0
सदस्य बन्नुहोस्

More
    संग्रह गर्नुहोस्।
    संग्रहित

    फिनल्यान्डका विद्यालयमा धर्मको पढाईः चासो, चिन्ता र अबको बाटो

    मेरी छोरी भर्खर एक कक्षामा पढ्दै छिन र उनले अहिले सम्म केवल सङ्ख्यागत रूपमा जम्माजम्मी १० वटा जति धर्म सम्बन्धी कक्षा लिएकी छिन्। अहिले सम्मको छोरीसँग भएको कुराकानीको आधार मान्ने  हो भने उनलाई उक्त धर्म कक्षामा एक पटक श्री कृष्णको चित्र बनाउन लगाइएको छ र केहि पटक हरे कृष्णको भजन सुनाइएको छ।

     

    सनातनी /हिन्दु धर्मको तीन पूजनीय आधारहरू प्रकृति, पितृ र देवता भएका हुनाले कमसेकम ती सबैको बारेमा ज्ञान दिइनु पर्दछ भन्ने मेरो धारणा हो। हालको पाठ्यक्रममा सनातन /हिन्दु धर्मको शिक्षा  समावेश नहुनुले धेरै विद्यार्थीको  अधिकारको प्रत्याभूति नभएको हो कि भन्ने भान भएको छ। 

    धर्मको व्याख्या र बुझाईः धर्म खासमा के-हो?  

    कुनै एक वा बहु ईश्वरीय सत्ता वा जीवहरूको पूजामा केन्द्रित विश्वास, अभ्यास र नैतिक नियमहरूको एक सङ्गठित प्रणालीलाई सामान्यता धर्म भनेर परिभाषित गरिन्छ।

    धर्मका बारेमा सामान्यतया संसारभरि चलेको एउटा मापदण्ड चाहिँ के हो भने यस अन्तर्गत प्राय एकल संस्थापक, कुनै एक ग्रन्थ,र  केही निश्चित पूजा विधिहरू रहने गर्दछन्। 

    मानवीय शक्ति भन्दा पर कुनै एक शक्तिको स्थापना र अस्तित्व मान्ने परम्पराका रूपमा धर्मलाई बुझ्ने गरिएता पनि धर्मको परिभाषा कमसेकम हाम्रो सनातनी परम्परामा भने अलि बृहत् छ।

    अङ्ग्रेजी भाषाको Religion को सोझो अनुवादलाई धर्मको रूपमा बुझ्ने गरिए पनि सनातनी धर्म संस्कृतिमा हुर्किएका मानिसहरूका लागि धर्म वास्तवमा कर्तव्य, नियम, र सदाचारहरू सँग सम्बन्धित शब्द हो जुन संस्कृतको धृ’ (धृ) धातुबाट आएको हो, जसको अर्थ “धारण गर्नु” वा “सँगै राख्नु” हुन्छ। 

    तसर्थ सनातनी परम्परा अनुसार कुनै पनि ‘धारण गर्न योग्य’ र ‘धारण गरिनु पर्ने मूल्य र मान्यताहरू’ नै मानवको धर्म हो। तसर्थ यो दृष्टिकोणबाट आधारित भएर हेर्दा धर्म व्यक्तिको पहिचान मात्र नभई उसको भूमिका र कर्तव्यसँग पनि सम्बन्धित छ।  

    सामान्यता चलनचल्तीमा हिन्दु धर्म भनेर चिनिएता पनि वास्तवमा हामीले अङ्गाल्ने गरेको जीवन पद्धति सनातनी परम्परा अन्तर्गत पर्दछ जसले नैतिक, सामाजिक र आध्यात्मिक कर्तव्यहरू पालन गर्दै जीवन जिउने एउटा ढाँचा तयार गरिदिएको छ। 

    सनातनी परम्पराले सबै प्राणीहरूको कर्तव्यमाथि जोड दिँदै जीवनको मूल उद्देश्य ‘मोक्ष प्राप्ति गर्नु हो’ भनेर व्याख्या गर्दछ।  

