0
सदस्य बन्नुहोस्

More
    संग्रह गर्नुहोस्।
    संग्रहित

    भेट्ने योजना रह्यो अधुरै: दिवगंत सांसद एमेलीलाई यसरी सम्झन्छन् फिनल्यान्डका एक नेपाली

    प्रकाशका लागि एमेलीको निधन एक असल साथी गुमाउनु मात्र रहेन। एमेली प्रकाशका लागि आफ्नो समुदायका कुराहरू र राजनीतिक विचारहरू बिना कुनै हिचकिचाहट उच्च तहमा पुर्‍याउन सक्ने सेतु पनि थिए।

    उनका लागि हिजो मंगलबारको दिन सामान्य नै थियो तर जब त्यो एउटा फोन कल आयो, सबै फेरियो।

    राजनीतिमा उदाउँदै गरेको एक चम्किलो तारा, केवल ३० वर्षका सांसद एमेली पेल्तोनेनले संसारबाट बिदा लिएको खबरले सिङ्गो फिनल्यान्ड स्तब्ध थियो। राजनीतिक वृत्तबाट आइरहेका समवेदना र न्यानो शब्दका बाढीबिच, यो राष्ट्रिय शोकको कोलाहलमा, फिनल्यान्डको केल्लोकोस्कीमा बस्ने एक नेपाली मन पनि त्यही क्षतिको पीडामा डुबिरहेको छ।

    प्रकाश ढकाल, एक सामाजिक सेवा पेशेवर र स्थानीय राजनीतिज्ञ, जसले एमेलीलाई एक दशकभन्दा लामो समयदेखि नजिकबाट चिनेका थिए। उनीहरू एउटै गृहनगर यार्भेन्पाका थिए, एउटै राजनीतिक दल (सोसल डेमोक्र्याटिक पार्टी) बाट लगभग एकै समयमा राजनीतिक यात्रा सुरु गरेका थिए।

    तर समयको गतिसँगै दुवैको बाटो मोडियो। एमेली राष्ट्रिय राजनीतिको उचाइमा पुगे, प्रकाश भने परिवार र आफ्नो पेशागत जिम्मेवारीमा केन्द्रित भए। तर उनीहरूको सम्पर्क र सम्मानको सम्बन्ध कहिल्यै पातलिएन।

    यो समरमा प्रकाशकै घरमा भेट्ने उनीहरूको योजना थियो। तर दुवैको व्यस्तताले गर्दा त्यो सम्भव भएन। “अर्को पटक भेटौंला” भन्ने वाचा अब कहिल्यै पूरा नहुने गरी अधुरै रह्यो।

    “म काममा थिएँ, दिउँसोतिर पार्टीका एक पूर्व सहकर्मीले फोन गरेर यो दुःखद खबर दिए,” प्रकाशले त्यो क्षण सम्झँदै नेपालीलाइनेनलाई भने, “त्यसको केही बेरमै मैले तपाईहरुकै नेपालीलाइनेन मा पनि पढेँ।

    “म स्तब्ध भएँ। सुरुमा त पत्याउनै गाह्रो भयो। त्यस्तो सकारात्मक व्यक्तित्व भएको र त्यस्तो कलिलो उमेरको मान्छेले कसरी त्यस्तो गर्न सक्छ भन्ने लागिरह्यो।”

    खबर सुनेपछि प्रकाश आफूलाई रोक्न सकेनन्। उनी हेलसिन्कीमै थिए र सिधै संसद भवनतिर लागे। उनको मनमा साथीको सम्झनामा एउटा फूल वा मैनबत्ती बाल्ने इच्छा थियो। तर त्यहाँ पुग्दा वातावरण फरक थियो। कुनै भीडभाड थिएन, कुनै फूलको थुप्रो थिएन। त्यहाँ केवल गहिरो सन्नाटा र आधा झुकेको फिनिस झण्डाबाहेक केहि थिएन।

    प्रकाशलाई लाग्यो सायद त्यही मौनताले नै सबैभन्दा ठूलो शोक व्यक्त गरिरहेको छ। उनले त्यो दृश्यको एउटा तस्बिर लिए र गह्रुँगो मन लिएर घर फर्किए। पछि उनले एमेलीको पार्टनर (जसलाई उनी राम्रोसँग चिन्छन्) लाई समवेदना सन्देश पठाए।

