलिब्रेटी वा उच्च राजनैतिक व्यक्तित्व भए सामान्यतः उचित सम्पादकीय नोटसँगै आरोपीको नाम उल्लेख गर्ने चलन छ। तर यो केसमा सम्बद्ध व्यक्तिहरू न उच्च राजनैतिक व्यक्तित्व थिए न चिनिएका सेलिब्रेटी नै। न त्यहाँ नाम खुलाउनु पर्ने कारण बारे कुनै सम्पादकीय नोट नै थियो।

    प्रकाशित भएका समाचारहरू सधैँका लागि इन्टरनेट आर्काइभमा रहन सक्ने भएकाले मिडिया प्रकाशकमा उच्च जिम्मेवारीबोधको आवश्यकता पर्छ, जसबाट उक्त समाचार पोर्टल निकै नराम्रोसँग चुकेको थियो।

    प्रकाशित भएका समाचारहरू सधैँका लागि इन्टरनेट आर्काइभमा रहन सक्ने भएकाले मिडिया प्रकाशकमा उच्च जिम्मेवारीबोधको आवश्यकता पर्छ।

    “यस्तो गम्भीर विषयमा नामसहित समाचार लेख्ने निर्णय किन लिनुभयो” भनेर नेपालीलाइनेनले सोधेका जवाफमा सुओमी खबरले उक्त लेख “पीडित आफैँले लेखेको” भन्ने हास्यास्पद प्रतिक्रिया दिएको थियो (तल हेर्नुहोस् सुओमी खबरको जवाफ)। उसले पीडितको “नाम राख्ने अनुमति लिएको” भन्ने अर्को बचकना तर्क पनि गरेको थियो।

    दोस्रो, उक्त समाचारमा “फिनिस अधिकारीहरूले उक्त केसको छानबिन चलिरहेको हामीसँग पुष्टि गरेका छन्” (Authorities have confirmed the matter is under investigation) भन्ने हचुवा दाबी पनि थियो।

    तर प्रहरी, अदालत प्रशासन वा कुन अधिकारीबाट जानकारी लिएको भन्ने केही खुलाइएको थिएन। आधिकारिक सरकारी निकायबाट प्राप्त सुचना लेख्दा सामान्यतया: स्रोत किटेरै लेख्ने चलन हुन्छ, तर त्यो कुरा त्यहाँ थिएन।

    फिनल्यान्डमा कसैको व्यक्तिगत विषयसँग सम्बन्धित घटनाको जानकारी त्यति सजिलै प्राप्त हुने विषय हुँदै होइन। उक्त समाचार पोर्टलले साँच्चिकै फिनिस अधिकारीहरूबाट उक्त मुद्दाका बारे सूचना प्राप्त गर्‍यो भन्ने कुरा कुनै कोणबाट पनि विश्वसनीय लाग्दैन।

    तेस्रो, उक्त समाचारमा पीडित भनिएकी किशोरीको एकतर्फी बयानका आधारमा उनका बाबुको नाम नै स्पष्ट हुने गरी गम्भीर आरोप लगाइएको थियो, तर समाचारमा उक्त बाबुको घटनाबारे कुनै प्रतिक्रिया राखिएको थिएन। पारिवारिक स्रोतले नेपालीलाइनेनलाई बताए अनुसार उनीसँग एकवचन सोध्दा पनि सोधिएको थिएन।

    यो पनि पत्रकारितामा गम्भीर लापरबाही मानिन्छ।

    पीडित पूर्णतः गोप्य बस्न चाहेको अवस्थामा, आरोपित पक्षलाई सम्पर्क गर्दा पीडितको सुरक्षामा गम्भीर असर पर्ने भएमा, वा अर्को पक्षलाई सम्पर्क गर्न कुनै माध्यम नभएमा अर्को पक्षको प्रतिक्रिया नराख्न सकिन्छ।

    तर प्रतिक्रिया नराख्नुको कारणका बारे पाठकलाई स्पष्ट जानकारी दिनुपर्छ, तर त्यहाँ त्यो केही थिएन। किशोरी आफैँले आरोपितको नामसहित सार्वजनिक भएको अवस्थामा उनी गोप्य बस्न चाहेको अवस्था पनि थिएन।

