पूर्वी फिनल्यान्डको कुओपिओ शहरको चिसो हावामा पाको नुची नामका एक व्यक्तिको रेस्टुरेन्टबाट निस्कने नेपोलिटन पिज्जाको न्यानो बास्ना स्थानीय पहिचान बनेको छ। फिनिस भाषा फरर बोल्ने मात्र हैन जब उनी ग्राहकहरूसँग कुरा गर्छन् उनको बोलीमा ‘सावो’ क्षेत्रको लवज यति गहिरो र ठेट सुनिन्छ कि धेरैलाई लाग्न सक्छ उनी पक्कै पूर्वी फिनल्यान्डमा जन्मे-हुर्केका हुन्।
खासमा उनले ‘सावो लवज च्याम्पियनसिप’ नै जितेका छन्। तर फिनिश राज्यको नजरमा लाग्छ उनी अझै पनि ‘पूर्ण’ फिनिश होइनन्।
३५ वर्ष फिनल्यान्डमा बिताएका, नौ सन्तानका पिता, ४० जनालाई रोजगारी दिने सफल उद्यमी, र फिनिश भाषा तथा संस्कृतिका ज्ञाता नुची आज एउटा यस्तो प्रशासनिक चक्रव्यूहमा फसेका छन्, जसले फिनल्यान्डको अध्यागमन प्रणाली र ‘एकीकरण’ को अर्थमाथि नै गम्भीर प्रश्न खडा गरेको छ।
दुई वर्षअघि उनले फिनिश नागरिकताका लागि आवेदन दिएका थिए। जवाफ आयो: उनको आवेदनमाथि कारबाही सुरु हुन अझै डेढ वर्ष लाग्न सक्छ, अर्थात् जुलाई २०२६ सम्म। उनीभन्दा पछि आवेदन दिएका धेरैले नागरिकता पाइसकेका छन्, उनलाई किन कुराइएको छ, थाहा छैन।
गत साता कुओपियो पुगेका फिनल्यान्डका राष्ट्रपतिलाई समेत उनले आफ्नो अनुभव सुनाएका थिए। राष्ट्रपति स्टबले संसारका सफल देशहरूले आप्रवासीलाई अँगालेको र फिनल्यान्डमा भइरहेको आप्रवासन बहस विषाक्त रहेको कुरा सोही अवसरमा बताएका हुन्। उनले आफ्नी श्रीमतीतर्फ सङ्केत गर्दै आफ्नो घरमा पनि आप्रवासी रहेको बताएका थिए।
‘सबैथोक गरेँ, तर के पर्याप्त भएन?’
सन् १९९१ मा फिनल्यान्ड आएका नुचीले फिनल्यान्डलाई आफ्नो कर्मभूमि बनाए। उनले सुरुमा विवाह गरे, त्यसपछि रेस्टुरेन्ट व्यवस्थापनमा डिग्री लिए। हेलसिन्की विश्वविद्यालयबाट मानविकीमा स्नातक समेत गरे। उनको दर्शनशास्त्रमा स्नातकोत्तरको शोध १६ वर्षदेखि “लेखिँदै” छ, तर उनको जीवनको ‘शोध’ भने फिनिश समाजमा गहिरोसँग गाँसिएको छ।
उनको मातृभाषा इटालियन हो, तर मेक्सिको र अर्जेन्टिनामा हुर्केकाले उनी धाराप्रवाह स्पेनिश पनि बोल्छन्। यहाँ आएपछि उनले फिनिश भाषा मात्र सिकेनन्, त्यसको सबैभन्दा कठिन मानिने ‘सावो’ लवजमा च्याम्पियनसिप नै जिते।
उनको सफलताको कथा भाषामा मात्र सीमित छैन। विगत २२ वर्षदेखि उनी पूर्णकालीन उद्यमी हुन्। कुओपिओमा उनका चारवटा रेस्टुरेन्ट छन्। जसमा उनले ४० भन्दा बढीलाई रोजगारी दिएका छन्। उनको कम्पनीको वार्षिक कारोबार २.५ मिलियन युरो छ र सधैं नाफामा रहेको छ। अझ महत्त्वपूर्ण कुरा उनले आफ्नो व्यवसाय ऋण लिएर होइन, नाफाबाटै विस्तार गरेका हुन्।
रेस्टुरेन्ट क्षेत्रमा हात हाल्नु अघि उनको आइटी व्यवसाय थियो। त्यहाँ पनि उनले सयौँलाई रोजगारी दिएका थिए।
नुचीले नोभेम्बर २०२३ मा नागरिकताका लागि फिनिश अध्यागमन सेवा ‘मिग्री’ मा आवेदन दिए। उनले सोचेका थिए सबै प्रक्रिया छिटै हुनेछ। आखिर उनीसँग सबैथोक थियो: स्थायी बसोबास, ३५ वर्षको बसाइ, धाराप्रवाह भाषा, बलियो आर्थिक आधार, र समाजमा गहिरो जरा।
तर मिग्रीको प्रतिक्रियाले उनलाई स्तब्ध बनायो।
“अक्टोबरमा मैले वकिलमार्फत छिटो प्रक्रियाका लागि अनुरोध गरेँ,” नुचीले स्थानीय मिडियालाई भनेका छन्। “तर मेरो आवेदन जुलाई २०२६ पछि मात्र प्रक्रियामा जान सक्छ भनेर मलाई भनियो।”
उनको निराशा आक्रोशमा बदलिएको छ। “मिग्रीले मलाई कसैले म पछि आवेदन दिएपनि मभन्दा छिटो नागरिकता पाउन सक्छ भनेर भन्यो,” उनले फिनिस भाषाको पत्रिका इ्ल्ता सानोमातसँगको कुराकानीमा भनेका छन्। “यदि यो अन्याय होइन भने, के हो?”