    यसरी भएको थियो पहिलो भेट

    उनीहरूको पहिलो भेट सन् २०१२ को स्थानीय चुनावको अभियानमा यार्भेन्पाको सडकमा भएको थियो। प्रकाश सम्झन्छन्, “एमेलीले भर्खरै हाई स्कूल सकेका थिए। त्यति सानो उमेरमा उनको राजनीतिक यात्राको त्यो सुरुवात थियो।”

    त्यसपछिका वर्षहरूमा उनीहरूको सम्बन्ध र सम्पर्क गहिरिँदै गयो। एमेलीको राजनीतिक कद बढ्दै जाँदा पनि उनको स्वभावमा कुनै परिवर्तन भने नआएको प्रकाश बताउछन्।

    उनीहरूको अन्तिम भेट यसै वर्षको फेब्रुअरीमा भएको थियो। “उनले मलाई भेट्न बोलाएका थिए,” प्रकाश भन्छन्, “भेटमा उनले मलाई मेरै ठाउँबाट सोसल डेमोक्र्याटिक पार्टीमार्फत स्थानीय चुनावमा भाग लिन आग्रह गरे।”

    “मेरो व्यस्त कार्यतालिका र साना छोराछोरीसहितको पारिवारिक जिम्मेवारीले गर्दा मैले त्यो मेरो लागि उपयुक्त समय नभएको बताएँ। उनले मुस्कुराउँदै मेरो कुरामा सहमति जनाए।”

    एमेली कस्ता थिए? एक व्यक्ति र एक नेताको रूपमा? यो प्रश्नको उत्तर दिँदा प्रकाशको आवाजमा स्नेह र सम्मानको भाव झल्किन्छ।

    “एक व्यक्तिको रूपमा उनी एकदमै न्यानो, सबैलाई सजिलै स्वागत गर्ने र साँच्चै दयालु व्यक्ति थिए। उनमा मानिसहरूका कुरा सुन्ने र उनीहरूलाई महत्त्वपूर्ण महसुस गराउने गज्जबको क्षमता थियो,” उनी भन्छन्, “एक नेताको रूपमा उनी आफ्नो उमेरभन्दा धेरै परिपक्व, विचारशील र सधैं सहयोग र सम्मानमार्फत समाधान खोज्नमा केन्द्रित हुनेखालका थिए।”

    नेपाली टिमसँग डिनर मिटिङ्गको प्रस्ताव

    प्रकाशका विचारमा एमेलीसँगको एउटा अविस्मरणीय क्षणले उनको व्यक्तित्वलाई अझ स्पष्ट पार्छ। गत समरमा नेपालबाट सिन्धुलीको कमलामाई नगरपालीकाका मेयर र ‘न्यूस्टेप’ (इरास्मस प्लस प्रोजेक्ट) को एक शैक्षिक प्रतिनिधिमण्डल फिनल्यान्ड भ्रमणमा आएको थियो, जसको संयोजन प्रकाश आफैले गरेका थिए। उनले आफ्नो घरको बगैंचामा उनीहरूको सम्मानमा एउटा कार्यक्रम आयोजना गरेका थिए, जसमा यार्भेन्पाका मेयरलगायत उनका राजनीतिक सहकर्मी र नेटवर्कका धेरै व्यक्तिहरू उपस्थित थिए।

    “त्यतिबेला एमेली युरोपेली संघको प्रतिनिधिमण्डलसँग ब्रसेल्स भ्रमणमा रहेकाले कार्यक्रममा आउन सकेनन्,” प्रकाशले त्यो घटना सुनाए, “तर फर्केपछि उनले मलाई फोन गरे। उनले नेपाली प्रतिनिधिमण्डललाई आफैं स्वागत गर्न र रात्रिभोजका लागि एउटा रेस्टुरेन्ट बुक गर्न चाहेको बताए। दुर्भाग्यवश त्यतिबेलासम्म नेपाली प्रतिनिधिमण्डल फर्किसकेको थियो।”

    “तर उनको त्यो विचारशील प्रस्तावले उनको चरित्रलाई पूर्ण रूपमा झल्काउँछ। उनको अभाव सधैं खड्किनेछ।” उनी थप्छन्।

    एमेली भन्थें राजनीतिलाई झगडा र विभाजनभन्दा बढी सम्झौता र सहकार्यको आवश्यकता छ। प्रकाशका अनुसार त्यो उनको राजनीतिक विश्वास मात्र थिएन, उनको जीवन जिउने तरिका पनि थियो।

