यो प्रिमियम सामाग्री हाम्रा सहयोगी सदस्यका लागि मात्र।
नेपालीलाइनेनमा प्रकाशित यो सामाग्री 'प्रिमियम' हो। यदि हाम्रो 'सहयोगी सदस्य' बनिसक्नु भएको छ भने गुगल एकाउन्ट वा इमेल प्रयोग गरी लगिन गर्नुहोस्।
'सहयोगी सदस्य' बनिसक्नुभएको छैन भने प्रिमियम सामाग्रीहरु पढ्न 'सहयोगी सदस्य' बन्नुहोस्। सदस्यता दस्तुर मासिक ४.९१ युरो, वार्षिक ५९ युरो।
(प्रिय पाठक, यो नेपालीलाइनेनका सहयोगी सदस्यहरूले मात्र पढ्न मिल्ने ‘प्रिमियम स्टोरी’ हो। ‘सहयोगी सदस्य’ बनी हामीलाई सघाउनु भएकोमा धेरै-धेरै धन्यवाद।)
फिनल्यान्डको बेरोजगारी दर युरोपकै उच्च भन्ने फिनिस भाषामा लेखिएको समाचारको तलपट्टी कमेन्टमा एकजना लेख्छन्ः “१९९० को दशकमा हामी विश्वको शीर्षमा थियौं। नोकियाले हाम्रो अर्थतन्त्रको उडान भरिदियो। हाम्रो शिक्षा प्रणाली संसारले नक्कल गर्न खोज्थ्यो। तर आखिर कहाँ चुक्यौँ हामी?”
यो लेखको सुरूवात खासमा त्यही कमेन्ट पढेपछि भएको हो। सम्पन्नताको शिखरमा पुगेको फिनल्यान्ड कहाँ र कसरि चुक्यो? फिनल्यान्डको अर्थतन्त्र थलिनुका पछाडि खास के कारण छन्? यो जटिल अवस्थाबाट फिनल्यान्ड पार लाग्छ कि लाग्दैन? लाग्यो भने कहिलेसम्म लाग्छ? यो लेख यिनै विषय वरिपरी घुमेको छ।
विगतको त्यो विरासत
सन् १९९० को मन्दी पछाडीको फिनल्यान्ड साच्चिकै लोभलाग्दो थियो। त्यो समय फिनल्यान्ड आर्थिक चमत्कारको उदाहरण थियो। थोरै जनसंख्या भएको नर्डिक राष्ट्रले विश्वव्यापी मोबाइल बजारको ४० प्रतिशतभन्दा बढी हिस्सा ओगटेको थियो।
PISA परीक्षामा फिनिस विद्यार्थीहरू निरन्तर शीर्ष स्थानमा रहन्थे। नर्डिक कल्याणकारी मोडेलले नागरिकहरूलाई जन्मदेखि मृत्युसम्म पुरै सुरक्षा प्रदान गर्थ्यो।
हामी सन् २००६-७ तिर फिनल्यान्ड आउनेहरूलाई राम्रो सम्झना छ-सन् २००८-९ को मन्दी ताका फिनल्यान्ड युरोपको कक्षाकोठामा सबैभन्दा जेहेन्दार विद्यार्थी र कडा अनुशासन भएको ‘मनिटरको’ रूपमा परिचित थियो।
१५ वर्ष अगाडिकै कुरा त हो। युरोप आर्थिक मन्दीमा फसेको थियो। ग्रीस, स्पेन र पोर्चुगल जस्ता दक्षिणी युरोपेली देशहरू चरम आर्थिक संकट र ऋणको दलदलमा थिए। त्यतिबेला फिनल्यान्डको भूमिका त्यही कडा अनुशासन भएको ‘मनिटरको’ जस्तै थियो।
“तिमीहरूले आफ्नो हिसाबकिताब बिगार्यौ, अब सजाय भोग,” भन्ने भावमा फिनल्यान्डले औंला ठड्याउँथ्यो।
“हामीमा एक किसिमको नशा थियो। हामीलाई लाग्थ्यो हाम्रो ‘ट्रिपल ए’ (AAA) रेटिङ कहिल्यै गुम्ने छैन।” अनौपचारिक कुराकानीका एक फिनिस अर्थशास्त्रका अनुसन्धानकर्ताले यो पंक्तिकारलाई केही समय अघि भनेका थिए। “जब हामीले ग्रीसलाई ऋण दिने कुरा गर्यौं, हाम्रा नेताहरूले उनीहरूसँग धितो माग्न थाले। यो युरोपमा अरू कसैले गरेका थिएनन्। मेरो विचारमा त्यो एउटा शुद्ध राजनीतिक नाटक थियो, जसले हामीलाई सतही रुपमै सही अरूभन्दा श्रेष्ठ देखाउँथ्यो।”
तर आज दृश्य बदलिएको छ।
