यदि तपाई फिनल्यान्डमा बस्ने नेपाली हुनुहुन्छ भने त सायद थाहा पाइसक्नु भयो होला: गत साता फिनल्यान्डमै बस्ने एक नेपालीको नेतृत्वमा बनेको र एउटा ठुलो लक्ष्य बोकेको ‘न्युट्रिसनल सप्लिमेन्ट’ ब्रान्डले आफ्नो आधिकारिक सुरुवात गरेको छ।
थाहा पाउनु भएको छैन भने सुनिहाल्नुस्। उक्त ब्रान्डको नाम हो: क्यालोर न्युट्रिसन।
क्यालोर न्युट्रिसनका बारे नेपालीलाइनेनले करिब तीन महिनाअघि पहिलो पटक जानकारी पाएको हो। त्यसयता हामीले उक्त ब्रान्ड र मातृ कम्पनीका बारे निरन्तर चासो राखेका छौँ, र अध्ययन गरेका छौँ। यो स्टोरीका लागी हामीले उक्त टिमसँग पटक-पटक सम्पर्क गरेका छौँ र धेरै प्रश्नहरू सोधेका छौँ।
भान्तामा रहेको उनीहरूको अफिस र ल्याबमा पनि हामी पुगेका छौँ, उनीहरूका केही उत्पादनहरू चाखेका छौँ, यो सबै असम्भव जस्तै लाग्ने काम उनीहरूले कसरी सम्भव बनाए भनेर भित्रैदेखि बुझ्ने कोसिस गरेका छौँ।
त्यसका अतिरिक्त उक्त ब्रान्डका पछाडि को-को छन्? भविष्यमा उनीहरूको योजना के छ? उनीहरूले बनाउँदै गरेको अन्तर्राष्ट्रिय स्तरको ब्रान्डले भविष्यमा फिनल्यान्डमै बस्ने नेपालीहरू कसरी लाभान्वित हुन सक्लान् भनेर हामीले सोधखोज र विश्लेषण गरेका छौँ, र यो स्टोरी यिनै विषय वरिपरि केन्द्रित रहेर लेखिएको छ।
करिब तीन महिनाको अध्ययनपछि हामीलाई लाग्छ, जोसिला नेपाली युवाहरूको नेतृत्वमा खडा भएको यो ब्रान्ड फिनल्यान्डमा बस्ने नेपालीले देखेको अहिलेसम्मकै सबैभन्दा ठुलो सपना मध्येको एक हो, र साँच्चिकै वृहत् रूपमा अन्तर्राष्ट्रिय उडान लिन सक्ने क्षमता भएको सायद अहिलेसम्मकै एउटा मात्र महत्त्वाकाङ्क्षी पहल।
साधारण मान्छे, असाधारण सपना
गत डिसेम्बर ३० का दिन चिसो हिउँ र चिसै हावाले दक्षिण फिनल्यान्ड आक्रान्त थियो। त्यही चिसो बिच हामी भान्ताको म्युरमाकीमा रहेको क्यालोर न्युट्रिसनको कार्यालय पुग्दा भने त्यहाँ छुट्टै आशा र ऊर्जाको सञ्चार भइरहेको देखिन्थ्यो।
हुन पनि किन नहोस्। एक नेपाली युवाले आफ्नो मातृभूमिदेखि हजारौँ किलोमिटर टाढाको मुलुकमा वर्षौँदेखि देखेको सपना र निरन्तर गरेको मेहनतले मूर्त रूप लिँदै थियो। वर्षौँको तयारीपछि बनेको क्यालोर न्युट्रिसन ब्रान्ड आफ्नो गुँडबाट पखेटा फैलाउने तरखरमा थियो, अर्थात् बिजनेसको भाषामा भन्नुपर्दा ‘लन्च’ को अन्तिम तयारी गर्दै थियो।
