गत शुक्रवार हेलसिन्की सेन्टरमा नेपाली समुदायका केही मानिसहरू गीत गाउँदै, नाच्दै, हाँस्दै, हात हल्लाउँदै केही बेर हिँडे। उद्देश्य सामान्य थियो: अगस्ट ८ मा हुने नेपाल-डे कार्यक्रमबारे स्थानीयहरूलाई जानकारी दिनु।
करिब आधा घण्टाको सांस्कृतिक उपस्थिति। न नाराबाजी, न हिंसा, न अवरोधको राजनीति। सहरको मुटुमा सहरकै कानुनभित्र रहेर गरिएको एउटा सानो सांस्कृतिक निम्तो थियो त्यो।
तर त्यसका भिडियोहरूमा आएका केही प्रतिक्रियाहरू उदेक लाग्दा छन्। त्यसरी प्रतिक्रिया दिनेहरू नेपालीहरू नै छन्, र उनीहरूको अङ्ग्रेजी लेखाइको स्तर हेर्दा लाग्छ, निकै पढेलेखेका पनि छन्।
नेपालीलाइनेन त्यो कार्यक्रमको आयोजक थिएन। हामी त्यहाँ केबल रिपोर्टिङका लागि मात्र पुगेका थियौँ। तर जब सार्वजनिक टिप्पणीहरूमा आप्रवासी समुदायलाई लगभग “चुप लागेर बस, देखा पर्नु हुँदैन” भन्ने शैलीमा हप्काइन्छ, त्यो केवल आयोजकको विषय रहँदैन। त्यो हामी सबैको विषय बन्छ।
सामाजिक सञ्जाल, खास गरी टिकटकमा आएका प्रतिक्रियाहरू पढ्दा मलाई भने १९५० को दशकको अमेरिकाको याद आयो, जहाँ काला जातिहरू गोराहरूको ‘सुविधा’ र ‘कम्फर्ट’ का लागि सार्वजनिक यातायातमा आफ्ना सिटहरू चुपचाप छाडिदिन्थे। गोरा जातिका अगाडी उनीहरूका सबै चाहाना गौण थिए। उनीहरू मान्छे त थिए, तर नागरिक थिएनन्।
मलाई मेरै बाल्यकालको १९९० को दशकको नेपालको पनि याद आयो, जहाँ दलितहरूले सार्वजनिक धारामा पानी थाप्न बाहुन क्षेत्रीको पालो सकिने बेलासम्म कुर्थे। हाम्रा आँगनभन्दा भित्र उनीहरूका पाइला पर्ने थिएनन्। उनीहरूसँग कसैगरी छोइदा आफ्नै शरीरमा सुनपानी छर्कने मान्छे पनि थिए।
अब कुरा गरौँ शुक्रवारका कार्यक्रमका बारे लेखिएका नकारात्मक टिप्पणीहरूमा के समस्या छ।
पहिलो कुरा स्पष्ट गरौँ, त्यो कार्यक्रम कानुनसम्मत थियो। आयोजकहरूले आवश्यक अनुमति लिएका थिए, गर्नुपर्ने खबर सबैलाई गरेका थिए।
हेलसिन्कीको केन्द्र यस्ता कार्यक्रमका लागि त्यसै पनि अपरिचित ठाउँ होइन। यही सहरमा अर्धनग्न ब्राजिलियन साम्बा देखिन्छ, हरेक वर्ष कम्तीमा एक लाख मान्छे ‘प्राइड परेड’मा हिँड्छन्। हरेक महिना जसो प्यालेस्टाइनका पक्षमा प्रदर्शन हुन्छ। वातावरणवादी एलोकापिनाका युवायुवतीहरू त ट्राफिक नै अवरुद्ध गरेर सडकमा सुत्छन्।
झन्डै दुई दशकको फिनल्यान्ड बसाइका क्रममा मैले हेलसिन्की सेन्टरमा यस्ता अनेक राजनीतिक र अरबिक देखि अफ्रिकनसम्मका सांस्कृतिक जुलुसहरू निस्केको देखेको छु।
केही दिनअघि “हरे कृष्ण, हरे कृष्ण” भन्दै सयौँ मानिसहरू हिँडिरहेका थिए। समुहमा भारतीयहरू पनि थिए, स्थानीय फिनिसहरू पनि थिए।
सार्वजनिक स्थानमा संस्कृति, विचार, आस्था, विरोध र उत्सव देखिनु लोकतान्त्रिक सहरको सामान्य स्वभाव हो।
सामाजिक सञ्जालमा दाबी गरिएजस्तो सहभागीहरूले कसैको शान्ति हरण गरेका थिएनन्। कार्यक्रम राती १० बजे पछि वा सबेरै बिहान पनि भएको थिएन। उक्त र्याली देख्ने मान्छेहरूले पनि निकै रमाइलो मानेको देखिन्थ्यो। कोही फोटो खिच्दै थिए, कोही हात हल्लाउँदै हौसला दिँदै थिए, कोही नेपाल-डे कार्यक्रमबारे सोधपुछ गर्दै थिए। कतिपयले नेपाली खानाको वर्णन गर्दै थिए भने कोही कोहीले विगतमा आफूले नेपालमा बिताएको सुन्दर समयको सम्झना गर्दै थिए।
त्यसो भए नेपालीहरूको गीत–नाच किन असह्य भयो?
