हेलसिन्की, फिनल्यान्ड – युरोपको उत्तरी कुनामा अवस्थित हिउँले ढाकिने देश फिनल्यान्ड। यहाँको चिसो मौसम र व्यस्त जीवनशैलीबीच एक नेपाली मन भने सधैं आफ्नो माटोको सुगन्ध र सङ्गीतको न्यानोपनमा रमाइरहन्छ। गुल्मीको उर्वर भूमिमा जन्मेहुर्केर हाल फिनल्यान्डलाई कर्मथलो बनाइरहेका विनोद भण्डारी एउटा त्यस्तो पात्र हुन् जसले भौगोलिक दूरीलाई कला साधनाको बाधक बन्न दिएका छैनन्।
हालै मात्र चर्चित नेपाली गायिका समीक्षा अधिकारीसँग उनले गाएको नयाँ गीत ‘अचम्मै माया बस्यो’ सार्वजनिक भएको छ। भण्डारीको आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक भएको यो गीतले धेरै श्रोताहरूको मन जित्न सफल भएको छ। नेत्र अर्यालको शब्द र नन्दु परियारको सङ्गीत रहेको उक्त गीतलाई एचबीएन किस्मतले एरेन्ज गरेका हुन्। गीतको भिडियोमा अनिल पौडेल र दीपा शाहीले राम्रो अभिनय गरेका छन्। भिडियोको निर्देशन विनोद भण्डारी नामकै निर्देशकले गरेका हुन्।
पहिलो पटक रिकर्डेट गीतचाहिँ भण्डारीले करिब १० वर्ष अगाडि गाएका थिए, तर त्यो उनको आफ्नै गीत थिएन। आफ्नै ‘बत्ती मधुरो’ भन्ने गीत चाहिँ उनले करिब ४ वर्ष अगाडि निकालेका थिए। ‘अचम्मै माया बस्यो’ उनको दोस्रो गीत हो। खासमा यो उनको साङ्गीतिक यात्राको एउटा महत्त्वपूर्ण कोसे ढुङ्गा मात्र होइन, विदेशमा बसेर नेपाली सङ्गीतमा टिकिरहनुको सङ्घर्ष र समर्पणको एउटा उदाहरण पनि हो।
चर्चित नेपाली लोक गायक भगवान् भण्डारीसँग पहिलो गीत निकालेका र सानैदेखि सङ्गीतमा रुचि भएका भण्डारीले फिनल्यान्ड आएपछि भने सङ्गीतलाई धेरै समय दिन भ्याएका छैनन्। विदेशमा बसेर साङ्गीतिक यात्रा जारी राख्न उनले गरेका प्रयास, भोगेका कठिनाइहरू, र समग्र नेपाली गीत-सङ्गीत क्षेत्रको पछिल्लो ट्रेन्डका बारेमा नेपालीलाइनेनसँगको भेटमा उनले खुलेर कुरा गरेका छन्।
फिनल्यान्डको फरक परिवेश
भण्डारीका लागि फिनल्यान्डमा बसेर नेपाली सङ्गीतमा सक्रिय रहनु आफैँमा एउटा चुनौती हो। नेपालमा छँदाको सहज साङ्गीतिक वातावरण फिनल्यान्डमा पाउन मुश्किल छ। “नेपालमा हुँदा रियाज स्वतःस्फूर्त हुन्थ्यो। उकालो, ओरालो हिँड्दा, पँधेरीमा नुहाउँदा पनि गीत गुनगुनाउने बानी थियो। गाउँको परिवेशमै गीत बग्थ्यो। तर यहाँ फिनल्यान्डमा त्यो वातावरण छैन,” उनी आफ्नो अनुभव सुनाउँछन्।
कामको व्यस्तताले नियमित रियाज गर्न पनि हम्मेहम्मे पर्छ, जसको सीधा असर स्वरको गुणस्तरमा पर्ने उनको अनुभव छ। “धेरै समय गीत नगाएपछि आवाज पनि पहिले जस्तो सुमधुर रहँदैन। अहिले भन्दा पहिले मेरो स्वर धेरै राम्रो थियो,” उनी स्वीकार्छन्।
आर्थिक पाटो पनि विदेशबाट गीत निकाल्दाको अर्को महत्त्वपूर्ण पक्ष हो। “युरोपबाट आएको भनेपछि पैसाको कुरामा विशेष अपेक्षा गरिन्छ,” उनी थप्छन्। यद्यपि आफ्नो नेटवर्क र निरन्तर प्रयासले उनलाई केही सहजता भने मिलेको छ। भगवान भण्डारीसँगको पहिलो गीतको अनुभवले उनलाई हौसला दिएको थियो भने दोस्रो गीतबाट उनले आत्मनिर्भरताको पाठ पनि सिकेका छन्।
आजको नेपाली सङ्गीत बजारमा जोकोहीले सजिलै गीत निकाल्न सक्ने अवस्थाप्रति उनी सचेत छन्। “अहिले त गीत जस्तो मान्छेले पनि निकाल्न थालेका छन्,” उनी भन्छन्। तर संख्यात्मक वृद्धिसँगै गुणात्मक ह्रास आएको र छिटो चर्चा कमाउने नाममा टिकटक लक्षित सस्ता गीतहरू बन्ने प्रवृत्तिप्रति उनको असहमति छ।