क्यालोरको अफिसमा भेटिए नेपाली युवा आशिष थापा, जसको पुरानो सपना र अथक प्रयासले “मेड इन फिनल्यान्ड” को प्रतिष्ठित लेबल पाएको क्यालोर न्युट्रिसन ब्रान्डको सुरुवात सम्भव भएको हो। कम्पनीका संस्थापक तथा सिइओ थापासँग सिओओ सुजन कारञ्जित पनि भेटिए जसले थापालाई निरन्तर सहयोग मात्र गरेका छैनन् क्यालोरको यहाँसम्मको यात्रामा अनेकौँ योगदान दिएका छन्।
उक्त भेटमा मूलतः आशिष थापासँग नेपालीलाइनेनले करिब तीन घण्टा कुरा गर्यो। सरसरती हेर्दा उनको कथा फिनल्यान्डका आम नेपालीको कथा भन्दा खासै भिन्न छैन। करिब डेढ दशक अघि उनी पनि फिनल्यान्डमा पढ्नका लागि टेकेका हुन्। उनले फिनल्यान्डबाटै स्नातक र त्यसपछि एमबिए गरे। पढुन्जेल अनेक थरी काम गरे। पढाई सकेपछि पनि अनेक अनुभव बटुले। तर मनमा भने सधैँ ‘आफ्नै केही गर्ने’ हुटहुटी रहिरह्यो।
“गाह्रो समयमा पनि पढाइ पुरा गरेपछि मैले जागिर पाएँ, जागिरबाट आर्थिक सन्तुष्टि पनि मिल्यो,” नेपालीलाइनेनसँगको कुराकानीमा थापाले भने। “तर मेरो मनमा सधैँ एउटा कुरा थियो, आफ्नै केही गर्ने।”
त्यही “आफ्नै केही” भन्ने चाहनाले उनलाई खाद्य प्रविधि (फुड टेक्नोलोजी) को क्षेत्रमा डोर्यायो।
सन् २०१८ मा उनको करियरको सबैभन्दा निर्णायक मोड आयो जब उनी फुड आइक्यु नामक फिनिस कम्पनीसँग जोडिए।
“जब म फुड आइक्युमा पुगे, त्यो एउटा स्टार्टअप मात्र थियो। उसीमा क्षेत्रमा म नै पहिलो कर्मचारी थिए। ताम्पेरेमा लगभग सबै बन्द गरेर त्यो कम्पनी यता सरेको थियो,” थापाले सुनाए। “उक्त कम्पनीमा मैले विभिन्न रोलमा काम गरेँ। फ्याक्ट्री डाइरेक्टरको भूमिका निभाएँ, ब्रान्ड निर्माणमा सहयोग पुर्याएँ, र धेरै उत्पादनहरूको डेभलपमेन्टमा सरिक भएँ।”
‘फुड इन्डस्ट्री’ र ‘फुड स्टडिज’मा करिब १४ वर्ष विताएका थापाले करिब ८ वर्ष भने सप्लिमेन्ट उद्योगमा बिताए। धेरै ब्रान्डहरू बनेको, उडान लिएको, र केही त असफल भएको पनि देखे।
विभिन्न कम्पनीका ब्रान्डहरू बनाउँदा थापालाई ‘सम्झौता’को पीडाले भने निरन्तर सताइरह्यो।
“आफूले सोचेको जस्तो ड्रिम प्रोडक्ट बनाउन सितिमिति नपाइने,” उनले भने। “गुणस्तरको कुरा गर्दा लागतको कुरा हुने। केही न केही कटौती गर्नुपर्ने, कम्प्रोमाइज गर्नुपर्ने। मलाई त्यो मन परेन।”
“तर ब्रान्ड बनाउँदा के–के गर्नु हुँदैन रहेछ भन्ने कुरा चाहिँ मज्जाले सिकियो,” थापाले हाँस्दै भने।
फुड आइक्यु नयाँ स्वरूपमा आएपछिको पहिलो कर्मचारी बनेका थापालाई उक्त कम्पनीको यहाँसम्मको यात्रा भने आफ्नै आँखा अगाडीको गज्जबको ‘केस स्टडी’ बन्यो।
