0
सदस्य बन्नुहोस्

More
    संग्रह गर्नुहोस्।
    संग्रहित

    किन आवश्यक छ फिनल्यान्डमा हाम्रो आफ्नै सांस्कृतिक केन्द्र?

    फिनल्यान्डमा नेपालीहरूको लागि आफ्नै एउटा सांस्कृतिक केन्द्रको स्थापनाका लागि कोही कसैको एक्लो प्रयासले सम्भव नहुने भएकाले यहाँ रहेका सम्पूर्ण सङ्घ–संस्थाहरूले हातेमालो गर्दै यो व्यापक योजनालाई मूल मुद्दा बनाएर अघि बढ्नु पर्छ।

    पछिल्लो तथ्याङ्कलाई आधार मान्ने हो भने फिनल्यान्डमा अहिले ११,००० भन्दा धेरै नेपालीको उपस्थिति रहेको छ, जसमा सनातनी तथा ओम्कार परिवारको बाहुल्यता छ। यो बढ्दो समुदायले सनातन धर्ममा आधारित जीवनशैली र समृद्ध सांस्कृतिक एवं धार्मिक परम्परा बोकेको छ, जसमा जन्मदेखि मृत्युसम्मका विविध संस्कार, पूजा–पाठ र सामाजिक अभ्यासहरू समावेश छन्।

    पूजा–अनुष्ठानहरू, नामकरण, पास्नी, उपनयन, विवाह, श्राद्ध तथा अन्त्येष्टि लगायत विभिन्न समूहका आफ्नै मौलिक परम्पराहरू र सांस्कृतिक रीति–रिवाजहरू केवल क्रियाकलाप मात्र नभई, हाम्रो अस्तित्व र सांस्कृतिक पहिचान हुन्।

    उसो त फिनल्यान्डको विशेष गरी राजधानी र वरपर केन्द्रित रही सनातनी समुदाय लक्षित मठ र मन्दिरहरूको केही उपस्थिति नभएको भने होइन। ISKCON, Murugan Temple, साई मन्दिर, बौद्ध विहारहरू आदिको उपस्थितिले हाम्रो आस्थाको केन्द्रमा गएर पूजा–पाठ गर्ने सम्भाव्यता भए पनि दुर्भाग्यवश हामीसँग आफ्नै सांस्कृतिक रीति–रिवाज मनाउन सक्ने आफ्नै थलो भने छैन।

    यस्तो थलोको अभावमा एकातर्फ हाम्रा सांस्कृतिक रीति–रिवाजहरू यहाँका नियम–कानुन, भौतिक व्यवस्थाको अभाव र मौसमको प्रतिकूलताका कारणले गर्दा ओझेलमा परेका छन् भने अर्कोतर्फ आफ्नै थलोको अभावले गर्दा खुला स्थानमा गर्ने गरिएका केही व्यक्तिगत र संस्थागत कार्यक्रमहरूमा सामाजिक सुरक्षाका चुनौतीहरू पनि देखा परेका छन्।

    फिनल्यान्डमा नेपालीहरू अब एउटा पुस्ताबाट अर्को पुस्तामा अघि बढिरहेको सन्दर्भमा माथि उल्लिखित जीवनका अनिवार्य रीति–रिवाजहरूको निरन्तरता, आवश्यकता, रहर र/वा बाध्यताका उपजहरू हुन्। सनातनी परम्परा अन्तर्गतका १६ अनिवार्य संस्कारहरूमध्ये सम्पूर्णलाई निरन्तरता दिन नसके पनि बच्चाको न्वारन, पास्नी, उपनयन, विवाह र मृत्यु संस्कार अपरिहार्य छन्।

    यस्ता महत्त्वपूर्ण संस्कारको निरन्तरताका लागि हामीलाई एकातर्फ यहाँका नीति–नियम अनुकूल छैनन् भने अर्कोतर्फ हाम्रो आफ्नै संस्कार अनुरूपका भौतिक व्यवस्थाहरू पनि उपलब्ध छैनन्।

    तत्कालीन देखी दीर्घकालीन योजनाहरू बनाउँदै स्थानीय र केन्द्रीय तहमा राजनीतिक सक्रियता र संलग्नताका साथै एकातर्फ हामीले हाम्रा संस्कारहरूको निरन्तरताका लागि नीतिगत तहमा काम गर्नुपर्ने भए पनि सम्पूर्ण संस्कारहरूको निरन्तरताका लागि एउटा आफ्नै थलोको जोहो गर्नु अब अपरिहार्य बनेको छ।

    सम्पूर्ण संस्कारहरूको निरन्तरताका लागि एउटा आफ्नै थलोको जोहो गर्नु अब अपरिहार्य बनेको छ।

    यस्तो थलोको अभावमा साधारण दैनिक संस्कारदेखि प्रमुख पर्व र अनुष्ठानसम्मको व्यवस्थापन व्यक्तिगत र सीमित सङ्ख्यामा सीमित रहँदा हाम्रो सांस्कृतिक परिचय कमजोर हुँदै गएको छ भने अर्कोतर्फ यस्ता कार्यक्रमहरूमा व्यापक सहभागिताको अभावले हाम्रो आउँदो पुस्तालाई हाम्रा संस्कार र रीति–रिवाजको हस्तान्तरण पनि कठिन देखिएको छ।