    विद्यालयमा धर्म शिक्षा 

    धर्म सम्बन्धी शिक्षा वास्तवमा धार्मिक परम्परा, विश्वास, रीतिरिवाज र अभ्यासहरूको व्यवस्थित र शैक्षिक अध्ययन हो। हालको बहुधार्मिक विश्व परिवेशमा विद्यालयमा धर्म शिक्षा कुनै एक धर्मको पालना वा प्रचारप्रसारका लागि नभई मानव इतिहास, संस्कृति, समाजशास्त्र, मनोविज्ञान र दर्शनको परिप्रेक्ष्यमा बुझाउने विषयको रूपमा प्रविष्ट हुनुपर्दछ। 

    तर समाज एकल आस्था वा धर्मको अनुयायी भएको अवस्थामा भने त्यहाँ विशेष गरी आफूले मान्दै आएको धर्मको प्राथमिकता रहनु स्वाभाविक नै हो, जुन परम्परा हाल पनि विश्वका थुप्रै स्थानमा देख्न सकिन्छ।

    मेरो अनुभव र नीति निर्माणको क्षेत्र फिनल्यान्डको भान्ता सहर रहेका कारण यो लेख सोही क्षेत्रमा आधारित र केन्द्रित छ, यद्यपि यहाँ चर्चा गरिएका विषयहरू फिनल्यान्डका अन्य सहरहरूमा पनि लागु हुन सक्छ। 

    विद्यालय स्तरमा धर्मको शिक्षा दिइनुले भान्ता जस्तो विविधताले भरिएको सहरमा विद्यार्थीहरूलाई आफ्नो समाजको साथै विश्वका अन्य धर्महरूको बारेमा आधारभूत जानकारी लिन मद्दत गर्छ। विविधताको सम्मान गर्दै समाजमा सद्भाव फैलाउन, समालोचनात्मक सोचको विकास गर्न र अरूको विश्वासलाई तर्कसङ्गत ढङ्गले बुझ्ने क्षमताको अभिवृद्धि  गर्न मद्दत गर्दछ।

    धर्म समाजको कला, साहित्य, राजनीति, कानुन, र जीवनशैली सँगै कुनै न कुनै तरिकाले सम्बन्धित भएकाले धर्म सम्बन्धी शिक्षाले मानव सभ्यताको विविध आयामहरू बुझ्न निक्कै महत्त्वपूर्ण भूमिका खेल्दछ। तसर्थ धर्मको शिक्षा आवश्यक पनि छ।  

    जब समाज बहुआयामिक बन्दै जान्छ, त्यहाँ आफ्नो वर्चस्व कायम गर्ने चेष्टा हुनु नौलो कुरा होइन। यस्तो अवस्थामा शैक्षिक सामग्री र शिक्षकहरू तटस्थ हुन नसकेको अवस्थामा धर्मको शिक्षा अपर्याप्त वा पक्षपाती हुन सक्ने जोखिम रहन्छ।

    कुनै पनि एक शिक्षकले आफ्नो धार्मिक झुकावका आधारमा आफ्नो धर्मको प्रधानता स्थापित गर्न खोज्ने व्यक्तिगत र सामाजिक चरित्रको प्रयोग गर्दै कुनै विशेष धर्मलाई मात्र बढी महत्त्व दिने वा अन्य धर्मलाई गलत ढङ्गले प्रस्तुत गर्ने वा पक्षपात गर्ने सम्भावना नकार्न सकिँदैन।  

    प्रत्येक धर्मका व्यवहारिक रूपमा रहेका केही अप्ठेराहरूलाई संदर्भित गरेर यदि अर्को धर्ममा आस्था राख्ने मानिसले धर्म सम्बन्धी शिक्षकको रूपमा काम गरेको छ भने संवेदनशीलतामा चोट पुग्ने वा विवाद उत्पन्न हुने बिचार प्रस्तुत गर्न सक्ने जोखिम पनि उत्तिकै रहन्छ।

    विज्ञताको अभावमा केवल सतही कुराहरू मात्र गरेर एकातर्फ शैक्षिक गुणस्तरमा दक्खल पुग्न सक्छ भने अर्कातर्फ धर्म र आस्था बिचको घेराको अनभिज्ञताका कारण भ्रम सिर्जना हुने र मूल रूपमा धर्म शिक्षाको उपादेयतामा नै प्रश्न उठ्न सक्दछ।  