कुनै समय अन्य देशहरूलाई अर्थशास्त्रको पाठ पढाउने र आर्थिक अनुशासनको डन्डा चलाउने फिनल्यान्ड अहिले आफैं युरोपेली संघ (EU) को ‘निगरानी सूची’मा धकेलिएको छ।
२०२५ को अन्त्यसम्म फिनल्यान्डमा बेरोजगारी दर १०.७ प्रतिशत पुगेको छ जुन युरोपेली संघका २७ सदस्य राष्ट्रहरूमध्ये सबैभन्दा उच्च हो। स्पेन र ग्रीस जस्ता परम्परागत रूपमा उच्च बेरोजगारी भएका देशहरूले समेत फिनल्यान्डलाई पछाडि छाडिदिएका छन्।
युरोस्ट्याटको तथ्यांक अनुसार युरोपेली संघको औसत बेरोजगारी दर ५.९ प्रतिशत रहेको बेला फिनल्यान्ड यसभन्दा झण्डै दोब्बर अवस्थामा छ। विशेष गरी युवा बेरोजगारी र आप्रवासीको वेरोजगारी उच्च देखिएको छ।
तथ्याङ्कहरू त तलमाथि भइरहन्छन्। तर यो तथ्याङ्कको खेल मात्र भने होइन। यो एउटा राष्ट्रको ‘शुसुप्त अहंकार’, गुमेका अनेकौँ अवसर, दुषित बनेको राजनीति र ‘नोकिया’ युगको अन्त्यपछि दिशाहीन भएको अर्थतन्त्रको कथा हो।
फिनल्यान्डले अहिले भोगिरहेको समस्या कुनै एउटा नराम्रो घटना वा नीतिका कारण आएको हैन। यो विगतका दुई दशकमा एकपछि अर्को गर्दै घटेका धेरै नराम्रा घटनाहरूको परिणाम हो।
अहङ्कारको अवसान
त्यो बेलाको ‘ट्रु फिन्स’ (True Finns/Perussuomalaiset) पार्टीका नेता तथा पछि फिनल्यान्डको परराष्ट्र मन्त्री बनेका तिमो सोइनीले सन् २०११ मा भनेका थिए-ग्रीसको अर्थतन्त्र यसरी बिग्रिएको छ कि फिनल्यान्ड, जर्मनी र नेदरल्यान्ड्स जस्ता बलिया देशहरूले खाना नखुवाए उनीहरू बाँच्नै सक्दैनन्।
तर गत वर्ष प्रतिष्ठित पत्रिका द इकोनोमिस्टले युरोपका उत्कृष्ट अर्थतन्त्रहरूको सूची सार्वजनिक गर्दा फिनल्यान्डमा मात्र हैन युरोपमै धेरै अचम्मित भए। उनीहरूले सधैं हेयको दृष्टिले हेर्ने “लथालिङ्ग” देशहरू स्पेन, आयरल्यान्ड, ग्रीस र इटाली सूचीको शीर्ष स्थानमा थिए।
युरोपेली आयोगले केहि साता अघि मात्रै फिनल्यान्डलाई ती देशहरूको सूचीमा राखेको छ जसको सार्वजनिक वित्त ठीक अवस्थामा छैन। तथ्याङ्कहरू निर्मम छन्। फिनल्यान्डमा सन् २००८ देखि हरेक वर्ष बजेट घाटामा छ। ऋणको बोझ बढ्दो छ र सुधारको केही लक्षण त देखिएको छ, तर ठोस संकेत अझै छैन।
उता ग्रीस जसलाई फिनल्यान्डले गाली गर्थ्यो, उसको बजेट अहिले बचत अर्थात् Surplus मा छ। उसको ऋणको पहाड अझै ठूलो भए पनि त्यो घट्दो क्रममा छ र अर्थतन्त्र फिनल्यान्डको भन्दा तीव्र गतिमा बढिरहेको छ।
विग्रेको अर्थतन्त्रको बहुआयामिक कथा
फिनल्यान्डले अहिले भोगिरहेको समस्या कुनै एउटा नराम्रो घटना वा नीतिका कारण आएको हैन। यो विगतका दुई दशकमा एकपछि अर्को गर्दै घटेका धेरै नराम्रा घटनाहरूको परिणाम हो।
फिनल्यान्डको अहिलेको आर्थिक समस्या सन् १९९० को दशकको जस्तो भयानक आर्थिक मन्दी जस्तो एक्कासि आएको पनि होइन। यो समस्या “तातो पानीमा रहेको भ्यागुतो” को कथा जस्तै सुस्त-सुस्त गर्दै देखिएको हो।
परिवर्तन यति बिस्तारै भयो कि कसैले पनि खतराको घण्टी बजाइहाल्न आवश्यक ठानेनन्।