“मैले त्यो कम्पनीलाई एकदमै सानो अवस्थाबाट वार्षिक १५–२० मिलियन युरोको ट्रान्ज्याक्सन गर्ने ग्लोबल कम्पनी बनेको देखेँ, र त्यो कम्पनीको विकासमा भित्रै रहेर धेरै काम पनि गरेँ,” उनी सम्झन्छन्।
“त्यो कम्पनीको ‘अप्स एन्ड डाउन्स’ पनि देखेँ। तर उकाली-ओराली जे भए पनि नेतृत्वको उद्देश्यमा स्पष्टता चाहिँदो रहेछ भन्ने कुरा चाहिँ मज्जाले सिकेँ,” उनले थपे। “त्यो कम्पनीका संस्थापकसँग त्यो थियो, आज पनि छ। मलाई त्यसले आज पनि निकै प्रेरित गर्छ।”

फुड टेक्नोलोजी क्षेत्रमा करिब १४ वर्ष विताएका थापाले करिब ८ वर्ष सप्लिमेन्ट उद्योगमा बिताए। धेरै ब्रान्डहरू बनेको, उडान लिएको, र केही त असफल भएको पनि देखे।

खास के हो क्यालोर न्यूट्रिशन?
सोझो भाषामा भन्दा क्यालोर न्यूट्रिशन फुड सप्लिमेन्ट ब्रान्ड हो। जस्तै हामी बजारमा गएर प्रोटिन पाउडरदेखि भिटामिन चक्कीहरू किनेर खान्छौँ, क्यालोर न्यूट्रिशनले पनि त्यस्तै उत्पादनहरू बजारमा ल्याएको हो।
त्यस्ता ब्रान्ड त बजारमा छ्यापछ्याप्ती छन्। तर यो अरू ब्रान्डहरू भन्दा कसरी फरक छ भनेर पनि हामीले खोतल्ने प्रयास गरेका छौँ।
क्यालोर न्यूट्रिशनका पछाडि अझै ठुलो भिजन लिएको कम्पनी उभिएको छ, त्यसको नाम हो-Nordic Collab Oy। सन् २०२४ मा आशिष थापा र उनका अन्य साथीहरू मिलेर उक्त कम्पनी दर्ता गरेका हुन्। उक्त कम्पनी पोषण सप्लिमेन्ट सम्बन्धी मात्रै काम गर्ने कम्पनी भने होइन। लगानीकर्ता पनि फिनिस, बङ्गलादेशी र नेपाली मूलका गरेर १० जना छन्।
थापाका अनुसार यो एउटा लगानी कम्पनी हो जसका भविष्यका योजनाहरूमा निर्माण क्षेत्र, रेन्टल व्यवसाय, र युरोपियन शैलीको उच्चस्तरीय बेकरी जस्ता प्रोजेक्टहरूमा सहकार्य र लगानी समावेश छन्।
क्यालोर न्यूट्रिशन उनीहरूको पहिलो र सबैभन्दा धेरै चिनिएको ब्रान्ड हो। बिजनेसको भाषामा भन्दा “फ्लागसिप” ब्रान्ड नै हो।
क्यालोर न्यूट्रिशनको खास विशेषता के छ भन्ने बारे केही चर्चा गरौँ।
उक्त ब्रान्डको ट्यागलाइनले नै धेरै हदसम्म यसको विशेषता बोल्छः With Calor, premium is now affordable अर्थात् क्यालोरसँग प्रिमियम अब सबैका लागि सुलभ।
“बजारमा धेरै सप्लिमेन्ट ब्रान्डहरू छन्,” थापा भन्छन्, “तर धेरैजसोको या त गुणस्तर कम छ, या त मूल्य अत्यधिक उच्च। हामीले यी दुवै समस्या समाधान गर्न खोजेका छौं।”