    समग्रमा  सही दृष्टिकोण र निष्पक्ष विधि अपनाएर गरिने धर्म सम्बन्धी अध्यापनले सामाजिक सद्भाव, समालोचनात्मक सोच र फराकिलो बुझाइको विकास गर्न महत्त्वपूर्ण योगदान पुर्‍याउँछ, तर यसलाई सिकाउने क्रममा तटस्थता र संवेदनशीलतामा विशेष ध्यान दिन सकिएन र केही विषयमा सावधानी अपनाइएन भने त्यसले केही दुर्घटनाहरू ननिम्त्याउला भन्न सकिन्न। 

    शैक्षिक सामग्री र शिक्षकहरू तटस्थ हुन नसकेको अवस्थामा धर्मको शिक्षा अपर्याप्त वा पक्षपाती हुन सक्ने जोखिम रहन्छ।

    भान्तामा धर्म शिक्षा र प्रस्तावित परिवर्तन

    भान्ता नगरपालिकाका विद्यार्थीहरूले आफ्नो आस्था अनुसारको धर्म सम्बन्धी शिक्षा लिनको लागि यहाँको शिक्षा विभागले राम्रो व्यवस्थापन गरेको छ। यो एउटा अत्यन्त प्रशंसनीय कुरा हो। तर बढ्दै गरेको आर्थिक समस्याका कारण धर्म शिक्षाका सम्बन्धमा पनि एउटा परिमार्जनको प्रस्ताव गरिएको छ।  

    भान्ता नगरपालिकाको शिक्षा र सिकाई बोर्डले ल्याएको बचत सम्बन्धी प्रस्तावले यहाँका विद्यार्थीहरूलाई दिइने धर्म शिक्षामा केही  परिवर्तन ल्याउने देखिएको छ। यो परिवर्तनका विषयमा  विशेष गरी अल्पसङ्ख्यक धर्म अनुयायीहरूको केही चासो देखिएको छ र यस्ता धर्मका कक्षा पढाउने शिक्षकहरूले यसलाई विद्यार्थीहरूको धार्मिक शिक्षाको अधिकार, र गुणस्तरसँग जोडेर गरी केही प्रश्नहरू खडा गरेका छन्।  

    विशेष गरी यो प्रस्तावित परिवर्तन पछि भान्ता नगरपालिका अन्तर्गतका विद्यालयमा पढाउने धर्म सम्बन्धी शिक्षकहरूले नगर परिषद्का सदस्यहरूलाई यो प्रस्ताव फिर्ता लिन र प्रत्येक विद्यार्थीलाई योग्य शिक्षकद्वारा आफ्नै धर्मको शिक्षा प्राप्त गर्ने अधिकार सुनिश्चित गर्न आग्रह गरेका छन्।

    प्रस्तावित योजना अनुसार पाँचौँ कक्षादेखिका विद्यार्थीहरूले हप्तामा  दुई पटक पाउने धर्म  शिक्षाको सत्र मध्ये एउटा सत्र विषय  शिक्षक (subject teacher) ले र अर्को सत्र कक्षा शिक्षक (class teacher) ले पढाउनेछन्। र यो परिवर्तन सँग विमति राख्दै धर्म पढाउने शिक्षकहरूले यो परिवर्तनले अल्पसङ्ख्यक धर्म मान्ने विद्यार्थीहरूमाथि भेदभाव हुन सक्ने डर रहेको देखाएका छन्। 

    उनीहरूका अनुसार कक्षा शिक्षकसँग सबै अल्पसङ्ख्यक धर्म (जस्तै: अर्थोडक्स र क्याथोलिक इसाई धर्म, इस्लाम, बौद्ध धर्म, र हिन्दु धर्म) का बारेमा पूर्ण ज्ञान नहुनु र भएता पनि उनीहरूले आग्रह र पूर्वाग्रहका कारण उक्त विषय पढाउन योग्य नहुने पनि बताएका छन् ।  

    धर्म वास्तवमा मानव समाजलाई नैतिक आचरणमा रहन र मानवीय गुण प्रदर्शन गर्न पथ-प्रदर्शकको रूपमा रहने भएको हुनाले जुन धर्मको विषयमा कुरा गरिएता पनि मूलभूत रूपमा कमसेकम मानवीय मूल्य र मान्यता सम्बन्धी जानकारी रहनु पर्दछ र तिनले सदाचार, सहानुभूति, सहनशीलता र समभाव सम्बन्धी मानवीय व्यवहारहरूलाई प्रोत्साहन गर्नु पर्दछ।