राजनीतिमा पनि अवसरवाद देखियो। सन् २००८ देखि यता प्राय: सबै प्रमुख दलहरू सरकारमा पुगे। तर कसैले पनि संरचनात्मक सुधारको आँट गरेनन्। जसले थोरै गरे तिनले पनि दूरगामी प्रभावको वास्ता नगरेको आरोप खेपे।
उनीहरूले पनि जहाँ काट्नुपर्ने हो त्यहाँ काटेनन्, तर जहाँ काट्न नहुने हो त्यही बजेट काट्न थाले।
राजनीतिमा लोकप्रियतावाद र स्टन्टबाजी पनि देखिन थाल्यो।
जस्तै ग्रिससँग गरिएको त्यो चर्चित ‘धितो सम्झौता’ जसलाई फिनल्यान्डले आफ्नो ठुलो जित मानेको थियो, त्यसले राज्यको ढुकुटीमा खासै केही योगदान गरेन। त्यो केवल मतदातालाई खुसी पार्ने एउटा राजनीतिक स्टन्ट मात्र साबित भयो।
यी राजनैतिक र नीतिगत समस्याका अलावा फिनल्यान्डले अन्य आर्थिक रूपमा साँच्चिकै दूरगामी असर पार्ने घटनाहरू पनि भोग्यो जुन तल छोटकरीमा व्याख्या गरिएको छ।
नोकियाको पतन
फिनल्यान्डको आर्थिक संकटको कथा नोकियाको पतनबाट छुट्ट्याएर हेर्न सकिदैन। एक समय विश्वको सबैभन्दा मूल्यवान मोबाइल कम्पनी नोकियाले २००७ मा एप्पलको आइफोन र त्यसपछि एन्ड्रोइडको आगमनसँगै आफ्नो प्रभुत्व गुमाउन थाल्यो।
नोकिया फिनल्यान्डको अर्थतन्त्रको एक तिहाइ जीडीपीको स्रोत थियो। जब त्यो ढल्यो, फिनल्यान्डसँग त्यो क्षति प्रतिस्थापन गर्ने अरू केही थिएन।
सन् २०१४ मा माइक्रोसफ्टले नोकियाको मोबाइल व्यवसाय किनेपछि हजारौं फिनिस कामदारहरूले रोजगारी गुमाए। औलु, ताम्पेरे र एस्पोजस्ता नोकियाका अनुसन्धान केन्द्रहरू भएका सहरहरू आर्थिक संकटमा पर्न थाले।
नोकियाको चोट सायद फिनल्यान्डको आर्थिक संकटको सबैभन्दा ठूलो चोट थियो।
फिनल्यान्डका परम्परागत वन र कागज उद्योग, जुन शताब्दीयौंदेखि अर्थतन्त्रको मेरुदण्ड बनेका थिए, डिजिटल युगमा तिनले पनि आफ्नो प्रासंगिकता गुमाउन थाले। विश्वव्यापी कागज माग घट्दा मिलहरू बन्द भए, ग्रामीण समुदायहरू उजाड हुन थाले।
रुसी प्रतिबन्धको असर
फिनल्यान्ड र रुसले करिब १,३४० किलोमिटर लामो सीमा सेयर गर्छन्। सन् २०१४ मा क्रिमियामा रुसी हमला र विलयपछि युरोपेली संघले रुसमाथि लगाउन थालेका नाकावन्दीले फिनल्यान्डलाई कडा चोट पुर्यायो। फिनिस निर्यातको महत्त्वपूर्ण हिस्सा रहेको रुससँगको व्यापार एकाएक सुक्यो।
२०२२ मा युक्रेन युद्धपछि यो अवस्था थप बिग्रियो। फिनल्यान्डको NATO सदस्यताले भूराजनीतिक सुरक्षा त बढायो, तर रुससँगको आर्थिक सम्बन्धको ढोका झन् दह्रो गरि बन्द भयो।
फिनल्यान्डको कल्याणकारी प्रणाली, जुन एक समय यूरोपको गर्व थियो, दीर्घकालीन बेरोजगारहरूको बोझले थकित हुन थाल्यो।
कठोर श्रम बजार
फिनल्यान्डको श्रम बजार युरोपमा सबैभन्दा कठोरमध्ये एक मानिन्छ। सामूहिक सौदाबाजी प्रणालीले तलब र काम गर्ने शर्तहरू निर्धारण गर्छ, तर यसले साना व्यवसायहरूलाई लचिलोपनबाट वञ्चित गरेको छ। रोजगारदाताहरू नयाँ कर्मचारी राख्न हिच्किचाउँछन् किनभने बर्खास्त गर्न गाह्रो र महँगो छ।