किनभने केही मानिसहरूको दिमागमा आप्रवासीको स्वीकार्य छवि पहिल्यै कोरिएको छ।
आप्रवासी ठिक छ, तर ऊ चुपचाप हुनुपर्छ। आप्रवासी ठिक छ, तर ऊ काममा मात्र देखिनुपर्छ। आप्रवासी ठिक छ, तर सहरको केन्द्रमा आफ्नो भाषा, गीत, पहिरन, अनुहार, बच्चाहरू र समुदायसहित देखिनु हुँदैन। उसको हातको श्रम चाहिन्छ, उसको कर चाहिन्छ, उसको डेलिभरी चाहिन्छ, उसको सफाइ चाहिन्छ, उसको स्वास्थ्य सेवा चाहिन्छ, उसको कोड चाहिन्छ, तर उसको उत्सव चाहिँ नचाहिने?
एक जनाले त “हामीले यसो गरेर स्थानीय फिनिसहरूको चित्त दुखाउनु हुँदैन” भनेर समेत लेखेका रहेछन्।
जाडो यामको माइनस बिसदेखि गर्मीको प्लस तीससम्म झेलेर हाम्रा दाजुभाइले असिनपसिन हुँदै ल्याएको वोल्ट र फुडोराको चिकेन टिक्का मसाला मज्जाले रुच्छ। हाम्रा हाउस-किपरहरूले सफा गरेको ओछ्यानमा मसन्न निद्रा पर्छ। हाम्रा नर्सहरूले दिएको औषधिले रोग निको हुन्छ। हाम्रा क्लिनरहरूले ‘टल्काएको’ अफिसमा दिनभर काम गर्न सहज हुन्छ। हाम्रा कोडरले लेखेको कोड मज्जाले चल्छ। तर, कानुनसम्मत तरिकाले दिनभरिको काम र पढाइको थकान मेटाउँदै २०-२५ मिनेट सडकमा गीत गाउँदै र नाच्दै हिँडेका हाम्रा दाजुभाइ र दिदीबहिनीका कारण कसैको चित्त दुख्छ भने, म भन्छु, दुखिरहोस्!
