संक्षेपमा
- नागरिकताका लागि फिनिस समाज र मूल्य मान्यताको ज्ञान अनिवार्य।
- परीक्षा फिनिस वा स्वीडिस भाषामा कम्प्युटरबाट दिनुपर्ने।
- सन् २०२७ देखि नयाँ व्यवस्था लागू गर्ने सरकारी योजना।
फिनल्यान्ड सरकारले नागरिकता प्राप्तिको प्रक्रियालाई थप कडा बनाउँदै नयाँ ‘नागरिकता परीक्षा’को प्रस्ताव गरेको छ।
गृह मन्त्रालयले सार्वजनिक गरेको नयाँ प्रस्ताव अनुसार फिनल्यान्डको राहदानी लिन चाहने विदेशीले यहाँको समाज, अधिकार र जिम्मेवारी सम्बन्धी परीक्षा पास गर्नुपर्नेछ।
यो नियमले फिनल्यान्डमा रहेका नेपाली समुदाय लगायत सबै आप्रवासीहरूलाई प्रत्यक्ष असर गर्नेछ। परीक्षामा फिनिस समाजको कार्यप्रणाली, मुख्य सिद्धान्त र व्यक्तिका अधिकार तथा कर्तव्यबारे प्रश्नहरू सोधिनेछ।
गृह मन्त्रालयले जारी गरेको विज्ञप्तिमा गृहमन्त्री मारी रान्ताननले नागरिकताका लागि सफल समायोजन र यहाँका मूल्य मान्यताको बुझाइ आवश्यक रहेको बताएकी छन्।
यसअघि नै बसोबासको न्यूनतम अवधि, आम्दानी र आचरण सम्बन्धी सर्तहरू कडा पारिसकिएको जानकारी पनि मन्त्री रान्तानेनले दिएकी छन्।
परीक्षाका लागि आवश्यक अध्ययन सामग्री सरकारले सार्वजनिक रूपमा उपलब्ध गराउनेछ।
परीक्षाका लागि आवश्यक अध्ययन सामग्री सरकारले सार्वजनिक रूपमा उपलब्ध गराउनेछ। यसमा फिनल्यान्डको इतिहास, संस्कृति, मानवअधिकार, लैङ्गिक समानता र मुख्य कानुनी प्रावधानहरू समेटिनेछन्।
आवेदकहरूले यो परीक्षा फिनिस वा स्वीडिस भाषामा कम्प्युटरमार्फत दिनुपर्नेछ। फिनल्यान्डको अध्यागमन विभागले एक विश्वविद्यालयलाई यो परीक्षाको तयारी र सञ्चालन गर्ने जिम्मेवारी दिनेछ।
तर फिनिस वा स्वीडिस भाषामा विद्यालय तह वा उच्च शिक्षा पूरा गरेकाहरूलाई यो परीक्षा अनिवार्य हुने छैन। उनीहरूको शैक्षिक योग्यतालाई नै पर्याप्त ज्ञानको प्रमाण मानिनेछ।
यो प्रस्तावमा आगामी फेब्रुअरी ६, २०२६ सम्म सरोकारवाला निकाय र सर्वसाधारणले सुझाव दिन सक्नेछन्। सबै प्रक्रिया पूरा भएमा सन् २०२७ को सुरुदेखि यो नयाँ कानुन लागू हुनेछ।
यो संशोधनले आप्रवासीहरूलाई फिनिस समाजमा घुलमिल हुन र यहाँका नियम पालना गर्न थप प्रोत्साहन गर्ने सरकारको विश्वास छ। नागरिकता ऐनमा भइरहेको यो व्यापक सुधारको एक हिस्सा हो।
नर्डिक क्षेत्रमा फिनल्यान्डमा हालसम्म नागरिकता प्राप्त गर्नका लागि परीक्षा गराउने प्रणाली छैन। डेनमार्क र नर्वेमा यस्तो परीक्षा सामाजिक र सांस्कृतिक ज्ञानको आधारमा लिइन्छ। डेनमार्कको परीक्षा निकै कठिन मानिन्छ। स्विडेनमा २०२६ देखि यस्तै परिक्षा सुरू गर्ने तयारी छ।