    यदि यी आधारभूत कुराहरू संलग्न छन् भने कुनै एउटै शिक्षकले सबै विद्यार्थीलाई सम्पूर्ण धर्महरूको बारेमा एउटै  कक्षामा राखेर अध्यापन गराउँदा खासै कुनै नकारात्मक असर भने पर्ने देखिँदैन। तर धर्म शिक्षाको नाममा आफ्नै सम्प्रभुता जताउने, आफ्नै धर्म नै प्रधान हो भन्दै अरू धर्मको अनादर गर्न सिकाउने हो भने त्यस्ता धर्म शिक्षाले हाम्रा बालबच्चाहरूलाई झन् नकारात्मक असर गर्ने र समाजमा झन् अराजकता फैलाउन सक्दछ, तसर्थ म आफू एउटा निर्वाचित प्रतिनिधिको रूपमा शिक्षा विभागलाई यो विषयमा चनाखो रहन सुझाव दिन चाहन्छु। 

    धर्म शिक्षाको पाठ्यक्रममा सनातन / हिन्दु धर्मको अनुपस्थिति: चासो र सुझाव 

    यो शैक्षिक सत्रको सुरुवातमा आफ्नी छोरीको विद्यालय फारम भर्दा एउटा धर्म शिक्षामा सनातन / हिन्दु धर्मको विकल्प नहुनुले मलाई चकित तुल्यायो। विद्यालयको धर्म शिक्षा (Religion Education) को पाठ्यक्रमको सूचीमा “हिन्दु धर्म” (जसलाई हामी सामान्यतया सनातन धर्म भनेर बुझ्छौँ) भन्ने विषय छैन।   

    बरु त्यहाँ विशेष रूपमा “कृष्ण धर्म” (Krishna Religion) भन्ने विकल्प मात्र समावेश गरिएको छ। मलाई व्यक्तिगत रूपमा यो सन्दर्भमा त्यति ठुलो विमति छैन किनकि कृष्ण भगवान सनातनी /हिन्दु धर्म परम्परा सँगै संदर्भित देव हुन्। उसो त भगवान् श्री कृष्ण आफ्नो मन पर्ने देवता भएको हुँदा यसमा पनि मैले खासै विमति राखिन। तर मनमा एउटा संशय चाहिँ रहिरहेको छ त्यो   के हो भने यो कतै एउटा संस्था सँग सम्बन्धित त होइन ? र यदि यो कुनै एउटा संस्था वा गतिविधि सँग सम्बन्धित हो भने यो कसको प्रभाव हो?  र त्यसका पछाडिका मूल उद्देश्य के हुन् ? 

    हुन त राजनैतिक र प्रशासनिक गतिविधिहरूमा जसको बढी प्रभाव रहन्छ उसैको वर्चस्व रहनु स्वाभाविक कुरा हो , तसर्थ यो मान्न सकिन्छ कि सुरुवाती चरणमा शिक्षा विभाग सम्भवतः कृष्ण मुभमेन्ट सँग सम्बन्धित व्यक्ति वा अन्य शक्तिको प्रभावमा परेको होस। 

    नत्र भने शिक्षा विभागले साधारण सोधी-खोजी गर्दा पत्ता लगाउन सक्ने कुरा चाहिँ के हो भने झन्डै विश्व भरि १,२ बिलियन जनसंख्याले अपनाएको विश्वको तेस्रो ठुलो धर्म हिन्दु धर्म हो र त्यो कमसेकम प्रारम्भिक सुचीमा पर्नु पर्दथ्यो। 

    उसो त मेरो आफ्नो आकलन पनि के हो भने समस्त सनातन छाता भित्र अट्ने कृष्ण विशेषका अनुयायीहरूको बाहुल्यता कमसेकम  जनसाङ्ख्यिक रूपमा सनातन धर्म वा हिन्दु भनेर चिनिनेको तुलनामा विश्वभर नै कमजोर छ। र यही कुरा भान्तामा पनि लागु हुन्छ। तर हिन्दु सँग संदर्भित दर्ता भएका संस्थाहरूको अभावमा सायद दर्ता भैसकेको र नाम पनि चलेको आधारमा कुनै एउटा संस्थाले त्यसमा आफ्नो प्रभाव भने पारेको हुन सक्दछ। यही पृष्ठ भूमिका आधारमा पनि यो चाहिँ भन्न सकिन्छ कि भान्ता नगरपालिकाको शिक्षा विभागलाई कृष्णमा मात्र सीमित राख्न या त अपूर्ण जानकारीले भूमिका खेलेको थियो वा कसैले प्रभाव पारेको थियो।  

    चासो किन ? 