उनको पीडालाई थप बढाउने अरू उदाहरण पनि छन्। उनकी बहिनीले सात महिनामै फिनिश नागरिकता पाइन्।
“मेरो एकजना पूर्व-कुक दक्षिण एसियाका हुन्, उनको फिनल्यान्डसँग कुनै खास सम्बन्ध पनि थिएन, तर उनले पनि छिट्टै नागरिकता पाए,” नुची थप्छन्। “म यसमा सरासर अन्याय देख्छु।”
उनको पीडालाई थप बढाउने अरू उदाहरण पनि छन्। उनकी बहिनीले सात महिनामै फिनिश नागरिकता पाइन्।
राजनीतिक वृत्तमा पनि तरंग
पाको नुचीको केसले फिनल्यान्डको राजनीतिक वृत्तमा पनि तरंग ल्याएको छ। सांसद मार्को किल्पीले यस विषयमा संसदमा लिखित प्रश्न नै दर्ता गराएका छन्। उनले नुचीका बारेमा एउटा लामो फेसबुक स्ट्याटस पनि लेखेका छन्।
मिग्रीले आफ्नो ढिलाइको कारण सन् २०१५ को शरणार्थी संकटपछिको कार्यबोझलाई देखाउँदै आएको छ। मिग्रीका अनुसार हाल नागरिकता आवेदन प्रक्रिया पूरा हुन १२ देखि ३१ महिना लाग्ने गरेको छ। तर नुचीको केसमा प्रक्रिया सुरु हुन नै ३१ महिना लाग्ने देखिन्छ।
“के नागरिकता पाउनका लागि उनको योगदान पर्याप्त छैन?” सांसद किल्पी प्रश्न गर्छन्। उनले एउटा ठोस सुझाव पनि अघि सारेका छन्: नागरिकता ‘फास्ट ट्र्याक’ को व्यवस्था।
“मेरो विचारमा नुची जस्ता व्यक्तिहरूका लागि आवेदन प्रक्रियामा द्रुत मार्ग हुनुपर्छ,” किल्पी तर्क गर्छन्।

नुचीका लागि फिनिश पासपोर्ट केवल एक कागजात मात्र भने होइन। उनको व्यवसायका लागि पनि महत्त्वपूर्ण छ।
“व्यापारिक सम्झौता गर्दा खरिदकर्ताले कम्पनीको मालिक फिनिश नागरिक हुनुपर्ने शर्त राख्न सक्छ,” उनी भन्छन्। “यदि मसँग फिनिश पासपोर्ट भयो भने धेरै अवस्थाहरूमा काम गर्न सजिलो हुनेछ।”
“मेरै बैंकले मसँग पासपोर्टको प्रतिलिपि माग्यो, जुन मलाई निकै अनौठो लाग्यो।” उनले स्थानीय मिडियालाई भनेका छन्।
लामो र अनिश्चित पर्खाइले नुचीलाई यति निराश बनाएको छ कि उनले ३५ वर्षदेखि ‘घर’ मानेको फिनल्यान्ड छोड्ने कुरा समेत सोच्न थालेका छन्। उनले ठट्टामा होइन, गम्भीरतापूर्वक स्वीडेन बसाइँ सर्ने सम्भावनाबारे विचार गरिरहेको बताएका छन्।
यो बहस यस्तो समयमा भइरहेको छ जब फिनल्यान्ड दक्ष कामदार र उद्यमीहरूको अभावसँग जुधिरहेको छ। एकातिर सरकार विदेशी प्रतिभालाई आकर्षित गर्न खोजिरहेको छ, अर्कोतिर पाको नुची जस्ता स्थापित उद्यमी, जसले राज्यलाई कर तिर्छन् र रोजगारी सिर्जना गर्छन्, उनीहरूलाई प्रणालीले नै निरुत्साहित गरिरहेको देखिन्छ।





