.संक्षेपमा.
- फिनल्यान्डका नेपालीद्वारा सामाजिक सञ्जाल र प्रदर्शनमार्फत ऐक्यबद्धता।
- आन्दोलनमा मारिएकाहरूको सम्झनामा विभिन्न सहरमा दीप प्रज्वलन कार्यक्रम।
- हेलसिन्कीमा आज र भोलि थप समर्थन तथा श्रद्धाञ्जली कार्यक्रमहरू हुँदै।
नेपालमा चर्किएको ‘जेनजी विद्रोह’को पक्षमा फिनल्यान्डमा बस्ने नेपाली समुदायले बलियो समर्थन जनाएको छ। सामाजिक सञ्जालमा ऐक्यबद्धता जनाउनेदेखि हेलसिन्की र ह्यामेनलिन्ना जस्ता सहरहरूमा दीप प्रज्वलन तथा सांकेतिक प्रदर्शनहरू आयोजना गरिएका छन्।
फिनल्यान्डमा रहेका धेरै नेपालीहरूले सामाजिक सञ्जालमा स्टाटस लेख्ने र आफ्नो प्रोफाइल तस्बिर परिवर्तन गरेर आन्दोलनलाई समर्थन गरेका छन्।
हिजो लाप्पेरान्ता युनिभर्सिटी अफ टेक्नोलोजी (LUT) मा अध्ययनरत नेपाली विद्यार्थीहरूले आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै v-व्यानर सहितको सांकेतिक प्रदर्शन पनि आयोजना गरेका थिए। नेपाल र फिनल्यान्डको झन्डा भएको उक्त व्यानरमा Nepal’s Gen-Z: The Revolution has a voice लेखिएको थियो।
सोमबार नेपालमा भएको सरकार विरोधी प्रदर्शनमा मारिएका १९ जनाको सम्झनामा नेपालीहरूको एक समूहले ह्यामेनलिन्नामा पनि दीप प्रज्वलन गरे। उनीहरूले क्यान्डल बालेर नेपाली झन्डा र नक्सा बनाएका थिए, अनि राष्ट्रिय गानको धुनमा मौनधारण गरेका थिए।
उनीहरूले क्यान्डल बालेर नेपाली झन्डा र नक्सा बनाएका थिए, अनि राष्ट्रिय गानको धुनमा मौनधारण गरेका थिए।
त्यस्तै हेलसिन्कीको प्रसिद्ध सेतो चर्च अगाडि पनि नेपालीहरू भेला भएर दीप प्रज्वलन गरी मौन धारण गरेका थिए।
सामाजिक सञ्जालमा फिनल्यान्डमा बस्ने नेपालीहरूले प्रदर्शनकारीहरूलाई खाद्यान्न र औषधी किन्न आर्थिक सहयोग गरेको स्क्रिनसटहरू पनि देखिएका छन्।
उक्त आन्दोलन र मृतकहरूको बलिदानको सम्झनामा आज मंगलबार साँझ पनि फिनल्यान्डमा विभिन्न कार्यक्रमहरू आयोजना गरिएका छन्। हेलसिन्कीको आला-माल्मी पार्क, पोह्योइस्-हागास्थित इदा आल्बोर्गिन मार्ग र हेलसिन्कीकै इस्कन कृष्ण मन्दिरमा समर्थन तथा सम्झना कार्यक्रमहरू हुँदैछन्।
आन्दोलनप्रति समर्थन जनाउन भोलि बुधबार साँझ पनि हेलसिन्की चर्च अगाडि अर्को कार्यक्रम आयोजना गरिएको छ।








