.संक्षेपमा.
- कन्सर्ट बिहीबार जुलाई १० बेलुका ६ बजेदेखि, स्थानः हेलसिन्कीको भिक्की स्थित प्राविधिक सङ्ग्रहालयमा रहेको एनर्जिया हल।
- विद्यार्थी टिकट ३० युरो, नियमित टिकट ३५ युरो र भिआइपी टिकट ६५ युरो।
- कन्सर्ट १८ वर्ष भन्दा माथिका लागि मात्र, मोःमो लगायतका नेपाली खाना पनि उपलब्ध हुने।
पछिल्लो समय नेपाली सङ्गीतमा आफ्नो मौलिक पहिचान बनाउन सफल ब्यान्ड ‘पूर्ण राई एन्ड दाजुभाइहरू’ आफ्नो पहिलो युरोप भ्रमण ‘स्पर्श सङ्गीत टुर’ अन्तर्गत फिनल्यान्डको हेलसिन्कीमा प्रस्तुति दिन आउने भएका छन्।
यही जुलाई १० मा हेलसिन्कीको भिक्की स्थित प्राविधिक सङ्ग्रहालय परिसरमा रहेको एनर्जिया सालीमा आयोजना हुने उक्त कन्सर्टले फिनल्यान्डमा रहेका नेपाली संगीत प्रेमीहरुलाई परम्परागत नेपाली लोक धुन र आधुनिक सङ्गीतको फ्युजन प्रत्यक्ष अनुभव गर्ने अवसर प्रदान गर्नेछ।
विगतमा Sanjaal ry नामले चिनिने ‘एल्लो ब्रिज’ले आयोजना गरेको यो कार्यक्रमलाई लिएर फिनल्यान्डमा रहेका खासगरि नेपाली युवापुस्तामा छुट्टै उत्साह देखिएको छ। आयोजक संस्थाले यसअघि पनि सबिन राई, स्वप्न सुमनदेखि दीपक बज्राचार्यसम्मका ख्यातिप्राप्त कलाकारहरूलाई फिनल्यान्ड ल्याइसकेको छ।
“अहिलेका नयाँ र प्रतिभाशाली कलाकारहरूलाई हेलसिन्कीमा सुन्न पाउनु हाम्रो लागि ठुलो अवसर हो,” १० जुलाईको कन्सर्टमा जाने तैयारी गरिरहेका एक नेपाली युवाले नेपालीलाइनेनलाई भने, “यस्ता कार्यक्रमले विदेशमा रहेका हामी जस्तालाई नेपाली संस्कृतिसँग जोड्ने काम गर्छ।”
पूर्ण राई एन्ड दाजुभाइहरू ब्यान्डले ‘मनका कुरा’, ‘कालो सेतो’ र ‘स्पर्श सङ्गीत’ जस्ता कैयौँ चर्चित गीतहरू निकालेका छन्।
“मलाई पछिल्लो समय निकै मन परेको ब्यान्ड हो।” अर्की करिब एक वर्ष अगाडि फिनल्यान्डमा विद्यार्थीको रूपमा आएकी एक नेपाली युवतीले भनिन्। “कामबाट छुट्टी मिलाएकी छु। दुई साथीसँग जाने तैयारी छ।”
परम्परागत नेपाली लोक धुनलाई आधुनिक सङ्गीतसँग फ्युजन गरेर लाखौँ श्रोताको मन जित्न सफल यो ब्यान्डले हेलसिन्कीमा आफ्नो जादु चलाउनेछ भन्ने आयोजकको अपेक्षा छ।
ब्यान्डले आफ्नो पहिलो युरोप टुर जुलाई ४ मा फ्रान्सबाट सुरु गरिसकेको छ भने डेनमार्कमा जुलाई २६ मा प्रस्तुति दिई टुर समापन गर्ने तैयारी छ।
कार्यक्रमका लागि विद्यार्थी टिकट ३० युरो, नियमित टिकट ३५ युरो र भिआइपी टिकट ६५ युरो तोकिएको छ। भिआइपी टिकटमा ब्याक स्टेज पहुँच, ब्यान्डसँग तस्बिर खिच्ने अवसर र एक विशेष उपहार पनि समावेश रहेको आयोजकले जनाएको छ। टिकटहरू weyellowbridge.com बाट अनलाइन खरिद गर्न सकिनेछ भने Epassi, Smartum, र Edenred मा पनि उपलब्ध हुनेछ। यो कार्यक्रममा १८ वर्षभन्दा माथिकालाई मात्र प्रवेश दिइनेछ।
को हुन् पूर्ण राई र दाजुभाइहरु?
