.संक्षेपमा.
- फिनल्यान्डमा विदेशी कामदारहरूको चरम शोषण भइरहेको नयाँ पुस्तकको खुलासा।
- विभिन्न क्षेत्रमा न्यून ज्याला र दुर्व्यवहार सामान्य।
- आवास अनुमति कार्यस्थलमा निर्भर भएका कारण श्रमिकहरूमा भय।
फिनल्यान्डको चर्चित पत्रिका हेलसिन्गिन सानोमातका अनुसन्धान पत्रकार पाभो तेइत्तीनेनको नयाँ पुस्तक “Pitkä vuoro – Kuinka moderni orjuus juurtui Suomeen” (लामो सिफ्ट – कसरी आधुनिक दासताले फिनल्यान्डमा जरा गाड्यो) सार्वजनिक भएको छ।
उक्त पुस्तकका अनुसार विदेशी कामदारहरूको शोषणले फिनल्यान्डमा गहिरोसँग जरो गाडेको छ। यो समस्या खासगरी रेस्टुरेन्ट, सरसफाई, कृषि र निर्माण क्षेत्रहरूमा देखिएको छ।
तेइत्तीनेनले पहिले पनि नेपाली रेस्टुरेन्टहरूमा रहेको व्यापक श्रमिक शोषण र थाई बेरी टिप्नेहरूको दुर्दशाबारे खुलासा गरेका थिए।
पुस्तकमा तेइत्तीनेनले शोषणका धेरै नयाँ घटनाहरू उल्लेख गरेका छन्। पुस्तकमा युक्रेनी शरणार्थीहरूले गर्ने काममा श्रम सर्तहरू उल्लङ्घन गरिएको र थाई कामदारहरूको शोषणमाथि प्रहरीले मानव बेचबिखन अनुसन्धान गरिरहेको लगायतका विषयहरू छन्।
सरसफाई कम्पनी SOL Palvelut मा पनि वर्षौँदेखि अवैध ‘प्रवेश शुल्क’ लिने गरेको खुलासा तेइत्तीनेनले गरेका छन्। उक्त कम्पनीले बङ्गलादेश, फिलिपिन्स लगायतका देशहरूबाट ल्याइएका सरसफाईकर्मीहरूबाट जागिरको लागि शुल्क लिने र कम्पनीको नेतृत्वलाई यसको जानकारी भएको दाबी पुस्तकमा गरिएको छ।
SOL Palvelut का अध्यक्ष युहा पेक्का योरोनेनले कम्पनीले यस्ता शुल्कहरू अस्वीकार गर्ने र पुस्तकमा गरिएका दावीहरूको गम्भीरतापूर्वक छानबिन सुरु गर्ने फिनल्यान्डको सार्वजनिक प्रसारण संस्था YLE लाई दिएको प्रतिकृयामा बताएका छन्।
तेइत्तीनेनको पुस्तकले एस्टोनिएन सङ्गठित अपराधले युक्रेनी र अन्य विदेशी निर्माणकर्मीहरूलाई बिना ज्याला काम गर्न लगाएको र हिंसाको धम्की दिएको घटनाहरू पनि उल्लेख गरेको छ।
पीडा र शोषणका अनेकौँ कथा
पुस्तकमा खाना पकाउने बिलाल, घरमा सहयोगीको रुपमा काम गर्ने प्रिती, सरसफाईकर्मी फिरास र निर्माणकर्मी फ्लोरियन जस्ता पीडितहरूका मन छुने कथाहरू समावेश छन्।
तेइत्तीनेनले फिनल्यान्डमा शोषणमा परे पनि विदेशी कामदारलाई सहायता खोज्न निकै कठिन रहेको उल्लेख गरेका छन्। धेरै पीडितहरू डर र आफ्नै समुदायको दबाबका कारण चुपचाप बस्ने गरेको पुस्तकमा जनाइएको छ।
विदेशी कामदारहरूको आवास अनुमति उनीहरूको रोजगारीमा निर्भर हुने भएकाले उनीहरू रोजगारदाताको दयामा बाँच्न बाध्य भएको तेइत्तीनेनले उल्लेख गरेका छन्।
