संक्षेपमा
- फिनल्यान्ड पठाउने नाममा १ करोड ठगेको आरोप।
- विद्यार्थी भन्छन्-“परीक्षामा सामेल भएर एआई प्रयोग गरी लेखे पनि पास भइन्छ” भनेर झुक्काइयो।
- कन्सल्टेन्सी भन्छ-हाम्रो काम सही जानकारी दिने र विद्यार्थीलाई सहयोग गर्ने हो।
काठमाडौँको डिल्लीबजारस्थित ‘भद्रकाली अब्रोड स्टडी’ ले फिनल्यान्ड पठाइदिने बहानामा ठगी गरेको भन्दै १५ जना विद्यार्थीको समुहले शिक्षा मन्त्री डा. महावीर पुन समक्ष सहयोगका लागि आग्रह गर्दै एक उजुरी पठाएका छन्।
पीडित समूहले उक्त कन्सल्टेन्सीका कारण आफूहरूको करिब १ करोड रुपैयाँ गुमेको दाबी गर्दै शिक्षामन्त्रीलाई पठाएको ६ पेज लामो पत्र नेपाल प्रहरीको सीआईबी (CIB), काठमाडौँस्थित फिनिस राजदूतावास, शैक्षिक परामर्शदाताको छाता सँस्था ई-क्यान, र नेपालीलाइनेनलाई पनि पठाएका हुन्।
घटनाबारे पीडित विद्यार्थीमध्ये २ जनासँग नेपालीलाइनेनले कुरा गरेको छ भने आरोपित कन्सल्टेन्सीको पनि प्रतिक्रिया मागेको छ।
उक्त कन्सल्टेन्सीको सेवा खासगरि फिनल्यान्ड आउन धेरै विद्यार्थीले प्रयोग गर्छन्। विद्यार्थीले लगाएको आरोपबारे प्रहरी अनुसन्धान सुरु भएको कुनै जानकारी प्राप्त नभएको र आफूले प्रयोग गरिरहेको शैक्षिक परामर्श संस्थामाथि कस्तो आरोप लागिरहेको छ भनेर थाहा पाउने विद्यार्थीको पूर्ण अधिकार रहेकाले नेपालीलाइनेनले यो समाचारमा उक्त कन्सल्टेन्सीको नाम खुलाएर लेख्ने निर्णय गरेको हो।
के छ मुख्य आरोप?
विद्यार्थीले अङ्ग्रेजी र नेपाली भाषामा लेखेको उजुरीमा उक्त कन्सल्टेन्सीमाथि विभिन्न आरोप लगाएका छन्।
दबाब दिएर अत्यन्तै छोटो समयमा पैसा जम्मा गर्न लगाएको, कोर्स र भर्ना प्रक्रियाको बारेमा झुटो विवरण दिएको, र भर्ना र भिसाको ग्यारेन्टी गरेर पैसा लिए पनि ६-६ महिना कुर्दा समेत भर्ना नआएको विद्यार्थीको जिकिर छ।
आफूहरूले भोगेको आर्थिक, मानसिक, तथा शैक्षिक क्षति अत्यन्तै गम्भीर रहेको विद्यार्थीहरूले उल्लेख गरेका छन्।
विद्यार्थीहरूका अनुसार कन्सल्टेन्सीले फिनल्यान्डको प्रक्रियाका लागि अनलाइन कक्षा अनिवार्य भएको भन्दै दबाब दिएको थियो। उनीहरूलाई सोच्ने समय नै नदिई दुई दिनभित्र ३५०० युरो (करिब ५ लाख रुपैयाँ) बुझाउन बाध्य पारिएको उजुरीमा उल्लेख छ।
कन्सल्टेन्सीले अनलाइन कक्षा लिएपछि १५ क्रेडिट प्राप्त हुने र भिसा तथा भर्ना शतप्रतिशत पक्का हुने आश्वासन दिएको पीडितहरूको भनाइ छ। तर कक्षा सुरु भएपछि कन्सल्टेन्सीले सहयोग गर्नुको साटो अनैतिक बाटो रोज्न लगाएको विद्यार्थीको आरोप छ।
“अनलाइन परीक्षामा बसे मात्र हुन्छ। औपचारिकताका लागि मात्र हो। भर्ना आइहाल्छ, ‘च्याट जीपीटी’ प्रयोग गरेर केही लेखे पुग्छ भनेर हामीलाई झुक्काए।” नेपालीलाइनेनसँग फोनमा कुरा गरेका एक पीडित विद्यार्थीले भने। “त्यसो भनेपछि हामीले खासै तयारी पनि गरेनौँ, र उक्त परीक्षामा लगभग सबै फेल भयौँ।”
भर्ना र भिसा दुवै हुन्छ भनेर कन्सल्टेन्सीको आश्वासन पाएपछि विद्यार्थीले भिसाका लागि कागजात बनाउन सुरु गरेका थिए।
