…संक्षेपमा.
- फिनल्याण्डमा प्रति १००० बासिन्दामा २.१ जनाले सम्बन्धविच्छेद गर्छन्।
- लाटभिया र लिथुएनिया पछि फिनल्याण्ड सम्बन्धविच्छेदको दरमा तेस्रो स्थानमा छ।
- विगत ६० वर्षमा फिनल्याण्ड र युरोपेली संघ दुवैमा सम्बन्धविच्छेद दर दोब्बर भएको छ।
युरोपेली संघको तथ्याङ्क निकाय युरोस्टाटका अनुसार फिनल्याण्डमा युरोपेली संघको औसतभन्दा धेरै मात्रामा सम्बन्धविच्छेद हुने गरेको छ। युरोस्टाटले विभिन्न देशहरूको जनसंख्याको आधारमा सम्बन्धविच्छेदको दर तुलना गरेको थियो।
सन् २०२३ को आँकडा अनुसार जनसंख्याको अनुपातमा सम्बन्धविच्छेदको दरमा फिनल्याण्ड युरोपेली संघमा क्रमशः लाटभिया र लिथुएनिया पछि तेस्रो स्थानमा छ। लाटभियामा प्रति १,००० बासिन्दामा २.८ जनाले सम्बन्धविच्छेद गर्छन्। फिनल्याण्डमा यो संख्या २.१ रहेको छ। युरोपेली संघको औसत १.६ रहेको छ।
चौथो स्थानमा स्वीडेन छ। स्वीडेनमा प्रतिव्यक्ति सम्बन्धविच्छेद दर फिनल्याण्डसँग मिल्दोजुल्दो रहेको र कहिलेकाहीँ आफ्ना नर्डिक छिमेकी देशलाई उछिनेको समेत पाइएको छ। लक्जेमबर्ग र डेनमार्कमा पनि उस्तै सम्बन्धविच्छेद दर देखिएको छ।
विगत ६० वर्षमा युरोपेली संघ र फिनल्याण्ड दुवैमा सम्बन्धविच्छेद दर लगभग दोब्बर भएको छ। युरोस्टाटले सन् १९६४ देखि सम्बन्धविच्छेदको तथ्याङ्क राख्न सुरु गरेदेखि नै फिनल्याण्ड लगातार युरोपेली संघको औसतभन्दा माथि रहेको छ।
फिनल्याण्डमा युरोपेली संघको औसतभन्दा कम विवाह हुने पनि तथ्याङ्कले देखाएको छ। सन् २०२३ को तथ्याङ्क अनुसार रोमानिया र लाटभियामा विवाह दर सबैभन्दा उच्च थियो। गत ६० वर्षमा फिनल्याण्ड र युरोपेली संघ दुवैमा विवाह दर आधा घटेको छ, र फिनल्याण्ड लगातार युरोपेली संघको औसत भन्दा तल रहेको छ।
जनसंख्या अनुसन्धान संस्थानका अनुसन्धान प्रोफेसर इमेरिटस ओस्मो कोन्तुलाका अनुसार फिनल्याण्डमा विवाह नगरी सँगै बस्ने प्रचलन युरोपका अन्य देशहरूको तुलनामा निकै बढी प्रचलित छ। यही कारणले गर्दा फिनल्याण्डमा विशेष गरी दक्षिणी युरोपको तुलनामा फिनल्यान्डमा विवाह कम हुन्छ।

सन् २०२३ को पछिल्लो आँकडा अनुसार, जनसंख्याको अनुपातमा सम्बन्धविच्छेदको दरमा फिनल्याण्ड युरोपेली संघमा क्रमशः लाटभिया र लिथुएनिया पछि तेस्रो स्थानमा छ।
प्रोफेसर कन्तुलाका अनुसार युरोपेली संघका देशहरूबीच विवाह र सम्बन्धविच्छेदको तथ्याङ्क तुलना गर्न जटिल छ किनभने हरेक देशका कानुनी ढाँचाहरू फरक छन्। उदाहरणका लागि विवाह नगरी सँगै बस्ने प्रचलन फिनल्याण्डमा सन् १९७० को दशकदेखि बढ्न थालेको हो। जब विवाहको प्रतिबद्धता बिना सँगै बस्ने कुराले लोकप्रियता हासिल गर्यो त्यसपछि फिनल्यान्डमा विवाह दर घट्दै गएको देखिन्छ।
“सम्बन्धहरूको कुरा गर्दा फिनल्याण्ड निकै उदार देश हो,” प्रोफेसर कोन्तुलाले भने। युरोपका अन्य भागहरूमा परम्परा फरक छन्। धेरै देशमा विवाह परम्परा मुख्यतया धर्ममा आधारित छन्। धेरै क्याथोलिक देशहरू जस्तै इटाली, स्पेन, आयरल्याण्ड र माल्टामा एक समय सम्बन्धविच्छेद निषेधित समेत थियो। त्यसले पनि सम्बन्धविच्छेद कम रहनुमा योगदान पुर्याएको थियो।