थापाले धेरै उदाहरणहरू पनि दिए। जस्तै अधिकांश प्रोटिन पाउडरहरूमा भिटामिन बी६ हुँदैन, जुन शरीरले प्रोटिन सोस्नका लागि निकै महत्त्वपूर्ण हुन्छ। क्यालोरका प्रोटिन प्याकहरूमा यो समावेश छ।
त्यस्तै क्यालोरले ओमेगा–३ मा पोर्क (सुँगुर) वा बिफ (गाई) जेलाटिनको सट्टा फिस अर्थात् माछाको जेलाटिन प्रयोग गरेको छ। उक्त उत्पादन अप्रिल महिनाको अन्त्य सम्ममा बजारमा ल्याउने तयारी छ।
“यो सानो कुरा जस्तो लाग्न सक्छ,” थापा बताउँछन्, “तर हिन्दु र मुस्लिम उपभोक्ताहरूका लागि यो निकै संवेदनशील कुरा हो। अहिले त हामीले माछाको तेल भनेर हजुरबा हजुरआमाहरू लाई पनि खुवाइरहेका हुन्छौँ। तर धेरैजसो त्यसमा बाहिरको भाग सुँगुरको वा बिफ जेलाटिनले बनेको हुन्छ।”
अर्को कुरा क्यालोरका उत्पादनहरूमा कृत्रिम स्वादको सट्टा प्राकृतिक स्वाद (नेचुरल फ्लेभर) र बेरिहरुको पाउडर प्रयोग गरिन्छ।
“हामी स्ट्रबेरी नेचुरल फ्लेभर मात्रै होइन, वास्तविक स्ट्रबेरी पाउडर पनि प्रयोग गर्छौँ। यो हाम्रो लागि अलि महँगो पर्छ, तर हामीले गुणस्तरमा सम्झौता गर्दैनौँ,” थापाले थपे।
अहिले उनीहरूका उत्पादनहरू डार्क चकलेट, स्मूथ भेनिला, प्राकृतिक स्ट्रबेरी, चाइ भेनिला, फिनिश बेरी, र रास्पबेरी लेमोनेडजस्ता अनेक आकर्षक स्वादमा उपलब्ध छन्।
थापाका अनुसार गुणस्तरमा सम्झौता नगर्ने क्यालोरको अर्को विशेषता हो।
उनले राम्रो र दिगो ब्रान्ड बनाउनका लागि नैतिक प्रतिबद्धता किन महत्त्वपूर्ण छ भनेर पनि लामो व्याख्या गरे।
“हामी एकदमै झिना मसिना लाग्ने त्रुटिहरू पनि सच्याउने गरेका छौँ। गुणस्तरमा सम्झौता गर्ने त प्रश्नै हुँदैन,” उनले भने।
सायद यही गम्भीरताका कारण पनि होला क्यालोरले छोटो समयमै आफ्ना उत्पादनहरूमा प्रतिष्ठित Made in Finland को लोगो प्रयोग गर्ने अनुमति पनि प्राप्त गरिसकेको छ, जुन हरेक नयाँ ब्रान्डले त्यति सजिलै प्राप्त गर्न सक्दैन।
थापाले ठिकै पैसामा पनि उपभोक्ताले राम्रो उत्पादन पाउन सकुन् भनेर आफ्नो वर्षौँ लामो अनुभव प्रयोग गरेका छन्। लामो समयदेखिको चिनजानका कारण थोरै मात्रामा सामान खरिद गर्दा पनि मिलाएरै पाएका छन्। यी सबै कारणले गर्दा क्यालोरका उत्पादनहरू अरूजस्तो महँगो नभएका हुन्।

यसरी हुन्छ उत्पादन
क्यालोरले गर्ने उत्पादनका कच्चा पदार्थ मुख्यतया जर्मनी र बेलायतबाट आउँछन्। उत्पादन भने फिनल्यान्डकै यार्भेन्पा सहरस्थित आधुनिक कारखानामा हुन्छ।
कम्पनीको R&D टिमलाई यो क्षेत्रमा धेरै अनुभव बटुलेकी सारा मार्योनियमी (Sara Marjoniemi) ले सम्हाल्दै आएकी छन्।
