0
सदस्य बन्नुहोस्

More
    संग्रह गर्नुहोस्।
    संग्रहित

    यसरि गरिएको थियो फिनल्याण्डका नेपाली रेष्टुरेण्टमा भएको श्रम शोषणको अनुसन्धान र रिपोर्टिगं

    पत्रकारितामा पत्रकार र स्रोतबीचको विश्वास सबैभन्दा ठूलो कुरा हो। बरु विश्वासका कारण कहिलेकाहीं स्टोरी छाप्न नपरे पनि छाप्नु हुँदैन। जस्तो- फिनल्यान्डमा यस्तै एउटा घटना भयो। त्यहाँ एक महिलामाथि यौन शोषण भइरहेको रहेछ। उनले त्यसबारे मलाई खुलेर भनिन्, तर अन्तिममा ‘यो छाप्न चाहिं नछाप्नुस् दिदी’ भनिन्।

    २०७४ सालमा म कामको सिलसिलामा फिनल्यान्ड गएकी थिएँ। पुगेको एक-दुई दिनमा केही नेपाली भाइबहिनीले मसँग गोप्य रूपमा भेट्न खोजे। भेटेपछि त्यस विषयमा थप खोतल्न मन लाग्यो। बुझ्दै जाँदा फिनल्यान्डमा नेपालीले चलाएको रेस्टुराँमा नेपाली श्रमिकमाथि श्रम शोषण गरिएको थाहा भयो। कामदारलाई खाना र बस्ने व्यवस्था ज्यादै खराब थियो। रेस्टुराँ मालिकले चर्को श्रम गराएर थोरै पारिश्रमिक दिने, कुटपिट र यौन दुर्व्यवहार समेत गर्ने रहेछन्।

    यस विषयमा मैले रिपोर्टिङ गरें। रिपोर्टिङमा निकै समय लागेको थियो। त्यो रिपोर्ट नेपाली टाइम्समा छापियो। नेपालीमा कान्तिपुरमा छापिएको थियो।

    त्यसपछि यस विषयमा फिनल्यान्डकै एक पत्रकारले फलोअप गरे। यी रिपोर्टिङ आएपछि त्यहाँको प्रहरीले अनुसन्धान गर्दा रेस्टुराँका मालिकले गैरकानूनी काम गरेको प्रमाणित भयो। यस मुद्दामा कामदारको पक्षबाट त्यहाँको सरकारले नै लड्यो। पीडित कामदारले न्याय पाए। यसपछि अन्य कामदारले पनि साहस गरेर प्रहरीमा उजुरी गर्न थाले। पीडितहरूले न्याय पाएको खबर अहिले पनि आइरहेको छ। त्यस्ता घटनाका कारण फिनल्यान्डको सरकारले कानून नै परिवर्तन गरेर आप्रवासी कामदारहरूको अधिकार स्थापित गरिदियो।

    त्यो रिपोर्टिङ गरिसकेपछि थप उत्सुकता जाग्यो। फिनल्यान्ड जस्तो ठाउँमा त यस्तो हुँदो रहेछ भने अन्यत्र पनि हुँदो हो भनेर मैले चासो राखिरहें। त्यो रिपोर्ट प्रकाशन भएपछि नेपाली श्रमिकका समस्याबारे मलाई विभिन्न देशबाट सूचना आउन थाले।

    फिनल्यान्ड जस्तो ठाउँमा त यस्तो हुँदो रहेछ भने अन्यत्र पनि हुँदो हो भनेर मैले चासो राखिरहें। त्यो रिपोर्ट प्रकाशन भएपछि नेपाली श्रमिकका समस्याबारे मलाई विभिन्न देशबाट सूचना आउन थाले।

    नम्रता शर्मा, पत्रकार

    सूचना प्राप्तिदेखि पीडितको खोजीसम्म

    फिनल्यान्डमै छँदा सुनेकी थिएँ- यहाँभन्दा पनि अर्को यूरोपेली देश लक्जम्बर्गमा नेपालीले चलाएको रेस्टुराँमा काम गर्ने नेपाली कामदारमाथिको उत्पीडन र यातना झनै अत्यासलाग्दो छ।