“३५ सय युरो फी भनेर तिरियो। प्रोसेसिङ्ग चार्ज तिरियो। फाइनान्सियल डकुमेन्ट बनाउन ब्याजमा पैसा खोजेर बैङ्कमा राखियो।” अर्का पिडित विद्यार्थीले नेपालीलाइनेनसँग भने। “सबै गरेर अहिलेसम्म १५-१६ लाख खर्च भइसक्यो, तर कन्सल्टेन्सीले तिरेको कुनै रकम फिर्ता हुँदैन भन्छ, भर्ना र भिसा पनि हुँदैन भन्छ।”
“मैले त घरमा समेत भन्न सकेको छैन,” उनले थपे। “पहिले भर्ना पनि हुन्छ, भिसा पनि हुन्छ भनेर पैसा असुले। अहिले जे सक्छस् गर, पैसा फिर्ता हुँदैन भन्छन्।”
जसलाई उजुरी गरे पनि आफूलाई फरक नपर्ने भनेर कन्सल्टेन्सीले उल्टै आफूहरूलाई थर्काएको पीडित विद्यार्थीले बताए।
शिक्षा मन्त्रीलाई लेख्नुअघि विद्यार्थीहरूले धेरै पटक कन्सल्टेन्सीसँग छलफल गरेर समाधान खोज्ने प्रयास गरेका थिए।
“अनेकौँ व्यक्ति लिएर गयौँ। अनुरोध गर्यौँ। तर एकदम दम्भी र घमन्डी रहेछन्। टसमस गरेनन्।” पीडित विद्यार्थीले भने।
उजुरीमा विद्यार्थीले आफ्नो फसेको रकम फिर्ता र कन्सल्टेन्सीलाई कारबाहीको माग गरेका छन्।
उक्त कन्सल्टेन्सीले आफू कानुनी रूपमा सुरक्षित हुन विद्यार्थीलाई दुई पेजको सम्झौता पेपरमा हस्ताक्षर गर्न लगाउने तर मौखिक परामर्शमा भने पुरै झुटा आश्वासन दिने गरेको पीडित विद्यार्थीको आरोप छ।
कन्सल्टेन्सीले अनलाइन कक्षा लिएपछि १५ क्रेडिट प्राप्त हुने र भिसा तथा भर्ना शतप्रतिशत पक्का हुने आश्वासन दिएको पीडितहरूको भनाइ छ। तर कक्षा सुरु भएपछि कन्सल्टेन्सीले सहयोग गर्नुको साटो अनैतिक बाटो रोज्न लगाएको विद्यार्थीको आरोप छ।
कन्सल्टेन्सीको दाबी- ‘हामी सही जानकारी दिन्छौँ ‘
नेपालीलाइनेनले उक्त कन्सल्टेन्सीलाई लागेको आरोपबारे प्रतिक्रिया लिन फोन मार्फत सम्पर्क गरेको थियो, तर फोन उठेन। त्यसपछि ह्वाट्सएप मार्फत प्रश्नहरू पठाएर प्रतिक्रिया मागिएको थियो।
ह्वाट्सएप मार्फत पठाएको प्रतिक्रियामा उक्त कन्सल्टेन्सीले आफ्नो “मार्गदर्शन सधैँ विद्यार्थीहरूको अध्ययन योजना अनुसार सही जानकारी दिने र सहयोग गर्ने उद्देश्यले” हुने उल्लेख गरेको छ।
“हामी कुनै पनि अवैध वा अनुचित अभ्यास जस्तै ChatGPT वा अन्य AI उपकरण प्रयोग गरेर असाइन्मेन्ट पास गर्ने कार्यलाई प्रोत्साहित गर्दैनौँ। यदि कुनै विद्यार्थीले हाम्रो मार्गदर्शन गलत बुझेका छन् भने हामी उनीहरूलाई सही जानकारी दिन तयार छौँ।” उक्त कन्सल्टेन्सीले भनेको छ।
पीडित विद्यार्थीका अनुसार उक्त कन्सल्टेन्सीको भनाइ र गराइमा भने आकाश-जमिनको फरक छ।

सोही कन्सल्टेन्सीले नेपाली विद्यार्थीका अति महत्त्वपूर्ण व्यक्तिगत विवरणहरू कुनै सम्पादन नगरी टिकटकमा छरपस्ट पारेका बारे नेपालीलाइनेनले गत मे महिनामा समाचार लेखेको थियो।
नेपालीलाइनेनको समाचार पछि केही महिनाका लागि उक्त कन्सल्टेन्सीले विद्यार्थीका व्यक्तिगत विवरण छोपेर फोटो/भिडियो पोस्ट गरे पनि अहिलेका पछिल्ला पोस्टहरूमा विद्यार्थीका व्यक्तिगत विवरणहरू फेरी पुरै देख्न सकिन्छ।
अहिले फिनल्यान्डमा बेरोजगारी दर युरोपकै उच्च रहेको अवस्थामा पनि नेपालका कन्सल्टेन्सीहरूले विभिन्न झुटा सपना देखाइ विद्यार्थीहरू पठाउने क्रम नरोकिएपछि धेरै नेपाली विद्यार्थीहरू बेरोजगारीका कारण बिचल्लीमा परेका छन्। कोही-कोही त महिनौँ कुर्दा समेत काम पाउन नसकेपछि बाध्य भएर नेपाल समेत फर्केका छन्।