“हामी त्यस्तो गर्न सक्दैनौं। हाम्रो हुर्काइ, समाज र परिवार त्यस्तो छैन। मन मान्दैन। गलत बाटो समाएर नाम कमाउने चाहना पनि छैन,” उनी दृढतापूर्वक भन्छन्।
उनका गीतहरूमा मौलिकता र सामाजिक सन्देश भेटिन्छ, र अश्लीलताको कुनै स्थान हुँदैन। “थोरै भएपनि मेरा गीत अलि नयाँ धारका छन्, अश्लीलता बोकेका छैनन्। मनले नराम्रो गीत निकाल्न मान्दैन,” उनी स्पष्ट पार्छन्। राम्रा गीत चल्न समय लाग्ने र निरन्तर प्रयास चाहिने यथार्थलाई उनले आत्मसात गरेका छन्।
“चल्ने त राम्रा गीत पनि छन्, तर लामो यात्रा र निरन्तर प्रयास चाहिन्छ,” उनी भन्छन्। विदेशमा बसेर निरन्तरता दिन गाह्रो भए पनि उनी नेपाली सङ्गीतमा आफ्नो उपस्थिति जनाइरहन प्रतिबद्ध छन्।
जारी छ प्रयास र संकल्प
३५ वर्षे भण्डारी करीब १० वर्षदेखि फिनल्यान्डमा छन्। यहाँ रहँदा पनि उनी साङ्गीतिक गतिविधिमा सक्रिय छन्। यहाँ आयोजना हुने विभिन्न कार्यक्रमहरूमा गीत गाएका छन् र प्रतिष्ठित कलाकारहरूबाट प्रशंसा पनि पाएका छन्। “रामकृष्ण ढकाल आउँदा, पुरुषोत्तम न्यौपाने दाइ आउँदा पनि गीत गाएको थिएँ। वहाँहरूले निकै राम्रो प्रतिक्रिया दिनुभएको थियो,” उनी सम्झन्छन्। “जुनसुकै कलाकारसंग गाउँदा पनि वहाँहरूले ‘तपाईंको स्वर मिठो छ’ भनेर प्रशंसा गर्नुहुन्छ।”
सङ्गीत सिक्ने क्रमलाई पनि उनले निरन्तरता दिएका छन्। हार्मोनियम र बाँसुरी बजाउनमा पनि उनको रुचि छ। पशुपतिनाथ फिनल्यान्डको संस्थापक भजन संयोजक भएर करिब दुई वर्ष काम गरेको अनुभव पनि उनीसँग छ। फिनल्यान्डमै बसेर नेपाली सङ्गीतको साधना गर्ने नविन भट्टराई लगायतका अन्य सङ्गीतकर्मीहरूसंग उनको संगत छ, र संगै काम पनि गरेका छन्।
कामको व्यस्तता र अन्य वाध्यताका बाबजुद उनी समय निकालेर साङ्गीतिक कर्ममा लागिरहेका छन्। “कहिले साँझपख काम हुन्छ, त्यहिबेला कार्यक्रम पनि हुन्छ, अनि जान सकिदैन,” उनी आफ्नो व्यस्तता दर्शाउँछन्।
फिनल्यान्डबाटै गीत रेकर्ड गरेर निकाल्न पाए सहज हुने उनको बुझाई छ, र त्यसका लागि उनी सम्भावनाहरू पहिल्याउँदै छन्। “अहिले त गीत रेकर्ड गर्न नेपाल नै पुग्नु पर्ने स्थिति छ।” उनी भन्छन्। “यहीबाट रेकर्ड गर्न पाए धेरै सजिलो हुन्थ्यो।”
नेपाल छँदा राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान गुल्मी क्षेत्र नं. १ को अध्यक्ष भएर करिब ४-५ वर्ष काम गरेको अनुभव पनि उनीसँग छ। फिनल्यान्डमा पनि नेपाली सङ्गीतकर्मीहरूको सङ्गठनमा सदस्य रहे पनि कामको व्यस्तताले सक्रिय भूमिका निर्वाह गर्न नसकेकोमा उनलाई खल्लो लाग्छ।

फिनल्यान्डबाटै गीत रेकर्ड गरेर निकाल्न पाए सहज हुने उनको बुझाई छ, र त्यसका लागि उनी सम्भावनाहरू पहिल्याउँदैछन्।
फिनल्यान्डको व्यस्त र भौतिक जीवनशैलीबीच आफ्नो संस्कृति र सङ्गीतप्रतिको उनको लगावले धेरैलाई प्रेरित गर्छ। ‘अचम्मै माया बस्यो’ उनको यही लगाव र मेहनतको पछिल्लो प्रमाण हो। भौगोलिक दूरी र विविध चुनौतीका बाबजुद नेपाली सङ्गीतको श्रीवृद्धिका लागि उनको निरन्तर प्रयास प्रशंसनीय छ। उनको कला र सङ्कल्पले परदेशमा रहेका अन्य नेपाली कलाकारहरूलाई पनि आफ्नो सपना पछ्याउन अवश्य प्रेरणा दिनेछ।