    त्यसपछि मौका मिलाएर २०७६ सालमा लक्जम्बर्ग गएँ। त्यहाँ अवस्था यति दयनीय थियो, एक नेपालीले आफ्नो रेस्टुराँमा काम गर्न राखेका कामदारको मानव अधिकारकै हनन भएको थियो। उनीहरूलाई एक वर्षसम्म पारिश्रमिक नदिई काम गराइएको थियो। बस्न दिइएको ठाउँ निकै खराब थियो। खाना पनि कमसल थियो। रेस्टुराँ मालिकले कुटपिट पनि गर्दा रहेछन्। यस्तै, उनीहरूको भोगाइ नेपालमा रहेका परिवारलाई थाहा नदिन अनेक प्रपञ्च रचिएको थियो।

    कामदारहरूलाई कुनै वेला त आठ घण्टाको साटो २३ घन्टासम्म निरन्तर काम लगाइएको थियो। बिदा पाउँदैनथे। रेस्टुराँ सञ्चालकले यति चर्को काम गराएर पारिश्रमिकमा पनि शोषण गरेका थिए।

    संसारकै विकसित र धनी यूरोपेली देश फिनल्यान्ड र लक्जम्बर्गमा नेपाली रेस्टुराँ व्यवसायीले त्यहाँका सरकारको आँखामा छारो हाल्दै कामदारलाई आर्थिक, शारीरिक, मानसिक हरेक हिसाबले अत्याचार गरेका थिए। फिनल्यान्डमा रेस्टुराँ सञ्चालकले कामदारको नाममा दुई वटा ब्यांक खाता खोलिदिएका थिए। एउटा खातामा त्यहाँको सरकारको नियम अनुसार तलब हालिन्थ्यो, तर त्यो खाता रेस्टुराँ मालिकले नै चलाउँथे। कामदारले नै चलाउने अर्को खातामा चाहिं थोरै रकम हालिदिन्थे।

    लक्जम्बर्गमा पनि रेस्टुराँ मालिकले कानून छल्न जुक्ति लगाएका थिए। मालिकले कामदारकै खातामा हरेक महीना पूरै पारिश्रमिक त हालिदिन्थे, तर त्यो रकम निकालेर मालिकलाई फिर्ता दिनुपर्थ्यो।

    लक्जम्बर्गमा वैयक्तिक गोपनीयताको हकलाई राज्यले निकै सम्मान गर्छ। यसैले कसैको विवरण फेला पार्न निकै कठिन हुन्छ। म त्यहाँको सामाजिक सुरक्षा कार्यालय गएँ, प्रहरीकहाँ गएँ, अदालत गएँ। ती ठाउँका अधिकारी र कर्मचारी निकै मिजासिला थिए, तर सूचना नदिने।

    रेस्टुराँ सञ्चालकले कामदारको शोषण गरेकोबारे सुइँको पाइसकेकाले खोजतलास जारी नै राखें। महत्त्वपूर्ण जानकारी हात परिहाल्छ कि भनेर बेल्जियम र नेदरल्यान्ड्स पनि गएँ। त्यहाँ खोज पत्रकारितामा हुनैपर्ने तथ्य त भेट्न सकिनँ, सूचना चाहिं पाएँ। सबैभन्दा महत्त्वपूर्ण कुरा सम्पर्क विस्तार भयो।

    यसबीचमा हतोत्साही पनि भएँ। सूचना भए पनि तथ्य पर्गेल्न सकेकै थिइनँ। जति स्रोत लगाए पनि तथ्य हात लागेन। स्टोरी अघि बढेन। अब रिपोर्टिङ हाप्नुपर्छ जस्तो पनि लागेको थियो। किनकि कोभिड-१९ को महामारी शुरू हुनुअघि नै यसमा लागेकी थिएँ। लामो समय लागिरहँदा उपलब्धि हात नपरेपछि निराशाले छोपेको थियो।

    तर, कुनै न कुनै रूपमा यो स्टोरीमा निरन्तर लागिरहें। स्रोतहरूसँग एक-दुई दिनमा सम्पर्क गरिरहेकी थिएँ। यो कार्यमा विद्युतीय माध्यम नै मेरो सेतु भयो।