    उसो त माथि भनिए जस्तै मूलभूत रूपमा कुनै विमति नभए पनि, मेरो चासो एउटा मुख्य विषयमा केन्द्रित छ, कि विद्यालयमा संलग्न गरिएको कृष्ण धर्म सम्बन्धी विषयले समग्रमा हाम्रा हिन्दु /सनातनी परम्पराको जानकारी दिन्छ कि दिन्न  ? 

    मेरी छोरी भर्खर एक कक्षामा पढ्दै छिन र उनले अहिले सम्म केवल सङ्ख्यागत रूपमा जम्माजम्मी १० वटा जति धर्म सम्बन्धी कक्षा लिएकी छिन्। अहिले सम्मको छोरीसँग भएको कुराकानीको आधार मान्ने  हो भने उनलाई उक्त धर्म कक्षामा एक पटक श्री कृष्णको चित्र बनाउन लगाइएको छ र केहि पटक हरे कृष्णको भजन सुनाइएको छ।

    भागवत गीताका प्रतिपादक भगवान् श्री कृष्ण समष्टिगत रूपमा सम्पूर्ण हिन्दुका आराध्य र पूजनीय हुन्। मेरो छोरीको ओछ्यानको सिरानीमा श्री कृष्णको फोटो राखिनु र श्री कृष्णको भजन नै उनको प्रिय हुनुले पनि मलाइ यो कुरामा एउटा सन्तोष छ कि छोरीले श्री कृष्णको बारेमा विद्यालय स्तरमा केही सिकी रहेकी छिन्। तर त्यसले मेरो आवश्यकता र आस्थालाई न्याय गरेको छ भन्ने ठाउँ भने दिँदैन।  

    यसै सन्दर्भमा केही समय अगाडी एक जना कक्षा ८ मा पढ्ने नानीसँग कुराकानी गरेको थिएँ। उनका अनुसार कक्षामा सबभन्दा ठुलो भगवान् को हो भनेर सोधेको प्रश्नमा बालिकाले आफ्नो आस्था अनुसार कुनै एक अर्का भगवानको नाम भनिन। उनको उत्तर पछि उनका  शिक्षकले गरेको व्यवहारले उनले खासमा अब त्यो कक्षा जान मन नलागेको अनुभव बाँडेकी थिइन्। साधारण खोज गर्दा उक्त शिक्षक कुनै एक संस्था सँग सम्बन्धित देखिनुले यस सम्बन्धमा बुझ्न केही सजिलो भयो। 

    मेरो व्यक्तिगत अनुभव पनि के हो भने सनातनी परम्परा अन्तर्गत नै भए पनि कुनै एक देवतासँग संदर्भित रहेका सङ्घसंस्थाले  अरू भगवान् चिन्न खोज्दैनन्। र  यो एउटा उदाहरण हो जसले हामी समस्त सनातनी धर्म अङ्गाल्नेहरूलाई न्याय गरेको देखिन्न।  

    यही अवस्था रहेको खण्डमा यस्तो मान्न सकिन्छ कि शिव भगवान् विशेष पूजा गर्ने ईश्वर र मन्दिरको प्रभाव यदि प्रारम्भिक रूपमा भइदिएको भए हाम्रा बच्चाहरूले अहिले शिव धर्म सम्बन्धी पढी रहेका हुन्थे। अथवा जैन वा सिख वा साइबाबालाई मात्र मान्नेहरूको प्रभाव भएको अवस्थामा हाम्रा विद्यार्थीहरूले केवल तत्-तत् भगवानहरूको मात्र जानकारी लिइरहेका हुन्थे। 