    चौथो, उक्त समाचारमा राखिएको फोटो पीडित भनिएकी किशोरीकै हो, वा अन्य कसैको हो, वा प्रतिकात्मक तस्बिर मात्र हो भन्ने कुरा पनि उल्लेख थिएन। त्यसका कारण धेरै पाठकहरू भ्रममा परेका थिए।

    नेपालीलाइनेनका केही पाठकले समेत “किशोरीको फोटो सहित समाचार आको छ त” भनेर बताएका थिए। तर उक्त फोटो किशोरीकै हो वा अन्यको हो भनेर पुष्टि गर्न वा नकार्न मिल्ने कुनै सूचना थिएन।

    नेपालीलाइनेन कसरी जोडियो?

    उक्त पोर्टलमा घटनाबारे लेखिएको दोस्रो समाचारमा नेपालीलाइनेनका प्रधान सम्पादकले सम्पर्क गरी समाचारका बारे थप जानकारी मागेको उल्लेख छ, जुन कुरा सत्य हो।

    उक्त समाचारको प्रकृति देखेपछि नेपालीलाइनेन ले पीडित र आरोपितको पुरा नाम देखिने गरी समाचार लेख्ने निर्णय कसरी लिनुभयो भनेर प्रश्न गरेकै हो, जुन हाम्रो पत्रकारिताको धर्म हो।

    सुओमी खबर भन्ने समाचार पोर्टलका बारेमा उक्त साइटमा खासै जानकारी नभेटेपछि हामीले थप विवरण मागेको पनि सत्य हो। हामीलाई लाग्छ फिनल्यान्डको नेपाली समाजले हाम्रा बारेमा समाचार कसले लेखिरहेको छ भनेर जान्ने पूर्ण अधिकार राख्छ।

    पत्रकारीता भनेकै पारदर्शिता हो। समाचारको जिम्मेवारी लिने कम्तीमा एक जना सञ्चालक वा प्रकाशक वा विधिसम्मत दर्ता भएको कम्पनी चाहिन्छ भन्ने अन्तर्राष्ट्रिय मान्यता नै छ।

    तर उक्त समाचार पोर्टलको सम्पादक को हो, कुनै व्यक्ति, संस्था, वा कम्पनी कसले चलाएको हो, कहाँ दर्ता भएको हो, कुनै जानकारी यो समाचार लेखुन्जेल उपलब्ध छैन। उक्त पत्रिकाका ठेगानाको रुपमा Lummetie 4, भान्ता लेखिएको छ। उक्त स्थानमा भान्ता तिक्कुरिलाको लाइब्रेरी रहेको देखिन्छ।

    नेपालीलाइनेनले पठाएको सूचना अनुरोधमा आफ्ना बारे स्पष्ट जानकारी दिन उक्त पोर्टलले आनाकानी गरेको छ। आफूहरू दर्ता भएको सङ्गठन हो भनेको छ, तर संस्था, कम्पनी, सम्पादक कसैको नाम उपलब्ध गराएको छैन।

    बरु समाचारबारे कतै गल्ती भयो की भनेर आत्मालोचना गर्नुको साटो नेपालीलाइनेनलाई “हाम्रा बारे मुद्दा हाल्ने तयारी हो भने कुन अदालतमा आउने हो नाम दिनुहोला” भन्ने धम्कीपूर्ण भाषाको गैर जिम्मेवार उत्तर पठाएको छ।

    हाम्रा पाठकहरूलाई सम्पूर्ण कुरा पारदर्शी होस् भन्ने हेतुले हामीले पठाएको र प्राप्त गरेका दुवै इमेल प्रकाशित गरेका छौँ।

    नेपालीलाइनेनले सुओमी खबरलाई पठाएको इमेल।
    सुओमी खबरले नेपालीलाइनेनलाई पठाएको उत्तर। उत्तरमा यस्तो दाबी गरेपनि समाचारमा पिडितको पुरा नाम थियो, आरोपितको पुरा नाम पिडितको स्ट्याटसको स्क्रिनसटमा थियो। यो एक पक्षीय स्टोरी हो र आरोपितलाई दोषी करार गर्न मिल्दैन भन्ने सुचना नेपालीलाइनेनको इमेल पछि मात्र स्टोरीमा थपिएको थियो।

    खासमा घटना चाहिँ के थियो?