    लक्जम्बर्गमा हुँदा नेपालीले चलाएका विभिन्न रेस्टुराँमा ग्राहक बनेर पनि गएँ। सञ्चालकहरूले निकै राम्रो सत्कार गरे। त्यस क्रममा नेपाली कामदारसँग चिनजान भयो र शोषणमा परेका पात्रबारे सोधखोज गर्ने मौका पाएँ। त्यति वेला प्रत्यक्ष रूपमा पीडित भनेर कोही अगाडि आएनन्। मालिक नभएको मौका पारेर कामदारसँग पारिवारिक निकटता झल्काउँदै ‘दिदी’ का रूपमा कुराकानी गरें।

    शोषण र दुर्व्यवहारमा परेका नेपाली कामदारबारे केही थाहा छ कि भनेर सोध्दा उनीहरूले आफूले त्यस्तो भोग्नुनपरेको र अरूलाई भएको भन्ने सुनेको बताए। उनीहरूले ‘तपाईंसँग यस्तो विषयमा कुरा गरेको मालिकले थाहा पाए हामी समस्यामा पर्छौं’ पनि भने।

    पीडित हुन कि भनेर शङ्का गरेका दुई-तीन जनासँग कुरा गर्न खोज्दा उनीहरू बोल्न डराए। त्यहाँ स्थापित नेपाली व्यवसायीले नेपालबाट आफन्त र साथीभाइ बोलाएर काममा राख्ने र उनीहरूलाई चुइँक्क बोल्न नदिने रहेछन्।

    कामदारमाथि अमानवीय व्यवहार गर्ने नेपाली रेस्टुराँ व्यवसायीलाई उदाङ्गो पार्न खोजीमा जुटिरहँदा मेरा स्रोतहरू ममाथि भौतिक आक्रमण होला कि भन्नेमा चिन्तित थिए। लक्जम्बर्गका विभिन्न ठाउँमा चहारिरहँदा उनीहरू मलाई सतर्क रहन भन्थे।

    यसबीचमा लक्जम्बर्गका नेपालीले ‘फिनल्यान्डको स्टोरी लेख्ने नम्रता शर्मा लक्जम्बर्गमा छिन्’ भन्ने खबर पाएछन्। उनीहरूले मसँग गोप्य रूपमा सम्पर्क गरे। श्रम शोषणबारे सोध्दा उनीहरूले भने, “कुरा त ठ्याक्कै त्यही हो, तर विस्तृतमा सूचना दिन सक्दैनौं।”

    नेपालीलाई आफूले सूचना दिएको कुरा केही गरी बाहिर गए आफ्नो सर्वस्व गुम्ला भन्ने डर रहेछ। शोषणबारे बताए आफ्ना सञ्चालकले जे पनि गरिदिन्छन्, नेपालमा भएका परिवारलाई पनि नराम्रो गर्न सक्छन् भन्ने त्रास रहेछ।

    रेस्टुराँ सञ्चालकहरूकै नाता पर्ने एक जना रहेछन्। एक स्रोतले मनाएपछि बल्लतल्ल उनी कुरा गर्न माने। डरका कारण उनले मसँग फोन गर्दा अर्कै सिम कार्ड हालेर कुरा गरे। उनले दिएको सूचना सिलसिलाबद्ध राखें।

    नेपाल फर्केपछि पीडित भनिएको पात्रसँगै अनलाइन मार्फत कुराकानी हुन थाल्यो। धेरैजसो कुराकानी च्याटबाट गर्थें, प्रमाणका रूपमा रहन्छ भनेर।

    एक-डेढ वर्षसम्म एउटै रिपोर्टिङमा लागेका कारण मैले कुरा गरेका व्यक्तिहरूलाई पनि विश्वास भयो। एउटै अपार्टमेन्टमा बस्ने, एकै ठाउँमा काम गर्नेहरूसँग पनि कुरा गरेकी थिएँ। तर, एउटालाई अर्कोबारे भनेकी थिइनँ। गोपनीयता कायम राखेका कारण मलाई स्रोतहरूले विश्वास गरे।

    यसरी विभिन्न तरीकाबाट सूचना सङ्कलन गरें। अडिओ रेकर्ड पनि पत्ता लाग्यो। त्यसपछि सीधै पीडितसँग कुरा गरें। ती व्यक्तिलाई विश्वस्त पार्न मैले भनें, “म पत्रकार त हुँ नै, मानव अधिकारमा पनि धेरै काम गरेकी छु। मबाट कुरा बाहिर जाँदैन। तपाईंले सूचना नदिएसम्म कसरी सहयोग गर्नु?”