जागिर गुमाउने वा देश निकाला हुने डरले शोषणलाई बढावा दिन्छ। कतिपय जातीय समुदायहरूमा रोजगारदाताहरूले सञ्जाल बनाएको र पीडितहरूलाई चुप लाग्न र आज्ञापालन गर्न दबाब दिएको पुस्तकमा उल्लेख छ। फिनल्यान्डको नेपाली समुदायमा पनि यो समस्या रहेको तेइत्तीनेनले लेखेका छन्।
तेइत्तीनेनले यी विषय अनुसन्धान गर्दा आफ्नो विश्वदृष्टि निराशाजनक बनेको बताएका छन्। किताबमा दोहोरिने अन्यायप्रति निराशा झल्किन्छ।
न्याय पाउन छैन सजिलो
पुस्तकका अनुसार फिनल्यान्डकै मानिसहरूले पनि कम मूल्यका सेवा र खानाबाट फाइदा लिइरहेका छन् र विदेशी कामदारहरूको जर्जर अवस्थालाई अक्सर बेवास्ता गर्ने गरेका छन्।
ग्रे इकोनोमी र आर्थिक अपराध नियन्त्रण कार्यक्रमहरू भए पनि सरकारी अधिकारीहरू र न्याय प्रणालीले पीडितहरूको पक्षमा खासै काम नगरेको पुस्तकको जिकिर छ।
तेइत्तीनेनका अनुसार प्रहरी, अभियोजक र अदालतहरू मानव तस्करी र श्रम शोषणको पहिचान र अनुसन्धानमा पनि असफल देखिन्छन्।
मुद्दाहरू वर्षौंसम्म अड्किन्छन्, अभियोग लाग्दैन वा सजाय हल्का हुन्छ। पीडितहरूलाई क्षतिपूर्ति पाउन कठिन हुन्छ, तेइत्तीनेनको जिकिर छ।
तेइत्तीनेनले यी विषय अनुसन्धान गर्दा आफ्नो विश्वदृष्टि निराशाजनक बनेको बताएका छन्। किताबमा पटक-पटक दोहोरिने अन्यायप्रति निराशा झल्किन्छ।
उनले श्रम संरक्षण निरीक्षण र अपराध अनुसन्धानका लागि स्रोत बढाउन र राजनीतिज्ञहरूबाट कारबाही माग गरेका छन्। त्यसो गरेमात्र फिनल्यान्ड कमजोरहरूका लागि पनि साँच्चै न्यायपूर्ण राज्य बन्न सक्ने उनको तर्क छ।
पुस्तक पीडितहरूको कथा, मुद्दाका अदालती सामग्री र व्यापक अनुसन्धानमा आधारित छ। धेरै घटनाहरू हेलसिन्गीन सानोमात पत्रिकामा प्रकाशित भैसकेका छन्।
फिनिस भाषामा लेखिएको ३९४ पृष्ठको उक्त पुस्तक फिनल्यान्डको गुमेरस प्रकाशनले बजारमा ल्याएको हो। पुस्तकको मुल्य ३० युरो रहेको छ।
.को हुन तेइत्तीनेन?.
पाभो तेइत्तीनेन एक चर्चित फिनिस पत्रकार हुन्। ३८ वर्षे तेइत्तीनेन सन् २०१४ देखि फिनल्यान्डको हेलसिन्गीन सानोमात पत्रिकामा कार्यरत छन्।
उनले हेलसिन्की विश्वविद्यालयमा कानुन विषय पढेका हुन् र पत्रकार हुनुअघि एक ल फर्ममा कार्यरत थिए।
आफ्ना अनुसन्धानात्मक रिपोर्टिङ लागि उनले अनेकौँ पुरस्कारहरू प्राप्त गरेका छन्। सन् २०२० मा फिनल्यान्डका नेपाली रेस्टुरेन्टहरूमा भएको शोषणका बारेको लेखका लागि अनुसन्धानात्मक पत्रकारिताको लुमिलापियो पुरस्कार प्राप्त गरेका थिए।
सन् २०२२ मा मानव तस्करी अपराधहरूको अनुसन्धानका समस्याहरूबारेको लेख शृङ्खलाका लागि उनले फेरि उक्त पुरस्कार प्राप्त गरेका थिए
सन् २०२२ मा उनको एउटा लेखले युरोपियन प्रेस पुरस्कारको अनुसन्धानात्मक रिपोर्टिङ श्रेणीमा पनि जित हासिल गरेको थियो। सोही वर्ष उनलाई फिनल्यान्डमा वर्षको उत्कृष्ट पत्रकारको रूपमा छनोट गरिएको थियो।





