संक्षेपमा
- हेलसिन्कीको मुख्य रेल स्टेसनमा नयाँ बजेट होटेल खुल्ने।
- एकजना सुत्ने कोठाको प्रतिरात भाडा ३९ युरो मात्र।
- जापानी क्याप्सुल होटेलको अवधारणा फिनल्यान्डमा पनि आयो।
आगामी वर्षको सुरुवातदेखि फिनल्यान्डको राजधानी हेलसिन्कीस्थित मुख्य रेलवे स्टेसनको पश्चिमी भागमा नयाँ बजेट होटेल सञ्चालनमा आउने भएको छ। उमेन नामक उक्त होटेलमा १५० वटा साना कोठाहरू हुनेछन् जसको एक रातको मूल्य जम्मा ३९ युरोबाट सुरु हुनेछ।
फिनल्यान्डमै सस्ता होस्टेलहरू करिब २० युरो प्रतिरातमा पनि पाइन्छन् तर कोठा अरूसँग सेयर गर्नुपर्ने हुन्छ। कोठाहरू यस्ता आधुनिक पनि हुँदैनन्।
यो होटेलको अवधारणा गत वर्ष ताम्पेरेमा खोलिएको उमेन होटेलसँग मिल्दोजुल्दो छ। यस्तो साना कोठा भएको होटेलको अवधारणा फिनल्यान्डमै नयाँ हो।
यसको प्रेरणा जापानी क्याप्सुल होटेलबाट लिइएको हो। तर यसका कोठाहरू क्याप्सुलभन्दा अलि फराकिला छन् र भित्र पस्न वास्तविक ढोकाकै प्रयोग हुन्छ।
“लोकेसन एकदमै दामी छ। कोठाहरू पनि राम्रो सामान प्रयोग गरेर बनाइएका छन् र पाहुनाहरूको सुरक्षामा हामीले कुनै सम्झौता गरेका छैनौं। कत्ति पनि कन्जुस्याइँ गरेका छैनौं। हामीले जम्मा एउटा कुरामा मात्रै सम्झौता गरेका छौं, त्यो हो ठाउँको प्रयोग,” होटेल सञ्चालकमध्येका एक एतु राहकोलाले हेलसिन्गिन उतिसेतलाई देिएको प्रतिक्रियामा भनेका छन्।
होटेलका कोठाहरू साउन्डप्रुफ हुनेछन् र तिनमा हावा आवतजावतको राम्रो व्यवस्था पनि हुनेछ।
होटेलमा ग्राहकहरू सहर घुमेर सुत्न र आराम गर्न मात्र आउँछन् भन्ने व्यवसायीको बुझाइ छ। कोठामा ओछ्यान, टेबल र लुगा झुन्ड्याउने ह्याङ्गर राखिएका छन्।
बाथरुम र शौचालय भने होटेलका सबै पाहुनाले साझा रूपमा प्रयोग गर्नुपर्नेछ। ठूला झोला राख्न छुट्टै कोठाको व्यवस्था गरिएको छ भने साना झोला कोठामै अट्छन्।
ग्राहकले आफैँ मेसिनबाट चेक-इन गरेर ढोका खोल्ने रिस्टब्यान्ड लिन सक्छन्।
होटेलको मूल्यमा बिहानको खाजा (ब्रेकफास्ट) भने समावेश गरिएको छैन। तर ब्रेकफास्ट र जिमजस्ता सेवाहरू आवश्यक भए थप पैसा तिरेर नजिकैबाट प्राप्त गर्न सकिने व्यवस्था मिलाइने होटेल संचालकहरूले बताएका छन्।
क्याप्सुल होटेलहरु विशेषगरी जापानमा निकै लोकप्रिय मानिन्छन्, जहाँ मानिसहरूलाई रात बिताउन सानो र सस्तो ठाउँ मात्र आवश्यक पर्छ।
फिनल्यान्डजस्तो महँगो देशमा यस्ता सस्तो र सुलभ होटेल खुल्दा यहाँ बस्ने नेपालीलगायत अन्य विदेशी विद्यार्थी, कामदार र कम बजेट भएका पर्यटकहरूलाई यात्रा तथा बासका लागि ठूलो आर्थिक राहत मिल्ने देखिन्छ।