धरानमा पाँच सङ्गीतकर्मीहरूको भेटघाटबाट जन्मेको यो ब्यान्डले छोटो समयमै नेपाली सङ्गीत क्षेत्रमा चर्चा कमाएको छ। खास गरि टिकटक मार्फत भाइरल भएको उनीहरूको गीत ‘स्पर्श सङ्गीत’ ले उनीहरूलाई चर्चाको शिखरमा पुर्याएको हो। तर ब्यान्डकी व्यवस्थापक सृष्टि श्रेष्ठका अनुसार उनीहरूको पहिलो गीत ‘कालो सेतो’ ले नै उनीहरूलाई राम्रै पहिचान दिलाएको थियो। “त्यो गीतले नै रातारात १० लाख भ्युज पाएर हामीलाई दर्शकमाझ चिनाएको थियो,” श्रेष्ठ सम्झन्छिन्।
ब्यान्डमा मुख्य गायकको रूपमा पूर्ण राई छन् भने बासमा देगोश राई, गितारमा सुशान कार्की, ड्रममा सुमेक योञ्जन र बाँसुरीमा इयान थुलुङ राईको सङ्गीत सुन्न सकिन्छ।

समुदायको सहयोग राम्रो सहयोग भए भविष्यमा अझै नाम चलेका ब्यान्ड ल्याएर कार्यक्रम गर्ने सपना रहेको एल्लो ब्रिजका धेवाजु सुनाउँछन्।
सजिलो छैन कन्सर्ट आयोजना
फिनल्यान्ड जस्तो सानो नेपाली समुदाय भएको मुलुकमा यस्ता ठुला कार्यक्रमहरू आयोजना गर्नु आफैँमा एउटा चुनौती हो।
सबिन राई, स्वप्न सुमन, दीपक बज्राचार्यदेखि कर्मा ब्यान्डसम्मका ठुला नामहरूलाई फिनल्यान्डमा प्रस्तुत गरिसकेको एल्लो ब्रिजलाई नेपालीलाइनेनले कन्सर्ट आयोजनाका चुनौतीहरूबारे सोधेको थियो।
एल्लो ब्रिजका आयुष धेवाजुका अनुसार फिनल्यान्डको नेपाली समुदाय तुलनात्मक रूपमा सानो रहेको र नेपाली गीतसङ्गीत र स्रष्टाहरूलाई सपोर्ट गर्नुपर्छ भन्ने भावना पनि भर्खर विकसित हुँदै गरेकाले चुनौतीहरू अनेक छन्।
“हामीले यी कार्यक्रम नाफा कमाउनका लागि गरेका होइनौँ।” धेवाजु भन्छन्। “यो सबै समुदायका लागि हो, र नेपाली संगीतका लागि हो।”
“मानिसहरू भेटघाट गर्छन्, नेटवर्किङ गर्छन्, रमाइलो गर्छन् र समरको साँझमा आफ्नै नेपाली सङ्गीतमा झुम्न पाउँछन्। हाम्रा लागि त्यही नै ठुलो कुरा हो।” उनी सुनाउँछन्।
“हामी आयोजकका लागि त यस्ता कार्यक्रम व्यवस्थापन गर्नु निकै तनावपूर्ण हुन्छ।” उनी थप्छन्। “नेपालबाट आर्टिस्ट ल्याउने देखि यहाँको हल र लजिस्टिक व्यवस्थापन सबैको ख्याल गर्नुपर्छ। त्यसमाथि मान्छे आउने हुन् कि नआउने हुन् भन्ने चिन्ता पनि सधैँ हुने गर्छ।”
समुदायले समयमै टिकट किनेर सहयोग गरिदिए आफूहरू ढुक्क भएर अन्य व्यवस्थापकीय काममा केन्द्रित हुन पाउने तर्क उनी गर्छन्।
समुदायको राम्रो सहयोग भए भविष्यमा अझै नाम चलेका नेपाली ब्यान्ड ल्याएर कार्यक्रम गर्ने सपना रहेको पनि धेवाजु सुनाउँछन्।
थप जानकारी
टिकट सम्बन्धी जानकारी
- विद्यार्थी: €30
- नियमित: €35
- भीआईपी: €65
(भीआईपी टिकटमा ब्यान्डसँग ब्याक स्टेज पहुँच, फोटो खिच्ने अवसर र एक विशेष सरप्राइज प्याकेज समावेश छ।)
कृपया ध्यान दिनुहोस्: यो कार्यक्रम १८ वर्षभन्दा माथिका लागि मात्र हो।
टिकट खरिदका लागि लिंक:
https://weyellowbridge.com/events/684153325704a04ea28f4721
टिकटहरू Epassi, Smartum, र Edenred मार्फत पनि खरिद गर्न सकिनेछ।





