संक्षेपमा
- नेपाली हिमालमा योजनाबद्ध बिमा ठगी।
- पर्यटकलाई नियोजित रूपमै बिरामी बनाइयो।
- ठगीमा संलग्न ३२ जनाविरुद्ध मुद्दा दायर।
फिनल्यान्डका प्रमुख सञ्चारमाध्यमहरूमा नेपालको हिमाली क्षेत्रमा भइरहेको एउटा सनसनीपूर्ण घटनाले व्यापक चर्चा पाइरहेको छ।
फिनल्यान्डको राष्ट्रिय प्रसारक Yle ले “सगरमाथामा काण्ड: विशाल बिमा ठगीमा नेपाली गाइडले पर्यटकलाई विष सेवन गराए“ भनेर लामो समाचार लेखेको छ।
त्यसैगरी Ilta Sanomat ले “नेपालमा पदयात्रीहरूलाई ‘विष’ खुवाइँदै – पृष्ठभूमिमा लाखौंको ठगी” भन्ने शिर्षक दिएको छ। अर्को चर्चित पत्रिका Aamulehti ले “सगरमाथामा पर्यटकहरूलाई ‘नियोजित रूपमा’ बिरामी बनाइयो” भन्ने शीर्षकमा समाचार लेखेको छ।
यो विषयमा फिनल्यान्डमा सबैभन्दा पहिले समाचार लेखेको MTV Uutiset ले चाहिँ सगरमाथामा ठूलो घोटाला: पर्यटकहरू आफैँ पीडित र ठग दुवै” भन्ने शिर्षक दिएको छ।
नेपाल फिनिस नागरिकहरूका लागि पनि पर्वतारोहण र ट्रेकिङ्गको आकर्षक गन्तव्य मानिन्छ।
उक्त समाचार टाइम्स र इन्डिपेन्डेन्ट लगायतका बेलायती मिडियाले पनि प्रमुखकताका साथ लेखेका छन्।
खास के हो घटना?
युरोपेली मिडियामा छाएको यो काण्डको चुरो कुरो के हो त?
नेपाली मिडिया र प्रहरी अनुसन्धानले उजागर गरे अनुसार यो विश्वकै सबैभन्दा परिष्कृत र सङ्गठित बिमा ठगी नेटवर्कमध्ये एक हो।
यो ठगी नेटवर्कमा ट्रेकिङ कम्पनी, हेलिकप्टर सञ्चालक, अस्पताल र बिचौलियाहरू मिलेर नक्कली उद्धारको नाटक मञ्चन गरिरहेका छन् र लाखौँ डलर ठगिरहेका छन्।
नेपालमा उच्च हिमाली भेगमा हुने हेलिकप्टर उद्धार जीवन बचाउने काम हो। तर यसैको आवरणमा ठूलो गिरोह सक्रिय भएको खुलासा भएको हो।
नेपालमा नक्कली उद्धारको विषय नयाँ भने होइन। सन् २०१८ मै काठमाण्डु पोस्टले यसलाई पहिलोपटक बाहिर ल्याएको थियो। त्यसपछि सरकारले एउटा छानबिन समिति गठन गर्यो, जसले १० हेलिकप्टर कम्पनी, ६ अस्पताल र ३६ ट्रेकिङ एजेन्सीमाथि अनुसन्धान गर्दै ७०० पृष्ठ लामो प्रतिवेदन बुझायो र सुधारका वाचाहरू गरिए।
तर ती वाचाहरू कागजमै सीमित रहे।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का प्रमुख मनोज कुमार केसीले काठमाण्डु पोस्टलाई बताए अनुसार “फितलो कारबाहीका कारण यो ठगी धन्दा झन् फस्टायो।”
गत सेप्टेम्बरमा देशभक्त जेन-जी नामक समूहले सीआईबीमा नयाँ उजुरी दर्ता गरेपछि वर्षौंदेखि बन्द रहेको यो फाइल फेरि खोलिएको हो।

नक्कली उद्धारको संयन्त्र: कसरी हुन्छ ठगी?