    यसपछि उनी खुल्न थाले। नेपालबाट लक्जम्बर्ग पुग्दासम्मका एक-एक कुरा बताए। कागजात पनि दिए।

    त्यही क्रममा पत्ता लगाएँ, उनले काम गर्ने रेस्टुराँमै चार वर्ष कुकको काम गरेका अर्का नेपालीले रेस्टुराँ मालिकबाट उनीभन्दा बढी दु:ख पाएका रहेछन्। मालिकबाट सास्ती र दुर्व्यवहार भोगेपछि उनी त्यहाँबाट जसोतसो फुत्किएर नेपाल पुगेका रहेछन्। ती कुकसँग उनले एक वर्ष सँगै काम गरेका रहेछन्। उनको नाम यी पीडितबाट पाएँ। तर, ठेगाना र सम्पर्क सूत्र पत्ता लागेन।

    ती व्यक्तिलाई सोसल मिडियामा देखें। म नेपालमा ‘जेन्डर स्टडीज’ पढाउने काम पनि गर्छु। मेरा एक विद्यार्थीको उनीसँग सम्पर्क रहेको देखें। मेरो विद्यार्थीले ती व्यक्तिको फोन नम्बर पत्ता लगाएर दिए।

    उनलाई फोन गरेर सोधें, “मैले तपाईंको बारेमा सुनेको सही हो? मलाई विश्वास गरेर सूचना दिन सक्नुहुन्छ त?”

    उनले आफूले उति वेला पीडा भोगेको स्विकारे। तर, उनी पीडित हुन् कि होइनन् भन्ने पुष्टि गर्नु थियो। मैले शङ्का व्यक्त गरें, “तपाईं लक्जम्बर्ग छोडेर आएको यत्तिका वर्ष भइसक्यो, तपाईंले बताएकै सही हो भनेर मैले कसरी विश्वास गर्नु?”

    उनले शङ्का निवारण गर्न एउटा तस्वीर पठाए। तस्वीरमा पिटेका दागहरू थिए। उनी लक्जम्बर्गबाट नेपाल फर्कनासाथ एक पत्रकारलाई भेटेर जीउभरि कुटिएका दागहरूको तस्वीर खिचेर राखेका रहेछन्। तस्वीर पाएपछि उनको भोगाइबारे सोधें। उनले आफ्नो व्यथा सुनाए।

    कुटपिटको दाग भएका सबै तस्वीर पाएँ। स्टोरी लेखेर तयार पारें। पीडक भनिएका रेस्टुराँ सञ्चालकसँग पनि कुरा गर्न प्रयास गरें, तर उनले जवाफ दिइरहेका थिएनन्। यस्तो वेला अलि समझ प्रयोग गर्नुपर्छ। एक पटक उनलाई च्याट मार्फत भनें, “तपाईंलाई मैले धेरै पटक सम्पर्क गरे पनि जवाफ दिनुभएन। तपाईंको बारेमा धेरै कुरा अरूबाटै पाइसकें। तपाईं बोल्न चाहनुभएन भनेर स्टोरीमा राखिदिन्छु।”

    यसपछि उनले मलाई दिदी भनेर सम्बोधन गर्न थाले। मैले केही प्रश्न लेखेर च्याट र इमेलमा पठाएँ। उनले आफ्नो वकीलले जवाफ दिने बताए। तर, वकीलले पनि दुई-तीन दिनसम्म जवाफ दिएनन्। मैले आफूलाई सहयोग गर्ने लक्जम्बर्गका खोज पत्रकार इन्टरन्याशनल कन्सोर्टियम अफ इन्भेस्टिगेटिभ जर्नालिस्ट (आईसीआईजे) का सदस्य लुक करेगरीलाई ती वकीलको नाम दिएँ। त्यसपछि वकीलले केही जवाफ पठाएछन्।

    पछि ती रेस्टुराँ सञ्चालकले नै मेरो प्रश्नको जवाफ पठाए। उनले सबै आरोप अस्वीकार गरेका थिए।

    तथ्य जाँचको धपेडी

    दुवै पक्षबाट सूचना पाइयो। अब यिनलाई पुष्टि गर्नु थियो। यसभित्र विभिन्न पाटा पर्छन्। पीडित भनिएकाहरूले बताएको सही छ/छैन, तस्वीरको मिति मिल्छ/मिल्दैन केलाउनुपर्‍यो। राहदानीको फोटोकपी पनि मगाएँ।

