संक्षेपमा
- आँधीका कारण झण्डै एक हजार यात्रु अझै उडानको पर्खाइमा।
- यात्रुहरू विमानस्थलको भुइँमै सुत्न र लामो समय कुर्न यात्रु बाध्य।
- सोमबारदेखि उडान सेवा बिस्तारै सामान्य अवस्थामा फर्कन थाल्यो।
फिनल्यान्डमा आएको ‘ह्यानेस’ आँधीका कारण प्रमुख पर्यटकीय क्षेत्र ल्यापल्यान्डको रोभानिएमी विमानस्थलमा ठुलो भिडभाड र अन्योल सिर्जना भएको छ।
शनिबारदेखि रद्द भएका उडानका कारण झण्डै एक हजार यात्रुहरू अझै पनि आफ्नो उडानको पर्खाइमा छन्।
भिडभाडका कारण कतिपय पर्यटकहरू विमानस्थलको प्रस्थान हलको भुइँमै सुत्न बाध्य भएको YLE लगायतका फिनिस भाषाका मिडियाले लेखेका छन्।
पर्यटकीय सिजनको उत्कर्षमा होटलहरू भरिभराउ भएकाले धेरै यात्रुले विमानस्थलको टर्मिनलमा रात बिताउनुपरेको थियो। केही यात्रुलाई भने सहरका आपत्कालीन आश्रयस्थलमा सारिएको थियो।
शनिबार उडान रद्द भएका सबै यात्रुले आइतबार पनि विकल्प नपाउँदा स्थिति थप जटिल बनेको हो।
आँधीले गर्दा रोभानियमी, कित्तिला र इभालो विमानस्थलमा उडानहरू पूर्ण रूपमा रोकिएका थिए। शनिबार दिउँसो ४ बजेदेखि राति १०:४० सम्म रोभानियमी विमानस्थल त बन्द नै रह्यो।
कित्तिला विमानस्थलमा दुईवटा जहाज ट्याक्सी-वेबाट चिप्लिएर हिउँमा धसिएका थिए। करिब १५० यात्रु सवार रहे पनि कसैलाई चोटपटक भने लागेन। आँधीका कारण फिनल्यान्डभर एक लाखभन्दा बढी घरमा बिजुली आपूर्ति पनि बन्द भएको थियो।
फिनाभियाकी सञ्चार प्रबन्धक एलिना सुओमिनेनका अनुसार सोमबार बिहानदेखि स्थिति केही सहज भएको छ। सोमबार दिनभरिमा करिब ३० उडान हुने अपेक्षा गरिएको छ भने हवाई यातायात लगभग सामान्य अवस्थामा फर्किएको छ।
विमानस्थलमा अत्यधिक भिडभाड हुँदा सरसफाइ र व्यवस्थापनमा समस्या देखिएको गुनासो यात्रुहरूले गरेका छन्। केही यात्रुले भिडभाडका कारण तनाव उत्पन्न भएको र लामो समय लाइनमा बस्नु परेको बताएका छन्।
फिनाभियाका सञ्चालन निर्देशक हेनरी हान्सनले खराब मौसममा उडान सुरक्षा सबैभन्दा महत्त्वपूर्ण हुने बताए। उनले अत्यधिक भिडभाडका कारण सरसफाइ जस्ता नियमित काममा केही अवरोध पुगेको इल्तालेहतीलाई दिएको अन्तर्वार्तामा स्वीकार गरेका छन्।
पर्यटकीय सिजनको उत्कर्षमा होटलहरू भरिभराउ भएकाले धेरै यात्रुले विमानस्थलको टर्मिनलमा रात बिताउनुपरेको थियो।
पर्यटक आउने पिक सिजनमा समस्या
विगतमा पनि पर्यटकीय सिजनमा रोभानिएमीमा यस्तै समस्या देखिने गरेको थियो। विमानस्थल प्रशासनले यो सिजनपछि व्यवस्थापन र क्षमता विस्तारका बारेमा समीक्षा गर्ने बताएको छ।
यस वर्ष मात्र रोभानिएमी विमानस्थलमा करिब ३० लाख युरो लगानी गरिएको छ। यद्यपि अचानक आउने प्राकृतिक अवरोधले पूर्वाधारको क्षमतामा चुनौती थपेको अधिकारीहरूको भनाइ छ।
हाल अलपत्र परेका यात्रुहरूलाई वैकल्पिक उडान वा अन्य माध्यमबाट गन्तव्यमा पुर्याउन ट्राभल एजेन्सीहरूसँग समन्वय भइरहेको जनाइएको छ।
विमानस्थलका कर्मचारीहरू अहिले हिउँ पन्छाउने र सेवा सामान्य बनाउने कार्यमा जुटेका छन्। यद्यपि रद्द भएका उडानका कारण अझै केही दिन विमानस्थलमा भिडभाड हुन सक्ने सम्भावना छ।





