यो प्रिमियम सामाग्री हाम्रा सहयोगी सदस्यका लागि मात्र।
नेपालीलाइनेनमा प्रकाशित यो सामाग्री 'प्रिमियम' हो। यदि हाम्रो 'सहयोगी सदस्य' बनिसक्नु भएको छ भने गुगल एकाउन्ट वा इमेल प्रयोग गरी लगिन गर्नुहोस्।
'सहयोगी सदस्य' बनिसक्नुभएको छैन भने प्रिमियम सामाग्रीहरु पढ्न 'सहयोगी सदस्य' बन्नुहोस्। सदस्यता दस्तुर मासिक ४.९१ युरो, वार्षिक ५९ युरो।
(प्रिय पाठक, यो नेपालीलाइनेनका सहयोगी सदस्यहरूले मात्र पढ्न मिल्ने ‘प्रिमियम स्टोरी’ हो। ‘सहयोगी सदस्य’ बनी हामीलाई सघाउनु भएकोमा धेरै-धेरै धन्यवाद।)
छोटकरीमा
- हेलसिन्की प्रहरीले गर्यो ठूलो पे-रोल ट्याक्स छलीको पर्दाफास।
- नक्कली बिलहरू बनाएर ३० लाख युरो बराबरको कर छली।
- २० जनाभन्दा बढी शंकास्पद व्यक्तिहरूमाथि गम्भीर आर्थिक अपराधको मुद्दा।
हेलसिन्की प्रहरीले दक्षिण फिनल्यान्डमा फैलिएको एउटा ठूलो श्याडो इकोनोमी अर्थात् गैरकानूनी आर्थिक कारोबार सम्बन्धि घटनाको दुई वर्ष लामो अनुसन्धान पूरा गरेको छ।
यो घटनामा सन् २०१९ देखि २०२१ को बीचमा एउटा स्थानीय स्टाफिङ र निर्माण कम्पनीले नक्कली कम्पनीहरू खडा गरेर कर्मचारीहरूलाई ‘ब्ल्याक’ मा (कर नतिरी) तलब दिएको आशंका गरिएको छ।
अधिकारीहरूका अनुसार यसरी कर र अन्य कानुनी शुल्क नतिर्दा राज्यलाई करिब ३० लाख युरो बराबरको नोक्सानी भएको छ।
यो मुद्दामा २० जनाभन्दा बढी संदिग्धहरू छन् र मुख्यतया गम्भीर कर छली तथा हिसाबकिताबमा गडबडी गरेको आरोप लगाइएको छ।
साथै पेन्सन कोषमा पनि ठगी गरेको आशंका गरिएको छ।
फिनल्यान्डको कानुनअनुसार रोजगारदाताले आफ्ना सबै कर्मचारीका लागि ‘TyEL’ भनिने पेन्सन योगदान तिर्नैपर्छ। यस्तो रकम नतिर्दा कर्मचारीहरूले भविष्यमा पाउने सामाजिक सुरक्षा सुविधाबाट वञ्चित हुन्छन् र यसले फिनल्यान्डको कल्याणकारी प्रणालीलाई नै कमजोर बनाउँछ।
हेलसिन्की प्रहरीको अनुसन्धान अनुसार यो घटनामा मुछिएको मुख्य कम्पनीले आफ्नो तलबको रकम करिब १० वटा नक्कली कम्पनी मार्फत घुमाउने गरेको थियो।
पैसाको स्रोत लुकाउन उनीहरूले नक्कली सब-कन्ट्र्याक्टिङ बिलहरू समेत प्रयोग गर्थे। साथै कम्पनीको वास्तविक मालिक को हो भनेर लुकाउन उनीहरूले अगाडि अरू मान्छेहरूलाई राखेका थिए।
प्रहरीका अनुसार यो अपराधमा विदेशी बैंक र खाताहरूको व्यापक प्रयोग गरिएको थियो। पैसाको स्रोत पत्ता लगाउन फिनल्यान्डको प्रहरीले विभिन्न देशहरूसँग कानुनी सहयोग समेत माग्नुपरेको थियो।
पैसाको स्रोत पत्ता लगाउन फिनल्यान्डको प्रहरीले विभिन्न देशहरूसँग कानुनी सहयोग समेत माग्नुपरेको थियो।
कामदार समेत अनुसन्धानको घेरामा
यो घटनाका मुख्य प्रहरी अनुसन्धानकर्ता मार्कुस मेत्सानेनका अनुसार सबै जालझेल कर र अन्य कानुनी दायित्वबाट बच्नका लागि गरिएको थियो।
“करिब ३० लाख युरो बराबरको कर र पेन्सन रकम छली भएको छ,” उनले प्रहरीको विज्ञप्तीमा भनेका छन्।
उनका अनुसार जसले यसरी कर नतिरी तलब लिएका थिए, उनीहरू आफैं पनि ठूलो समस्यामा परेका छन्, किनकि उनीहरूले आफ्नो व्यक्तिगत आयकर समेत तिरेका छैनन्।
यसको अर्थ ती कामदारहरूमाथि पनि अनुसन्धान भइरहेको छ। फिनल्यान्डको कर प्रशासनले यस्तो कर नतिरी लुकाइएको आम्दानीलाई कडा निगरानीमा राख्छ।
प्रहरीले २० जनाभन्दा बढी कामदारमाथि व्यक्तिगत कर छलीको आरोपमा अनुसन्धान गरिरहेको जनाएको छ।
कम्पनीहरूसँग सम्बन्धित अनुसन्धानको फाइल यो अप्रिलमा सरकारी वकिलकहाँ बुझाइनेछ। कामदारहरूसँग सम्बन्धित छुट्टै अनुसन्धानको फाइल भने गत वर्षको अन्त्यतिरै वकिलकहाँ पुगिसकेको बताइएको छ।
फिनल्यान्डको निर्माण र स्टाफिङ क्षेत्रमा यस्तो गैरकानूनी आर्थिक गतिविधि अझै पनि एउटा ठूलो चुनौती बनेको छ। राज्यको राजस्व जोगाउन र विशेष गरी विदेशी कामदारहरूलाई शोषणबाट बचाउन अधिकारीहरूले यी क्षेत्रमा निरन्तर निगरानी गरिरहेका हुन्छन्।