आखिर यो देशमा आप्रवासीका कारण चित्त दुखाउनेहरूको कमी कहाँ छ र? दिनरात आप्रवासीमाथि खनिएकै भरमा एउटा-दुइटा पार्टी नै बनेका छन्। आप्रवासीतर्फ औला तेर्साएर वर्षौँदेखि आफ्नो राजनैतिक रोटी सेकेका छन्। पटक-पटक सरकारमा समेत पुगेका छन्।
आप्रवासीले तिरेको त्यहीँ एउटा करबाहेक अरू केही मन नपराउनेहरू यहाँ कति छन् कति।
आप्रवासीलाई छानी छानी चक्कु हानेको घटनासँग सम्बन्धित समाचार पनि यिनै आँखाले यही साता मात्र पढेका हुन्।
त्यसैले “स्थानीयको चित्त दुख्ला” भन्दै आप्रवासी समुदायलाई सधैँ डरमा राख्ने सल्लाह वस्तुतः आत्मसमर्पणको सल्लाह हो।
त्यसो त समाज परिवर्तन हुँदा चित्त दुखाउनेहरू सधैँ हुन्छन्। चित्त त अमेरिकामा काला जातिले पहिलो पटक बस चढ्दा पनि गोराहरूको दुखेको थियो। महिलाले मताधिकार माग्दा पनि धेरैको चित्त दुखेको थियो। समलिङ्गीहरूले विवाहको अधिकार पाउँदा पनि दुख्यो। नेपालमै दलितले मन्दिर छोए, धारामा पानी थापे, भोजमा सँगै बसे भने कोही कोहीको “धर्म,” “संस्कार,” “समाज” सबै सङ्कटमा पर्थ्यो।
आज हेलसिन्कीको सडकमा केही नेपालीले गीत गाए, नाचे, आफ्नो कार्यक्रमको निम्तो दिए, र फेरि कसैको चित्त दुख्यो।
हाम्रा नेपाली मूलका कृष्ण रेग्मीले फिनल्यान्डमा सांसदको टिकट पाएका छन्। भोलि उनी जितेर संसद् छिरे भने पनि चित्त दुखाउने त पक्कै हुनेछन्। “विदेशी मूलको मान्छे कसरी हाम्रो सांसद?” भनेर सयौँले सामाजिक सञ्जालमा पक्कै लेख्नेछन्। कसैलाई फिनिस भाषा मातृभाषाको रूपमा नबोल्ने सांसद पनि असह्य लाग्ला। कसैलाई सेतो बाहेक कालो, खैरो, एसियाली, अफ्रिकी, अरब, र नेपाली अनुहारहरू सार्वजनिक पदमा देखिनु पनि असह्य लाग्ला।
जसले घृणा गर्छन्, उनीहरूले जस्तोसुकै अवस्थामा पनि घृणा नै गर्छन्। र गरिरहनेछन्।
त्यसैले प्रश्न यो होइन कि नेपालीहरूले सडकमा गीत गाउन पाउँछन् कि पाउँदैनन्। प्रश्न यो हो: कसको सहर? कसको सार्वजनिक स्थान? कसको संस्कृति देखिन मिल्ने, कसको नमिल्ने?
नेपालीहरू केही बेर गीत गाउँदै हिँड्दा कसैको चित्त दुख्छ भने त्यो चित्त दुखाइ संस्कृति होइन, असहिष्णुता हो। यो “स्थानीयहरूको सम्मान” होइन, आप्रवासीलाई अदृश्य राख्ने चाहना हो। सार्वजनिक स्थानमा कसलाई देखिने अधिकार छ अनि कसलाई छैन भन्ने रेखा कोर्ने पुरानो मानसिकताको नयाँ संस्करण हो।
अझ हास्यास्पद कुरा के छ भने केही टिप्पणीहरूमा यस्तो लेखिएको छ, मानौँ त्यो कार्यक्रममा सबै “बाहिरिया” मात्र थिए। वास्तविकता त्यस्तो थिएन। त्यहाँ फिनिसहरू पनि थिए। अझ भनौँ नयाँ फिनिसहरू थिए। नेपाली मूलका फिनिसहरू। यही देशमा जन्मेका, यहीँ हुर्केका बच्चाहरू थिए। उनीहरूका लागि फिनल्यान्ड नै उनीहरूको घर हो, जन्मभूमि हो। उनीहरूले आफ्ना साथीभाइसँग नाच्न र गाउन पाउनु उनीहरूको पूर्ण संवैधानिक अधिकारको विषय हो। जुन उनीहरूले प्रयोग गरेका थिए।