सीआईबीको अनुसन्धानले नक्कली “इमर्जेन्सी” सिर्जना गर्ने दुई मुख्य तरिकाहरू पहिचान गरेको छ।
पहिलोमा हिँड्न अल्छी मान्ने पर्यटक छन्। जस्तै सगरमाथा आधार शिविर जस्ता कठिन पदयात्राबाट फर्कन नचाहने पर्यटकलाई गाइडले “बिरामी भएको बहाना” गर्न सिकाउँछन् र हेलिकप्टर बोलाउँछन्।
अर्को भने पर्यटकलाई नियोजित रूपमा बिरामी बनाउने वा देखाउने गरिन्छ। ३,००० मिटरभन्दा माथि लेक लाग्ने सामान्य लक्षणहरू देखिँदा आराम गरे पुग्नेमा गाइड र होटलका कर्मचारीले पर्यटकलाई मृत्युको डर देखाएर तत्काल उद्धार गर्न दबाब दिन्छन्।
अनुसन्धानकर्ताहरूका अनुसार कतिपय अवस्थामा पर्यटकलाई बिरामी बनाउन डायमोक्स नामक औषधिसँगै अत्यधिक पानी पिउन लगाइन्छ। केही घटनामा खानामा ‘बेकिङ पाउडर’ समेत मिसाइएको पाइएको छ।
उद्धारपछि सुरु हुन्छ आर्थिक चलखेल।
उदाहरणका लागि उद्धारका क्रममा एउटै हेलिकप्टरमा धेरै यात्रु राखेर ल्याइन्छ, तर प्रत्येक यात्रुको बिमा कम्पनीलाई छुट्टाछुट्टै सिङ्गो उडानको बिल पठाइन्छ। यसरी ४,००० डलरको चार्टर उडानलाई १२,००० डलरको दाबीमा परिणत गरिन्छ।
एउटै हेलिकप्टरमा धेरै यात्रु राखेर ल्याइन्छ, तर प्रत्येक यात्रुको बिमा कम्पनीलाई छुट्टाछुट्टै सिङ्गो उडानको बिल पठाइन्छ। यसरी ४,००० डलरको चार्टर उडानलाई १२,००० डलरको दाबीमा परिणत गरिन्छ।
अस्पतालमा सम्बन्धित डाक्टरलाई थाहै नदिई उनीहरूको डिजिटल हस्ताक्षर प्रयोग गरेर नक्कली डिस्चार्ज रिपोर्ट समेत बनाइन्छ।
कतिसम्म भने अस्पतालको क्याफेटेरियामा बियर पिइरहेका पर्यटकहरूलाई आईसीयूमा सिकिस्त रहेको भन्दै नक्कली भर्ना रेकर्ड खडा गरिएको सीआईबीको अनुसन्धानले देखाएको छ।
श्रीधी अस्पतालका एक कर्मचारीले विदेशी पर्यटकको बिमा दाबी गर्न आफ्नै एक वर्ष पुरानो एक्स-रे रिपोर्ट प्रयोग गरेको भन्दै काठमान्डु पोस्टमा पत्रकार संगम प्रसाईले लेखेका छन्।
डरलाग्दा छन् तथ्याङ्क
सीआईबीको अनुसन्धानबाट प्राप्त तथ्याङ्कहरू निकै भयानक छन्।
सन् २०२२ देखि २०२५ सम्म आरोपित अस्पतालहरूमा ४,७८२ विदेशी बिरामीको उपचार भएको देखाइयो, जसमध्ये १७१ वटा उद्धार पूर्ण रूपमा नक्कली भएको पुष्टि भयो।
सोही अवधिमा एरा इन्टरनेसनल अस्पतालले यस्ता गतिविधिमार्फत १५.८७ मिलियन अमेरिकी डलरभन्दा बढी र श्रीधी इन्टरनेसनल अस्पतालले १.२२ मिलियन डलर भन्दा बढी रकम प्राप्त गरे।
