फिनल्यान्डको साभोनलिन्नामा शनिबार भएको आगलागीको घटनामा प्रहरीले २२ वर्षीय एक युवकलाई पक्राउ गरेको छ।
ती युवकमाथि घरमा आगो लगाएर एक महिला र तीन बालबालिकाको हत्या गरेको अभियोग लगाइएको छ।
स्थानीय सञ्चारमाध्यमका अनुसार संदिग्ध युवक मृतक बालबालिकाका पिता हुन्। आगलागीमा ज्यान गुमाउने महिला उनकी श्रीमती भएको बताइएको छ।
प्रहरीले ती युवकलाई चार जनाको हत्या र गम्भीर आगजनीको आशंकामा हिरासतमा लिएको छ। जलेको घरको भग्नावशेषबाट चार जनाको शव निकालिएको थियो।
यो दुखद् घटना फिनल्यान्डको स्वतन्त्रता दिवस (६ डिसेम्बर) को बिहान करिब ८ बजे साभोनलिन्नाको लोउही (Louhi) क्षेत्रमा भएको हो।
प्रत्यक्षदर्शीहरूले घरभित्रबाट ‘बचाउ बचाउ’ भन्दै कराएको आवाज सुनेको Yle लाई बताएका छन्। तर आगो यति छिटो फैलियो कि उनीहरूलाई बचाउन सम्भव भएन।
अनुसन्धानको नेतृत्व गरिरहेका प्रमुख इन्स्पेक्टर तेमु भार्तिनेनका अनुसार सोमबार बिहान संदिग्धसँग बयान लिइएको छ।
प्रारम्भिक प्रमाणले आगलागी जानीजानी गराइएको देखाएको प्रहरीको भनाइ छ। यद्यपि, घटनास्थलको प्राविधिक परीक्षण अझै जारी छ।





