.संक्षेपमा.
- पशुपतिनाथ मन्दिर फिनल्यान्ड र शान्ति योग केन्द्र काम्पीको संयुक्त आयोजना।
- गुरु योगी प्रकाशद्वारा विभिन्न आध्यात्मिक आयामको चर्चा।
- शान्ति योग केन्द्र काम्पीले हरेक एकादशीमा साधना र अन्य आध्यात्मिक कार्यक्रम गर्ने प्रतिबद्धता।
हेलसिन्की, फिनल्यान्ड – पशुपतिनाथ मन्दिर फिनल्यान्ड र शान्ति योग केन्द्र काम्पीको संयुक्त आयोजनामा हिजो शनिबार मे ३१ का दिन हेलसिन्कीको मुस्तापुरोमा एक योग तथा भक्ति साधना कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रममा दर्जनौं भक्तजन तथा योगप्रेमीहरूको उपस्थिति रहेको थियो। आयोजकका अनुसार कार्यक्रमको मुख्य उद्देश्य आधुनिक जीवनको तनाव र चुनौतीहरूको बीचमा आध्यात्मिक जागरण र शान्ति प्रवर्द्धन गर्नु हो।
कार्यक्रमको प्रारम्भमा पशुपतिनाथ मन्दिर (Pashupatinath ry) फिनल्यान्डका अध्यक्ष पुनाराम भण्डारीले स्वागत मन्तव्य दिँदै उपस्थित सबैलाई धन्यवाद दिएका थिए।
शान्ति योग केन्द्र काम्पीका धनपति पाण्डेले केन्द्रद्वारा नियमित रूपमा सञ्चालन भइरहेका गतिविधिहरूबारे जानकारी दिएका थिए। पाण्डेले हरेक एकादशीको साँझ ५ देखि ८ बजेसम्म काम्पीस्थित केन्द्रमा विशेष साधना कार्यक्रम हुने तथा बालबालिकाहरूलाई नेपाली संस्कृति र परम्परा सिकाउने कक्षाहरू पनि सञ्चालन गरिने जानकारी दिएका थिए।
कार्यक्रमका प्रमुख अतिथि तथा नेपालमा शान्ति योग केन्द्र आश्रम सञ्चालन गर्दै आएका गुरु योगी प्रकाशले आफ्नो प्रवचनमा आधुनिक समयमा मानव आत्माले अनेकौं कष्ट भोग्नुपरेको र यसको वास्तविक समाधान आध्यात्मिकतामा नै निहित रहेको बताएका थिए।
“परमात्मा कतै बाहिर होइन, हामीभित्रै छन्। हामीभित्र रहेको ऊर्जा नै परमात्माको स्वरूप हो।” उनले मानव जीवनमा ध्यान, योग र आध्यात्मिक चिन्तनको महत्वबारे प्रकाश पार्दै भनेका थिए। योगी प्रकाश हाल विभिन्न आध्यात्मिक कार्यक्रम गर्दै युरोप टुर गरिरहेका छन् भने जुन महिनाको पहिलो हप्ता भरि फिनल्याण्डमै रहने छन्।
कार्यक्रममा निर्देशित ध्यान, प्रवचन तथा भजन प्रस्तुत गरिएको थियो जसले उपस्थित सबैलाई आध्यात्मिक ऊर्जा र शान्तिको अनुभूति गराएको थियो।

कार्यक्रममा निर्देशित ध्यान, प्रवचन तथा भजन प्रस्तुत गरिएको थियो।
यस्ता कार्यक्रमहरूले व्यस्त जीवनशैलीबाट केही समय निकालेर आत्मचिन्तन गर्न र मानसिक शान्ति प्राप्त गर्न सहयोग पुर्याउने विश्वास आयोजकहरूले व्यक्त गरेका छन्।
“हामीले विशेष रूपमा फिनल्यान्डमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै विभिन्न योगा तथा ध्यानका प्याकेजहरू ल्याएका छौं,” शान्ति योग केन्द्र काम्पीका संचालक पाण्डेले नेपालीलाइनेनसँग भने। “जो कोही इच्छुक व्यक्तिले हाम्रो फोन नम्बर +358 44 9751693, वेभसाइट वा सामाजिक सञ्जालमार्फत सम्पर्क गरी आफूलाई उपयुक्त समय बुक गर्न सक्नुहुन्छ।”





