यो प्रिमियम सामाग्री हाम्रा सहयोगी सदस्यका लागि मात्र।
नेपालीलाइनेनमा प्रकाशित यो सामाग्री 'प्रिमियम' हो। यदि हाम्रो 'सहयोगी सदस्य' बनिसक्नु भएको छ भने गुगल एकाउन्ट वा इमेल प्रयोग गरी लगिन गर्नुहोस्।
'सहयोगी सदस्य' बनिसक्नुभएको छैन भने प्रिमियम सामाग्रीहरु पढ्न 'सहयोगी सदस्य' बन्नुहोस्। सदस्यता दस्तुर मासिक ४.९१ युरो, वार्षिक ५९ युरो।
(यो नेपालीलाइनेनका सहयोगी सदस्यहरूले मात्र पढ्न मिल्ने ‘प्रिमियम स्टोरी’ हो। ‘सहयोगी सदस्य’ बनी सघाउनु भएकोमा धेरै-धेरै धन्यवाद।)
सन् १९१७ को डिसेम्बर महिनाको हेलसिन्की कल्पना गर्न सक्नुहुन्छ?
हिउँले ढाकेको सेतो सहर र हेलसिन्कीको हावामा चिसो सिरेटो त पक्कै कल्पना गर्नुभयो होला। तर १०८ वर्ष अगाडीको डिसेम्बरमा हेलसिन्कीमा कालो बादल पनि लागेको थियो। र त्यो थियो अनिश्चयको एउटा बाक्लो कालो बादल।
सडकका कुनाहरूमा मानिसहरू कानेखुसी गरिरहेका थिए। कतै रुसी साम्राज्यको पतनको कुरा, त कतै आफ्नै देशको भविष्यको चिन्ता।
त्यतिबेला फिनल्यान्ड आजको जस्तो समृद्ध, शान्त र खुसी देश थिएन। एउटा गरिब, विभाजित र भोकमरीको सँघारमा उभिएको कृषिप्रधान देश थियो।
आज हामी फिनल्यान्डलाई शिक्षा, प्रविधि र सामाजिक सुरक्षाको नमुना मान्छौं। तर सन् १९१७ मा स्वतन्त्रताको घोषणा गर्दा यो देशको अवस्था कस्तो थियो? कसरी एउटा गरिब देश अनेकौ चुनौती पार गरेर आजको युगमा पाइला टेक्यो?
यो फिचर स्टोरीमा फिनल्यान्डको त्यही अकल्पनीय रूपान्तरणको कथा खोतल्ने प्रयास गरेका छौँ।
भोकमरी र गरिबी
सन् १९१७ मा फिनल्यान्डको अर्थतन्त्र आजको जस्तो उच्च प्रविधिमा आधारित थिएन। मख्खन/घिउ र काठको अर्थतन्त्र थियो। करिब ७० प्रतिशत जनता खेतीकिसानीमा निर्भर थिए, तर जमिन माथि उनीहरूको स्वामित्व थिएन। अधिकांश फिनिसहरू ‘क्रोफ्टर’ वा मोही किसान थिए, जो जमिन्दारको जग्गामा काम गरेर गुजारा चलाउँथे।
स्वतन्त्र हुँदा फिनल्यान्डको आफ्नै सेना समेत थिएन। विदेश मन्त्रालय पनि थिएन। फिनल्यान्डमा रुसी सेनाको दबदबी थियो। स्वतन्त्र भएको करिब दुई महिनापछि मात्र फिनल्यान्डले आफ्नो सेना बनाएको हो।
प्रथम विश्वयुद्धको रापले युरोप जलिरहँदा फिनल्यान्डको अवस्था दयनीय बनेको थियो। रुसबाट आउने अन्नको आयात ठप्प भएको थियो। बजारमा पाउरोटी पाउन छाडेको थियो। मानिसहरूले रूखको बोक्रा मिसाएर रोटी बनाउनु पर्ने बाध्यात्मक अवस्थाको सम्झना गरेको अझै पनि पुराना पुस्ताका फिनिसहरूको मुखबाट सुन्न पाइन्छ।
अभावका कारण जनताले हप्तौंसम्म पेटभरि खान नपाउने अवस्था थियो। काम गर्ने मजदुर र जग्गाधनीबीचको खाडल यति गहिरो थियो कि त्यसले कुनै पनि बेला विष्फोटको रूप लिन सक्थ्यो।
रगतले कोरिएको स्वतन्त्रता र खरानीबाट उठेको फिनिक्स
६ डिसेम्बर १९१७ मा फिनिस संसदले रुसबाट स्वतन्त्र भएको घोषणा गर्यो। यो एउटा ऐतिहासिक क्षण त थियो, तर स्वतन्त्रताले शान्ति ल्याउन सकेन।
समाज दुई ध्रुवमा बाँडियो।
‘रेड्स’ (Reds) समुहमा मजदुर र मोही किसानहरू थिए। उनीहरू रुसी बोल्सेभिक क्रान्तिबाट प्रभावित थिए। र ‘ह्वाइट्स’ (Whites) समुहमा मध्यम वर्गीय, जमिन्दार र रुढीवादीहरू थिए।
सन् १९१८ को जनवरीमा फिनल्यान्डमा गृहयुद्ध सुरु भयो। यो युद्ध विदेशीसँग होइन, आफ्नै दाजुभाइबिच अर्थात् ‘रेड्स’ र ‘ह्वाइट्स’ बिच थियो। केही महिनामै करिब ३७,००० मानिसको ज्यान गयो। धेरैजसो युद्धको मैदानमा होइन, युद्धबन्दी शिविरहरूमा भोक र रोगले मरे।