    अझ मिहिन रूपमा तथ्य जाँचेर प्रमाणित गर्नुपर्ने देखें। लन्डनमा खोज पत्रकारहरूको ‘फाइनान्स अनकभर्ड’ समूह छ। त्यसमा रहेका साथीहरूसँग चिनजान थियो। उनीहरूलाई सम्पर्क गरें। ‘मेरो एउटा स्टोरी ब्रेक हुन लागेको छ, यसको फ्याक्ट चेक गर्नुपर्‍यो’ भनेर स्टोरी पठाएँ। उनीहरू मार्फत नै लक्जम्बर्गका पत्रकार लुकसँग मेरो सम्पर्क भएको थियो। यो रिपोर्टिङबारे सुनाउँदा शुरूमा चकित परेका उनी मसँग सहकार्य गर्न तयार भएका थिए।

    मेरो स्टोरी हेरेपछि लन्डनका साथीहरू पनि छक्क परे, “लक्जम्बर्गमा पनि यस्तो घटना? पत्याउनै मुश्किल पर्‍यो!”

    मलाई पनि के हो के हो जस्तो लागेको थियो। तर, नेपालीको पुरातनवादी व्यवहारसँग त परिचित नै छु। त्यसैले त्यो हदको शोषण र जुलुम गरे भन्नेमा अविश्वास पनि थिएन।

    घटना त भएकै हो। स्टोरी पनि तयार भइसकेको थियो। एउटा पत्रकारलाई आफूले गरेको स्टोरी कसैले पहिल्यै ‘लिक’ गरिदेला कि भन्ने भय हुन्छ। मलाई स्टोरी कहिले ब्रेक गरूँ भन्ने व्यग्रता थियो, उता लुकलाई स्टोरी पठाउन लाग्दा उनी परिवारसँग बिदा मनाउन निस्किएका रहेछन्।

    बिदा मनाएर दुई सातापछि लुक फर्किए। ‘फाइनान्स अनकभर्ड’ का साथीहरू र लुकसँग सामूहिक र छुट्टाछुट्टै धेरै चोटि ह्वाट्सएपमा कुरा गरें। उनीहरूलाई स्टोरीको अन्तिम रूप पठाएँ र तथ्य जाँच गर्न भनें। साथै, लुकलाई लक्जम्बर्गको सामाजिक सुरक्षा कार्यालय र प्रहरीकहाँ गएर तथ्य जाँच गर्न सम्पर्क विवरण पठाइदिएँ। यस विषयको हरेक कुरा मलाई जानकारी गराउन पनि भनें।

    तिन ताका म दिनरात नै काम गर्थें। यूरोपमा दिन हुँदा नेपालमा रात हुने भएकाले रातभरि कुराकानी र छलफलमा व्यस्त हुनुपर्थ्यो। दिउँसो चाहिं आएका नयाँ जानकारी समेट्दै लेख्ने गर्थें। त्यही वेला उच्च ज्वरोले ग्रस्त भएँ। अस्वस्थ हुँदा पनि रातभर नसुती काममा लागियो।

    धन्न लुकले मद्दत गरे। प्रहरीकहाँ गएर सबै तथ्य पुस्ट्याइँ गरे। सबै साँचो भन्ने प्रमाणित भयो। त्यसपछि मात्र मैले उनलाई पीडितहरूको सम्पर्क नम्बर पनि दिएँ। पीडितबाट सहमति लिएर मात्र उनीहरूको फोन नम्बर दिएको थिएँ। उनी आफैंले ती पीडितहरूलाई भेटेर तथ्य जाँच गरे।

    लक्जम्बर्गमा कानूनतः कसैमाथिको आरोप पुष्टि नभएसम्म नाम उल्लेख गर्न नपाइने नियम छ। यसले गर्दा पीडक रेस्टुराँ मालिक र पीडितहरूको नाम नछापी रिपोर्ट प्रकाशन गर्ने निधो गर्‍यौं। अन्तत: नेपाली कामदारले लक्जम्बर्गमा आर्थिक, शारीरिक, मानसिक शोषण र उत्पीडन भोग्नुपरेको सम्बन्धी रिपोर्ट नेपाली टाइम्स, अनलाइनखबर र लक्जम्बर्गको अनलाइन पोर्टल रिपोर्टर डट एलयूमा एकैपटक प्रकाशन भयो, ‘लक्जम्बर्गमा मानव तस्करी: श्यामको सास्ती र विनोदको वेदना’ र ‘नेपालीज् एब्युज्ड बाई नेपालीज् इन् लक्जम्बर्ग’ शीर्षकमा।

