पौडी खेल्ने सीपको महत्त्वलाई ध्यानमा राख्दै हेलसिन्की शहरले यो समरमा बालबालिकाहरूका लागि प्राकृतिक जलाशयहरूमा नि:शुल्क ‘पप-अप’ पौडी स्कूलहरू सञ्चालन गरेको जनाएको छ।
जुलाई र अगस्ट महिनाभरि चल्ने यी कक्षाहरू भुओसारीको Aurinkolahti र तोलोको Hietaniemi समुद्री तटहरूमा आयोजना भइरहेका छन्।
यी पौडी स्कूलहरू पूर्ण रूपमा नि:शुल्क भए पनि भाग लिनका लागि अनलाइनमार्फत अग्रिम दर्ता गर्नुपर्छ। कक्षाहरू फिनिस भाषामा सञ्चालन छन्।
यी कक्षाहरू ७ देखि १२ वर्षका बालबालिकाका लागि लक्षित छन्। शुरुवाती र अलि अनुभवी गरी दुई फरक स्तरका समूहहरू रहेको हेलसिन्कीले जनाएको छ। केही समूहमा भर्ना हुनका लागि भने कम्तीमा १० मिटर पौडिन सक्ने सीप आवश्यक पर्दछ।
हेलसिन्कीमा विद्यालयहरूमा दिइने पौडी शिक्षा सिफारिस गरिएको मापदण्डभन्दा कम रहेको तथ्यलाई स्वीकार गरिएको छ। शहरद्वारा आयोजित अन्य पौडी कक्षाहरू पनि चाँडै भरिने र शुल्क ४५ युरो लाग्ने हुँदा सबैको पहुँचमा छैनन्।
गत अप्रिलमा निर्वाचित भएकी शिक्षा तथा प्रशिक्षण उपमेयर रीता भान्हानेनले हेलसिन्की सानोमातलाई दिएको अन्तर्वार्तामा यो अवस्थामा सुधार ल्याउन आवश्यक रहेको बताएकी छिन्। उनका अनुसार पौडी पोखरीको सीमित क्षमता, पौडी प्रशिक्षकको अभाव र आर्थिक स्रोतको कमी यो समस्याको मुख्य कारण हो।
भान्हानेनले प्रि-स्कूलका बालबालिकाहरूलाई पौडी सिकाउने र सबै समूहका लागि पौडी हलहरूमा पहुँच सुनिश्चित गर्ने जस्ता उपायहरू सुझाएकी छिन्।
भान्हानेनले विशेष गरी आप्रवासी पृष्ठभूमिका बालबालिकाहरूको पौडी सीपबारे चिन्ता व्यक्त गरेकी छिन्, किनकी उनीहरूका अभिभावकहरूलाई पनि पौडी खेल्न नआउन सक्छ।
फिनिस स्विमिङ टिचिङ एन्ड लाइफसेभिङ फेडेरेसन (SUH) को एक अध्ययनअनुसार आधाभन्दा बढी बालबालिकाले आफ्नो फुर्सदको समयमा अभिभावक वा हजुरबुवा-हजुरआमाको सहयोगमा पौडी सिक्छन्। यदि अभिभावक आफैं पौडी खेल्न जान्दैनन् भने उनीहरूले आफ्ना छोराछोरीलाई सिकाउन सक्दैनन्। जसले गर्दा पौडी सिकाउने सम्पूर्ण जिम्मेवारी विद्यालय र पौडी स्कूलहरूमा आइपर्छ।
यो समस्यालाई सम्बोधन गर्न महिलाहरूका लागि मात्रै पौडी खेल्ने सत्रहरूलाई निरन्तरता दिनुपर्नेमा पनि भान्हानेनले जोड दिएकी छिन्। यसो गरेमा आप्रवासी महिलाहरूलाई पौडी सिक्न सहज हुनेछ।
हाल हेलसिन्कीको याकोमाकी पौडी हलमा महिलाहरूका लागि मात्रै पौडी खेल्ने सत्रहरू उपलब्ध छन्।