फिनल्यान्ड अब केवल सेतो, एक-रङ्गी, एक-भाषी, एक-सांस्कृतिक कल्पनाको देश रहेन। यो बदलिएको छ। बदलिँदै छ। र यो परिवर्तन कानुनको बाहिर होइन, समाजको भित्र भइरहेको छ। आज हेलसिन्कीको सडकमा नेपाली बच्चा नाच्छ भने उसले कसैको देश खोसेको होइन। उसले आफ्नो देशमा आफ्नो ठाउँ खोजेको हो।
त्यो ३० मिनेटको रमाइलोमा कसैले आफ्ना लागि छुट्टै राज्य मागेको थिएन। कसैले विशेष राजनीतिक अधिकार मागेको थिएन। कसैले दसैँ, तिहार र छठलाई पनि फिनिस संविधानमा विशेष दिनका रूपमा लेख्नुपर्छ भनेको थिएन। कसैले शिव, हनुमान, बुद्ध वा किरात देवतालाई फिनिस राज्यका देवता घोषणा गर भनेको थिएन। कसैले गीता, रामायण, त्रिपिटक वा अरू कुनै धार्मिक ग्रन्थ बोकेर ढोका ढकढक्याउँदै “हाम्रो धर्म मान, मुक्ति पाउँछौ” भन्दै हिँडेको पनि थिएन।
त्यो केवल एउटा छोटो सांस्कृतिक उपस्थिति थियो। अनि त्यही पनि असह्य भयो भने समस्या कार्यक्रममा होइन, हेर्ने आँखामा छ।
सार्वजनिक ठाउँमा संस्कृति देखाउनु अपराध होइन। गीत गाउनु अपराध होइन। नाच्नु अपराध होइन। आफ्नो समुदायको कार्यक्रम प्रचार गर्नु अपराध होइन। आप्रवासी हुनु अपराध होइन। नेपाली हुनु अपराध होइन। सहरको केन्द्रमा देखिनु अपराध होइन।

सार्वजनिक ठाउँमा संस्कृति देखाउनु अपराध होइन। गीत गाउनु अपराध होइन। नाच्नु अपराध होइन। आफ्नो समुदायको कार्यक्रम प्रचार गर्नु अपराध होइन। आप्रवासी हुनु अपराध होइन। नेपाली हुनु अपराध होइन। सहरको केन्द्रमा देखिनु अपराध होइन।
के हाम्रो सामूहिक नेपाली छवि हुँदैन?
यहीँनेर भने हामी गम्भीर हुनुपर्छ। हामीले कसरी गायौँ वा नाच्यौँ भन्ने कुराले होइन, हामी तथ्याङ्कमा कसरी देखिन्छौँ भन्ने कुराले हाम्रो वास्तविक मूल्याङ्कन हुन्छ, र त्यसले हाम्रो सार्वजनिक छवि निर्धारण गर्छ।
फिनल्यान्डमा बलात्कार जस्तो जघन्य अपराधमा संलग्न हुने उच्च १० राष्ट्रियताहरूमध्ये नेपाली पनि पर्छन्। हाम्रा विद्यार्थीहरू दुई छाक खाने पैसा नभएर सित्तैमा खाना बाँड्ने लाइनमा उभिइरहेका छन्। पढ्न आएकाहरू दिनप्रतिदिन ‘डिपोर्ट’ भइरहेका छन्।
एउटा नेपालीले अर्को नेपालीलाई ठगिरहेको छ। मानव तस्करी र श्रम शोषणका मुद्दाहरू राष्ट्रिय दैनिकमा हेडलाइन बनेर आउने गरेका छन्। जनसङ्ख्याको अनुपातमा नेपाली समुदायमा अपराधको दर पनि उच्च देखिन्छ।
यदि लाज मान्नुपर्ने कुरा केही छ भने यस्तै विषय हुन्। अपराध हो। ठगी हो। एक नेपालीले अर्को नेपालीमाथि गर्ने शोषण हो।
यी प्रश्नहरूमा हामी कठोर हुनुपर्छ। हामीले आफ्नै समुदायभित्रका गलत अभ्यासलाई ढाकछोप गर्नु हुँदैन। अपराधी नेपाली होस् वा कुनै अरू देशको, अपराध अपराध हो। त्यसलाई संस्कृतिको नाममा, समुदायको नाममा, जातीय भावनाको नाममा बचाउन खोज्नु हुँदैन।