    फेरि पनि एक पटक मेरो आग्रह के हो भने, समष्टिगत रूपमा धर्मको ज्ञान जीवन पद्धति, नैतिकता र मानवीयता सँग सम्बन्धित भएको हुनाले, यसले उति ठुलो क्षति नगरेता पनि यो हाम्रा बच्चाहरूका लागी एउटा ‘बुफे’मा गएर केवल एक मात्र खानाको स्वाद लिनु पर्ने बाध्यता जस्तो हुन जान्थ्यो र त्यस्तो देखिएको छ ।  

    यस्तो अवस्थामा मेरो मूल चासोको विषय के मात्र हो भने यदि धर्मको शिक्षा लिने अधिकारस्वरूप हाम्रा बाल बच्चाहरूले केही सिक्ने मौका प्राप्त गरेका छन् भने उनीहरूमाथि कुनै एउटै देवताको मात्र स्वामित्व लादिनु हुँदैन। बेग्लाबेग्लै धर्म अवलम्बन गर्नेहरूका बिचमा भएको विभेद र पूर्वाग्रहहरू जस्ती हाम्रै धर्मका शाखा भित्र गरिए भने तिनीहरू पनि अनुचित नै हुन्छन्।  

    धर्मको शिक्षा लिने अधिकारस्वरूप हाम्रा बाल बच्चाहरूले केही सिक्ने मौका प्राप्त गरेका छन् भने उनीहरूमाथि कुनै एउटै देवताको मात्र स्वामित्व लादिनु हुँदैन।

    सुझाव 

    आधिकारिक तथ्याङ्क फेला पर्न नसके पनि कमसेकम फिनल्यान्डमा ३० हजार हाराहारीमा सनातनी धर्म परिवारभित्रका व्यक्तिहरुको बसोबास रहेको आङ्कलन गर्न सकिन्छ। मूलभूत रूपमा भारत, नेपाल, श्रीलङ्का र त्यसै गरी बङ्गलादेश, अफगानिस्तान, पाकिस्तानका केही सनातनीहरूको सङ्ख्या मात्र हेर्ने हो भने यो कुरा स्पष्ट हुन्छ कि सनातनी/ हिन्दु धर्मावलम्बीहरूको सङ्ख्या उल्लेख्य छ। त्यसका अलावा सनातनी धर्म परम्परा विश्वभरि लोकप्रिय हुँदै छ र विश्वको कुनै पनि कुनामा यो धर्मको उपस्थिति रहेको छ।  

    दर्ता भएका धेरै धार्मिक संस्थाहरू नभएता पनि मठ र मन्दिरहरूको उपस्थितिले यो प्रमाणित गर्दछ कि यहाँ कृष्ण सँगै शिव, साइ, जैन, विष्णु, हनुमान आदि भिन्न भिन्नै देवीदेवता पूजा गर्नेहरू टन्नै छन्। देवी पूजा गरेर दसैँ मनाउने हामी नेपाली नै लगभग ११ हजार पुगेको छौँ। अनि हामी त भैरव पनि पुज्छौँ, कुमारी पनि पुज्छौँ। हाम्रा लागि त रुख, नदी, पहाड अनि जनावरहरू पनि पूज्य छन्।   

    वास्तवमा सनातनी /हिन्दु धर्मको विशेष तिन पूजनीय आधारहरू प्रकृति, पितृ र देवता भएका हुनाले कमसेकम ती सबैको बारेमा ज्ञान दिइनु पर्दछ भन्ने मेरो आफ्नो व्यक्तिगत धारणा हो। र हालको पाठ्यक्रममा सनातन /हिन्दु धर्मको शिक्षा  समावेश नहुनुले धेरै विद्यार्थीको  अधिकारको प्रत्याभूति नभएको हो कि भन्ने भान चाही भएको छ।  

    उसो त धेरै अभिभावकहरूले धार्मिक सांस्कृतिक कुराहरू घरमै पनि सिकाउन सकिने तर्क पनि गर्न सक्नुहुन्छ तर विद्यालय वातावरणमा बच्चाहरूले नियमित र अनुशासित भएर सिक्ने हुनाले घर भन्दा बढी प्रभावकारी हुन जान्छ। तर निश्चय नै घरमा पनि त्यसको पहल र निरन्तर प्रयास चाहिँ हुनुपर्छ।  

