संक्षेपमा
- अलपत्र नेपाली कामदारको सुरक्षाका लागि प्रहरी परिचालन।
- बेरी टिप्न आएकाहरू ठगीको शिकार भएको हुनसक्ने आशङ्का।
- बेरी क्षेत्र भद्रगोल हुँदा अवैध गिरोहलाई प्रत्यक्ष फाइदा।
फिनल्यान्डको आम्मानसारीस्थित एक बस स्टपमा गत बिहीबार दुई नेपाली बेरी टिप्ने कामदार अलपत्र परेको समाचार आएको छ। स्थानीय पत्रिका Kainuun Sanomat का अनुसार उनीहरूलाई कसैले लिन नआएपछि उनीहरूको सुरक्षा सुनिश्चित गर्न प्रहरीलाई घटनास्थलमा बोलाइएको थियो।
उक्त पत्रिकाका अनुसार युभास्कुलाकी बासिन्दा रित्भा आन्तोनेनले ती नेपाली कामदारको अवस्था आफ्नै आँखाले देखेकी थिइन्। कामदारहरूलाई के होला भन्ने ठूलो चिन्ता लागेर आफूले प्रहरी अधिकारीहरूलाई सम्पर्क गरेको उनले पत्रिकालाई बताएकी छन्।
आन्तोनेनका अनुसार बस चालकले त्यो भन्दा अघिल्लो साता पनि यस्तै प्रकृतिको घटना भएको जानकारी दिएका थिए। त्यो बेला पनि करिब २० जना बेरी टिप्ने कामदारहरू सामान सहित पानीमा रुझ्दै बस्दा पनि उनीहरूलाई लिन कोही आएको थिएन।
बेरी व्यवसाय गर्ने आर्कटिस्टेन आरोमियनकी कार्यकारी निर्देशक बिर्गित्ता पार्तानेनले ती कामदारहरू ठगीको शिकार भएको हुनसक्ने उक्त पत्रिकालाई दिएको प्रतिक्रियामा बताएकी छन्। कुनै पनि जिम्मेवार कम्पनीले आफ्ना कामदारलाई यसरी अलपत्र नछोड्ने उनले प्रस्ट पारेकी छन्।
पार्तानेनले यो घटना हेर्दा सिधै ठगी जस्तो देखिएको र यस्ता घटना विगतमा पनि भएको बताइन्। यो वर्ष काइनु क्षेत्रमा थाइल्यान्डका कामदारहरूको सङ्ख्या निकै कम रहेको उनको भनाइ छ।
अहिले बेरी टिप्ने क्षेत्र निकै अव्यवस्थित र भद्रगोल भएको उनले खुलाइन्। कतिपय कामदारहरू टुरिस्ट भिसामा त कतिपय आफन्तको निमन्त्रणामा आउने गरेका छन्।
यस्तो अवस्थामा को कसरी आइरहेको छ भन्ने कुराको जानकारी राख्न असम्भव जस्तै भएको छ। पहिलेको व्यवस्थित प्रणाली भत्किँदा अहिले ठगहरूले फाइदा उठाइरहेको पार्तानेनको निष्कर्ष छ।
फिनल्यान्डमा बेरी टिप्न आउने छुट्टै भिसा पनि छ। तर यो वर्ष करिब ९०% त्यस्ता भिसा आवेदनहरू अधिकारीहरुले अस्विकृत गरेपछि अहिले बेरी टिप्ने कामदारको अभाव रहेको स्थानीय मिडियाले निरन्तर लेखिरहेका छन्।
फिनल्यान्डमा हरेक वर्ष समर सिजनमा जङ्गली बेरी (जस्तै ब्लुबेरी र क्लाउडबेरी) टिप्न सयौँ विदेशी कामदारहरू आउने गर्छन्। विगतमा अधिकांश कामदारहरू थाइल्यान्डबाट आउने गरे पनि पछिल्लो समय मानव बेचबिखन र श्रम शोषणको आशङ्काले गर्दा भिसा नियममा निकै कडाइ गरिएको छ।
तपाईँले कहिल्यै बेरी टिप्ने वा सोसँग सम्बन्धित क्षेत्रमा काम गर्नुभएको छ? के तपाईँ आफैँ वा तपाईँको चिनजानको कोही यस्तै अप्ठ्यारो अवस्था वा ठगीमा पर्नुभएको छ? यदि छ भने तपाईँको अनुभव अरूका लागि धेरै उपयोगी हुन सक्छ। आफ्नो अनुभव हामीसँग सेयर गर्नुहोस्—WhatsApp (+358 41 715 7816) मार्फत वा तलको फारम भरेर हामीलाई पठाउनुहोस्। थप जानकारी चाहिए हामी तपाईँलाई सम्पर्क गर्नेछौँ। तपाईँको परिचय पूर्णतः गोप्य रहनेछ।








