संक्षेपमा
- युद्धका कारण कतारमा उडान रद्द, नेपाली परिवार उतै रोकिए।
- आकाशमा मिसाइल देखिएपछि पर्यटक र स्थानीयमा त्रास।
- उडान खुल्ने पर्खाइमा यात्रुहरु।
फिनल्यान्डबाट बिदा मनाउन कतारको दोहा पुगेका एक नेपाली परिवार त्यहाँको पछिल्लो तनावका कारण त्यही रोकिनु परेको छ।
फेब्रुअरी २८ देखि मार्च १ सम्मको छुट्टी मनाउन पुगेका उनीहरू फिनल्यान्ड फर्कने उडान रद्द भएपछि दोहाकै एक होटलमा बसिरहेका छन्।
परिवारका पिता राजन सुवेदीले नेपालीलाइनेनलाई बताए अनुसार हिजो बिहानको उडान तय भएको भए पनि युद्ध भड्किएका कारण उडान रद्द भएको हो।
“हामी अहिले होटेलमै छौँ। फ्लाइट हिजो बिहानको थियो, तर युद्ध भड्केका कारण रद्द भयो,” सुवेदीले भने। “हामी जहाँ बसेका थियौँ, त्यही होटेलमै बसिरहेका छौँ। अहिले हामी चार जना छौँ: दुई जना बाबु नानी र हामी बुढाबुढी।”
उनले आज बिहान पनि ६ वटा मिसाइल हानेको ठुलो आवाज सुनिएको जानकारी दिए।
उनका अनुसार तनाव सुरु भएको पहिलो दिनमै डुङ्गा सयरका क्रममा उनकी छोरी र श्रीमतीले आकाशमा मिसाइल दौडिरहेको देखेका थिए। उनीहरूले आफ्नै आँखै अगाडी मिसाइलको मुस्लो खसेको समेत देखेका थिए (हेर्नुहोस् फोटो)। त्यसपछि उनीहरु डुङ्गा फर्काएर सुरक्षित स्थानमा फर्केका थिए।

फिनल्यान्ड फर्किने छैन टुङ्गो
सुवेदीका अनुसार एयरलाइन्सले उनीहरूलाई मार्च ४ का लागि टिकट पुनः बुकिङ गरिदिएको छ। तर आकाश खुल्ने स्थितिमा मात्र उनीहरू फिनल्यान्ड फर्कन पाउनेछन्।
सुवेदीले उक्त समस्याका कारण कतारमा रोकिनु परेका सबैको होटलको खर्च कतार सरकारले बेहोरीदिने जानकारी आफुले पाएको पनि नेपालीलाइनेनलाई बताए।
उनले कतारको सडकमा जनजीवन सामान्य नै देखिए पनि मिसाइलको साइरन र मोबाइल सन्देशले त्रास केही बढाएको बताए। आफूहरू अहिले सोही परिस्थितिमा अभ्यस्त हुने प्रयास गरिरहेको पनि उनले बताए।
“मैले हिजो बेलुका यसो भेटेका नेपाली दाजुभाइहरुबाट सुन्दा खेरि उनीहरु अत्यन्तै त्रसित अवस्थामा रहेको देखियो,” सुवेदीले थपे। “नेपालमा मिडियाले घटनालाई अतिरञ्जित गरेर प्रसारण गर्ने जुन चलन छ, त्यसले गर्दा अब ‘लौ कतारमा सकियो, लौ सकियो’ भन्ने खालको समाचार सम्प्रेषण भइरहेको छ।”
यस्ता समाचारले त्यहाँ रहेका नेपालीमा थप त्रास फैलाएको सुवेदीले बताए।
कतार र छिमेकी क्षेत्रमा पछिल्लो समय बढेको सैन्य तनावका कारण धेरै अन्तर्राष्ट्रिय एयरलाइन्सले आफ्नो उडान तालिकामा हेरफेर वा रद्द गरेका छन्।
फिनल्यान्डमा बसोबास गर्ने नेपालीहरू प्रायः जाडो महिनामा बिदा मनाउन वा ट्रान्जिटको रूपमा कतार जाने गर्छन्।