त्यो समय फिनिस इतिहासको सबैभन्दा कालो धब्बा थियो। एउटा सानो देश, जो भर्खरै बामे सर्दै थियो, उसले आफ्नै खुट्टामा बन्चरो हानेको थियो। तर सायद, त्यही पीडाले फिनिस जनतालाई पछि एक हुन पनि सिकायो।
गृहयुद्धको घाउ आलै थियो, तर फिनल्यान्ड र फिनिस जनताले अनौठो अठोट लिए–शान्तिको, एकताको, र लोकतन्त्रको। फिनल्यान्डको रूपान्तरणको कथा वास्तवमा यहाँबाट सुरु हुन्छ।
राजनीतिक रूपमा फिनल्यान्डले लोकतन्त्रको बाटो रोज्यो। सन् १९१९ मा गणतन्त्रको संविधान बन्यो। सबैभन्दा ठूलो र साहसिक कदम थियो—भूमि सुधार। सरकारले कानुन ल्याएर हजारौं मोही किसानहरूलाई जग्गाको मालिक बनायो। यसले गरिब किसानहरूलाई देशप्रति अपनत्व महसुस गरायो।
हुन पनि हो, जब मानिसको आफ्नै टुक्रा जमिन हुन्छ, उसले त्यसको रक्षा र उन्नतिका लागि रगत पसिना बगाउँछ। फिनल्यान्डको स्थिरताको जग त्यहीँबाट सुरु भएको हो।
दोस्रो विश्वयुद्ध फिनल्यान्डको लागि अर्को अग्निपरीक्षा थियो। सोभियत युनियनजस्तो महाशक्तिसँग एक्लै लड्दा (विन्टर वार), हिजोका ‘रेड्स’ र ‘ह्वाइट्स’ का छोराहरू एउटै ट्रेन्चमा बसेर लडे। यो एकताले गृहयुद्धको खाडल पुर्न मद्दत गर्यो।
युद्धपछि सोभियत युनियनलाई तिर्नुपर्ने ठूलो क्षतिपूर्तिले फिनल्यान्डलाई अर्को अवसर दियो। क्षतिपूर्ति तिर्नका लागि फिनल्यान्डले बाध्य भएर आफ्नो धातु र जहाज निर्माण उद्योगलाई आधुनिकीकरण गर्नुपर्यो। त्यही दबाबले फिनल्यान्डलाई कृषिबाट औद्योगिक राष्ट्रमा कायापलट गर्यो।
फिनल्यान्डले आफ्ना जनतामा लगानी गर्ने निर्णय गर्यो। चाहे त्यो मन्त्रीको छोरा होस् वा मजदुरको, सबैले एउटै स्कुलमा, एउटै बेन्चमा बसेर पढ्ने व्यवस्था सुरू भयो। सबैले समान सुविधा र अवसर पाउन थाले।
शिक्षा र सामाजिक सुरक्षा
सन् १९६० र ७० को दशकमा फिनल्यान्डले एउटा अर्को दूरदर्शी निर्णय गर्यो—कल्याणकारी राज्य अर्थात् ‘वेलफेयर स्टेट’को निर्माण। हरेक नागरिकलाई समान शिक्षा र स्वास्थ्यको ग्यारेन्टी गरियो।
अर्को शब्दमा भन्दा फिनल्यान्डले आफ्ना जनतामा लगानी गर्ने निर्णय गर्यो। चाहे त्यो मन्त्रीको छोरा होस् वा मजदुरको, सबैले एउटै स्कुलमा, एउटै बेन्चमा बसेर पढ्ने व्यवस्था सुरू भयो। सबैले समान सुविधा र अवसर पाउन थाले।
यही समानताको सिद्धान्तले नोकियाजस्ता विश्वस्तरीय कम्पनीहरू जन्मायो। सन् ९० को दशकमा आर्थिक मन्दी खेपे पनि फिनल्यान्डले प्रविधि र शिक्षामा लगानी गर्न छाडेन। परिणामस्वरुप आज फिनल्यान्ड स्टार्टअप, गेमिङ (जस्तै एङ्ग्री बर्ड्स) र क्लिन इनर्जीको केन्द्र बनेको छ।
आजको फिनल्यान्डलाई हेर्दा १०८ वर्ष अघिको त्यो भोको र विभाजित देशको कल्पना गर्न पनि गाह्रो हुन्छ। तर अहिले लगातार विश्वको सबैभन्दा खुसी देशको सूचीमा शीर्ष स्थानमा फिनल्यान्ड छ।
तर माथि भनिएझै यो यात्रा सजिलो थिएन। यो कथा केवल आर्थिक प्रगतिको मात्र होइन, यो मेलमिलाप र विश्वासको कथा पनि हो। एउटा यस्तो समाजको कथा जसले आफ्ना घाउहरूलाई कोट्याउनुको सट्टा त्यसलाई निको पार्ने बाटो रोज्यो।
फिनल्यान्डको यो १०८ वर्षे यात्राले नेपालजस्ता विकासोन्मुख देशहरूलाई पनि एउटा सन्देश दिन्छ—सहि नेतृत्व, सामाजिक न्याय र शिक्षामा समान अवसर हुने हो भने, खरानीबाट उठेर पनि सुन फलाउन सकिन्छ।