    यसपछि धेरै ठाउँबाट नेपालीले मलाई सम्पर्क गरे। मानव अधिकारमा काम गर्ने विदेशी खोज पत्रकारले पनि यस्तो त हाम्रो देशमा पनि नहोला र भनेर चासो देखाए। यो विषयलाई लक्जम्बर्गका रिपोर्टरले पनि उठाए।

    मेरो त्यो रिपोर्ट प्रकाशन भएपछि धेरै ठाउँमा निकै खोजी गरेर आप्रवासी कामदारको पीडाबारे अरू पनि यस्तै स्टोरीहरू आएका छन्। यसमा मलाई खुशी लाग्छ। हुन पनि यस्तो गम्भीर घटनामा एकाध मिडियाले रिपोर्टिङ गरेर पुग्दैन।

    यूरोपमा तरङ्ग

    लक्जम्बर्गको मेरो रिपोर्टिङ आएपछि नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरो पनि चनाखो भयो। पीडक भनिएकाहरू नेपाल आएमा पक्राउ गर्ने भन्नेसम्म पुग्यो प्रहरी। रिपोर्टिङको क्रममा थकित र भावनात्मक रूपमा गलित भएकी म यी प्रतिक्रिया र प्रभावबाट उत्साहित भएँ। त्यो रिपोर्टले एम्नेस्टी इन्टरन्याशनल अवार्ड पनि पायो।

    स्टोरीले यूरोपमै तरङ्ग ल्याइदियो। जतिसुकै विकसित र कडा कानून भएको देश भए पनि आप्रवासी कामदारको अधिकार हनन हुँदो रहेछ भनेर त्यो रिपोर्टले उजागर गरिदियो। अहिले लक्जम्बर्गको सरकार र त्यहाँको नेपाली समुदाय सचेत भएका छन्। पीडितहरू लक्जम्बर्गमै सुरक्षित रूपमा बसिरहेका छन्। स्टोरी प्रकाशन भएपछि नेपाली मात्र होइन लक्जम्बर्गमा रहेका अन्य मुलुकका कामदारलाई पनि फाइदा भयो।

    कुनै पनि पत्रकारका लागि आफ्नो रिपोर्टले पुरस्कार पाउनुभन्दा रिपोर्टका पात्रले न्याय पाउनु ठूलो कुरा हो। तर, अन्तर्राष्ट्रिय पुरस्कारहरूले दिने पहिचान हाम्रा स्टोरीका पात्रहरूका लागि एकदमै महत्त्वपूर्ण हुन्छ। हामी जस्तो पत्रकारले नेपालमा त केही पनि पुरस्कार पाउँदैनौं। यहाँ त सम्बन्ध र निकटताका आधारमा पुरस्कारको छिनोफानो हुन्छ। यही मानव तस्करीको रिपोर्टिङ पनि कतै सम्मानित भएन। उता फिनल्यान्डका पत्रकारले हाम्रै स्टोरी पछ्याएर विस्तृतमा लेखेर ‘जर्नालिस्ट अफ दी इयर’ पाए।

    अहिले थुप्रै नेपाली पत्रकार अन्तर्राष्ट्रिय स्तरमा चिनिएका छन्। अन्तर्राष्ट्रिय मिडियामा काम गर्ने राम्रा पत्रकार पनि हुने नै भए। तर, विश्वभरि मिडिया ‘कर्पोरेटाइज्ड’ भएपछि आफ्नो फाइदाका लागि सम्पादक र पत्रकारलाई प्रभावित पार्ने प्रवृत्ति सबैतिर छ। अर्थात् सबल र दुर्बल पक्ष, चुनौती र अवसर संसारभरका मिडियामा एकैखाले छ। तथापि विकसित मुलुकका पत्रकार र त्यहाँको पत्रकारिताको संरचना बलियो भएकाले यस्ता चुनौतीले धेरै असर पार्दैन।