    फिनल्यान्डमा बसोबास गरिरहेकी एक नेपाली किशोरीले आफ्नै बाबुबाट यौन दुर्व्यवहारमा परेको भनेर सामाजिक सञ्जालमा लेखेकी थिइन्। किशोरीले आफूले करिब एक वर्ष अगाडी आफ्नो पिताको दुर्व्यवहार विरुद्ध बोल्ने साहस गरेको उल्लेख गरेकी थिइन्। पहिले सार्वजनिक रहेको उक्त स्ट्याटस अहिले हटाइएको छ।

    हाम्रा पाठकले उक्त स्ट्याटसबारे जानकारी गराएपछि नेपालीलाइनेनले पनि उक्त स्ट्याटस हेरेको थियो।

    उक्त स्ट्याटसमा कमेन्ट गर्ने धेरैले किशोरीको साहसलाई सराहना गरेका थिए र न्यायको लडाई जारी राख्न हौस्याएका थिए। यद्यपि उनलाई बाबुआमाको डिभोर्स भएपछि र बाबुले नयाँ बिहे गरेपछि आफ्नी आमाको उक्साहटमा त्यसो गरेको आरोप लगाउने पनि थिए।

    केहीले भने एक वर्षदेखि छानबिनकै क्रममा रहेको मुद्दामा आफ्नो बाबुको चरित्र हत्या गर्न अहिले आएर सामाजिक सञ्जालमा पोस्ट गरेको आरोप लगाएको पनि लेखेका थिए।

    किशोरीले आफ्ना आमाबाबुको डिभोर्स र अंशबन्डासँग घटनाको कुनै सम्बन्ध नरहेको जिकिर गर्दै सार्वजनिक गरेको भिडियो पनि नेपालीलाइनेनले हेरेको छ।

    किशोरीले यौन दुर्व्यवहारका बारे विस्तृतमा बताएकी छैनन् (जुन आवश्यक पनि छैन), र आरोपित पिताले आरोप लागेपछि आफू सम्बद्ध एक सामाजिक संस्थाबाट नैतिकताको आधारमा राजीनामा दिएको जानकारी उक्त संस्थाले एक विज्ञप्ति मार्फत जनाएको छ।

    पारिवारिक स्रोतका अनुसार घटना प्रहरी अनुसन्धानमै रहेको छ।

    अपडेटः सुओमी खबरले दिएको सम्पर्क ठेगाना Lummetie 4 तिक्कुरिलाको लाइब्रेरी हो भन्ने सुचना नेपालीलाइनेनका एक पाठकले दिएपछि हामीले उक्त सुचना भेरिफाई गरि यो स्टोरीमा थप गरेका छौँ। (अपडेट समय २२ अक्टोबर २०२५, १३ः५१)

    नेपालीलाइनेन
    नेपालीलाइनेन
    नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न  पनि सक्नुहुन्छ। 

    प्रिय पाठक, नेपालीलाइनेनलाई सघाउनुहोस्

    नेपालीलाइनेन पढ्नु भएकोमा धन्यवाद! यो फिनल्यान्डमा बस्ने सबै नेपालीको साझा चौतारी हो। यसले हाम्रा आफ्नै कथा भन्छ—हाम्रै सुखदुःखका कथा; आशा र निराशाका कथा; र सफलता र असफलताका कथा।

    Coffee Cup

    तर तपाईँजस्तै पाठकको सहयोग विना नेपालीलाइनेनको यात्रा अगाडि बढ्न सक्दैन। सक्नुहुन्छ भने मासिक १ कप कफी मूल्य बराबरको 'सहयोगी सदस्यता' लिएर नेपालीलाइनेनलाई सघाउनुहोस्। सहयोगी सदस्यको रूपमा हाम्रा सबै प्रिमियम सामाग्रीमा तपाईँको पहुँच हुन्छ। धेरै धन्यवाद।

    Payment Methods
    सहयोगी सदस्यका सुविधाहरू पछि सम्झाउनुहोस्

    फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

    ━ नेपालीलाइनेनबाट थप