    फिनल्यान्डको वर्तमान नीति तथा प्रणालीहरू अन्तर्गत रही यो व्यापक उद्देश्य प्राप्त गर्न सम्पूर्ण नेपालीहरू एकजुट हुनु आवश्यक छ। हालका दिनहरूमा विशेष गरी एनआरएनए र फिनिस नेपाली समाजको संयुक्त आयोजनामा भएको नेपाल–डे उत्सवले नेपालीहरूको अपनत्व र एकताको बलियो उदाहरण पेस गरेको छ।

    पशुपतिनाथ फिनल्यान्डले धार्मिक कार्यक्रमहरूको आयोजना गर्दै हाम्रो संस्कारलाई जीवन्त राख्न मद्दत गरेको छ। तर फिनल्यान्डमा नेपालीहरूको लागि आफ्नै एउटा सांस्कृतिक केन्द्रको स्थापनाका लागि कोही कसैको एक्लो प्रयासले सम्भव नहुने भएकाले यहाँ रहेका सम्पूर्ण सङ्घ–संस्थाहरूले हातेमालो गर्दै यो व्यापक योजनालाई मूल मुद्दा बनाएर अघि बढ्नु पर्छ।

    सम्पूर्ण नेपालीहरूको साथ र सहयोगले एउटा सांस्कृतिक केन्द्र निर्माण गर्न सकिएमा यसले निम्न कार्यहरूमा योगदान पुर्‍याउनेछ:

    • धार्मिक, सांस्कृतिक तथा सामाजिक गतिविधिहरूका लागि साझा थलोको रूपमा सेवा पुर्‍याउने;
    • हाम्रा आफ्नै मौलिक पहिचानका धार्मिक र सांस्कृतिक कार्यक्रमहरू सामूहिक रूपमा उत्सवको रूपमा मनाउने;
    • फिनल्यान्डमा आवश्यक नीतिगत परिवर्तनको पक्षमा आवाज उठाउने, जसले हामीलाई हाम्रा परम्परा स्वाभिमानपूर्वक अभ्यास गर्न सक्षम बनाओस्;
    • नेपाली र फिनिस समुदायबिच सांस्कृतिक समझदारी र सद्भाव प्रवर्द्धन गर्ने;
    • र, हाम्रो हालको समाजलाई एकताको मालामा उन्नत गर्दै, आउँदो पुस्तालाई हाम्रो मौलिक पहिचानबारे बुझाउने र अपनत्वको भावना जगाउने।

    यो पहलले फिनल्यान्डमा बसोबास गर्ने नेपाली सनातनीहरूलाई आफ्नो मौलिकता जोगाउन, नयाँ पुस्तालाई हस्तान्तरण गर्न, र बहु-सांस्कृतिक समाजमा सकारात्मक योगदान दिन सशक्त बनाउनेछ।

    फिनल्यान्डमा स्थायी रूपमा बसोबास गरिरहेका हाम्रो समुदायका लागि यस्तो केन्द्रको स्थापना अब विकल्प होइन, आवश्यकता बनेको छ।

    शेखर आचार्य
    शेखर आचार्य
    शेखर आचार्य फिनल्यान्डको भान्ता नगरपालिकाको निर्वाचित नगर परिषद् सदस्य (सिटी काउन्सिलर) तथा भान्ता र केराभा कल्याणकारी क्षेत्रको निर्वाचित क्षेत्रीय परिषद् सदस्य (काउन्टी काउन्सिलर) हुन्। उनले अमेरिकाबाट एमबिए र फिनल्यान्डको भासा विश्वविद्यालयबाट रणनैतिक व्यवस्थापनमा स्नातकोत्तर सम्मको अध्ययन पुरा गरेका छन्।

    प्रिय पाठक, नेपालीलाइनेनलाई सघाउनुहोस्

    नेपालीलाइनेन पढ्नु भएकोमा धन्यवाद! यो फिनल्यान्डमा बस्ने सबै नेपालीको साझा चौतारी हो। यसले हाम्रा आफ्नै कथा भन्छ—हाम्रै सुखदुःखका कथा; आशा र निराशाका कथा; र सफलता र असफलताका कथा।

    Coffee Cup

    तर तपाईँजस्तै पाठकको सहयोग विना नेपालीलाइनेनको यात्रा अगाडि बढ्न सक्दैन। सक्नुहुन्छ भने मासिक १ कप कफी मूल्य बराबरको 'सहयोगी सदस्यता' लिएर नेपालीलाइनेनलाई सघाउनुहोस्। सहयोगी सदस्यको रूपमा हाम्रा सबै प्रिमियम सामाग्रीमा तपाईँको पहुँच हुन्छ। धेरै धन्यवाद।

    Payment Methods
    सहयोगी सदस्यका सुविधाहरू पछि सम्झाउनुहोस्

    फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

    ━ नेपालीलाइनेनबाट थप