दुई वर्षअघि भान्ता सहरमा भएको एक दर्दनाक आगलागीमा सोमाली मूलका पाँच फिनिस नागरिकको ज्यान गयो। भर्खरै सार्वजनिक गरिएको अनुसन्धान प्रतिवेदनले उनीहरूको ज्यान जानुका पछाडि प्राविधिक र मानवीय त्रुटि रहेको देखाएको छ।
सन् २०२३ को अक्टोबरमा भान्ताको हाकुनिलास्थित एक अपार्टमेन्टको साउनाबाट आगो सल्किँदा एक आमा र उनका चार नाबालक सन्तानको निसास्सिएर मृत्यु भएको थियो। फिनल्यान्डको सुरक्षा अनुसन्धान प्राधिकरण (Otkes) को प्रतिवेदन अनुसार घरको विद्युतीय साउना हिटर भूलवश राति चल्ने गरी टाइमरमा सेट भएको थियो, र त्यसैले आगलागीको सुरुवात गरेको थियो।
प्रतिवेदनले औँल्याएअनुसार सोमाली मूलकी फिनिस नागरिक, अर्थात् परिवारकी आमाले “फायर अलार्म” बजेको र धुवाँ देखेको भए तापनि त्यसको गम्भीरता बुझ्न सकिनन् र तत्काल घर छाड्नुपर्छ भन्ने थाहा पाइनन्। साथै, अपार्टमेन्टको बाल्कोनीको ढोका ठुलो सोफाले छेकेको कारण उनीहरू बाहिर निस्कन सकेनन्।
एउटै घरका ४ जना साना साना छोराछोरी र आमाको ज्यान लिएको उक्त आगलागीले त्यो परिवारमा र खास गरि घटनामा घाइते भएर बाँचेका पितामा कति पीडा र चोट दिए होला कल्पना पनि गर्न गारो छ।
पारिवारिक शोक र पिडा एकातिर छ भने, त्यो भन्दा पनि डरलाग्दो कटु यथार्थ उक्त घटनाबारे सामाजिक सञ्जालमा गरिएका कमेन्टहरूमा देखिएको छ। अनुसन्धान प्रतिवेदन सार्वजनिक गरिएका समाचारमा पीडित परिवारको पृष्ठभूमिमाथि लक्षित घृणित र नस्लभेदी टिप्पणीको बाढी नै आएको छ।
फिनल्यान्डका केही प्रमुख सञ्चारमाध्यमका सामाजिक सञ्जाल पेजहरू (खासगरि फेसबुक) मा यो समाचारले पाएको प्रतिक्रियाहरू हेर्नै नसक्ने खालका छन्।
फिनल्यान्डको राष्ट्रिय प्रसारण संस्था YLE ले छानबिन प्रतिवेदन सार्वजनिक भएको उक्त समाचारमा टिप्पणी गर्न नमिल्ने बनाए पनि MTV, हेलसिन्की सानोमात, र इल्ता-सानोमात (Ilta-Sanomat) लगायतका अन्य ठुला मिडिया हाउसले टिप्पणी सेक्सन खुलै राखेका थिए, जहाँ सयौँको सङ्ख्यामा घृणित र नस्लभेदी टिप्पणीहरू गरिएका छन्।
टिप्पणी सेक्सन खुलै राखेका मिडियाका सामाजिक सञ्जाल पेजहरूमा नेपालीलाइनेनले दर्जनौँ यस्ता टिप्पणीहरू हेरेको छ। यी टिप्पणीहरूमा मृतक परिवारको सोमाली पृष्ठभूमिमाथि व्यङ्ग्य, अपमान र घृणा पोखिएको छ। केही टिप्पणीहरू यस्ता थिए:
- “सोमालियाबाट आउनेहरू धेरै बुद्धिमान मध्ये पर्दैनन्, आमाबुबाको मूर्खताले बच्चाहरूले ज्यान गुमाउनुपर्यो।”
- “यस्ता मानिसहरूलाई साउना भएको घरमा बस्न दिनुहुँदैन नि। सोसल अफिसले पनि ऐनामा आफ्नो अनुहार हेर्नुपर्छ।”
- “उनीहरू त माटोको झुपडीमा बस्छन् र धुवाँले ‘नुहाउँछन्’, त्यसैले यो कुनै आश्चर्यको कुरा होइन।”
- “अल्लाहले उनीहरूलाई बाहिर निस्कन भनेनन् होला नि त।”
- “हाम्रा केही पार्टीहरू भन्छन् यस्ता मान्छेलाई अझै फिनल्यान्ड भित्र्याउनुपर्छ रे!