    एमेली भन्थें राजनीतिलाई झगडा र विभाजनभन्दा बढी सम्झौता र सहकार्यको आवश्यकता छ। प्रकाशका अनुसार त्यो उनको राजनीतिक विश्वास मात्र थिएन, उनको जीवन जिउने तरिका पनि थियो।

    समुदायका लागि ठूलो क्षति

    प्रकाशका लागि एमेलीको निधन एक असल साथी गुमाउनु मात्र रहेन। एमेली प्रकाशका लागि आफ्नो समुदायका कुराहरू र राजनीतिक विचारहरू बिना कुनै हिचकिचाहट उच्च तहमा पुर्‍याउन सक्ने सेतु पनि थिए।

    तर अब त्यो स्तरको राजनीतिक पहुँच र सल्लाह दिन सक्ने व्यक्तिले अनायास संसार छोडिसकेको छ।

    “म एमेलीलाई सधैं एक यस्तो व्यक्तिको रूपमा सम्झनेछु जसले बुद्धिमत्ता र दयालाई एकैसाथ बोकेका थिए।” प्रकाशले नेपालीलाइनेनसंगको कुराकानीलाई बिट मार्दै भने।

    “आफ्नो कलिलो उमेरका बाबजुद उनी सधैं आफूलाई शान्त र मर्यादित रूपमा प्रस्तुत गर्थे, सधैं साझा आधार र फरक मत राख्ने मानिसहरूलाई एकसाथ ल्याउने तरिकाहरू खोज्थे।”

    “हाम्रो अन्तिम कुराकानीमा हामीले कसरी यार्भेन्पाको विविधतालाई बलियो बनाउने र अझै समावेशी समुदाय निर्माण गर्न सक्छौं भन्नेबारे कुरा गरेका थियौं।” प्रकाश सम्झन्छन्।

    उनको राजनीतिक अन्तरदृष्टिभन्दा पर प्रकाशलाई सबैभन्दा बढी छोएको कुरा एमेलीको मानवता थियो। उनले साँच्चै मानिसहरूका कुरा सुन्थे र बृहत्तर समाजको ख्याल राख्थे।

    “यदि मैले एमेलीको सम्झनालाई एक वाक्यमा समेट्ने हो भने उनी एक यस्ता प्रतिभाशाली र दयालु युवा नेता थिए जसले आफ्नो वरपरका सबैमा आशा र विश्वास जगाउँन सक्ने अद्भुत सामर्थ्य राख्थे।”

    फिनल्यान्डको संसद भवनमाथिको झण्डा फेरि पूरा फहराउला, नयाँ राजनीतिक बहसहरू फेरि सुरु होलान्, तर एक नेपाली मनको स्मृतिमा एमेली पेल्तोनेनको त्यो न्यानो मुस्कान, विचारशील स्वभाव र अधुरो रहेको भेटको वाचाको याद सधैं ताजा रहनेछ। त्यो मौनतामा खिचिएको एउटा तस्बिरले सधैं एक सुन्दर मित्रता र अपूरणीय क्षतिको कथा भनिरहनेछ।

    नेपालीलाइनेन
    नेपालीलाइनेन
    नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न  पनि सक्नुहुन्छ। 

    प्रिय पाठक, नेपालीलाइनेनलाई सघाउनुहोस्

    नेपालीलाइनेन पढ्नु भएकोमा धन्यवाद! यो फिनल्यान्डमा बस्ने सबै नेपालीको साझा चौतारी हो। यसले हाम्रा आफ्नै कथा भन्छ—हाम्रै सुखदुःखका कथा; आशा र निराशाका कथा; र सफलता र असफलताका कथा।

    Coffee Cup

    तर तपाईँजस्तै पाठकको सहयोग विना नेपालीलाइनेनको यात्रा अगाडि बढ्न सक्दैन। सक्नुहुन्छ भने मासिक १ कप कफी मूल्य बराबरको 'सहयोगी सदस्यता' लिएर नेपालीलाइनेनलाई सघाउनुहोस्। सहयोगी सदस्यको रूपमा हाम्रा सबै प्रिमियम सामाग्रीमा तपाईँको पहुँच हुन्छ। धेरै धन्यवाद।

    Payment Methods
    सहयोगी सदस्यका सुविधाहरू पछि सम्झाउनुहोस्

    फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

    ━ नेपालीलाइनेनबाट थप