समरको लामो बिदापछि फिनल्यान्डमा विद्यालयहरू फेरि खुलेका छन्। यही शैक्षिक सत्रदेखि फिनल्यान्डका विद्यालयहरूमा मोबाइल फोन बोक्न नपाइने लगायतका विभिन्न नयाँ नियमहरू पनि लागु हुँदै छन्। अर्कोतर्फ करिब ५१,००० बालबालिकाले आफ्नो विद्यालय जीवनको सुरुवात गर्दै छन्, अर्थात् डेकेयर पुरा गरी कक्षा १ मा भर्ना हुदै छन्। यी मध्यै कैयौँ आप्रवासी मूलका वा हाम्रै नेपाली समुदायका नानीबाबुहरू पनि छन्।
बालबालिकाले विद्यालयमा बिताउने समय निकै महत्त्वपूर्ण समय हो। उनीहरूको भविष्य निर्धारण गर्न विद्यालयमा बिताएका वर्षहरूले ठुलो भूमिका खेल्छन्। विद्यालयमा बालबालिकाहरूले सिकाइ र नयाँ अनुभवका अलावा नयाँ साथीहरू बनाउने अवसर पाउँछन्, जुन आफैमा निकै महत्पूर्ण छ।
अभिभावकको सक्रिय साथ र चासोले बच्चाको सफलतामा सबैभन्दा ठुलो भूमिका खेल्छ। फिनल्यान्डका विद्यालयहरूमा राष्ट्रिय स्तरमै प्राप्त हुने सेवाहरू र विभिन्न नगरपालिकाले प्रदान गर्ने सुविधाहरू छन्, तिनका बारे जानकारी राख्नु निकै महत्त्वपूर्ण हुन्छ। साथै अभिभावकको रूपमा तपाईँले खेल्नुपर्ने भूमिका त छदै छ। यो लेखमा म फिनल्यान्डमा बालबालिकाहरू विद्यालय जाने उमेरका अभिभावकहरूले के-के कुरामा ध्यान दिनुपर्छ भन्ने विषयमा प्रकाश पार्ने जमर्को गरेको छु।
१. फिनिस भाषा: S1 वा S2 (suomi toisena kielenä) कुन रोज्ने?
यदि तपाईँको बच्चाले फिनिस भाषा राम्रोसँग बुझ्छ र प्रयोग गर्न सक्छ भने उसलाई S1 (Suomi äidinkielenä / फिनिस मातृभाषा) समूहमा राख्नु उचित हुन्छ। विशेष गरी फिनल्यान्डमै जन्मिएको वा यहाँको डे–केयरमा पढेको भए यो छनौट उचित र बुद्धिमानीपूर्ण हुनसक्छ।
S1 शिक्षणले फिनिस भाषाको आधारलाई मजबुत बनाउँछ, जसले अन्य सबै विषयहरूमा पनि उत्कृष्ट प्रदर्शन गर्न र भविष्यमा उच्चस्तरीय अध्ययनका लागि आवश्यक दक्षता हासिल गर्न मद्दत पुर्याउँछ। यदि तपाईँलाई आफ्नो बच्चा कुन समूहमा परेका छन् भन्ने स्पष्ट छैन भने विद्यालय वा कक्षा शिक्षकसँग सम्पर्क गरेर बुझ्न सक्नुहुन्छ। एक पटकS2 मा राखेपछि S2 मै रहिरहने भन्ने पनि हुँदैन। बच्चाको फिनिस भाषा राम्रो भयो भने S2 बाट S1 मा सार्न पनि मिल्छ। त्यसो हुँदा यो विषयमा गम्भीर भएर सोच्नुहोस्।
२. विद्यालयभित्रका निःशुल्क सह–शैक्षिक गतिविधिहरू
फिनल्यान्डका विद्यालयहरूमा “Suomen harrastamisen malli” अन्तर्गत विभिन्न निःशुल्क अतिरिक्त गतिविधिहरू (जस्तै खेलकुद, सङ्गीत, कला, कोडिङ, आदि) आयोजना गरिन्छन्। यी गतिविधि विद्यालयपछिका समयमा हुने भएकाले बच्चाहरूले रमाइलोसँगै नयाँ सीप सिक्न सक्छन्। यस्ता अवसर नछुटुन् भनेर Wilma मार्फत आउने सूचनामा ध्यान दिनुहोस् र समयमै बच्चाको नाम दर्ता गर्नुहोस्। आवश्यक परे विद्यालयका कर्मचारी वा शिक्षकबाट सहयोग लिनुहोस्।
३. विद्यालय बाहिरका अवसरहरू
