.संक्षेपमा.
- सांस्कृतिक केन्द्रको स्वरूप धार्मिक कि समावेशी बनाउने भन्नेमा मतभेद।
- नेतृत्व कसले गर्ने भन्नेमा पशुपतिनाथ फिनल्यान्ड र कल्चर सेन्टरबीच विवाद।
- विवादका बाबजुद २५३७ युरो सहयोगको प्रतिबद्धता व्यक्त।
फिनल्यान्डमा नेपाली समुदायका लागि एक स्थायी नेपाली सांस्कृतिक केन्द्र निर्माण गर्ने उद्देश्यले आइतबार हेलसिन्कीमा आयोजित एक छलफल कार्यक्रममा केन्द्रको स्वरूप र नेतृत्वको विषयमा मतभेद हुँदा सहमति जुट्न सकेन।
नेपाली सांस्कृतिक केन्द्रले आयोजना गरेको कार्यक्रममा विभिन्न सङ्घसंस्थाका प्रतिनिधि र समुदायका सदस्यहरूबिच करिब तीन घण्टा लामो बहस चले पनि ठोस निष्कर्ष भने निस्किएन।
हेलसिन्कीको Ravintola Herkku मा आयोजना गरिएको उक्त कार्यक्रममा ७१ जनाको उपस्थिति रहेको आयोजकले जनाएको छ।
कार्यक्रमको सुरुवातमा आयोजक संस्थाका अध्यक्ष नवीन भट्टराईले सांस्कृतिक गतिविधिहरू गर्न सबै नेपालीका लागि एउटा साझा केन्द्रको आवश्यकता रहेको विषयमा प्रकाश पारेका थिए।
छलफलको सहजीकरण भान्ता सहरका नगर सदस्य तथा नेपाली सांस्कृतिक केन्द्र ry का महासचिव शेखर आचार्य र चिरञ्जीवी चापागाईँले गरेका थिए।
कार्यक्रममा हेलसिन्कीका नगर सदस्य कृष्ण रेग्मी, एनआरएनए फिनल्यान्डका अध्यक्ष योगेन्द्र सङ्ग्रौला, फिनिस नेपाली समाजकी अध्यक्ष रुक्मिणी भट्टराई, पुराना रेस्टुरेन्ट व्यवसायीहरू देवीदत्त खरेल, हेमराज शर्मा, गोपाल अर्याल लगायतका उपस्थित थिए।
कार्यक्रममा महिला सहभागिता न्यून (करिब ३-४ जना) थियो। छलफलका क्रममा कोही महिला सहभागी बोलेका थिएनन्, र बोल्न अनुरोध पनि गरिएको थिएन।
कार्यक्रममा सहभागी एक जनाले आफू हिन्दु र बौद्ध धर्म दुवै मान्ने बताएका थिए। तर अन्य धार्मिक समुदायका प्रतिनिधिको आधिकारिक उपस्थिति थिएन। दलित, जनजाति, र मधेसी प्रतिनिधित्व पनि थिएन।
मोडालिटीमा जुटेन सहमति
छलफलका क्रममा केन्द्रको प्रकृति कस्तो हुने भन्नेमा चर्को बहस भए पनि ठोस सहमति भने जुटेन।
छलफलका क्रममा केन्द्रको प्रकृति कस्तो हुने भन्नेमा चर्को बहस भए पनि ठोस सहमति भने जुटेन।
कार्यक्रममा पशुपतिनाथ फिनल्यान्डका प्रतिनिधिहरूले आफूहरूले विविध व्यवधानका बाबजुद धार्मिक अनुष्ठानका कामहरू नियमित गरिरहेको भन्दै सांस्कृतिक केन्द्र निर्माणको पहलमा आफूहरूको पनि सक्रिय सहभागिता हुनुपर्ने माग राखेका थिए। पशुपतिनाथ फिनल्यान्डका तर्फबाट अध्यक्ष पुनाराम भण्डारी, धनपति पान्डे र द्रोण सापकोटाले बोलेका थिए।
त्यसपछि बोलेका एनआरएनएका पूर्व अध्यक्ष तथा उद्यमी ज्योति खरेलले प्रस्तावित केन्द्र साँच्चिकै “सांस्कृतिक” हो वा “धार्मिक” हो भनी स्पष्ट पार्न माग गरेका थिए।
“नेपाली संस्कृति भनेको के हो?” खरेलले सोधे। “नेपालमा भएका सबै जातजाति, धर्म र भाषालाई यसले समेट्छ कि समेट्दैन?”