यी समाचारमा हाँसेको इमोजीले ‘रियाक्ट’ गर्ने पनि दर्जनौँ छन्। विषयको संवेदनशीलतालाई ध्यानमा राख्दै नेपालीलाइनेनले अन्य केहि अति अशिष्ट टिप्पणीहरू उद्दरण र प्रकाशन गरेको छैन।
यी कमेन्टहरू फिनल्यान्डमा बसोबास गर्ने सबै आप्रवासी समुदायलाई झस्काउने खालका छन्। सयौँ हजारौँ विदेशी मूलका मानिसहरूले हरेक दिन सुरक्षित रूपमा साउना प्रयोग गर्ने देशमा एउटा दुःखद दुर्घटनालाई सामान्यीकरण गर्दै सबै विदेशीहरूलाई अज्ञानी र असभ्यको रूपमा चित्रण गरिएको छ। फिनल्यान्डमा हरेक वर्ष पचासौँ आगलागीका घटना हुन्छन् र ती मध्ये केही साउनाबाटै सुरु हुन्छन्। यद्यपि ती सबै फिनल्यान्डमा बस्ने आप्रवासीका कारण भएका होइनन्।
मिडिया च्यानलहरूले यस्ता घृणित टिप्पणीहरूलाई नियन्त्रण गर्न वा हटाउन कुनै कदम नचाल्नु अर्को दुःखको कुरा हो। अर्को शब्दमा भन्दा अभिव्यक्ति स्वतन्त्रताको आवरण लगाइए पनि उनीहरूले घृणा फैलाउनेहरूलाई सित्तैमा एउटा प्लेटफर्म र अप्रत्यक्ष प्रोत्साहन दिएका छन्।
घृणाको यो आँधीबिच केही मानवीय र सहानुभूतिपूर्ण आवाजहरू पनि कमेन्टहरूमा देखिन्छन्। सोमाली समुदायका र केही फिनिस नागरिकहरूले पनि नस्लभेदी टिप्पणीहरूको कडा शब्दमा निन्दा गरेका छन्:
- “आजकल मानिसहरूबाट सबै सहानुभूति हराएको छ। आशा छ, त्यो परिवारका बुबाले यी कमेन्टहरु देख्ने छैनन्।“
- “हाम्रो देशमा समानुभूतिको धेरै कमी छ। यी कमेन्टहरू कस्ता मान्छेले लेख्छन्, म बुझ्न सक्दिन।“
- “कस्ता डरलाग्दा कमेन्टहरू। यो कुरामा हाँस्नुपर्ने के छ? यो एक फिनिस परिवारलाई भएको भए तिमीहरू यसरी हाँस्थ्यौ?”
- “फिनल्यान्डलाई विश्वको सबैभन्दा खुसी देश भनिन्छ, तर यी कमेन्टहरू पढ्दा लाग्छ, यो संसारको सबैभन्दा नस्लभेदी/रेसिस्ट देशहरूमध्ये एक हो।”
- “कमेन्ट सेक्सन बन्द गर। तिमीहरू मृतकको सम्मान गर्नुको सट्टा केवल कमेन्टहरू चाहन्छौ जस्तो छ। कृपया मृतकहरूलाई चिहानमा शान्तिसँग बस्न देऊ।”
सम्पादकीय नोट: ‘रेसिजम’ नेपाली शब्द हैन। यद्यपि बोलीचालीको भाषामा यसको प्रयोग व्यापक भएको हुँदा यो समाचारलाई पाठक-मैत्री बनाउने उद्देश्यले उक्त शब्द समाचार शीर्षकमा प्रयोग गरिएको हो।