    खोज पत्रकारिताको सबैभन्दा महत्त्वपूर्ण पक्ष भनेकै धैर्य हो। लक्जम्बर्गको रिपोर्टिङमा एक वर्ष त स्टोरी बनाउनै लाग्यो मलाई। तथ्य जाँच र पुस्ट्याइँ लगायत काममा थप तीन-चार महीना लाग्यो। यस हिसाबले यो स्टोरी पूर्ण रूपमा तयार पार्न करीब डेढ वर्ष लागेको थियो।

    ‘एक्टिभिज्म’ र ‘जर्नालिज्म’ एकसाथ हुनु हुँदैन भनिन्छ। तर, म जस्तो व्यक्तिका लागि यी दुवै सँगसँगै हुन्छन्। यद्यपि मैले ‘एक्टिभिज्म’ र ‘जर्नालिज्म’बीचको रेखा भने कोर्नुपर्छ।

    पत्रकारितामा पत्रकार र स्रोतबीचको विश्वास सबैभन्दा ठूलो कुरा हो। बरु विश्वासका कारण कहिलेकाहीं स्टोरी छाप्न नपरे पनि छाप्नु हुँदैन। जस्तो- फिनल्यान्डमा यस्तै एउटा घटना भयो। त्यहाँ एक महिलामाथि यौन शोषण भइरहेको रहेछ। उनले त्यसबारे मलाई खुलेर भनिन्, तर अन्तिममा ‘यो छाप्न चाहिं नछाप्नुस् दिदी’ भनिन्।

    मैले नाम परिवर्तन गरेर छाप्ने बताएँ। उनी मानिनन्। ‘यिनीहरूले मलाई मार्छन्’ भनिन्। त्यसपछि मैले स्टोरी लेखिनँ। पछि उनी नेपाल आएर आफैंले प्रहरीमा बयान दिएर कानूनी कारबाही अघि बढाइन्।

    गोपनीयता र समाचारबीचको सिमाना कस्तो हुन्छ भने, सार्वजनिक जीवन अवलम्बन गर्ने व्यक्तिले कुनै गैरकानूनी काम गरेको छ भने त्यहाँ गोपनीयताबारे ध्यान दिन आवश्यक छैन। मानव तस्करी जस्तो स्टोरीमा चाहिं पत्रकारका रूपमा पीडितको गोपनीयताको सम्मान गर्नुपर्छ। पीडितले नाम उल्लेख गर्न चाहे पनि खासगरी बालबालिकाको सन्दर्भमा नाम खुलाउनु हुँदैन। सबैभन्दा मुख्य कुरा, पीडितसँग विश्वासको वातावरण बनाउनुपर्छ।

    (१६ भदौ २०८० मा हिमालखबरमा प्रकाशित नेपालबाट प्रकाशित स्टोरीले यूरोपमा तरङ्ग शिर्षकको यो सामाग्री हाम्रा पाठकहरुलाई समेत सान्दर्भिक हुने ठानी पुनः प्रकाशित गरिएको हो। यो रिपोर्ट हिमालखबरका असीम तिमल्सिनाले पत्रकार शर्मासँग गरेको कुराकानीमा आधारित छ। – नेपालीलाइनेन)

    नेपालीलाइनेन
    नेपालीलाइनेन
    नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न  पनि सक्नुहुन्छ। 

    प्रिय पाठक, नेपालीलाइनेनलाई सघाउनुहोस्

    नेपालीलाइनेन पढ्नु भएकोमा धन्यवाद! यो फिनल्यान्डमा बस्ने सबै नेपालीको साझा चौतारी हो। यसले हाम्रा आफ्नै कथा भन्छ—हाम्रै सुखदुःखका कथा; आशा र निराशाका कथा; र सफलता र असफलताका कथा।

    Coffee Cup

    तर तपाईँजस्तै पाठकको सहयोग विना नेपालीलाइनेनको यात्रा अगाडि बढ्न सक्दैन। सक्नुहुन्छ भने मासिक १ कप कफी मूल्य बराबरको 'सहयोगी सदस्यता' लिएर नेपालीलाइनेनलाई सघाउनुहोस्। सहयोगी सदस्यको रूपमा हाम्रा सबै प्रिमियम सामाग्रीमा तपाईँको पहुँच हुन्छ। धेरै धन्यवाद।

    Payment Methods
    सहयोगी सदस्यका सुविधाहरू पछि सम्झाउनुहोस्

    फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

    ━ नेपालीलाइनेनबाट थप