.संक्षेपमा.
- जुलाई १९ शनिबारका दिन बालबालिकाका लागि विशेष फुटबल टुर्नामेन्टको आयोजना।
- ५ देखि १५ वर्ष उमेर समूहका नेपाली मूलका केटा र केटी दुवैले सहभागिता जनाउन पाउने।
- सहभागीहरूले आफ्नै टिम बनाउन सक्ने, अन्यथा एनआरएनए फिनल्यान्डले टिम निर्माणमा सहयोग गर्ने।
गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) फिनल्यान्डले फिनल्यान्डमा बसोबास गर्ने नेपाली वा नेपाली मूलका बालबालिकाका लागि विशेष फुटबल प्रतियोगिताको आयोजना गर्ने भएको छ। यो प्रतियोगिता आउँदो जुलाई १९ शनिवारका दिन भान्तास्थित कोइभुकुलाको फुटबल ग्राउन्ड (Koivukylä Football Ground) मा सम्पन्न हुनेछ।
फुटबलप्रति रुचि राख्ने ५ देखि १५ वर्षसम्मका बालबालिकाहरूलाई लक्षित गरी प्रतियोगिता आयोजना गर्न लागिएको एनआरएनए फिनल्यान्डले जानकारी दिएको छ। प्रतियोगिताले बालबालिकाहरूलाई आफ्नो समुदायभित्रै खेल प्रतिभा देखाउने र साथीहरू बनाउने महत्त्वपूर्ण अवसर प्रदान गर्ने विश्वास लिएको पनि आयोजकले जनाएको छ।
“हामीले यो कार्यक्रम पहिलो पटक गत बर्ष आयोजना गरेका थियौँ र निकै सफलतापूर्वक सम्पन्न गरेका थियौँ।” एनआरएनए फिनल्यान्डका अध्यक्ष लभ उपाध्यायले नेपालीलाइनेलाई भने। “यो वर्ष पनि यसको माग उच्च रहेको आभास भएपछि हामीले निरन्तरता दिएका हौँ।”
उपाध्यायका अनुसार फिनल्यान्डभरि छरिएर रहेका नेपाली परिवारका बालबालिकाहरूलाई खेलकुदको माध्यमबाट एकै ठाउँमा ल्याउने उद्देश्यले यो प्रतियोगिता आयोजना गर्न लागिएको हो।
खेलमा सहभागी हुनका लागि बालबालिकाका अभिभावक (बुवा वा आमा) नेपाली मूलको हुनुपर्नेछ। प्रतियोगितामा केटा र केटी दुवैले विभिन्न उमेर समूहमा रहेर प्रतिस्पर्धा गर्न पाउनेछन्।
एनआरएनए फिनल्यान्डले जनाए अनुसार यदि एउटै उमेर समूहका पर्याप्त बालबालिकाहरू भएमा उनीहरूले आफ्नै टिम बनाएर खेल्न सक्नेछन्। यदि त्यस्तो अवस्था नभएमा आयोजक संस्थाले नै टिम विभाजन गरी सबैलाई खेल्ने अवसर सुनिश्चित गर्नेछ।
सहभागिताका लागि आयोजकले उपलब्ध गराएको गुगल फारम सकेसम्म छिटो भर्न अनुरोध गरिएको छ।

खेलमा सहभागी हुनका लागि बालबालिकाका अभिभावक (बुवा वा आमा) नेपाली मूलको हुनुपर्नेछ।
यो कार्यक्रमले बालबालिकामा खेल भावना बढाउनुका साथै नेपाली संस्कृति र समुदायसँगको सम्बन्धलाई अझ प्रगाढ बनाउन मद्दत पुग्ने अपेक्षा गरेको एनआरएनए फिनल्यान्डले बताएको छ।





