हेलसिन्की-भान्ता एयरपोर्ट नजिकै रहेको एक होस्टेलमा दुई व्यक्तिले एक अर्का व्यक्तिलाई हत्या गर्ने प्रयास गरेको फिनल्यान्डको प्रहरीले जनाएको छ।
हिजो दिउसो भएको उक्त गम्भीर हिंसात्मक अपराधलाई प्रहरीले हत्या प्रयासको रूपमा अनुसन्धान गरिरहेको छ।
प्रहरीले दिउँसो करिब २:३० बजे आपत्कालीन केन्द्रमार्फत उक्त होस्टेलमा भएको हिंसात्मक घटनाबारे सूचना पाएको थियो।
सूचना प्राप्त हुनासाथ प्रहरीका धेरै टोली घटनास्थलमा पुगेका थिए। प्रहरीले घटनास्थलबाट दुई जनालाई पक्राउ गरेको छ।
प्रहरीले होस्टेलको नाम खुलाएको छैन, तर प्रहरीले दिएको ठेगानामा फोरेनम नामको होस्टेल रहेको देखिन्छ।
घटनामा घाइते भएका पीडितलाई घटनास्थलबाटै अस्पताल लगिएको थियो। प्रहरीका अनुसार पीडित गम्भीर घाइते छन्। घटनामा संलग्न पीडित र दुवै सन्दिग्ध वयस्क नागरिक हुन्।
प्रहरीले प्रारम्भिक अनुसन्धान भर्खरै सुरु भएकाले यस विषयमा थप जानकारी दिन नसकिने बताएको छ। अनुसन्धानको नेतृत्व गरिरहेका अधिकारीले अनुसन्धान अघि बढ्दै जाँदा आवश्यक परेमा थप जानकारी दिने बताइएको छ।