तर यही कुरा भन्दै गर्दा अर्को कुरा पनि स्पष्ट हुनुपर्छ: छिटपुट अपराधका कारण सिङ्गो समुदायको सांस्कृतिक उपस्थिति अवैध हुँदैन। केही व्यक्तिको अपराधका कारण नेपाली बच्चाले नाच्न नपाउने होइन। केही खराब तथ्याङ्कका कारण कानुनसम्मत सांस्कृतिक कार्यक्रम लज्जाको विषय बन्ने होइन। समुदायभित्र समस्या छन् भनेर समुदाय सार्वजनिक जीवनबाट गायब हुनुपर्छ भन्ने निष्कर्ष गलत हो।
फिनल्यान्डको सरकारी नीति पनि कम्तीमा अहिलेसम्म आप्रवासी र सांस्कृतिक विविधताप्रति सहयोगी नै देखिन्छ। सांस्कृतिक गतिविधिका लागि सरकारले नै सहयोग गर्छ। इन्डिया डे,अरब फेस्टिभल देखि अनेक कार्यक्रमका लागि सरकारी सहयोग प्राप्त हुन्छ। अरबी र सोमाली भाषामा त यहाँको सरकारी सञ्चार समेत छ।
मूलतः राज्यले विविधता व्यवस्थापन गर्न खोजेको देखिन्छ भने केही नागरिकले भने अझै पनि विविधतालाई धैर्यपूर्वक हेर्न र सिक्न बाँकी छ।
त्यसैले हेलसिन्कीमा नेपालीहरूले नाचेको विषयमा हामीले लजाउनुपर्ने कुनै कारण छैन। लजाउनुपर्ने कुरा अपराध हो। लजाउनुपर्ने कुरा शोषण हो। लजाउनुपर्ने कुरा एक अर्कालाई ठग्नु हो। लजाउनुपर्ने कुरा हिंसा हो। लजाउनुपर्ने कुरा समुदायको नाममा गलत काम ढाकछोप गर्नु हो।
तर गीत? नाच? सांस्कृतिक निम्तो? बच्चाहरूको पहिचान? सहरको केन्द्रमा २० मिनेटको उपस्थिति? त्यो लाजको विषय हैन, अधिकारको विषय हो।
हामीले सहरको कानुन मान्नुपर्छ। अनुमति लिनुपर्छ। समय, ध्वनि, यातायात र सार्वजनिक मर्यादाको ख्याल गर्नुपर्छ। तर कानुन मानेर, मर्यादा राखेर, सार्वजनिक स्थानमा आफ्नो संस्कृति देखाउँदा पनि कसैलाई समस्या हुन्छ भने त्यो समस्या हामीले बोकेर हिँड्नुपर्ने होइन।
सहर केवल त्यही मानिसहरूको होइन जो पुस्तौँदेखि यहाँ छन्। सहर तिनको पनि हो जसले यहाँ कर तिर्छन्, काम गर्छन्, बच्चा हुर्काउँछन्, भाषा सिक्छन्, बिरामीको सेवा गर्छन्, खाना पुर्याउँछन्, कोठा सफा गर्छन्, कोड लेख्छन्, पढ्छन्, चुनावमा भाग लिन्छन्, र बिस्तारै यो देशको भविष्यको हिस्सा बन्दै छन्।
नेपाल-डे आउँदै छ। नेपालीहरू आउँछन्, गाउनेछन्, नाच्नेछन्, खाना बाँड्नेछन्, आफ्नो संस्कृति देखाउनेछन्। कोही हेर्नेछन्, कोही मुस्कुराउनेछन्, कोही फोटो खिच्नेछन्, कोही साथ दिनेछन्, कोही नाक खुम्च्याउनेछन्। त्यो स्वाभाविक हो।
जसले घृणा गर्न चाहन्छ, उसले त एउटा न एउटा कारण खोजिरहन्छ। आज नाचगान बहाना हो, भोलि भाषा बहाना हुनेछ, पर्सि खाना, त्यसपछि छाला, त्यसपछि नाम, त्यसपछि उच्चारण।
हामीले त्यस्तो घृणाको डरले आफ्नो अस्तित्व सानो बनाउनु हुँदैन। हामीले केवल यति गर्नुपर्छ: कानुन मान्ने, मर्यादा राख्ने, समुदायभित्रका अपराध र शोषणविरुद्ध कठोर हुने, र सार्वजनिक जीवनमा आफ्नो ठाउँ दाबी गर्ने।
त्यसैले, टिकटकमा लामा-लामा अङ्ग्रेजी हरफमा आलोचनाका बम बर्साउने बुज्रुकहरूलाई अन्त्यमा म भन्न चाहन्छु: हेलसिन्कीको सडकमा नेपाली गीत बज्दा र नेपालीहरू नाच्दा सहर बिग्रिएको थिएन।
बरु सहर आफ्नो बदलिँदो वर्तमानसँग परिचित हुँदै थियो।





