.संक्षेपमा.
- हेलसिन्कीमा नेपाली ‘स्टार्टअप’ कर्मीको विशेष भेला हुने।
- ‘स्लश २०२५’ को अवसरमा नोभेम्बर १९ मा आयोजना हुँदै।
- सिट सीमित, उद्यमीहरूलाई सहभागितामा प्राथमिकता दिइने।
आगामी १९ नोभेम्बरमा हेलसिन्कीमा पहिलो पटक नेपाली स्टार्टअप इकोसिस्टम भेला (Nepali Start-up Ecosystem Meetup) आयोजना हुने भएको छ। यो भेला युरोपकै ठूलो प्रविधि सम्मेलन Slush 2025 को समयमा हुन लागेको हो।
फिनल्यान्डमा रहेका नेपाली संस्थापकहरू, उद्यमीहरू र स्टार्टअप क्षेत्रमा सक्रिय व्यक्तिहरूलाई एकै ठाउँमा ल्याउनु यसको मुख्य उद्देश्य रहेको आयोजकहरूले जनाएका छन्।
यो हेलसिन्कीमा हुन लागेको यस्तो किसिमको पहिलो जमघट हो। आयोजकका अनुसार यसले फिनल्यान्डमा रहेका नेपाली स्टार्टअप व्यवसायीहरूलाई मात्र नभई, ‘Slush’ प्रविधि सम्मेलनमा भाग लिन नेपालबाट आएकाहरूलाई पनि समेट्नेछ।
नेपाल-सम्बन्धित परियोजनाहरूमा संलग्न स्थानीय फिनिस र अन्य अन्तर्राष्ट्रिय पाहुनाहरू पनि भेलामा सहभागी हुनेछन्। यसले नेपाली उद्यमीहरूलाई अन्तर्राष्ट्रिय सञ्जाल विस्तार गर्ने अवसर दिनेछ।
आयोजकहरूका अनुसार सिटहरू अत्यन्त सीमित छन् र छलफललाई केन्द्रित र सान्दर्भिक राख्नका लागि संस्थापकहरू (founders) र हाल स्टार्टअपको नेतृत्व गरिरहेका व्यक्तिहरूलाई दर्तामा प्राथमिकता दिइनेछ।
इच्छुक व्यक्तिहरूले अनलाइन फारम भरेर नाम दर्ता गर्न सक्नेछन्।
आयोजकहरू को हुन्?
यो भेला बाटो (Bato Oy), नोर्डेस (Nordes), कग्निट (Cogknit), रेसिमेटर (Resimator), लुक्ला एआई (Lukla AI) र ‘न्यू हाइट्स विथ विकास‘ (New Heights with Bikash) ले संयुक्त रूपमा आयोजना गरेका हुन्।
बाटो हेलसिन्कीमा दर्ता भएको नयाँ मेला तथा सम्मेलन आयोजना गर्ने कम्पनी हो। नोर्डेस इन्जिनियरिङ कम्पनी हो। फिनल्यान्डमै दर्ता भएको यो कम्पनीले विशेष गरी सामुद्रिक र औद्योगिक क्षेत्रमा सेवा दिन्छ। यसको नेतृत्वमा नेपाली व्यवसायीहरू सक्रिय छन्।
रेसिमेटर फिनल्यान्डको तुर्कु र नेपालको काठमाडौंबाट सञ्चालित सफ्टवेयर कम्पनी हो। कग्निट र लुक्ला एआई प्रविधि र एआई (AI) क्षेत्रमा केन्द्रित कम्पनीहरू हुन्। यी सबै कम्पनीको नेतृत्वमा नेपाली वा नेपाली-मूलका व्यवसायीहरू छन्।
‘न्यू हाइट्स विथ विकास‘ फिनल्यान्ड र युरोपमा रहेका नेपाली उद्यमी र व्यवसायीहरूको अन्तर्वार्ता प्रस्तुत गर्ने भिडियो पोडकास्ट हो। यो पोडकास्ट चलाउने विकास गुरुङ्गले नै बाटो कम्पनी खोलेका हुन्।