क्यालोरसँग अहिले ह्वे प्रोटिन पाउडर, मास गेनर, प्रि–वर्कआउट पाउडर, एमिनो एसिड पाउडर र भेगन प्रोटिन लगायतका उत्पादनहरू छन्। ओमेगा–३ र भेगन मल्टि भिटामिन पनि छिट्टै उपलब्ध गराउने तयारी छ।
२०२६ मा थप २० नयाँ उत्पादन ल्याउने र दीर्घकालीन रूपमा १०० उत्पादनसम्म पुर्याउने उनीहरूको लक्ष्य छ।
थापाका अनुसार उनीहरूको दृष्टि फिनिस बजारमा मात्र सीमित छैन।
हाल नेपाल, बङ्गलादेश, स्विडेन, ट्युनिसिया र मध्य–पूर्व एसियाली मुलुकहरूमा वितरणका लागि सम्झौता प्रक्रिया अगाडि बढिरहेको छ।
सन् २०२६ को मध्यसम्म नेपालमा पनि क्यालोरका उत्पादन उपलब्ध गराउने तयारी छ। दीर्घकालीन सोचमा अमेरिका, भारत लगायतका ठुला बजारहरू पनि छन्।
“हामीले नमुना उत्पादनमा धेरै सकारात्मक प्रतिक्रिया पाएका छौँ,” थापा बताउँछन्। “वितरण र सहकार्यका लागि विभिन्न प्रस्तावहरू आइरहेका छन्।”
नेतृत्वको दर्शन: सुन्ने कला र स्पष्टता
फिनल्यान्डजस्तो देशमा, त्यो पनि एउटा आप्रवासी मूलको समूहले यो लेभलको सुरुवात गर्नु चानचुने कुरो होइन। १५-१६ जनाकै टिम सञ्चालन गर्नु पनि कठिन काम हो। उमेरमा युवा नै रहेका थापाले यो सबैको नेतृत्व कसरी गरिरहेका छन्?
करिब तीन घण्टा आशिष थापा र सुजन कारञ्जितसँग गफिएपछि नेपालीलाइनेनले आशिषलाई सोधेको प्रश्न पनि त्यही थियो: आखिर नेतृत्वमा के चाहिँदो रहेछ?
उनको जवाफ सरल र स्पष्ट थियो।
“म टिम सिनर्जी कायम राख्ने प्रयास गर्छु। ध्यानपूर्वक सुन्छु। र जब बोल्नुपर्छ, नो नै भन्नुपरे पनि अलि कूटनीतिक ढङ्गले भन्छु जस्तो लाग्छ। तर स्पष्ट दृष्टि र इमानदारी बिजनेसमा सबैभन्दा महत्वपूर्ण हो।”
फुड आइक्युमा बिताएका वर्षहरूले उनलाई राम्रो लिडर बन्न पहिले राम्रो श्रोता बन्नुपर्छ र निर्णय लिँदा लगानीकर्ताको मात्र होइन उपभोक्ताको हितलाई पनि प्राथमिकतामा राख्नुपर्छ भन्ने राम्ररी सिकाएको पनि उनले बताए।
फिनल्यान्डमा भर्खरै आएका विद्यार्थीले काम नपाएर कष्ट सहनु परेका कुरा पनि निस्किए। आफ्ना ब्रान्डहरूले गति लिँदै गए त्यसबाट फिनल्यान्डमा बस्ने नेपालीहरू पनि लाभान्वित हुने थापाले सुनाए।
“धेरै रोजगारी उपलब्ध गराउन सक्ने कम्पनी बन्यौँ भने पक्कै पनि नेपालीहरू हाम्रो प्राथमिकतामा पर्छन्। त्यसमा दुई मत नै छैन,” थापाले भने।



(क्यालोर न्युट्रिशनका उत्पादनहरू https://calornutrition.fi बाट अहिले केही समयका लागि विशेष छुटसहित खरिेद गर्न सकिनेछ।)