प्रधानमन्त्री पेत्तेरी ओर्पोको दक्षिणपन्थी गठबन्धन सरकारले श्रम बजारमा सुधारहरू ल्याउने प्रयास गरिरहेको छ, तर ट्रेड युनियनहरूको कडा विरोधले प्रगति सुस्त बनाएको छ।
जनसांख्यिकीय संकट र भौगोलिक असमानता
फिनल्यान्डको जनसंख्या द्रुत गतिमा बूढो भइरहेको छ। जन्मदर युरोपमै सबैभन्दा कममध्ये एक छ। यसले श्रमशक्तिमा दबाब सिर्जना गर्नुका साथै पेन्सन र स्वास्थ्य सेवा खर्चमा भारी बोझ थपेको छ।
फिनल्यान्डको अर्थतन्त्र हेलसिन्की महानगरीय क्षेत्रमा अत्यधिक केन्द्रित छ। उत्तर र पूर्वी क्षेत्रहरूमा बेरोजगारी दर राष्ट्रिय औसतभन्दा दोब्बर छ। युवाहरू दक्षिणमा बस्छन्, ग्रामीण समुदायहरू खाली हुँदै गैरहेका छन्।
फिनल्यान्डको जनसंख्या पनि मुख्य ४ क्षेत्रमा मात्र केन्द्रित रहेको पछिल्ला अध्ययनहरुले देखाएका छन्।
ओर्पो सरकारले बेरोजगारी भत्तामा कटौती, हड्तालको अधिकारमा प्रतिबन्ध र श्रम बजार लचिलोपना बढाउने नीतिहरू ल्याएको छ। तर यी सुधारहरूले फिनिस समाजमा गहिरो विभाजन ल्याएको छ।
२०२४ मा फिनल्यान्डले दशकौंमा सबैभन्दा ठूला हड्तालहरू भोग्यो। लाखौं कामदारहरूले सडकमा उत्रिए र सरकारी नीतिको विरोध गरे।
“कल्याणकारी राज्य फिनल्यान्डको गर्व हो,” उनीहरुको आवाज प्रस्ट थियो। “यसलाई तोड्नु भनेको फिनल्यान्डलाई नै तोड्नु हो।”
छन् आशाका किरण
चुनौतीपूर्ण आर्थिक परिवेशका बिच फिनल्यान्डको अर्थतन्त्रमा एउटा बलियो र आशालाग्दो पाटो पनि छ, जसले विश्व बजारमा आफ्नो छुट्टै पहिचान बनाएको छ।
खास गरी गेमिङ उद्योगमा फिनल्यान्ड अहिले विश्वव्यापी नेतृत्वकर्ताको रूपमा उदाएको छ। सुपरसेल रोभियो र रेमेडीजस्ता ख्यातिप्राप्त कम्पनीहरूले सिर्जना गरेको सफलताले फिनल्यान्डलाई प्रविधिको हब बनाउन मद्दत छ। हजारौँका लागि आकर्षक रोजगारीका अवसरहरू समेत जुटाएको छ।
फिनल्यान्डको भविष्य केवल गेमिङमा मात्र सीमित छैन। दिगो विकास र अत्याधुनिक नवप्रवर्तनमा पनि फिनल्यान्डले ठुलो फड्को मारिरहेको छ। स्वच्छ ऊर्जा प्रविधि, जैविक अर्थतन्त्र र स्वास्थ्य प्रविधि जस्ता क्षेत्रमा भइरहेका नयाँ अन्वेषणहरूले फिनल्यान्डको आर्थिक भविष्यको नयाँ भविष्य कोरिरहेका छन्।
जलवायु परिवर्तनको सामना गर्न आवश्यक पर्ने हरित प्रविधि र स्वास्थ्य क्षेत्रमा भइरहेका डिजिटल सुधारहरूले फिनल्यान्डलाई भविष्यको सुरक्षित र समृद्ध अर्थतन्त्रतर्फ डोराइरहेको प्रतीत हुन्छ।
प्रविधि र दिगोपनको फ्युजनले वर्तमानका चुनौतीहरूलाई चिर्दै फिनल्यान्डले एक उज्ज्वल र गतिशील भविष्यको मार्ग प्रशस्त गर्न प्रयास गरिरहेको छ। धेरै सूचकहरूले अर्थतन्त्र सन् २०२६ देखि सुध्रँदै जाने देखाएका छन्।
पहिलेकोजस्तो नोकिया स्वर्ण युग नफर्के पनि फिनल्यान्डको अर्थतन्त्र तङ्ग्रेर सामान्य अवस्थामा फर्कन्छ भन्ने कुरामा अन्तर्राष्ट्रिय मुद्रा कोष देखि युरोपियन युनियनको समेत आकलन छ।
यसमा फिनल्यान्डलाई सफलता कत्तिको प्राप्त हुन्छ, त्यो चाहिँ समयले नै देखाउने छ।