माउन्टेन रेस्क्यु सर्भिस’ले १,२४८ उडानमध्ये १७१ नक्कली उद्धार गर्दै बिमा कम्पनीबाट १०.३१ मिलियन डलर दाबी गर्यो।
नेपाल चार्टर सर्भिसले ४७१ उडानमध्ये ७५ नक्कली उद्धारमार्फत ८.२ मिलियन डलर र एभरेस्ट एक्सपिरियन्स एन्ड असिस्टेन्सले ६०१ उडानमध्ये ७१ शंकास्पद उद्धारमार्फत ११.०४ मिलियन डलर दाबी गरेका छन्।
अस्पतालहरूले बिमा भुक्तानीको २० देखि २५ प्रतिशतसम्म रकम हेलिकप्टर र ट्रेकिङ कम्पनीहरूलाई कमिसनका रूपमा बाँड्ने गरेको खुल्न आएको छ।
केही पर्यटकहरू समेत संलग्न
यो धन्दामा सबै पर्यटक पीडित मात्र नभएर केहीको आफ्नै मिलोमतो पनि देखिएको छ। यद्यपि ठगीको सिकार भएकाहरूले उजुरी पनि गरेका छन्।
सन् २०२५ को अन्त्यतिर दुई क्यानेडियन पदयात्रीले सीआईबीमा उजुरी दिँदै अस्पतालले अनावश्यक सीटी स्क्यान गरेको र बिमा कम्पनीलाई अक्सिजन स्तर ५०-५१ प्रतिशत मात्र रहेको भनेर गलत रिपोर्ट पेस गरेको बताएका थिए।
त्यसैगरी एक जर्मन पदयात्रीले आफूलाई ‘डबल-बिल’ गरिएको भन्दै गुनासो गरेकी थिइन्।
तर यस्ता दाबीहरू प्रमाणित गर्न विदेशी बिमा कम्पनीहरूलाई निकै गाह्रो हुन्छ।
उच्च हिमाली क्षेत्रमा सञ्चारको अभाव हुने र अस्ट्रेलिया वा बेलायतमा बसेका बिमा कम्पनीले नेपालकै ‘लोकल असिस्टेन्स कम्पनी’मा भर पर्नुपर्ने हुन्छ। तर ती स्थानीय कम्पनीहरू पनि यही कमिसनको जालोमा मुछिएपछि सत्य तथ्य मज्जाले लुकाइन्छ।
नेपाल प्रहरीले यसपटक भने कडा कदम चालेको देखिन्छ। गत मार्च १२ मा सीआईबीले राज्यविरुद्धको अपराध र सङ्गठित अपराधअन्तर्गत ३२ जनाविरुद्ध मुद्दा दायर गरेको छ। यसमध्ये ९ जना पक्राउ परिसकेका छन् भने अन्य फरार छन्।
आरोपितहरूमा माउन्टेन हेलिकप्टर, मनाङ एयर (हाल बेसक्याम्प हेलिकप्टर) र अल्टिच्युड एयरका सञ्चालक तथा कर्मचारीहरू, र स्वाकोन, श्रीधी तथा एरा इन्टरनेसनल अस्पतालका डाक्टर तथा प्रशासकहरू समावेश छन्।
यी घटनामा संलग्नलाई कस्तो कारबाही हुन्छ हेर्न बाँकी नै छ। तर ठगीका घटनाको समाचार सनसनीपूर्णरुपमा अन्तराष्ट्रिय स्तरमा फैलिएपछि नेपालको अन्तर्राष्ट्रिय छविमा गम्भीर आँच पुगेको छ।
सन् २०१८ मा गरिएका सुधारका वाचाहरू कार्यान्वयन नहुँदा आज फिनल्यान्डदेखि बेलायतसम्मका सञ्चारमाध्यम र नागरिकले नेपालको प्रणालीमाथि अविश्वास गर्ने र प्रश्न उठाउने ठाउँ पाएका छन्।