कसैको आस्थासँग जोडिएको विषयलाई हल्काफुल्का रूपमा नलिन र खेलबाड नगर्न पनि खरेलले सुझाव दिएका थिए।
त्यसपछि बोल्ने धेरैले अब बन्ने केन्द्र सबै नेपालीको साझा र समावेशी हुनुपर्नेमा जोड दिएका थिए। तर केहीले भने केन्द्रले सनातन ओमकार (हिन्दु र बौद्ध) धर्मलाई मात्र समेट्नुपर्ने तर्क राखेका थिए।
सनातन धर्मलाई मात्र समेट्नुपर्ने भन्ने पक्षका दुई जनासँग नेपालीलाइनेनले संक्षिप्त कुरा गरेको थियो।
एक जनाले “मूर्ति पूजा गर्ने हिन्दु-बौद्धहरू र मूर्ति पूजा नगर्ने इस्लामहरू एउटै छानामुनि हुन सक्दैनन्” भन्ने तर्क राखे। अर्का एकले भने सांस्कृतिक केन्द्रमा मुस्लिम र क्रिश्चियनहरूले आफ्नो धर्मको प्रचार गर्न सक्ने खतरा रहेको भन्दै यसबारे गम्भीर हुनुपर्ने बताए।
आयोजकले औपचारिक रूपमा अब बनाइने केन्द्र सबै नेपालीको सांस्कृतिक केन्द्र हुने बताए पनि इस्लाम र क्रिश्चियन धर्म मान्ने नेपालीहरूलाई कसरी समेट्ने भन्ने विषयमा स्पष्ट जवाफ दिएनन्।
मन्दिरको अवधारणा राखिएपछि एउटै छानामुनि किरिया र कर्मकाण्ड गर्न नसकिने भएकाले अप्ठ्यारो पर्ने कुरा पनि छलफलमा उठेको थियो।
नेतृत्वमा पनि भयो विवाद
छलफलमा केहीले एक वा दुई संस्थाको मात्र नभई सबै संस्थाहरूको छाता सङ्गठन बनाएर अघि बढ्नुपर्ने सुझाव दिएका थिए। एनआरएनएलाई पनि अभिभावक संस्थाको रूपमा सँगै लिएर जानुपर्ने मत पनि व्यक्त भएको थियो।
नेतृत्व र मोडालिटीमा सहमति हुन नसक्दा केही समय हलको वातावरण चर्केको थियो। लामो बहसपछि पनि पशुपतिनाथ फिनल्यान्ड र नेपाली संस्कृति केन्द्र ry बिच कसले नेतृत्व गर्ने वा नयाँ संरचना बनाउने भन्ने विषयमा सहमति जुट्न भने सकेन।
नेपालीलाइनेनसँग कुरा गर्दै संस्थाका महासचिव शेखर आचार्यले हलमा भएको छलफललाई सामान्य रूपमा लिनुपर्ने बताए।
“यो बहस कार्यक्रम हो। हामीले समुदायले खुलेरै छलफल गरोस् भनेर नै बोलाएका हौँ, त्यसैले यसलाई अन्यथा लिनुहुन्न।” आचार्यले भने।
संस्थाले काम गर्न थालेपछि विभिन्न स्वार्थ, व्यक्तिगत अहङ्कार र इगो देखिने गरेको पनि आचार्यले उल्लेख गरे। उनले समितिका आगामी बैठकहरूले ठोस योजना बनाउँदै अगाडी बढ्ने जानकारी दिए।
विवादका बिच पनि समुदायबाट सकारात्मक प्रतिबद्धता आएको आचार्यले जनाए।
आयोजकका अनुसार कार्यक्रममा २१ जना सहभागीबाट २५३७ युरो सहयोगको वाचा भएको छ। साथै ७१ सहभागीमध्ये ३३ जनाले संस्थाको सदस्य बन्न र १० जनाले आगामी कार्यसमितिमा बस्न इच्छा देखाएका छन्।