विद्यालयका अतिरिक्त गतिविधि मात्र नभै नगरपालिकाले वा निजी संस्थाहरूले सञ्चालन गर्ने खेलकुद क्लब, सङ्गीत विद्यालय, नृत्य कक्षा र चित्रकला कार्यक्रमहरू पनि खोज्नुहोस्। विभिन्न गतिविधिहरूमा संलग्न हुँदा बच्चाले आफ्नो वास्तविक रुचि पत्ता लगाउन र आत्मविश्वास बढाउन सक्छन्। विद्यालयका अलावा बच्चाहरूलाई अतिरिक्त क्रियाकलापहरूमा ‘इनगेज’ गराइराख्नुहोस्।
४. समस्या, विवाद वा असहज स्थिति
यदि बच्चाहरूले विद्यालयमा कुनै प्रकारको समस्या (जस्तै झगडा, गलत व्यवहार वा अन्य कठिन परिस्थिति) भोगेका छन् भने तुरुन्तै कक्षा शिक्षकलाई जानकारी दिनुहोस्। फिनल्यान्डका सामान्यतयाः सबै विद्यालयहरूमा विद्यालय–परामर्शदाता (कुराटोर) र मनोवैज्ञानिक परामर्शदाताहरू उपलब्ध हुन्छन्। उनीहरुले यस्ता समस्या समाधान गर्न र बच्चाको मानसिक स्वास्थ्य सुदृढ गर्न मद्दत गर्छन्।
५. गृहकार्य र मित्रताको सन्तुलन
बालबालिकाले नियमित रूपमा गृहकार्य गरिरहेको छ र सकारात्मक वातावरणमा साथीहरूसँग समय बिताइरहेको छ भन्ने कुरामा ध्यान दिनुहोस्। राम्रो मित्रता र अनुशासित अध्ययन एक–अर्काका पूरक हुन्। आफ्ना बच्चाको संगत कस्तो छ, साथिहरुसंग के गरेर समय बिताउछ भन्ने जस्ता विषयमा जानकार रहनुहोस्।
६. मोबाइल फोन प्रयोगका लागि स्पष्ट सीमा
यदि बच्चासँग मोबाइल फोन छ भने प्रयोगको समय र उद्देश्यबारे स्पष्ट सहमति बनाउनुहोस्। विभिन्न अध्ययनहरूले १४ वर्षभन्दा कम उमेरका बच्चाले सामाजिक सञ्जाल प्रयोग गर्न नहुने सुझाएका छन्। त्यसैले साना बालबालिकालाई सोसल मिडिया एकाउन्ट बनाउन र चलाउन प्रेरित नगर्नुहोस्।
विभिन्न एप र विधीहरू प्रयोग गरेर बच्चाको मोबाइल फोन प्रयोगलाई ‘ट्रयाक’ मा राख्न सकिन्छ। उदाहरणका लागि एन्ड्रोइड फोनमा Google Family Link एप प्रयोग गरेर समय सीमा, कस्तो सामग्रीमा पहुँच दिने वा नदिने कुराको नियन्त्रण, फोन पत्ता लगाउने सुविधा र स्थान (लोकेसन) ट्र्याकिङ गर्न सकिन्छ। आइफोनमा पनि प्यारेन्टल कन्ट्रोलको प्रयोग गरि यस्तै सीमाहरू निर्धारण गर्न सकिन्छ। तर यदि बच्चाले एन्ड्रोइड फोन प्रयोग गरिरहेको छ भने आइफोनको आफ्नै सिस्टमले त्यसलाई नियन्त्रण गर्न सक्दैन। एन्ड्रोइड फोनको लागि छुट्टै प्यारेन्टल कन्ट्रोल एपहरू वा सेटिङहरू प्रयोग गर्नुपर्छ।
७. विद्यालयपछिको गतिविधि (“Iltapäivätoiminta”)
हेलसिन्की लगायतका विभिन्न नगरपालिकाले कक्षा १ र २ का बालबालिकाका लागि विद्यालयपछिको सुरक्षित र सिर्जनात्मक हेरचाह तथा गतिविधिहरू उपलब्ध गराउँछन्। यदि बच्चा हाल यस्ता कार्यक्रममा छैनन् भने विद्यालय वा नगरपालिका कार्यालयमा सोधपुछ गर्नुहोस्।
८. विद्यालय भोजन र विशेष आहार
फिनल्यान्डका विद्यालयहरूले बालबालिकालाई हरेक दिन निःशुल्क तातो भोजन/लन्च प्रदान गर्छन्। विद्यालयमा प्रदान गरिने खाना पौष्टिक र राम्रो हुन्छ। बच्चालाई विद्यालयको खाना खान प्रेरित गर्नुहोस् र जङ्क फुड खान निरुत्साहित गर्नुहोस्। यदि बच्चालाई एलर्जी वा विशेष आहारको आवश्यकता छ भने Wilma मार्फत वा विद्यालय स्वास्थ्यकर्मीलाई समयमै जानकारी दिनुहोस्।