    तर पनि यो विषयमा अपर्याप्त अनुभवका कारण यस सम्बन्धमा बुझ्न र आवश्यक परेको अवस्थामा केही पहलकदमी गर्नका लागि समग्रमा सम्पूर्ण समाजको अनुभव र सुझाव सुन्नु आवश्यक छ। तसर्थ अब हामीले हाम्रो सनातनी धर्म परम्पराको शिक्षालाई अझ प्रभावकारी बनाउने हो भने हामीले कमसेकम केही प्रश्नका उत्तरहरु खोज्नु जरुरी छ।  

    – कृष्ण कक्षामा सहभागी भएका हाम्रा बालबच्चाहरूले के-कस्तो अनुभव सुनाउँछन् ? 

    -के त्यहाँ विष्णु, महादेव (शिव), गणेश, राम, दुर्गा वा हामीले पूजा गर्ने अन्य देवीदेवताहरूका विषयमा स्व-स्फूर्त छलफल गर्न प्रोत्साहन गरिन्छ कि गरिँदैन ? 

    – के शिक्षा साँच्चै नै केवल कृष्णमा मात्र केन्द्रित छ, जसले गर्दा हाम्रा बालबालिकाहरूले हाम्रो धर्मको पूर्णता (Wholeness) र विविधता बुझ्नबाट वञ्चित हुन्छन्? के कृष्ण बाहेक अरू भगवान् र देवी- देवताहरूको अस्तित्व मानिन्छ वा मानिन्न ? 

    समग्रमा हाम्रा केटाकेटीहरूले समस्त हिन्दु धर्मको बारेमा बुझ्न सक्ने अवस्था छ कि छैन भन्ने बुझ्नु नै हाम्रो प्राथमिक उद्देश्य हुनुपर्दछ। 

    नगरपालिकाले प्रत्याभूत गरेको अधिकार अनुसार  हाल उपलब्ध धर्मको शिक्षा सम्बन्धी विषय हाम्रो लागि समग्रमा उचित हुनुपर्दछ र त्यसले हाम्रो समस्त सनातनी जीवन पद्धतिको बारेमा हाम्रा बालबच्चाहरूलाई सिकाउनुपर्दछ। र साथसाथै यो धर्म शिक्षाको विषय सम्पूर्ण सनातनी धर्मावलम्बीहरूलाई न्याय हुने गरी केवल एक भगवान् र मान्यतासँग मात्र सङ्कुचित नगरीकन समग्रमा सनातनी सँग संदर्भित गरिनुपर्छ।  

    शेखर आचार्य
    शेखर आचार्य
    शेखर आचार्य फिनल्यान्डको भान्ता नगरपालिकाको निर्वाचित नगर परिषद् सदस्य (सिटी काउन्सिलर) तथा भान्ता र केराभा कल्याणकारी क्षेत्रको निर्वाचित क्षेत्रीय परिषद् सदस्य (काउन्टी काउन्सिलर) हुन्। उनले अमेरिकाबाट एमबिए र फिनल्यान्डको भासा विश्वविद्यालयबाट रणनैतिक व्यवस्थापनमा स्नातकोत्तर सम्मको अध्ययन पुरा गरेका छन्।

    प्रिय पाठक, नेपालीलाइनेनलाई सघाउनुहोस्

    नेपालीलाइनेन पढ्नु भएकोमा धन्यवाद! यो फिनल्यान्डमा बस्ने सबै नेपालीको साझा चौतारी हो। यसले हाम्रा आफ्नै कथा भन्छ—हाम्रै सुखदुःखका कथा; आशा र निराशाका कथा; र सफलता र असफलताका कथा।

    Coffee Cup

    तर तपाईँजस्तै पाठकको सहयोग विना नेपालीलाइनेनको यात्रा अगाडि बढ्न सक्दैन। सक्नुहुन्छ भने मासिक १ कप कफी मूल्य बराबरको 'सहयोगी सदस्यता' लिएर नेपालीलाइनेनलाई सघाउनुहोस्। सहयोगी सदस्यको रूपमा हाम्रा सबै प्रिमियम सामाग्रीमा तपाईँको पहुँच हुन्छ। धेरै धन्यवाद।

    Payment Methods
    सहयोगी सदस्यका सुविधाहरू पछि सम्झाउनुहोस्

    फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

    ━ नेपालीलाइनेनबाट थप