९. विद्यालय यात्रामा सुरक्षा अभ्यास
विद्यालय आउँदा–जाँदा सुरक्षित बाटो छान्नुहोस् र बच्चासँग मिलेर केहीपटक अभ्यास गर्नुहोस्। हेलसिन्की जस्ता ठूला सहरमा सडक र साइकल मार्ग व्यस्त हुन सक्छन्, त्यसैले यातायात नियमबारे पटक-पटक सम्झाउनु आवश्यक छ।
१०. मातृभाषा र बहुभाषिकताको संरक्षण
यदि तपाईँको घरमा फिनिस बाहेक अन्य भाषा (जस्तै नेपाली) प्रयोग हुन्छ भने बच्चाले मातृभाषा शिक्षामा भाग लिन सक्छन्। यसले द्विभाषी क्षमता बलियो पारेर अन्य विषयहरूको सिकाइमा पनि फाइदा पुर्याउँछ। हेलसिन्की, भान्ता, एस्पो लगायतका ठुला नगरपालिकाहरूमा नेपाली भाषाका पनि निःशुल्क कक्षाहरू सञ्चालन हुने गरेका छन्। ती बारे बुझ्नुहोस्।
११. विद्यालय र अभिभावकको साझेदारी
अभिभावक बैठक, विद्यालयका कार्यक्रम र गतिविधिमा सक्रिय रूपमा भाग लिनुहोस्। यसले विद्यालयसँगको सञ्चार सुदृढ बनाउँछ भने बच्चालाई सुरक्षित र प्रोत्साहनमूलक वातावरण दिन पनि मद्दत गर्छ।
१२. बालबालिकाको स्वास्थ्य र मनोबलमा ध्यान
बच्चालाई पर्याप्त निद्रा, पौष्टिक आहार र दैनिक शारीरिक गतिविधि सुनिश्चित गर्नुहोस्। यदि बच्चाले थकान, उदासी वा सामाजिक अलगावका लक्षण आदि देखाए भने विद्यालयका शिक्षक, स्वास्थ्यकर्मी वा परामर्शदातासँग तुरुन्तै कुरा गर्नुहोस्।
१३. स्वास्थ्य सेवा र दन्त उपचार
बालबालिकाले विद्यालय स्वास्थ्य परीक्षण र निःशुल्क दन्त–चिकित्सा सुविधा पाउँछन्। समय–समयमा परीक्षणका लागि स्वतः बोलावट आउँछ तर आवश्यक परे आफैँ पनि समय लिन सकिन्छ। आफू बसेको नगरपालिकामा यसको प्रावधान के छ, राम्ररी बुझ्नुहोस्।
१४. अनुपस्थितिको जानकारी दिने प्रक्रिया
बालबालिका केही कारणले विद्यालय जान नसक्ने भए बिहानै Wilma मार्फत सूचना/जानकारी दिनुहोस्। लामो समयको अनुपस्थितिका लागि कक्षा शिक्षक वा प्रधानाध्यापकबाट अनुमति लिनुपर्छ।
१५. शारीरिक गतिविधि र बाहिरी समयको महत्त्व
विद्यालय बाहिर पनि बच्चाले दैनिक कम्तीमा एक घण्टा सक्रिय शारीरिक गतिविधि गर्नु आवश्यक छ। बाहिर समय बिताउँदा सिकाइ क्षमता र ध्यान केन्द्रित गर्ने क्षमता दुवै बढ्छ। खाली समयमा बच्चालाई बाहिर हिँडाउने, पार्कतिर लैजाने, कसरत सिकाउने आदी गर्नुहोस्।
१६. पुस्तकालय र सांस्कृतिक सेवा
फिनल्यान्डमा पुस्तकालयहरूले बालबालिकालाई निःशुल्क पुस्तक, अध्ययन सामग्री र विभिन्न कार्यक्रमहरू उपलब्ध गराउँछन्। सहरका सङ्ग्रहालय र सांस्कृतिक कार्यक्रममा पनि बालमैत्री कार्यक्रमहरू प्रशस्त छन्। यस्ता सुविधाहरूको प्रयोग गर्नुहोस्।
विद्यालय र अभिभावकको सहकार्यले मात्र बच्चाका लागि सुरक्षित, प्रेरणादायी र सिकाइलाई प्रोत्साहन दिने वातावरण सिर्जना हुन्छ। सानो तर निरन्तर साथ र प्रोत्साहनले ठुलो प्रभाव पार्छ।





